बागलुङ : संस्थागत विद्यालयको ४० प्रतिशत शुल्क बढाउन गरेको सिफारीसप्रति बागलुङका विद्यार्थी संगठनले विरोध जनाएका छन् । नेकपा एमाले निकट अनेरास्ववियु बाहेक अन्य विद्यार्थी संगठनहरुले बुधबार एक विज्ञप्ती जारी गर्दै हाल कायम रहेको संस्थागत विद्यालयहरुको शुल्कामा ४० प्रतिशत वृद्धि गर्न भनि गरिएको सिफारीसप्रति आपत्ती जनाएका हुन् ।
जिल्लामा क्रियाशिल नेपाल विद्यार्थी संघ, अनेरास्ववियु, अखिल क्रान्तिकारी, अखिल छैठौ, समाजवादी विद्यार्थी युनियन, नेविसंघ धौलागिरी बहुमुखी क्याम्पस इकाई र स्ववियु धौलागिरी क्याम्पसले विज्ञप्ती जारी गरी यसको विरोध जनाएका छन ।नेपाल विद्यार्थी संघ बागलुङका अध्यक्ष खडक थापा, अखिल क्रान्तिकारीका जिल्ला इन्चार्ज जीवन शर्मा, अनेरास्ववियु बागलुङका संयोजक नविन पौडेल, अखिल छैठौं बागलुङका दिलीप बुढामगर, समाजवादी विद्यार्थी युनियन बागलुङका सचिव सौभाग्य शर्मा, अखिल क्रान्तिकारी बागलुङका कार्यबाहक अध्यक्ष प्रविण सापकोटा, नेपाल विद्यार्थी संघ धौलागिरि बहुमुखी क्याम्पस इकाई सभापति दिनेश पन्त, स्वतन्त्र विद्यार्थी युनियन धौलागिरि बहुुमुखी क्याम्पस बागलुङका अध्यक्ष मनबहादुर थापा मनिषले संयुक्त रुपमा हस्ताक्षर गरी जारी गरेको विज्ञप्तीमा नगर शिक्षा समितिले आम नागरिकलाई मर्का पर्नेगरी र संविधानमा उल्लेख भएको शिक्षा सम्बन्धि नागरिकको हकलाई बञ्चित गर्नेगरी कुनै शुल्क वृद्धि नगर्न नगराउन सम्बन्धित नगर समिति र सम्बन्धित निकायलाई आग्रह गरिएको छ ।
एकलौटी रुपमा संस्थागत विद्यालयहरु र केही विद्यार्थी संगठनको प्रभावमा परी शुल्क बढाउने निर्णय प्रक्रिया अगाडि बढाएमा सशक्त आन्दोलन र प्रतिकार गर्ने समेत विज्ञप्तीमा उल्लेख गरिएको छ । नेकपा एमाले सम्बद्ध विद्यार्थीले सहमत मौन रहेको र सहमती जनाएको जनाएको बताईएको छ । एमाले निकट विद्यार्थी संगठनले शुल्क वृद्धिका लागि गरिएको निर्णयमा हस्ताक्षर गरेको बुझिएको छ ।
