बागलुङ : नेपाली काँग्रेसको बागलुङमा क्रियाशील सदस्यताको विषयमा अनावश्यक विवाद निकालिएको भन्दै तीन वडाका पार्टी सभापतिहरुले आपत्ती जनाएको छन् ।
क्रियाशील सदस्यता विवादित रहेको भनिएका बागलुङका तीन वडा सभापतिहरुले मंगलबार एक विज्ञप्ती जारी गर्दै क्रियाशील सदस्यताको विषयलाई अनावश्यक विवादमा तान्ने काम गर्ने व्यत्तिलाई बहिस्कार गर्ने चेतावनी समेत दिएका छन् । नेपाली काँग्रेस बागलुङ नगरपालिका—११ का वडासभापति थमबहादुर थापा, काठेखोला गाउँपालिका—१ का वडा सभापति खडक थापा र काठेखोला—४ का वडा सभापति यामदत्त कँडेलले विज्ञप्ती जारी गरी क्रियाशील सदस्यताप्रति विवाद सिर्जना गरेर अनावश्यक भ्रम फैल्याईएको उल्लेख गरेका छन् ।
विज्ञप्तीमा वास्तविक धरातलको अध्ययन नगरी, कुनै जानकारी नै नलिई आफुखुसी उजुरी गरेर कार्यकर्तामा भ्रम र निराशा फैल्याउने कार्य गरिएकोप्रति गम्भीर ध्यानाकर्षण भएको उल्लेख छ ।
‘नेपाली काँग्रेसको विधान, नियमावली, केन्द्रीय समितिको निर्णय, निर्देशन, परिपत्रको आधारमा काँग्रेसको १४ औं महाधिवेनका सन्दर्भमा विशवभर क्रियाशील सदस्यता नविकरण र नयाँ क्रियाशील सदस्यता वितरण गर्ने निर्णयानुसार शतप्रतिशत वृद्धि गर्ने रणनीति, साथै विभीन्न राजनैतिक दल समायोजन एवं परित्याग गरी नेपाली काँग्रेसको विधानलाई आत्मसाथ गर्दै नेपाली काँगेसको सदस्य लिन इच्छुक व्यक्तिलाई सदस्यता दिने नीति अनुसरा बागलुङ जिल्लामा क्रियाशी सदस्यता वितरण एव. प्राप्ती भएको विषयलाइ लिएर जिल्लामा जिम्मेवार नेता तथा कार्यकर्ताले वास्तविक धरातलको अध्ययन बिना, सम्बन्धीत वडामा कुनै जानकारी नलिई,आफुखुशी भ्रामक समाचार फैल्याउने, प्रक्रिया बिना उजुरी गर्ने जस्ता कार्यलय संगठनको मर्ममा आँच आउने काम भएको महसुस भई यस्ता कार्यले संगठन कार्यकर्तामा निराशा फैल्याउने भएकाले हाम्रो गम्भीर ध्यानाकर्षण भएको छ,’ विज्ञप्तीमा लेखिएको छ ।
पार्टीको संगठन विस्तारमा हौसला प्रदान गर्नुको सट्टा उल्टो भ्रामक कार्य गर्ने नेता कार्यकर्तालाई संरक्षण गर्ने नेतालाई संगठनको परिभाषा अध्ययन गर्न समेत अनुरोध गरिएको छ ।
‘जिल्लामा संगठन विस्तारमा थप हौसला प्रदान गर्नुको सट्टा उल्टो भ्रामक कार्य गर्ने, जुनसुकै नेता तथा कार्यकर्ता त्यस्ता व्यक्तिलाई संरक्षण गर्ने नेतालाई संगठनको परिभाषा अध्ययन गर्न अनुरोध गर्दै हाम्रो संगठनमा आँच पुग्नेगरी भएको क्रियाकलापमा लाग्ने नेता कार्यकर्तालाई बहिस्कार गर्ने अवस्था नआउला भन्न सकिदैन । साथै यस्तो कार्यमा संलग्न नेता तथा कार्यकर्तालार्य जिल्ला, प्रदेश र केन्द्र पार्टीले आन्तरिक तथा बाहय रुपमा कुनै पनि जिम्मेवारी नदिन अनुरोध गर्दै यस्तो जिम्मेवारी दिएमा हामीले कुनै पनि साथ नदिने चेतावनी दिन चाहान्छौं,’ विज्ञप्तीमा उल्लेख छ ।
जिल्लामै उजुरी गरेर छलफल गर्ने वाताबरण हुँदा हुँदै केन्द्रमा गएको समेत विज्ञप्तीमा उल्लेख छ ।
‘अरुको हकमा विधि विधानका कुरा गर्ने तर आफुले विधि विधान नै उल्लङ्घन गरी जिल्ला नै भउको उजुरी सम्बन्धी अधिकारी प्रयोग नगरी पार्टीको विधान र संघियताको खिल्ला उडाउँदै केन्द्रमा घुँडा टेक्ने जाने कार्य लज्जास्पद भएको सबैको सामु छर्लङ्ग छ । यस विषयमा आमनागरिक, नेपाली काँग्रेस सम्बन्ध नेता कार्यकर्ता र सरोकारवालाहरु कुनै पनि भ्रममा नरहन सादर अनुुरोध गर्दछौं,’ जारी विज्ञप्तीमा लेखिएको छ ।

यो पनि पढ्नुहोस्
अधिवेसनको संघारमा बागलुङ काँग्रेसमा सदस्यताको च्याँखे !
बागलुङ : नेपाली काँग्रेसको महाधिवेसनको मिति नजिकिँदैछ । अहिले बागलुङमा पनि नेपाली काँग्रेस पार्टीको नेतृत्वको बागडोर कसले सम्हाल्छ भन्ने चर्चा सुरु भएको छ । नेतृत्व र पदाधिकारीका आकाँक्षीहरु आ—आफ्नो तरिकाले प्रचार प्रसारमा पनि जुटेका छन् । तर अधिवेसनको मिति नजिकिएको बागलुङ काँग्रेसको अधिवेसन समयमै हुन्छ हुँदैन भन्ने अनिश्चीत देखिएको छ । यस पटक नेपाली काँग्रेसले शतप्रतिशत
क्रियाशील सदस्यता बढाउने भनेपछि गाउँ गाउँमा नेपाली काँग्रेसका क्रियाशील सदस्यको संख्या निकै बढेको छ । यहाँको कतिपय वडामा भने दुई सय प्रतिशत भन्दा माथिसम्म सदस्यता अवैध रुपमा वितरण गरिएको भन्दै मुद्दा परेको छ । यही मुद्दा अहिलेसम्म नटुंगीएका कारण अधिवेसन बारेमा अन्यौल सिर्जना भएको हो । बागलुङ क्षेत्र नम्बर १ (क) का केही वडामा मनपरी ढंगले अवैधानिक सदस्यता वितरण गरिएको भन्दै केन्द्रय समितिमा उजुरी परेको छ । त्यस उपर छानबिन भैसकेको छैन ।
उजुरी दिनेहरु भने बागलुङ क्षेत्र नम्बर १ (ख) का छन् । बागलुङ नगरपालिकाको वडा नम्बर ११ रायडाँडा र काठेखोला गाउँपालिकाको वडा नम्बर १ पाला तथा वडा नम्बर ४ तंग्राममा मनपरी सदस्यता वितरण गरिएको बागलुङ क्षेत्र नम्बर १ (ख) का सभापति नारायण पौडेलले बताए । बागलुङ संघीय निर्वाचन क्षेत्र नम्बर १ का क्षेत्रीय सहसभापति समेत रहेका उनले पार्टीमा कुनै छलफल र सरसल्लाह नगरी आफुखुसी सदस्यता दिईएकोले छानबिनका लागि केन्द्रीय समितिमा उजुरी दिएको बताए ।
‘अहिले काँग्रेसको विधानले जति पुराना क्रियाशील सदस्य छन् त्यति नै संख्यामा नयाँ सदस्य थप्न पाउने भन्ने व्यवस्था गरेको छ,’ पौडेलले भने,‘तर यहाँ त मनपरी ढंगले तीन गुणा चार गुणासम्म सदस्यता थपिएको छ । त्यसबारेमा पार्टी र समितिमा छलफल पनि भएको छैन ।’ त्यस विषयमा आफु सहित क्षेत्रीय सचिव विष्णु आचार्य, सहसचिव गोपाल पौडेल, सुमन भुषाल, तेजप्रसाद शर्मा, नारायण श्रेष्ठले अवैधानिक सदस्यता
खारेज गर्न माग गरेर निवेदन दिएको उनले बताए । नेपाली काँग्रेस बागलुङका सभापति दीपेन्द्र बहादुर थापाले भने विधान अनुसार नै पुरानो सदस्यता नविकरण र नयाँ सदस्यता वितरण गरिएको बताउँछन् । ‘क्रियाशील सदस्यता वितरणका लागि केन्द्रले बनाएको नीति अनुसार नै हामीले यहाँ वितरण गरेका छौं,’ उनले भने,‘पुरानो संख्या बराबर नयाँ थप्ने र अन्य फरक पार्टीबाट आएकाहरुलाई पनि क्रियाशील सदस्यता
दिने भन्ने केन्द्रको सर्कुलर अनुसार दिईको छ । पार्टी विधान मिचेर जाने भन्ने प्रश्नै हुँदैन ।’ फरक पार्टी परित्याग गरी आएकाहरुलाई सदस्यता दिँदा कतिपय वडाहरुमा क्रियाशील सदस्यको संख्या बढि देखिएको उनी बताउँछन् । पार्टी प्रवेश गरेकाहरुलाई वडा समिति, गाउँपालिका समिति, प्रदेश निर्वाचन क्षेत्रीय समिति र संघीय निर्वाचन समिति हुँदै आएपछि मात्रै जिल्लाले सिफारीस गरेको उनले बताए ।
अन्य पार्टीबाट आएर नेपाली काँग्रेसको कार्यकर्ता भएकाहरुलाई सदस्यता दिँदा आएको विरोध शोभनीय नरहेको उनको भनाई छ । विधि विधान अनुसार नै सदस्यता दिईएको उनको दाबी छ । ‘नेपाली काँग्रेसको सदस्य थपिँदा पार्टी बलियो र ठूलो हुँदा पार्टीकै मान्छेले टाउको दुखाउनुपर्ने विषय हो जस्तो त मलाई लाग्दैन,’ उनले थपे । बागलुङ नगरपालिका वडा नम्बर ११ रायडाँडामा यसअघि १४२ जना क्रियाशील सदस्य रहेकोमा
अहिले नयाँ सहित ३३१ जना पुगेको छ । काठेखोला गाउँपालिका वडा नम्बर १ पालामा ५४ जना क्रियाशील सदस्य रहेकोमा २०१ पुगेको छ भने काठेखोला गाउँपालिका वडा नम्बर ४ तंग्राममा १०७ जना रहेकोमा ४६१ जना क्रियाशील सदस्यको संख्या पुगेको छ । उनीहरु सबैलाई पार्टीमा गरेको योगदान र अन्य पार्टी परित्याग गरी काँग्रेसमा प्रवेश गरेको आधारमा क्रियाशील सदस्यता दिएको थापाले दाबी गरे ।
बागलुङका ८५ वडामध्ये ७१ भन्दा बढि वडामा शतप्रतिशत भन्दा बढि क्रियाशील सदस्यता वितरण भएको भए पनि तीन वटा वडाको मात्रै उजुरी परेको छ । क्रियाशील सदस्यताको उजुरी वैधानिक अवैधानिक भन्दा चुनाव केन्द्रित भएर परेको एक काँग्रेस नेता बताउँछन् । ‘छानबिन नै गर्ने हो बागलुङका अधिकाँस वडामा शतप्रतिशत भन्दा बढि क्रियाशील सदस्यता वितरण भएको छ, जो जसले उजुरी गर्नुभएको उहाँहरुले
पनि आफ्नो ठाउँबाट सकेसम्म सबै शक्ति लगाउनुभएको छ,’ ती नेताले भने,‘यो विवाद सदस्यताको भन्दा पनि नेतृत्वको दाउपेचको हो ।’ नेपाली काँग्रेसले आफुलाई मास बेस पार्टी भने पनि यसको मूल चरित्र भने क्याडर बेस पार्टीको रहेको छ । नेपाली काँग्रेसको वडादेखि केन्द्रसम्म नेतृत्व चयनका लागि क्रियाशील सदस्यको मुख्य हात हुने भएकाले सदस्यताको विवाद उठ्ने गरेको हो । एउटा वडामा १५० बढि २०० सम्म क्रियाशील सदस्य हुँदा कम्तीमा १५ प्रतिनिधि हुने व्यवस्था छ । त्यसमा पनि वडा सभापति स्वतः प्रतिनिधि हुन्छ ।
त्यस भन्दा बढि प्रत्येक एक सय जना क्रियाशील सदस्यता बराबर थप १० जना क्षेत्रीय प्रतिनिधि चुनिन्छन् । क्रियाशील सदस्यताको आधारमा जति धेरै क्रियाशील सदस्य भयो त्यति धेरै क्षेत्रीय प्रतिनिधि चुनिने व्यवस्था भएका कारण आफु निकटलाई प्रतिनिधि ल्याउनका लागि सदस्यता वितरणबाटै रस्साकस्सी हुने गर्छ । चुनिने क्षेत्रीय प्रतिनिधिले गाउँपालिका, प्रदेश क्षेत्रीय समिति, संघीय क्षेत्रीय समिति, महाधिवेसन प्रतिनिधि,
महासमिति सदस्य र जिल्ला समितिको समेत चयन गर्छ । केन्द्रीय समितिको निर्वाचनमा महाधिवेसन प्रतिनिधिले मतदान गर्छन् । आम निर्वाचन र स्थानीय तह निर्वाचनमा समेत चुनावका लागि टिकट सिफारीस गर्ने काम संघीय क्षेत्रीय समितिको भएकाले यो समितिलाई शक्तिशाली समिति मानिन्छ । मुलुक संघीय संरचनामा गएपछि बागलुङ दुई संघीय निर्वाचन क्षेत्र, चार प्रदेश निर्वाचन क्षेत्र, १० स्थानीय तह र ८५ वडामा बनेको छ ।
महाधिवेसन भैसकेपछि देशको पुनःसंरचना भएकाले बागलुङलाई दुई वटा संघीय निर्वाचन क्षेत्र बनाउँदा साविक क्षेत्र नम्बर १ र २ को ठूलो क्षेत्र मिसिएर क्षेत्र नम्बर १ बनेको छ । साविक क्षेत्र नम्बर १ र २ को केही क्षेत्र साविक क्षेत्र नम्बर ३ मा मिसिएपछि संघीय निर्वाचन क्षेत्र नम्बर २ बनेको छ । नयाँ संरचना अनुसार नेपाली काँग्रेस बागलुङको क्षेत्रीय समिति पुनःसंरचना गर्दा साविक क्षेत्र नम्बर १ का सभापति चिरञ्जीवी गौतम र
साविक क्षेत्र नम्बर २ का सभापति नारायण शर्मा पौडेल एउटै क्षेत्रमा परेका थिए । दुई क्षेत्रीय सभापति एउटै क्षेत्रमा परेपछि नेपाली काँग्रेसले क्रियाशील सदस्य संख्याको आधारमा संघीय निर्वाचन क्षेत्रको सभापति तोकेको थियो । त्यतिबेला साविक क्षेत्र नम्बर २ को तुलनामा साविक क्षेत्र नम्बर १ मा क्रियाशील सदस्य संख्या केही बढि भएका कारण चिरञ्जीवी गौतम नयाँ संरचनामा बनेको संघीय निर्वाचन क्षेत्रको क्षेत्रीय सभापति चुनिएका थिए ।
क्षेत्र नम्बर २ मा भने साविक क्षेत्र नम्बर ३ का दोर्ण कुँवर मात्रै क्षेत्रीय सभापति भएकाले उनी स्वतः संघीय क्षेत्र नम्बर २ को सभापति बनेका थिए । पार्टी सदस्यताको मात्रै कुरा नभएर नेतृत्वको दाउपेचमा महत्वपूर्ण हुने भएकाले सदस्यता विवादको विषय काँग्रेसमा गम्भीर हुने गरेको छ ।