निर्वाचन

पत्रकारको चुनावको लागि निर्वाचन समिति गठन

पत्रकारको चुनावको लागि निर्वाचन समिति गठन

  • फाल्गुण १७, २०७७ सोमवार
  • १९:१०:१६ बजे
  • 4.0K
    SHARES
  • पत्रकारको चुनावको लागि निर्वाचन समिति गठन

    बागलुङ : नेपाल पत्रकार महासंघको आसन्न निर्वाचनलाई केन्द्रित गरेर बागलुङमा निर्वाचन समिति गठन गरिएको छ । 

    महासंघका शाखा अध्यक्ष दिल शिरीषको अध्यक्षतामा सोमबार बसेको बैठकले अग्रज पत्रकार हिराबहादुर केसीको अध्यक्षतामा ३ सदस्यीय निर्वाचन समिति गठन गरेको हो । जसको सदस्यमा नेपाल बारका तर्फबाट अधिवत्ता राम शर्मा र जिल्ला अदालतका नायब सुब्बा ऋषिराम रिजाल रहेका छन् । 

    निर्वाचन समिति संयोजक रहनुभएका केसी पत्रकार महासंघका तत्कालीन धौलागिरी शाखाका सचिव समेत हुन् । पत्रकार महासंघको आगामी चैत्र पहिलो साता निर्वाचन गर्ने अन्तिम तयारी छ ।

    यसपटक नयाँ संघीय अभ्यासमा पहिलो पटक प्रत्यक्ष निर्वाचन प्रणालीमा महासंघले निर्वाचन गर्दैछ । केन्द्र, प्रदेश र जिल्लाको एकैसाथ सबै साधारण सदस्यले मताधिकार प्रयोग गर्न पाउने व्यवस्था सहित निर्वाचन गरिने नेपाल पत्रकार महासंघ बागलुङ शाखाका अध्यक्ष दिल शिरीषले बताए।

    ‘अब निर्वाचनको अन्तिम तयारी छ, केन्द्रले महाधिवेशनबाटै निर्वाचन मिति घोषणा गर्ने तयारी भए पनि सदस्यताको केही विवादले ढिला भइरहेको छ,’अध्यक्ष शिरीषले भन्नुभयो, ‘अब निर्वाचनमा ढिलाई गर्ने बिधानतः पनि छुट छैन, चैत्र भित्रै नयाँ नेतृत्व हस्तान्तरण हुन्छ ।’

    पत्रकार महासंघमा बिधानतः तीन वर्षको कार्यकाल हुन्छ । तर, यस पटक कोरोना महामारी र पत्रकार महासंघ पहिलो पटक केन्द्रीय पार्षद र प्रदेश पार्षदको व्यवस्था खारेज गरेर प्रत्यक्ष निर्वाचन प्रणालीमा गएकाले थप एक वर्ष बितेको छ ।

    यसपटक जिल्लाबाटै सबै साधारण सदस्यले केन्द्र, प्रदेश र जिल्लाको नेतृत्व चयनका लागि एकसाथ मतदान गर्नेछन् । महासंघको नेतृत्वका लागि उम्मेदवारी दिएकाहरु भने जिल्ला दौडाह गर्नुपर्ने बाध्यता छ । 

  • सम्बन्धित विषय:

  • # निर्वाचन

  • बागलुङ पोस्ट

    सम्बन्धित समाचार