दुलही लिन हेलिकप्टर चार्टर्ड !

दुलही लिन हेलिकप्टर चार्टर्ड !

  • फाल्गुण ११, २०७७ मंगलवार
  • ०७:१०:५१ बजे
  • 6.1K
    SHARES
  • दुलही लिन हेलिकप्टर चार्टर्ड !
    सांकेतिक तस्विर

    सिरहा : आइतबार सिरहाको अर्नामा गाउँपालिका–२ ब्रह्मपुरीको मसुरोको खेतमा हेलिकप्टर अवतरण हुँदा छिमेकी गाउँसम्मका मानिसको भीड लाग्यो। यहाँ कुनै राजनीतिक कार्यक्रमका लागि नेता ओर्लिएका थिएनन्।

    यसै गाउँपालिकाको वडा नम्बर ४ लट्टाटोलबाट दुलाहा दिनेश यादव विवाहका लागि हेलिकोप्टर चार्टर्ड गरेर आएका थिए।  भीड दुलाहा हेर्न नभई हेलिकोप्टर हेर्न जम्मा भएको थियो।

    उत्साहित स्थानीयले लहलहाउँदो मसुरोको परवाहै नगरी हेलिकोप्टर अवतरणको अनुमति दिए। आइतबार दुलाहा दिनेशसहित बेहुला पक्षका पाँचजना चढेको हेलिकोप्टर मसुरोको खेतमा अवतरण भयो ।

    सोही दिन राति दिनेशसँग ब्रह्मपुरीकी सपना यादव वैवाहिक जीवनमा बाँधिइन्। वैवाहिक कार्यक्रम सम्पन्न भएपछि दिनेशले दुलही सपनालाई कैलाश हेलिकोप्टर सर्भिसेजकै हेलिकोप्टर चढाएर लट्टाटोल लगेका हुन्।

    अर्नामा गाउँपालिकामा हेलिकोप्टर चार्टर्ड गर्ने दिनेश पहिलो व्यक्ति हुन्। दुलाहा दिनेश र उनका बुवा रामविलाससहित पाँचजना जन्ती हेलिकोप्टरमा आएका थिए।

    पेसाले किसान रामविलासका एक्ला छोरा हुन् दिनेश। उनी पेसाले मेडिकल प्रतिनिधि हुन्। किसान भए पनि एक्ला छोराको विवाह सोखले गर्ने रामविलासको रहर थियो।

    सोख पूरा गर्न हेलिकोप्टरबाट छोराको जन्ती ल्याएको उनले बताए। छोरासहित जन्तीलाई हेलिकोप्टरमा चार्टर्ड गरेर बेहुलीको घर पुग्दा गाउँसहरमा चर्चा व्यापक भएको छ।

    ‘चर्चा बढेपछि त सान पनि बढ्ने नै भयो, गाउँमा सान बढेपछि अरू के नै चाहिन्छ र। गाउँले किसानको छोराको जन्ती हेलिकोप्टरमा जानु चानचुने कुरै भएन,’ स्थानीय सञ्जीव यादव भन्छन्, ‘यस गाउँमा आएको हेलिकोप्टरका जन्तीको चर्चा फैलिँदैछ।

    मधेसी समाजमा सानका लागि पनि धेरै काम हुँदा रहेछन्। हैसियत प्रदर्शन गर्न मानिस रथ, महँगा कारमा जन्ती आउँछन्। रामविलासले ती सबैभन्दा एक कदमअगाडि हेलिकोप्टरमा छोराको जन्ती ल्याए।’

    बिहेका लागि दुलाहा दिनेशसहित जन्तीलाई बिहेघर पु¥याएर हेलिकोप्टर काठमाडौं फर्किएको थियो। सोमबार दिउँसो ४ बजे दुलाहा दुलहीलाई दुलहाको घर छोडेर हेलिकोप्टर पुनः फर्किएको छ।

    दुलही सपनाका बुवाको १० वर्षअघि निधन भइसकेको छ। आमाले लालनपालन गरेर हुर्काएकी सपनालाई आकाशमा उडेको देखेर आमासहित दुलही पक्ष गदगद छन्। जतातजै सपना र दिनेशकै चर्चा छ।

    दुलाहाका बुवा रामविलासका अनुसार सुरुमा रथमा जन्ती जाने सोच थियो। रथ खोज्न भारतका विभिन्न स्थानमा सम्पर्क गरे। तर रथ बुक भइसकेको जानकारी पाए उनले। ‘एक ठाउँमा भेट्टाएँ तर एक दिनको २ लाखभन्दा बढी रकम माग गर्‍यो,’ उनले भने।

    त्यसपछि रामविलास सोच बदलेर हेलिकोप्टरतर्फ मोडिए। हेलिकोप्टर नै तीन लाख भाडामा पाएपछि उनले खुसीसाथ बुक गरे। ‘कमाउने भनेकै सन्तानको सुख र खुसीका लागि हो,’ रामविलास भन्छन्, ‘छोराबुहारीको खुसीभन्दा प्यारो मेरा लागि अरू थोक छैन।’

    दुलहीको मामासमेत रहेका नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य देवकुमार यादवका अनुसार समाजमा सान देखाउन गरिने यस किसिमको तडकभडक अशोभनीय छ। ‘अनावश्यक खर्च गरेर आडम्बर प्रस्तुत गरिनुहुन्न,’ उनले भने, ‘तडकभडक रोक्न जति कोसिस गरे पनि सम्भव भएन।

    विवाहमा फजुल खर्च र आडम्बरले समाजमा अस्वस्थ प्रतिस्पर्धालाई बढावा मिल्छ। यस किसिमका आडम्बरको नक्कल मधेसी समाजले गर्नुहुन्न।’ उनी थप्छन्, ‘बेहुला पक्षले विवाहमा जुन हिसाबको तडकभडक देखाए, सोही अनुसार सपनाको वैवाहिक जीवनलाई सुखद बनाउन ध्यान दिऊन्।

    उनीहरूको वैवाहिक जीवन उदाहरणीय बन्न सकोस्।’ मधेसी समाजमा दुलही बिदाइका बेला रोदन नै रोदन हुन्छ। तर सपनाको विदाइको माहोल उत्साहपूर्ण थियो। सबैको अनुहार उज्यालिएको थियो।

    दुलही हँसिलो अनुहारमा सबैलाई नमस्कार गर्दै हेलिकोप्टर चढेर बिदा भएकी थिइन्। दुलाहा दिनेश र दुलही सपनाको घरको दूरी मुस्किलले चार किलोमिटर छ। एउटा चौरी पार गरेपछि दुलाहाको घर पुगिन्छ।

  • सम्बन्धित विषय:

  • # हेलिकप्टर

  • बागलुङ पोस्ट

    सम्बन्धित समाचार