बागलुङ : जिल्लाको काठेखोला गाउँपालिका—६ मा पाँच दलीय गठबन्धनको चुनावी सभा सम्पन्न भएको छ । तल्लो बिहुँको हटिया, चिरपानी र टापुमा चुनावी सभा सम्पन्न भएको हो । नेपाली काँग्रेस, नेकपा माओवादी केन्द्र, राष्ट्रिय जनमोर्चा, नेकपा एकीकृत समाजवादी पार्टी, जनता समाजवादी पार्टीको संयुक्त गठबन्धनका उम्मेदवार सहितको टोलीले घरदैलोसंगै चुनाबी सभा सम्पन्न गरेको हो ।
कार्यक्रममा बोल्दै गठबन्धनका गाउँपालिका अध्यक्षका उम्मेदवार राजु थापाले पाँच वर्षभित्र सबैको सहमतीमा गाउँपालिकाको प्रशासकीय भवन निर्माण गर्ने, युवाहरुलाई स्वरोजगार बनाउन सीपमूलक तालिमको व्यवस्था गर्ने बताए । ‘पाँच वर्षमा गाउँपालिकाले आफ्नो प्रशासकीय भवन पाउन सकेन,’ उनले भने,‘सबैको सहमतिको आउने पाँच वर्षमा त्यो भवन निर्माण गर्नेछु । काठेखोला गाउँपालिकामा आफ्नै अस्पताल, प्राविधिक शिक्षालयको स्थापना गर्नेछौं । मुख्य रुपमा यहाँका नागरिकलाई सशासन दिने हाम्रो मुख्य काम हुनेछ ।’ उनले गाउँपालिका अध्यक्षमा निर्वाचित भएपछि कुनै भेदभाव नगरी सबैलाई समानताको आधारमा सेवा सुविधा उपलब्ध गराउने बताए । पाँच वर्षभित्र गाउँपालिकाको केन्द्रबाट कम्तीमा वडा कार्यालयसम्मको बाटो ग्राभेल गर्ने बताए ।
अक्षेते, दोविल्ला, घोडाबाँधे लगायका बस्तीहरुलाई व्यवस्थीत गर्ने उनको भनाई थियो । काठेखोलाका विभीन्न वडाहरुमा विशेषज्ञ सेवा सहितको बृहत स्वास्थ्य शिविर सञ्चालन गर्ने उनले बताए । कार्यक्रममा कोठेखोला गाउँपालिकाका उपाध्यक्ष उम्मेदवार तेजबहादुर थापा तिलकले समग्र काठेखोलाको सामाजिक, आर्थिक र भौतिक विकासमा आफुहरु तल्लिन हुने बताए । काठेखोलाका विभीन्न ठाउँहरु बसाइँ सराईका कारण रित्तिन थालेको भन्दै उनले गाउँमै सहज स्वास्थ्य, शिक्षा, लगायतका सुविधा पु¥याएर बसाइँ सराइँ कम गर्ने उल्लेख गरे ।
कार्यक्रममा बोल्दै राष्ट्रिय जनमोर्चाकी केन्द्रीय सदस्य एवं गण्डकी प्रदेश सभा संसदीय दलका नेता पियारी थापा सुप्रभाले अहिलेसम्मका प्राप्त उपलब्धीहरु जोगाउनका लागि गबठन्धन बनेको बताईन् । ‘एमाले अध्यक्ष तत्कालिन प्रधानमन्त्री केपी शर्मा ओलीले अहिलेसम्मका सबै उपलब्धीहरु मासेपछि त्यसको रक्षाका लागि गठबन्धन बनेको हो,’ उनले भनिन्,‘मुलुक र संविधान जोगाउन गठबन्धन बनेकाले प्रतिगामी शक्तिहरुलाई पराजित गर्न सबै एकतावद्ध भएर निर्वाचनको नतिजा आफ्नो पक्षमा पार्न लाग्नुपर्छ ।’
नेकपा माओवादी केन्द्रकी नेतृ संविधान सभा सदस्य केशरी घर्तीले दुई तिहाईको सरकार हुँदाहुँदै सरकार चलाउन नसकेर संसद विघटन गरेका ओली र उनका अनुयायीहरुले देशको विकास गर्छन् भन्ने भ्रमबाट सबै मुक्त हुनुपर्ने बताईन् । कार्यक्रममा पूर्व सांसद टंक कँडेल, नेपाली काँग्रेस बागलुङकी सहसचिव ज्ञानु श्रीस शर्मा, वडा नम्बर ५ का वडाध्यक्षका वडाध्यक्ष शिवप्रसाद कँडेल, नेपाली काँग्रेस गण्डकी प्रदेशका आमन्त्रित सदस्य भवानी कँडेल, जिपी कोईराला फाउण्डेन बागलुङका अध्यक्ष महेन्द्र कँडेल, प्रदेश महाधिवेसन प्रतिनिध गंगा कँडेल, रनमाया कँडेल लगायतले बोलेका थिए ।
काठेखोला—६ का वडाध्यक्षका उम्मेदवार एवं पार्टी सभापति बृहस्पती कँडेलको अध्यक्षतामा भएको कार्यक्रममा स्वागत चिन्तामणि विक र सञ्चालन नरेन्द्र कँडेलले गरेका थिए । काठेखोला गाउँपालिकामा गठबन्धतर्फ नेपाली काँग्रेसका राजु थापाले रुख चिन्ह लिएर गाउँपालिका अध्यक्ष र राष्ट्रिय जनमोर्चाका तेजबहादुर थापा तिलकले गिलास चिन्ह लिएर उपाध्यक्ष पदमा उम्मेदवार बनेका छन् । काठेखोला—६ मा बृहस्पती कँडेलको नेतृत्वमा रुख चिन्ह लिएर साझा गठबन्धनका उम्मेदवार चुनावी अभियानमा जुटेका छन् ।