बागलुङ : ढोरपाटन नगरपालिकामा स्थानीय तह निर्वाचनको प्रभाव तिव्र रुपमा पर्न थालेको छ । आगामी २०७९ वैशाख ३० गते घोषणा गरिएको स्थानीय तह निर्वाचनको प्रभाव ढोरपाटन नगरमा बढि देखिएको हो । नेकपा एमालेले निर्वाचन लक्षित अभियान अन्र्तगत पार्टी प्रवेश कार्यक्रमलाई आक्रामक रुपमा लैजाँदै गर्दा नेपाली काँग्रेस, नेकपा माओवादी केन्द्र र राष्ट्रिय जनमोर्चा लगायतका अन्य दलहरु समेत निर्वाचनको तयारीमा होमिएका छन् ।
नेकपा एमाले बाहेक अन्य ८ दलहरु नेकपा एमालेका विरुद्धका देखिएका छन् । विशेषगरी स्थानीय तह सञ्चानलका सन्दर्भमा ढोरपाटन नगर प्रमुखको कार्यशैली राम्रो नभएको भन्दै रुष्ट रहेका अन्य दलका नेता कार्यकर्ता निर्वाचन अभियानमा नेकपा एमालेका विरुद्धमा देखिन्छन भने उता नेकपा एमालेले एकलौटी निर्वाचन परिणाम आफनो पोल्टामा पार्ने गरी दैनिक जसो पार्टी प्रवेश कार्यक्रमसँगै चुनावी अभियानलाई तिव्रता दिएको छ । वडा कमिटी, भातृ संगठनलाई समेत सक्रिय बनाउँदै आएको एमालेले नेपाली काँग्रेस, नेकपा माओवादी केन्द्र र राजमोका कार्यकर्तालाई पार्टी प्रवेशको लहर चलाएको छ ।
२०७४ को निर्वाचनमा राजमोद्वारा वडा नम्बर २ मा निर्वाचित वडा अध्यक्ष यूवराज महत पार्टी परित्याग गरी नेकपा एमालेमा प्रवेश गरे । उनीसंगै विशेष गरी राष्ट्रिय जनमोर्चाका कार्यकर्ता नेकपा एमालेमा प्रवेश गरेको देखिन्छन् । यसरी पार्टी प्रवेशको लहर नेकपा एमालेमा रहँदै गर्दा यहाँका विपक्षी दलहरु गठवन्धन गराएरै नेकपा एमालेका विरुद्ध निर्वाचनमा होमिने प्रयासमा देखिन्छन ।
गठबन्धन मध्यका नेकपा माओबादी केन्द्रका नेता चन्द्र अर्यालले भने,‘गठवन्धन निरन्तर छलफलमा छौं निर्वाचनमा गठवन्धन वनाएर जानुपर्छ भन्ने हो र स्थानीय पालिकामा देखिएका खराब प्रवृत्तिका अन्त्यका लागि गठवन्धन आवश्यक रहेको छ ।’ नेपाली काँग्रेसले समेत शुक्रबारदेखि प्रत्यक वडा तथा टोलटोलमा पुगेर निर्वाचन लक्षित कार्यक्रम सुरु गरेको छ । जनतासँग नेपाली काँग्रेस भन्ने अभियानका साथ जनताको घरदैलोमा होमिएको नेपाली काँग्रेसले पहिले आफनो पार्टीलाई मजबुद बनाउने र निर्वाचनसम्म परिस्थिती हेरेर गठवन्धन गरी अगाडि बढ्ने मनसायमा देखिएको छ ।
जनतासँग नेपाली काँग्रेस भन्ने अभियानका साथ जनताको घरदैलोमा जाने उनीहरुसँग दुःख सुख आदान प्रदान गर्ने स्थानीय तहमा भएका खराब प्रवृत्तिलाई अन्त्य गर्नका निम्ति जनतालाई थप सचेत गराउँदै निर्वाचन लक्षित कार्यक्रममा आफनो पार्टी लागिपरेको जिल्ला सभापति जित शेरचनले बताए । नेपाली काँग्रेस समेत गठबन्धन बनाएर निर्वाचनमा होमिन सक्ने मनस्थितीमा छ ।
उता नेकपा माओवादी केन्द्रले समेत आफना नेता कार्यकर्तालाई वडा स्तरमा पुगेर निर्वाचनमा होमिने गरी प्रशिक्षण एवं निर्वाचन लक्षित कार्यक्रम सुरु गरेको छ । निर्वाचन आउँदै गर्दा पार्टीका भातृ संगठन सहित वडा स्तरीय निर्वाचन परिचालन कमिटीलाई सक्रिय बनाउने र कार्यकर्तालाई निर्वाचनमुखी अभियानमा जुट्न आग्रह सहित कार्यक्रम भइरहेको नेकपा माओवादी केन्द्र गण्डकी प्रदेश सदस्य एवं ढोरपाटन नगर इन्चार्ज चन्द्र अर्यालले बताए ।
उता राष्ट्रिय जनमोर्चाले भने हालसम्म निर्वाचनमुखी कार्यक्रम गरेको पाइएको छैन राष्ट्रिय जनमोर्चा समेत निर्वाचनमा सम्भव भएसम्म गठवन्धन गरेरै जाने मनसायमा देखिन्छ । विशेष गरी स्थानीय तहमा भएका गलत प्रवृत्तिको विरुद्धका निम्ति आफुहरु गठबन्धन वनाएर अगाडि बढेको राजमो केन्द्रीय सदस्य गौरीश्वर पाण्डेले बताए । अन्य दलहरुले समेत निर्वाचन लक्षित कार्यक्रम तयारीमा छन् ।
निर्वाचन नजिकिँदै जान थालेपछि गठवन्धन हुने या नहुने, उमेद्वारका आकाँक्षी र सम्भावनाका विषयमा नेता कार्यक्रता देखि सर्वसाधारण नागरिक समेत चोक, चिया पसल तथा अन्य क्षेत्रमा राजनैतिक बहसका विषयमा छलफल गर्न थालेका छन । ढोरपाटन नगरपालिकामा स्थानीय तहको निर्वाचन थप रोचन बन्ने देखिएको छ ।