थम्मन थापा, गलकोट : सोमबार दिउँसोदेखि गलकोट नगरपालिका वडा नम्बर ५ र ७ का ३ सामुदायिक वनमा आगोलागी भएको छ । आगलागी हुँदा लाखौँको क्षति भएको छ । भैंसे दान्सिङ डाँडा सामुदायीक वन गलकोट नगरपालिका वडा नम्बर ५ देखि सुरु भएको आगो छिमेकी वडाको ठुलाचौर सामुदायीक वनसम्म फैलिएको छ ।
आगोलागीको कारण दानसिङ डाँडा सामुदायीक वनको झण्डै ४० हेक्टर क्षेत्रफलमा क्षति भएको सामुदायीक वनका सदस्य मान बहादुर भण्डारीले जानकारी दिए । दिउँसोदेखि इलाका प्रहरी कार्यालय गलकोट र स्थानीयले आगो निभाउने प्रयास गरेता पनि अहिले आगो नियन्त्रण बाहिर रहेको भण्डारीले जानकारी दिए ।

सोही आगो छिमेकी वडाको ठुलाचौर सामुदायिक वनमा प्रवेश गरेसँगै उक्त सामुदायीक वनको झण्डै २० हेक्टर क्षेत्रफल क्षति भएको सामुदायीक वन उपभोक्ता समितीका अध्यक्ष थुम कुमारी थापाले जानकारी दिइन् । आगोको कारण दानसिंङ सामुदायीक वनसँगै
जोडिएको गगनपानी सामुदायीक वन गलकोट नगरपालिका वडा नम्बर ५ को झण्डै ५ हेक्टर क्षेत्रफल वन क्षेत्र पनि क्षति भएको बताइएको छ । ठुलाचौर महिला सामुदायीक वन, दानसिङ डाँडा सामुदायीक वन सिमाना जोडिएका वन हुन् । आगो अहिले पनि जंगलमा फैलिरहेको छ ।

आगो बस्ती तिर आउने खतरा रहेको भन्दै स्थानियबासी चिन्तित भएको गलकोट नगरपालिका वडा नम्बर ७ का वडा अध्यक्ष सुवेदार टिका बहादुर थापाले जानकारी दिए । आगो निभाउन स्थानिय र प्रहरीको सक्रियता रहेको वडा अध्यक्ष थापाले बताए ।
वन क्षेत्रमा आगोलागी हुँदा वनमा रहेका जीवजन्तु, चराचुरुङ्गी, वनमा रहेका रुख बिरुवा जलेर नष्ट भएका छन् ।
साँझ परिसकेको र भीरमा आगोलागी भइरहेको हुँदा आगो नियन्त्रण गर्न कठिन भएको ठुलाचौर सामुदायीक वन उपभोक्ता समितिका सचिव सुनिता साहानी थापाले जानकारी दिइन् ।