बागलुङ : पटक पटक म्याद थप्दा पनि मध्यपहाडी लोकमार्ग निर्माणको काम पुरा नहुँदा आफुहरुले सास्ती खेप्नुपरेको भन्दै बागलुङ बिहुँका युवाहरु आन्दोलित भएका छन् ।
सूर्य कन्ट्रक्सन कम्पनीले २०७३ सालमा निर्माणको जिम्मा लिएको बागलुङ—बिहुँ खण्डको लोकमार्ग क्षेत्रका स्थानीय युवा आन्दोलित भएका छन् । बिहुँका युवाहरुले पटक पटक ठेकेदारले आर्थिक वर्ष सकिने बेलामा केही काम गरे जस्तो गर्ने र रकम निकासा गरी खाने तर सडकको अवस्था सधैं जस्ताको त्यस्तै हुने गरेको भन्दै आन्दोलनमा उत्रिएको बिहुँबाट पत्रकार भरत सापकोटाले बताएका छन् ।
जिल्लाको काठेखोला गाउँपालिका वडा नम्बर ५ र ६ का युवाहरु आन्दोलित भएको बताईएको छ ।
केही दिन अगाडि मात्रै युवाहरु चार दिन भित्र सूर्य कन्ट्रक्सनलाई सम्पर्क आउन चेतावनी दिएका थिए । पटक पटक म्याद थप गर्दै काम नगर्ने प्रवृत्ति मौलाएको भन्दै उनीहरुले अब त्यसो हुन नदिने बताए । ‘लोकमार्गको काम किन अगाडि बढेन भनेर हामीले यहाँका सरोकारवालासंग छलफल ग¥यौं,’ स्थानीय युवा दिनेश कँडेलले भने,‘जनप्रतिनिधि, स्थानीय प्रशासनसंग पनि छलफल गर्दा यहाँबाट केही गर्न सक्ने अवस्था नभएको भन्नुहुन्छ । अब हामी नै नजागेसम्म समस्या समाधान नहुने भयो ।’
निर्माण कम्पनीले सडक निर्माणको काम सक्ने स्पष्ट मार्गचित्र नदेखाएसम्म आफुहरु आन्दोलित हुने उनले बताए । ‘ठेकेदार कम्पनीको प्रतिनिधि हुँ भन्दै एक जना आउनुभएको छ, हामी छलफल गछौं,’ उनले भने । अहिले सूर्य कन्ट्रक्सनका प्रतिनिधि रामकाजी श्रेष्ठ छलफलका लागि त्यहाँ पुगेको बताईएको छ ।