बागलुङ : लोकमार्गबाट प्रभावित स्थानीयले सूर्य कन्ट्रक्सनलाई चार दिन भित्र सम्पर्कमा आउन चेतावनी दिएका छन् ।
जिल्लाको काठेखोला गाउँपालिका—५ बिहुँका स्थानीले बिहीबार विज्ञप्ती जारी गर्दै चार दिनभित्र सम्पर्कमा आएर आवश्यक छलफल गर्न आग्रह गर्दै उक्त अवधीमा सम्पर्कमा नआए त्यसबाट उत्पन्न परिस्थीतिको जिम्मेवार स्वयं निर्माण कम्पनी सूर्य कन्ट्रक्सन हुनुपर्ने चेतावनी दिएका हुन् । लोकमार्गको दुर्दशाका कारण कुनै पनि बेला सवारी साधन दुर्घटना हुने जोखिम बढेको र यसको जिम्मेवार कस्ले लिने भन्द उनीहरुले सडक कहिलेसम्म कालोपत्रे हुने हो र स्थानीयले कहिलेसम्म सास्ती खेप्नुपर्ने हो भनेर प्रश्न उठाएका छन् ।
बागलुङ—बिहुँ खण्डको माथिल्लो बिहुँ क्षेत्रमा लोकमार्ग निर्माणको जिम्मा लिएको सूर्य कन्ट्रक्सनले जेठ मसान्तमै सडक कालोपत्रे गर्ने लिखित सम्झौता गरे पनि अहिले सडक अलपत्र छाडेको छ ।
पटक–पटक सम्बन्धित निकायका प्रमुख, संघीय सांसद, प्रमुख जिल्ला अधिकारी, राष्ट्रिय आयोजनाका उपाध्यक्ष लगायतले सर्वेक्षण गरेर स्थानीयवासिन्दाले ज्ञापन पत्र बुझएर ठेकेदारसँग जेठ समान्तसम्म कालोपत्रे गर्ने लिखित सम्झौता त्यसको कार्यान्वयन नभएको भन्दै स्थानीले यसबाट आफुहरु मर्माहत भएको बताएका छन् ।
बजेट विनीयोजन गर्ने बेलामा केही काम भएको देखाउन कमजोर काम गर्ने र अन्य समयमा काम अलपत्र पार्ने गरेका कारण आफुहरुले सास्ती मात्रै खेप्न बाध्य भैरहेको स्थानीयको गुनासो छ । बागलुङ—घोडाबाँधे सडक खण्डको ट्रयाक खोल्ने काम सुरु भएको दुई दशक समय माथिको भैसकेको छ । सुरुमा एसियाली विकास बैंक एडिबीको सहयोगमा निर्माण भएको उक्त सडक पछि मध्यपहाडी लोकमार्ग अन्तर्गत प-यो ।
२०५६ सालबाट निर्माण थालिएको उक्त सडक निर्माण थालेको अहिले २२ वर्ष पूरा भैसकेको छ । मध्येपहाडी लोकमार्गको अवधारणा आएको पनि एक दशकबाट उकालो लागिसकेको छ । तर बागलुङ बजारदेखि बहुखण्डको सडकको अवस्था सुध्रिएको छैन । निर्माणका जिम्मा लिएको कम्पनीले विभीन्न बहाना बनाउँदै काम अलपत्र पार्दै गरेका छन् ।
स्थानीयदेखि सांसदसम्म यसको विषयमा आवाज उठाउँदा पनि अहिलेसम्म कालेपत्रेको काम अगाडि बढ्न सकेको छैन । जसका कारण स्थानीयले निकै सास्ती खेप्नुपरेको छ ।

