बुर्तिबाङ : शिक्षा विज्ञान तथा प्रविधि मन्त्री देवेन्द्र पौडेलले आफ्नो निर्वाचन क्षेत्र बागलुङ पश्चिममा भेटघाट तथा शुभकामना आदान प्रदान कार्यक्रममा सहभागी भएका छन् ।
आइतबार निसीखोला र तमानखोला गाउँपालिकाका विभिन्न स्थानमा भेटघाट एवं शुभकामना आदान प्रदान कार्यक्रममा व्यस्त भएका मन्त्री पौडेलले शिक्षा क्षेत्रको विकासका निम्ति आफुले सक्रियताका साथ काम गर्ने उद्घोष गरे । शिक्षा क्षेत्रमा धेरै समस्या र चुनौती छन त्यसलाई नयाँ ढँगले व्यवस्थापन गर्नुपर्ने छ त्यसका निम्ति आफुले प्रविधिको उच्चतम प्रयोग सहित शिक्षा क्षेत्रका निम्ति जोड दिने बताउँदै आफनो निर्वाचन क्षेत्रमा शिक्षा क्षेत्रको विकासका निम्ति आएका मागलाई क्रमिक रुपमा संबोधन गर्ने प्रतिवद्धता व्यक्त गरे ।
नेकपा माओवादी केन्द्र निसीखोलाले आयोजना गरेको शुभकामना आदान प्रदान कार्यक्रममा सरिक भएका मन्त्री पौडेलले गण्डकी
प्रदेश सांसद खिम विक्रम शाही, निसीखोला गाउँपालिका प्रमुख तारानाथ पौडेल, लगायत नेता कार्यकर्तासँग भेटघाट गर्दै समग्र पालिकामा रहेका विकास र समस्याका विषयमा जानकारी लिएका थिए ।
उनले विभिन्न विद्यालयको विषयमा समेत अवलोकन गरेका थिए । त्यस्तै तमानखोला गाउँपालिकामा समेत मन्त्री पौडेलको टोली पुगेको छ । गाउँपालिका अध्यक्ष जोकलाल बुढाले तमानखोला गाउँपालिकामा रहेका समस्या र शिक्षा क्षेत्रको विषयमा मन्त्री पौडेललाई ध्यानाकर्षण गराएका थिए ।
कार्यक्रममा गण्डकी प्रदेश साँसद खिम विक्रम शाही, दिलमाया रोका लगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।