बागलुङ : बागलुङ नगरपालिका—१ रामरेखा बाँगेचौरदेखि पर्वतको कुस्मा नगरपालिका—१ पाङ अदुवाबारी जोड्ने लामो पुल निर्माणपछि पर्यटकका लागि आकर्षणको विषय बनेको छ ।
पुल निर्माण हुँदै गर्दा कोरोना महामारी सुरु भएपछि पुलमा आउन चाहाने सबै व्यक्तिहरु घुम्न आउने पाएका छैनन् । यद्यपी कोरोनाको समस्या केही शान्त हुँदा वित्तीकै पुलमा पुग्नेहरुको संख्या बढ्ने गरेको देखिन्छ । अहिले पुनः दोस्रो लहरको कोरोना संक्रमणका कारण बागलुङमा निशेधाज्ञा जारी छ ।
जसले गर्दा लामो पुलमा आउन चाहानेहरु आउन सकेका छैनन् ।
बागलुङ कालिका मन्दिर पनि पूर्ण रुपमा बन्द रहेको छ । यद्यपी बागलुङ कालिका मन्दिर र लामो पुलमा आउने पर्यटकहरुलाई ध्यानमा राखेर अन्य पर्यटन पूर्वाधारहरु समेत थपिन थालेका छन् ।
पर्वतको कुस्मा नगरपालिका—१ पाङमा स्थानीय युवाहरु मिलेर बागलुङ कालिका मन्दिरसंगै लामो पुलमा आउने पर्यटकहरुलाई लक्षित गरी एड्भेन्चर गेम सञ्चालनमा लागेका छन् । पर्वत पाङमा लामो पुलको मुखैमा रहेको न्यू लङ ब्रिज साईड रेष्टुरेन्टसंगै युवाहरुले एड्भेन्चर गेम सञ्चालन गर्न लागेका हुन् ।
जंगली ट्रि टू ट्रि एड्भेन्चर गेम प्रालि कुस्मा मार्फत स्वीङ सञ्चालन भैसकेको छ भने अन्य संचरनाहरुका काम तीब्र गतिमा अगाडि बढिरहेको प्रालिका सञ्चालक सुरेन्द्र श्रेष्ठले बताए ।
‘अहिले हामीले सिंगल स्वीङ र डिलक्स स्वीङ सञ्चालनमा ल्याएका छौं,’ उनले भने,‘डिलक्स स्वीङ त अन्यत्र छैन, यो हामीले नै पहिलो पटक सञ्चालनमा ल्याएका हौं । स्वीङ भने अन्यत्र पनि सञ्चालन भैरहेको छ ।’स्वीङबाट बागलुङ बजार, लामो पुल, कालिगिण्डकीको नागबेली आकार अवलोकन गर्न सकिन्छ । स्वीङ एक खालको पिङ नै हो । साधारण स्वीङमा एक पटक चढेको दुई सय र डिलक्स स्वीङमा चार सय रुपैयाँ शुल्क तोकिएको छ ।
फलामको पोलमा झुण्डाईएको बलियो डोरीको तल राखिको डिब्बामा बसेर मच्चिएर रमाईलो गर्न मिल्ने गरी स्वीङ निर्माण गरिएको हुन्छ ।
स्वीङसंगै डोरीको सहायताबाट एक रुखबाट अर्को रुखमा जान मिल्नेगरी संरचना निर्माणका काम अगाडि बढिरहेको श्रेष्ठले बताए । ‘बालबालिकाहरु खेल्न मिल्ने संरचना पनि बनाउँदै छौं,’ उनले भने,‘एक रुखबाट अर्को रुखमा डोरीको सहायताले जान मिल्ने खालको खेलको तयारी हुँदैछ । डोरीबाट झुण्डिएर नेटभित्र छिर्ने पनि बनाउँदैछौं ।’

त्यससंंगै पुराना नेपाली मौलिक संरचनाको पनि तयारी हुँदैछ । पुराना डिजाईनका घरहरु मर्मत गरेर राख्ने त्यसमा ढिकी कुट्दै गरेको जाँतो पिँढ्दै गरेका स्ट्याचु समेत राख्ने काम भैरहेको श्रेष्ठ बताउँछन् ।
‘अहिले हामीले शासहिक पर्यटनलाई ध्यानमा राखेर खेलका संरचनाहरु तयार पारेका छौं, संगै हाम्रा मौलिक वस्तुहरु पनि हेर्न मिल्नेगरी राख्छौं,’ श्रेष्ठले भने । एड्भेन्चर गेम सञ्चालनका लागि श्रेष्ठसंगै विकास अर्याल, गणेश सुवेदी र राजेन्द्र अर्यालले लगानी गरेका छन् ।
अहिले करिब ७० लाखको लागतमा काम भैरहेको बताईएको छ ।
‘दुई वटा स्वीङमा १० लाख खर्च भएको छ, अन्य संरचनाहरु तयार हुँदा ६० देखि ७० लाख खर्च हुन्छ होला,’ सञ्चालक श्रेष्ठले भने,‘सुरुवात गर्दै जाने र राम्रो हुँदै गएपछि लगानी थप्ने जाने योजना अनुसार हामी अगाडि बढेका छौं ।’ विशेषरी गरी बागलुङ कालिका मन्दिर र लामो पुल आउने पर्यटकलाई लक्षित गरेर संरचना निर्माण गरिरहेको उनको भनाई छ ।
‘कालिका मन्दिरमा आएपछि एक पटक लामो पुल तरौं भन्ने भइहाल्छ त्यसपछि यहाँ भित्र मानिसहरु प्रवेश गर्छन् भन्ने हाम्रो सोंच हो,’ उनले थपे ।
एड्भेन्चर गेम सञ्चालनका लागि पार्टनर भएका विकास अर्यालले रेष्टुरेन्ट पनि सञ्चालन गर्दै आएका छन् ।
त्यही रेष्टुरेन्टसंग मिलेर गेम सञ्चालन गर्न लागिएको हो । त्यसका लागि १० वर्षको सम्झौता भएको छ । ‘यहाँ मेरो आफ्नै जग्गा थियो, लामो पुल भनेपछि मानिसहरु स्वभाविक रुपमा आउँछन्, त्यस हिसाबले पुल निर्माण सुरु भएसंगै मले रेष्टुरेन्ट निर्माणको काम थालेको थिएँ,’ उनले भने,‘यहाँ भएको जग्गा प्रयोग गरौं भन्ने हिसाबले काम अगाडि बढाएको थिएँ । पुल निर्माण भएसंगै रेष्टुरेन्ट पनि तयार भयो अहिले सञ्चालनमा ल्याएको छु ।’
रेष्टुरेन्टमा गाउँले परिवेश दिनका लागि उनले कटेजहरु निर्माण गरेका छन् ।
‘रेष्टुरेन्ट सञ्चालनका लागि ४०÷४५ लाख रुपैयाँ लगानी गरेको छु,’ अर्यालले भने,‘एड्भेन्चर गेम चाँही साझेदारीमा चलाएका छौं ।’ नेपालमा शाहसिक पर्यटन बढ्दै गएका कारण पनि आफुहरु त्यसतर्फ लगानी गर्न उत्सुक भएको उनी बताउँछन् ।
२०६५ सालमा संगै पढेको चार जना साथीहरु मिलेर उनीहरुले एड्भेन्चर गेम सञ्चालनमा लागेका हुन् ।