विचार

स्वार्थी राजनीतिले समाज कता लैजादैछ ?

स्वार्थी राजनीतिले समाज कता लैजादैछ ?

  • बैशाख १३, २०७८ सोमवार
  • १९:३७:४६ बजे
  • 7.8K
    SHARES
  • स्वार्थी राजनीतिले समाज कता लैजादैछ ?

    सचिन घर्तीमगर
    पुरानो अवस्था के थियो म जान्दिनँ र यहाँ उल्लेख गर्न पनि त्यति आवश्यक ठान्दिनँ तर स्थानीय निर्वाचन पछाडिका दिनहरूमा सिसाखानीमा सामाजिक रूपमा देखिएका परिवर्तनहरुको सवालमा मेरो व्यक्तिगत बुझाइ र सामान्य वैचारिक शब्दहरू अभिव्यक्त गर्न चाहान्छु । हुन त एक ताका मत्थर भएको सिसाखानीको राजनीतिक माहोल २०६४ सालमा भएको संविधान सभा निर्वाचन पश्चात् तातिन थालेको हो । २०६४ चैत्र २८ गते भएको संविधान सभाको पहिलो निर्वाचनभन्दा अगाडि पनि सामान्य रूपमा राजनीतिक गतिविधि अवश्य हुन्थ्यो नै । त्यस बेलाको राजनीतिक क्रियाकलाप केवल निश्चित व्यक्तिहरूको माझमा मात्रै सीमित हुन्थ्यो । 

    त्यस समयमा खासगरी सिसाखानीमा प्रमुख राजनीतिक पार्टीका रूपमा नेपाली काँग्रेस, नेकपा एमाले, राष्ट्रिय जनमोर्चा र अनौपचारिक रूपमा रहेको नेकपा माओवादी यी नै थिए । यिनै पार्टीका नेतृत्व गरिरहेका व्यक्तिहरुका बीच गाउँ घरमा हुने गतिविधिमा हाली मुहाली चल्ने गर्दथ्यो । त्यस बेला माओवादी जनयुद्धमा भएको र मुख्य नेतृत्व भूमिगत रही कार्यकर्ता परिचालन गर्ने भएकाले गाउँका ठूला गतिविधिमा उनीहरुको पनि अन्य राजनीतिक दलहरुको भन्दा अझ बढी हैकम चल्थ्यो । माओवादीको दश वर्षे जनयुद्धको त्यो संकटकालीन परिस्थितिमा गाउँ घरमा अन्य पार्टीका चर्चा परिचर्चा लगभग शून्य झै थियो । जनसाधारण मानिसहरूको मुख मुखमा माओवादीको मात्रै चर्चा झुण्डिएको अवस्था हुन्थ्यो, भलै त्यो राम्रो काम ग¥यो भनेर होस् वा नराम्रो भनेर । जब माओवादी सशस्त्र युद्ध छोडेर शान्ति सम्झौता गरी शान्तिपूर्ण राजनीतिमा सहभागी भयो तत्पश्चात्को संघर्षले नेपालमा संविधान सभाको निर्वाचन हुने वातावरण बन्यो ।

    संविधान सभाको निर्वाचन २०६४ पश्चात् गाउँघरमा राजनीति विस्तारै सलबलाउन थाल्यो । दोस्रो संविधान सभा निर्वाचन २०७० हुँदै स्थानीय तहको निर्वाचनमा आइपुग्दासम्म गाउँघरको राजनीति उत्कर्षमा पुग्यो । जुन समयमा हरेक समाज–समुदाय, परिवार तथा हरेक व्यक्तिलाई राजनीतिक माहोलले छपक्कै छोपिसकेको थियो । हरेक व्यक्तिले कुनै न कुनै राजनीतिक पार्टीको पक्षमा खुलेर बोल्न सक्ने भएका थिए । राजनीतिक दल र व्यक्तिको सिद्धान्त तथा व्यवहार बुझेर होस् या न बुझेर, आफूले बोलेका कुरा सही होस् वा गलत कुनै मतलब थिएन, तर कुनै पार्टीको बारेमा सक्दो प्रसंशा गर्न सक्नु उनीहरुको स्वाभिमान भैसकेको थियो भने विपक्ष पार्टीको बारेमा नकारात्मक विचार भाव व्यक्त गर्न सक्नु उनीहरुको बहादुरी हुन्थ्यो ।

    व्यक्तिको स्वभाव, विचार, कार्यशैली र कार्यव्यवहार भन्दा पनि पूर्व निर्धारित घोकन्ते शैलीमा मानिसहरू आफ्ना विचार व्यक्त गर्थे, समर्थन र विरोध गर्थे । प्रायःजसो मानिसहरूमा कसलाई भोट हाल्ने भन्ने मनसाय बनिसकेको थियोे । पार्टीका घोषणा पत्रमा उल्लेख भएका चिल्ला नारामा उनीहरुको मतलब पनि थिएन । यस्तै माहोलका बीच निर्वाचन शान्तिपूर्ण तवरले सम्पन्न भयो । बडिगाड गाउँपालिकाको ३ नम्बर वडाको रुपमा रहेको सिसाखानीमा ४ राजनीतिक दलले स्थानीय निर्वाचनमा सहभागिता जनाएका थिए । नेकपा एमालेबाट खडक पुन, नेपाली काँग्रेसबाट यामेन्द्र घर्ती तथा जनमोर्चा र माओवादीबाट क्रमशः नर बहादुर पर्तेल र कुमारी थापा वडा अध्यक्षको पदमा उम्मेदवार थिए । उक्त चुनावमा नेपाली काँग्रेस र नेकपा एमाले पार्टीका बीचमा कल्ले बाजी मार्ने भन्ने प्रतिस्पर्धा थियो भने जनमोर्चा र माओवादीले केवल आफ्ना पक्षमा रहेको मत परीक्षण र संरक्षण गर्ने तथा विपक्षीको मत आफ्नो पक्षमा पारेर शाख जोगाउने दाउमा थिए ।

    मतदानसंगै चुनावी समयावधि त सकियो तर चुनाव अगाडि बनेको अस्वाभाविक वातावरण भने जस्ताको तस्तै रह्यो । प्रतिस्पर्धी नेपाली काँग्रेसका उम्मेदवारलाई पछि पार्दै नेकपा एमालेका उम्मेदवार सिसाखानीको वडा अध्यक्षमा निर्वाचित भए, एमालेको सम्पूर्ण प्यानल वडा समितिमा निर्वाचित भयो । चुनाव ताका दुई ध्रुवमा विभाजन भएका जनताहरु अझैसम्म पनि एक ठाउँमा हुन सकेका छैनन् भन्ने स्पस्ट देख्न सकिन्छ । चुनावको सेरोफेरोमा राजनीतिक प्रतिशोधको प्रभावका कारण समाजका धेरै व्यक्तिहरू आपसी सद्भाव र सामाजिक एकताबाट अलग्गै रहने चाहनामा रमाउन थाले । विशेष गरी काँग्रेस र एमाले भन्ने सोच मानिसहरूमा यति नमज्जासंग गहिरिन पुग्यो कि चुनाव भएको झण्डै चार वर्ष पूरा हुँदै गर्दा पनि उनीहरुको मनमा चुनाव ताकाको व्यवहार यथावत् देख्न पाइन्छ । जसको फलस्वरूप हाम्रो समाज सामाजिक एकता र सद्भावको रूपमा उठ्नै नसक्ने गरी थलिएको हो कि भन्ने अनुभूति हुन्छ ।

    पहिले पहिले कुनै एउटा भूगोल तथा भेगमा एकै पार्टीको मात्रै बलियो प्रभाव तथा जनमत हुन्थ्यो । तर २०७४ को स्थानीय निर्वाचन पश्चात् भने त्यो अवस्था रहेन । कुनै पनि क्षेत्र वा भेगमा मिश्रित जनमत देखा प¥यो जस्ले गर्दा चुनाव अगाडि मिलेर रहेको समुदायमा राजनीतिक छाल उत्पन्न भयो र सामाजिक सद्भाव अनि एकतालाई नराम्ररी खलबलाइदियो । समाजमा भेदभाव र विखण्डनको लागि अनुकूल वातावरण बन्दै गयो । माथिल्लो र तल्लो घर तथा वल्लो र पल्लो घरका छिमेकीहरु व्यवहार गर्न, कुराकानी गर्न र छलफल गर्न सक्ने अवस्थामा रहेनन् । घर परिवार भित्रैका व्यक्तिहरू बीचमै पनि मनमुटावको अवस्था सिर्जना हुने, दाजु र भाइको बोलचाल बन्द हुने तथा समाजमा कोही पनि मनिसले अरु कोही व्यक्तिलाई राम्रो बोलीवचन र व्यवहार गर्न नसक्ने परिस्थिति निर्माण हुँदै गयो । जुन आजसम्म आइपुग्दा पनि उस्तै देख्न सकिन्छ ।

    एकातिर चुनाव जित्ने पार्टीका नेता–कार्यकर्ता तथा समर्थनमा भोट हाल्ने जनताहरुमा जितको घमण्ड चुलिन थाल्यो भने अर्काेतिर हार्ने पार्टीका नेता–कार्यकर्ता तथा तिनलाई भोट हाल्नेहरुमा हारेकामा बदलाको भाव देखिन थाल्यो । दुवै पक्षले हारजितलाई स्वाभाविक प्रक्रिया हो भन्ने सोच्न सकेनन् । सबैमा राजनीतिक प्रतिशोध झाँगिदै गइरह्यो । चुनाव जितेका पार्टीका नेता तथा कार्यकर्ताहरु सत्ता र शक्तिको घमण्ड प्रदर्शन गर्न थाले । वडा समिति मार्फत वडा कार्यालयलाई चाहेको तरिकाले प्रयोग गर्न सकिन्छ र सिंगो सिसाखानीका मानिसहरूलाई आफ्नो मुठ्ठीभित्र पार्न सकिन्छ, भन्ने सोंच हावी हुँदै गइरहेको कुरा उनीहरुले सत्ता र शक्तिको आडमा रहेर गर्ने घमण्ड र व्यवहारले प्रष्ट देखाउँथ्यो । कसैले पनि हामी विरुद्ध बोल्ने , औंला उठाउने र प्रतिप्रश्न गर्ने क्षमता राख्न सक्दैन र त्यसो गर्ने अधिकार छैन भन्ने खालको सोंच उनीहरुमा विकसित भैरहेको अनुभूति जो कोहीले सहजै गर्न सकिन्थ्यो । निर्वाचित व्यक्तिहरुका प्रभाव क्षेत्रभित्र रहेका सार्वजनिक स्थान तथा कार्यालयहरुमा सकभर विपक्षीका व्यक्तिहरु नदेखिऊन् भन्ने मानसिकता उनीहरुमा हाबी थियो । 

    विपक्षी विशेष गरी नेपाली काँग्रेसका नेता–कार्यकर्ताले पनि अध्यक्षलाई विपक्षीकै रूपमा हेर्न थाले । नेता–कार्यकर्ता माझ मात्र होइन सामान्य जो काँग्रेसको समर्थनमा भोट हालेको थियो, ती आम मानिसहरु सबैमा यही मानसिकता हाबी भयो । अध्यक्षलाई ३ नम्बर वडा सिङ्गो सिसाखानीको अध्यक्ष भनेर भित्री आत्मादेखि स्वीकार गर्न सकेनन् । आवश्यक पर्दा साथ र सहयोग माग्नुपर्छ अनि चाहिँदाको बखत साथ र सहयोग गर्न तत्पर पनि हुनुपर्छ भन्ने सोंच कसैले राख्न सकेनन् । दुवै पक्षमा (सत्ता एमाले र प्रतिपक्ष काँग्रेसमा) पार्टीगत र व्यक्तिगत स्वार्थ हाबी हुँदै जाँदा समुदायमा निकै घातक र नकारात्मक असर पर्न गएको छ । वडा अध्यक्षको नेतृत्व तथा पहलमा सञ्चालनमा ल्याइएका विकास निर्माणका योजनामा विपक्षी मानिने पार्टीमा आस्था राख्ने व्यक्तिहरुले सकारात्मक भएर साथ र सहयोग गर्ने चेष्टा गरेनन् ।

     धेरै विकास आयोजनामा विरोध गर्ने र बाधा अवरोध सिर्जना गर्ने काम भए जसको कारण आवश्यक क्षेत्र तथा भेगहरुमा अत्यावश्यक मानिएको विकासको जग बसाउन नसक्दा त्यसको प्रत्यक्ष असर सम्बन्धित स्थानीय समुदाय र जनताले भोग्नु परेको यथार्थ सत्य हो । वडा कार्यालयको नेतृत्वमा ल्याइएका आयोजनाहरुको बारेमा विस्तृत जानकारी नलिई, अध्ययन नगरी हचुवाको भरमा योजनाको विरोध गर्ने, राजनीतिक पूर्वाग्राही ढंगले विचार राख्ने, तथा राम्रा र आवश्यक कामहरूमा साथ र सहयोग नगर्ने प्रवृत्तिले सिसाखानीको समग्र विकासमा निक्कै बाधा अवरोध पु¥याउएको अनुभूति गर्न सकिन्छ । वडा कार्यालयको योजनाहरु पनि धेरै हदसम्म सामाजिक उत्तरदायित्वमा विचलित भएको मान्न सकिन्छ । हरेक समुदायको चाहना र आवश्यकतालाई बुझेर समानुपातिक र दीगो विकासको अवधारणामा आधारित भएर अघि बढेको भए सायद विरोध गर्नेका मुख थुन्न सहज हुन्थ्यो होला तर त्यसो गरेको देखिएन ।

    कुनै पनि स्थान वा समुदायमा विकास योजना सञ्चालन गर्दै गर्दा सम्बन्धित समुदायको सबै मानिसहरूलाई जानकारी गराउने र छलफल गराउने खालको वातावरण सायद नेतृत्वले बनाउन नचाहेको जस्तो देखिन्छ । कुनै पनि योजना ठाडो आदेशको भरमा काम गराउने र बजेट मात्रै सक्काउने परिपाटीले सबैलाई समेट्न सक्दैन अनि समुदायको विकासमा खासै अर्थ राख्दैन । विकासको गतिविधि गर्ने क्रममा आफ्ना पक्षका व्यक्तिहरुलाई जानकारी गराउने तर अन्य व्यक्तिहरूलाई सुइँको समेत दिन नचाहने प्रवृत्तिले पनि योजना सञ्चालनमा पक्ष र विपक्षको माहोल सिर्जना भएको देखिन्छ । आफ्ना मान्छेहरू मात्रै भेला गरेर योजना सञ्चालनको फाइलमा सुटुक्क हस्ताक्षर गराउने र आदेश प्रदान गर्ने प्रवृत्तिले अन्य व्यक्तिलाई रुष्ट अवश्य गराउँछ नै । यी कुराहरूमा नेतृत्वले ध्यान पूर्वक सोच्नु अत्यावश्यक छ ।

    अहिलेको समयमा कुरा उठ्ने गरेको छ, पुराना विकास आयोजनाहरु धेरै मात्रामा अधुरो अवस्थामै बेवारिसे र अलपत्र भएका छन् । सम्पन्न आयोजनाहरुको पनि आवश्यक मर्मत सम्भारमा चासो दिइएको छैन । यस्ता विषयहरुमा पनि सिसाखानीका जनप्रतिनिधि तथा विपक्षी पार्टीका नेता–कार्यकर्ताले विशेष ध्यान पु¥याउनुपर्ने हो तर त्यसो गरिएको पाइँदैन । खासगरी निर्वाचित जनप्रतिनिधिले यो विषयमा प्रमुख जिम्मेवारीका साथ चासो, चिन्तन, र मनन गर्दै तत्परता देखाउन सक्नुपथ्र्यो । समय समयमा वडामा (गाउँमा) सर्वदलीय र आम भेला गरेर गाउँमा भएका समसामयिक सामाजिक गतिविधिका बारेमा जानकारी गराउने र छलफल गर्नुपर्ने हो । आफ्नो नेतृत्वमा भएका कामका बारेमा सार्वजनिक रूपमा जानकारी गराउन सक्नुपर्ने । गाउँ समाजमा भएका विकृत समास्याहरुको पहिचान गरी समाधानको लागि सक्दो पहल गर्नुपर्ने । कुनै पनि आयोजनाको काम अघि नबढ्नुको कारणबारे सम्बन्धित समुदायका लाभग्राही जनतालाई स्पष्ट जानकारी गराउनु आवश्यक हुन्छ । यदि समितिको बदनियतका कारणबाट समस्या उत्पन्न भएको भए तिनीहरुलाई कानुनी कार्वाहीको दायरामा ल्याउन सक्ने हिम्मत गर्नुपथ्र्यो । 

    जनप्रतिनिधिको मुखबाट बारम्बार सुनिने शब्द ‘स्थानीय तहको निर्वाचन अगाडिका आयोजनाहरु हेर्ने जिम्मा हाम्रो होइन, केन्द्र सरकारले थालेको योजनामा हाम्रो चासो हुन्न ।’ यस्तो खाले अभिव्यक्ति सुन्दा लाग्छ, निर्वाचित जनप्रतिनिधिहरु समुदायको कस्तो व्यक्ति हो ? कुनै निश्चित योजनाको ठेकेदार हुन् त ? तर मैले बुझेको जनप्रतिनिधि त समुदायको लागि अभिभावकको भूमिकामा हुनुपर्ने, समाजमा भएका हरेक समस्याहरू तथा विकृति र विसङ्गतिहरुको समाधान र विरुद्धमा दरिलो भएर उभिन सक्नुपर्ने हैन र? अलपत्र योजनामा पालिका र वडाको भूमिका बजेटको प्रसङ्गमा नहोला, यस्तो अवस्थामा पनि त वास्तविकता आम जनताको माझमा स्पष्ट रुपमा जानकारी गराउन सकिन्थ्यो होला नि ? तर यस प्रकारको कार्यमा पनि जनप्रतिनिधिले मौनता देखाउनुलाई सहजै स्वीकार गर्न सकिँदैन ।

     यो खालको उदासीनता देखाउनु भनेको सम्बन्धित समुदायका जनताप्रति गरिएको उपेक्षा हो । अर्कोतर्फ विपक्षीका मानिने आदरणीय व्यक्तित्व जनहरु पनि प्रतिपक्षले गर्नुपर्ने भूमिका निर्वाह गर्न असफल नै छन् भन्न सकिन्छ । उनिहरुले नचाहेर हो वा नसकेर । समुदायको हितमा विकास निर्माण सम्बन्धि योजनाको लागि जनप्रतिनिधिहरुलाई दबाब सिर्जना गर्न सकेको अवस्था छैन । समुदायको हित विपरितका गतिविधिमा पनि हेरेरै बस्ने र कुनै समुदायको हितमा गर्न खोजिएका राम्रा काममा पनि बाधा र अवरोध गरी समस्या निम्त्याएको गुनासो गाउँ समाजमा सुन्न पाइन्छ ।

    माथि उल्लेखित कुराहरूसंग जोडिएर आउने अर्को महत्वपूर्ण कुरा कुरा भनेको सामाजिक सरोकारका विषयमा अभिव्यक्त हुने युवापुस्ताको विचार पनि हो । गाउँमा रहेका तथा गाउँदेखि बाहिर शहर बजार अनि विदेशमा पढाइ र रोजगारीका लागि पुगेका युवा उमेर समुहका पुस्ताले सामाजिक सञ्जाल मार्फत गाउँघर र समाज समुदायप्रति अलि बढी चासो र चिन्ता देखाउन थालिएको अनुभूति गर्न सकिन्छ । आजभोलि गाउँ समाजबाट टाढा रहेका युवाहरूले गाउँघरमा भएका गतिविधिहरु माथि खुलेर आफ्ना भनाइ व्यक्त गरेको पाइन्छ । गाउँसमाजमा भए गरेका विकास निर्माणका गतिविधि तथा समाज समुदायमा देखा परेका समस्याप्रति युवा पुस्ताले देखाएको चासो, चिन्ता र निगरानी बढ्दै गएको मान्न सकिन्छ ।

    पछिल्लो समय खानेपानी योजना तथा मोटर बाटो निर्माण सम्बन्धी विषय सामाजिक सञ्जालमा प्रमुख चर्चाको विषय बन्न पुगेको छ । यो आयोजनाहरु निकै समय अगाडिदेखि आवश्यकता महसुस गरिएको र निर्माण गर्न सुरुवात गरिएका तर हालसम्म पूरा हुन नसकेका सिसाखानीको प्रमुख सरोकारको रूपमा रहेका योजनाहरु हुन् । वर्तमान समयको पहिलो माग र आवश्यकताको रुपमा रहेको यी योजनाहरु निर्माण सम्पन्न हुन नसक्दा त्यस विषयमा आउने टिका टिप्पणी र प्रश्नहरु स्वाभाविक र जायज मान्न सकिन्छ । यस विषयमा जनदबाब सिर्जना गर्न आवश्यक छ पनि ।

    यस प्रकारका सामाजिक सरोकारका विषयमा समाजका हरेक व्यक्तिले देखाउने चासो र चिन्ताले समाजमा आवश्यक सामाजिक विकासका पक्षमा जनचेतना बढ्दै गइरहेको छ, भन्न सकिन्छ । तर हरेक व्यक्तिहरुको भनाई तथा विचारहरु हेर्दा अधिकाँश विचारहरु कुनै न कुनै राजनीतिक दल तथा व्यक्तिगत स्वार्थ र पूर्वाग्रहमा जोडिएरै आएको देखिन्छ । एक जमातले जनप्रतिनिधिहरु माथि प्रश्न गरिरहने र राम्रो काम गर्न नसकेको गुनासो गर्दै गर्दा अर्को जमातले जनप्रतिनिधिहरुको बचाउको पक्षमा खुलेर वकालत गरिरहेको देखिन्छ । सामाजिक सञ्जाल मार्फत अभिव्यक्त भएका विचारहरुको अध्ययन गर्दा पनि हाम्रो समाज दुई पक्षमा विभाजित भएको होकि भन्ने आशंका  जागेर आउँछ । हामी हरेक व्यक्तिहरु कोही पनि स्वतन्त्र नागरिकका रूपमा छैनौ कि भन्ने भान हुन्छ । 

    मलाई लाग्छ, कुनै पनि सामाजिक विषयवस्तुसंग सम्बन्धित विचार राख्नु बिलकुल सकारात्मक पक्ष हो तर कुनै पनि विषयमा निष्पक्ष भएर आफ्नो विचार अभिव्यक्त गर्न नसक्नु ठूलो बिडम्बना हो । जस्ले समाजलाई सधै विभाजनतर्फ उन्मुख गराउँछ । राम्रा काम भएको अवस्थामा विपक्षीले गरेका भए पनि राम्रो भन्न र साथ समर्थन गर्न तथा नराम्रा क्रियाकलापका विरुद्धमा आफ्नै पक्षका व्यक्तिले गरेका भए पनि गलत भयो भनेर औंला ठड्याउन सक्नुपर्दछ । कसैले नियोजित रूपमा भनेका कुराहरूको पछि लागेर विरोध वा समर्थन गर्दा आफू नै गलत सावित हुन सकिन्छ भन्ने कुराको हेक्का राख्नु जरुरी हुन्छ ।

    स्थानीय तहको निर्वाचन पछाडि गाउँघरमा गरिएका विकास निर्माण कार्यलाई सबै पक्ष तथा व्यक्तिहरुले सहजै स्वीकार गर्न नसक्नु र सीमित व्यक्तिले निश्चित स्वार्थ पूरा गर्ने गरी विकास योजना सञ्चालन गर्न खोज्नुले सिसाखानीको सन्दर्भमा जति मात्रामा विकास हुनुपर्ने हो, त्यति मात्रामा हुन नसकेको सबैलाई जानकारी भएकै कुरा हो । त्यसैले सिसाखानीका जनताहरुले गाउँसमाजमा सही तरिकाले विकास भएको देख्न र आधारभूत आवश्यकताले सु–सम्पन्न हुन चाहन्छौं भने पक्कै पनि पक्ष–विपक्षको मानसिकता तत्काल हटाइनुपर्ने आवश्यकता देखिन्छ । काँग्रेसप्रति आस्था राख्ने सबै जनता तथा नेता–कार्यकर्ताले सकारात्मक सोच सहित समुदायको हितमा सञ्चालन गरिने विकास निर्माण सम्बन्धी योजनालाई खुलेर समर्थन गर्न सक्नुपर्दछ । 

    समुदायको माग र आवश्यकतामा आधारित भएर गरिने विकास निर्माणलाई दीगो र जनमुखी बनाउन सबैले आ–आफ्नै हैसियत अनुसारको भूमिका निर्वाह गर्नुपर्दछ । समुदायको हित बमोजिम गरिने विकास निर्माण कार्यलाई कुनै पनि बाहनामा अवरोध गर्नु उपयुक्त मानिदैन । त्यस्तै गरी विकास निर्माणका कार्यक्रम सञ्चालन गर्ने सम्बन्धित व्यक्ति तथा निकायले पनि व्यक्तिगत भन्दा सामाजिक हितमा योगदान दिनसक्ने, समुदायको माग र आवश्यकता अनुसारको योजना सञ्चालन गर्न सक्नुपर्दछ । पूर्वाग्रही तवरले कार्यक्रम सञ्चालन गर्नु समुदायको लागि घातक बन्न सक्छ, भन्ने कुरा पनि ख्याल गर्नुपर्ने हुन्छ । स्थानीय समुदायको जनसहभागिता बिना गरिएको कार्यक्रमहरु प्रभावकारी हुन सक्दैन । त्यसैले समुदायका मानिसहरूलाई प्रत्यक्ष संलग्न गराई उनीहरुको चाहना अनुसार योजनाहरु सञ्चालन गर्दा दीगोपन र प्रभावकारी बनाउन सकिन्छ ।

    विशेषतः युवापुस्ताका जमातले समाजमा सकारात्मक परिवर्तन गर्न महत्वपूर्ण भूमिका खेल्न सक्ने हैसियत राख्ने भएकाले, युवाहरू स्वतन्त्र विचार राख्न सक्ने हुनुपर्दछ । राजनीतिक आस्था कुनै पार्टी निकट हुनु स्वभाविक नै हो तर पनि सामाजिक विषय वस्तुमा अभिव्यक्त गरिने विचार समुदायको हितमा हुनुपर्दछ । समुदायमा हुने विकास निर्माणका कार्यक्रमहरुमा सहभागी हुनु युवाहरूको अधिकार र दायित्व दुवै उत्तिकै महत्वपूर्ण मानिन्छ । आगामी दिनहरूमा आउने भावी÷नयाँ पुस्तालाई कस्तो वातावरणमा हुर्काउने, कस्तो के कस्तो संस्कार–व्यवहार सिकाउने र कस्तो खालको समाज सुम्पिने लगायतका सबै जिम्मेवारी आजका युवा अवस्थाका व्यक्तिहरुमा निर्भर रहने गर्दछ । त्यसैले समुदायमा सकारात्मक परिवर्तन गर्नको लागि नेतृत्व गर्न र कम्तीमा दबाब सिर्जना गर्न सक्नुपर्ने बाध्यता युवाहरूको काधमा छ । 

    समाजका सबै व्यक्तिहरू राजनीतिक पार्टीका पक्ष–विपक्षमा उभिँदै गर्दा सामाजिक सद्भावनामा गहिरो चोट परेको छ । समाजमा रहेको भावनात्मक एकता विस्तारै खल्बलिँदो अवस्थामा छ । समाजमा एकले अर्कोको अस्तित्वलाई स्वीकार गर्न नसक्ने स्थितिको सिर्जना भैरहेको छ । जबसम्म समाजका हरेक व्यक्तिले स्वतन्त्र रूपमा समाजप्रति, एक अर्काप्रति तथा कुनै पनि विषयमा सकारात्मक विचार भाव राख्न सक्दैनन् तबसम्म समाजमा एक खालको विभाजन रहिरन्छ । सामाजिक एकतालाई जबसम्म बलियो बनाउन सकिँदैन तबसम्म सकारात्मक परिवर्तनको बाटोमा समुदाय अघि बढ्न सक्दैन यो निश्चित छ । त्यसैले समाज–समुदायको उन्नति र प्रगतिको लागि जनस्तरको एकता र सामाजिक सद्भावलाई पहिलो प्राथमिकता बनाउनुपर्छ । समुदायमा रहेका हामी सबै एक भएर आपसी सद्भाव र सहिष्णुता कायम गरे हाम्रो गाउँ समाज सकारात्मक परिवर्तन र विकासको असल बाटोमा अगाडि कसो नबढ्ला र ?
    लेखक बडिगाड गाउँपालिका-३ सिसाखानी घर भई हाल पाटन बहुमुखी क्याम्पस ललितपुरमा अध्ययनरत छन् । 

    सम्बन्धित समाचार