केही समय अगाडिको कुरो हो ।
मानिसहरूले अमेरिकाको तानशाही प्रवृत्तिलाई कटाक्ष गर्दै ‘पाप कुर्लेको’ भने जतिखेर अमेरिकाको एउटा सुन्दर शहर ‘लसऐन्जलस’ भीषण आगोको लप्कामा जल्न विवश थियो । हेर्दाहेर्दै एउटा प्रतिष्ठित शहर तातो खरानीमा परिणत भयो । आगोको गर्भगृहबाट नि:सृत विषाक्त धुँवा र कडा दूर्गन्ध मानिसहरूको नाकमा ठोस्सिइरहेको थियो जसले गर्दा मानिसहरू प्रदुषित हावामा सास फेर्न बाध्य थिए ।
एक जना विद्वानले अखबरमा लेखे- “....समयमै ठोस र दीर्घकालीन उपाय अपनाउन नसके आजको क्यालिफोर्निया भोलिको नेपाल बन्न सक्दछ ।”
एक जना महिलाले फेसबुकमा स्टाटस लेखिन्- “एक दिन सिङ्गो पृथ्वी नै जल्नेछ ।”
अर्को एक जना मानिसले टिकटकमा ‘कमेन्ट’ गरे- “यो कलियुग हो, प्रेमको नाममा बर्बाद हुँदैछ मानिस !”
झट्ट हेर्दा यी कुराहरू सामान्य लाग्दछन् । तर यसमा सत्यता छ । आध्यात्मिक दृष्टिकोणले यी कुराहरू शतप्रतिशत सत्य प्रतीत हुँदैछ / हुनेछ । आउनुहोस्, यसलाई अध्यात्मिक पाईनबाट पर्गेल्ने प्रयास गरौं ।
गत वर्ष डिसेम्बरको अन्त्यतिर अमेरिका (अन्तरिक्ष अनुसन्धान संस्था-‘नासा’) ले मानवरहित अन्तरिक्षयान इतिहासमै पहिलो पटक सूर्य ग्रहमा एक अर्ब ५० करोड अमेरिकी डलरको महत्वाकांक्षी ‘पार्कर सोलार प्रोब’ नामक रकेट सफलतापूर्वक प्रक्षेपण गर्यो । सौर्य उर्जाको रहस्य पत्ता लगाउने उद्देश्यकासाथ प्रक्षेपण गरिएको यो अन्तरिक्ष यान पृथ्वीदेखि झण्डै १५ करोड कि.मी.को दूरीमा अवस्थित सूर्यको सतहबाट झण्डै ३.८ मिलियन माइल (लगभग ६.१ मिलियन कि.मी.) माइलभित्रको क्षेत्रमा प्रवेश गर्ने ठूलो अपेक्षा गरिएको थियो । यद्दपि थप अनुसन्धान जारी नै छ ।
संयोग भनौं कि दुर्भाग्य !
नयाँ वर्षको शुरूवातमै क्यालिफोर्निया राज्यको अत्यन्त आकर्षक र संभ्रान्त शहर क्षणभरमै खरानीमा अनुवाद भयो । विश्वकै सर्वाधिक शक्तिशाली राष्ट्र मानिएको अमेरिका डढेलोको सामु निरीह बन्यो ।
लसएन्जलससँगै हलिउड हिल्स लगायत आसपासका कयौं क्षेत्रहरू आगोको मूश्लोभित्र विलिन भए । विश्व चर्चित फिल्म स्टारहरूको घर पनि कालो धुँवाभित्र विलाए । कयौं लोभलाग्दा भौतिक संरचना, अस्पताल, उद्यान र ऐतिहासिक दस्तावेज आदि सबथोक स्वहा भए । जंगलमा स्वच्छन्द रूपमा विचरण गरिरहेका लाखौं वन्यजन्तुहरू जलेर अँगार भए । लाखौं मानिसहरू घर छाड्न बाध्य थिए । कयौं मानिसहरूले आफ्नो इष्टमित्र र साथीभाइहरू गुमाए । आफन्तहरू गुमाएको पीडा, चीत्कार, आँशुका डोबहरू मात्र बाँकी रहे........!
हामीले सञ्चारका विभिन्न माध्यमहरू लगायत मोबाइलका स्क्रीनहरूमा देखिरहेका थियौं कि आगो निभाउन अमेरिकालाई हम्मेहम्मे परिरहेको थियो । अत्याधुनिक प्रकारका हजारौं दमकल, ड्रोन, हेलिकप्टरहरू परिचालित थिए । यद्दपि ती प्रयासहरू लगभग पूरै विफल भएको थियो । पानीको अभाव कारण स्वीमिङपुलबाट समेत पानी ओसारेर आगो निभाउने प्रयास गरिदैँ थियो । सरकारले स्थानिय जनतालाई पानीको वचत गर्न अनुरोध गरिरहेको अवस्था झन् दयनीय देखिन्थ्यो / थियो ।
अन्ततः अमेरिकाको इतिहासमा लसऐञ्जलस शहर आगोले गरेको अट्टाहास भयानक विद्रोह पश्चातको युद्धविराम र ज्वालामुखी विस्फोटन पश्चातको सन्नाटा प्रतीत भइरहेको थियो । ती कहालीलाग्दा क्षणहरू सम्झँदा पनि आङ सिरिङ्ङ हुन्छ । मानौं यो आगोको कथा हो ।
प्रकृति भन्नु नै पञ्चमहाभूत (आकाश, पृथ्वी, जल, अग्नि र वायु) को मिश्रित अभिव्यक्ति हो । प्रकृति देवीले चाहेकी भए जल र वायुशक्तिको संघटनबाट भीषण वर्षा सृजना गरी लसएन्जलसलाई आगोको कठोर चक्रव्यूहबाट सजिलै मुक्त गर्न सक्थिइन् । अमेरिकाले आगो निभाउनका लागि यति बिघ्न कष्ट व्यहोर्नु पर्दैनथ्यो जसले गर्दा आर्थिक, समय र शक्तिको वचत हुन सक्दथ्यो । जब प्रकृति र मानवताबीच असन्तुलन, असामान्जस्यता र अविश्वास (तादाम्यताको अभाव) उत्पन्न हुन्छ तब प्रकृतिले चेतावनी स्वरूप आफ्नो रौद्ररूप प्रदर्शन गर्छिन् । फलस्वरूप मानव समाजले भयानक दुर्घटनाको सामना गर्नुपर्ने हुन्छ ।
शास्त्रमा आध्यात्मिक उन्नयनका कदमबाहेक भौतिक जगतको कुनै पनि लोकमा जाने सल्लाह दिएको छैन । अध्यात्मले यस्ता कार्यमा गरिने फजुल खर्चको दुरूपयोगलाई मितव्ययिता कायम गरी दुःखी र गरीबहरूको हितमा लगानी गर्न प्रोत्साहित गर्दछ । जब कि अमेरिका आफूलाई विश्वकै सर्वाधिक शक्ति सम्पन्न राष्ट्रको अहंकार र उन्मादको वायुपंखी घोडा चढेर सूर्य ग्रहभित्र प्रवेश गर्ने धृष्टता गर्दैथियो ।
लसऐन्जलसको आगो एकाएक किन र कसरी यति क्रुर र भयावह बन्न पुग्यो ? भन्ने प्रश्न महत्वपूर्ण थियो, जससमा मुख्य दुईवटा कारणहरू विद्यमान / जिम्मेवार थिएः एक, सुख्खा मौसम । दोस्रो, तीव गतिमा चलेको तातो हावा ।
हो, आगोको उन्मादलाई थप उत्तेजनामा ल्याउन सक्रिय भूमिका खेल्ने यो तातो हावा (सेन्टा ऐना विन्डस) जो झण्डै १६० कि.मी. प्रतिघण्टाको रफ्तारमा फैलिएको थियो । झण्डै बीसौं हजार एकड क्षेत्रमा फैलिएको हो आगो अमेरिकाको इतिहासमा शताब्दीकै सबैभन्दा हृदयविदारक दृश्य मात्र थिएन, ठूलो वज्रपात पनि थियो । यस्तो लाग्थ्यो कि आगोको मुश्लोले वैभवशाली राष्ट्र अमेरिकामाथि धावा बोलीरहेको थियो । जेहोस, अमेरिकाले तात्कालिक परिस्थितिबाट सृजित मानवीय संकटलाई शान्तपूर्ण वातावरणमा अवतरण गर्ने भरमग्दुर प्रयास गरेकै हो । संयुक्त राष्ट्रसंघले प्रभावितहरूलाई सुरक्षित स्थानको खोजी समेत गर्न आव्हान गरेको थियो, जुन् संचार जगत साक्षी छ ।
अब मोबाइलको दुनियाँमा प्रवेश गरौं !
कुनै बेला बजारमा साना कदका ‘कि प्याड’ मोबाइलहरूको एकछत्र राज्य थियो जसलाई चलनचल्तीको भाषामा ‘टुकटुके मोबाइल’ भनिन्थ्यो । आजकल प्रायः मानिसहरूको हातमा हत्केलाकारको चारपाटे आकर्षक जिनिस देख्न सकिन्छ जसलाई ‘स्मार्ट मोबाइल’ भनिन्छ । सामाजिक सञ्जालसँगै मोबाइलको साम्राज्य बढ्दो छ जसले मानिसहरूको नीद नै हराम गर्दैछ ।
मोबाईल वरदान हो कि अभिशाप ?
यसको बहस भविश्यमा हुँदैगर्ला । तर आजकल मोबाईल मानिसहरुले जुन् ढंगले प्रयोग गरिहेका छन् वा जुन् ढंगले मोबाइलको कुलत बढ्दो छ त्यो अत्यन्त गम्भीर छ । त्यसो त मोबाइलको संयमित ढंगले प्रयोग गर्ने सचेत मस्तिकहरूको लागि भन्नु केही छैन । तर मोबाइल (विशेष गरी टिकटक, फेसबुक, रील, भ्लग) का स्क्रीनहरूमा एक पछि अर्को गरी मुर्झाएका केही सामाग्रीहरू अत्यन्त घृणित र भत्सर्नायोग्य छन् ।
मोबाइलमा अक्सर अश्लीलतालाई मलजल एवं अभिप्रेरित गर्ने उत्तेजक हाउभाऊ तथा दृश्यहरू हावी हुँदैगइरेहको प्रतीत हुदैंछ । अर्को कुरा प्रेम, यौन र दाम्पत्य जीवनका कयौं प्रेमिल सम्बन्धहरू गोप्य रूपमा नै प्रस्फूटित एवं अभिव्यक्त हुन्छन् । यसलाई गोप्यतामै फक्रन दिनुपर्दछ । यस्ता सम्बन्धहरु दुनियाँका अगाडि सकभर सार्वजानिक नगरेकै राम्रो मानिन्छ । जब कि बिरालोले पनि आफूले विष्ट विसर्जन गरेको ठाउँ छोप्दछ, पुर्दछ । तर यहाँ त्यस्तो भईरहेको छैन । कुकुरलाई ओछ्यानमा सुताएको, कुकुरसँग जिस्किएको, चुम्बन गरेको र लाडप्यारकासाथ काखमा राखेर खाना खुवाइएका दृश्यहरू भलीभाँती देख्न र सुन्न पाइन्छ । त्यसो त सोफामा बसेर रजाईं गरिरहेको एउटा ईमान्दार प्राणीमाथि गलत मनसाय व्यक्त गर्नु मेरो नियत होइन । जब कि शास्त्रमा आमा समान मानिएकी ‘गाई’ सडकका गल्लीहरूमा भौंतारिइरहेकी छिन् ।
हो,कतिपय अश्लील उपन्यास, यौनउत्तेजक सामाग्री, मन्दिरका टुँडालहरू लगायत पशुपंक्षीहरूले प्रदर्शन गर्ने मैथुनिक दृश्हरू कसैको नजरबाट छिपेको छैन । तर केही मानिसहरू आफूभन्दा निम्न स्तरका प्राणीहरूको मैथुनिक दृश्यहरू मोबाइलमा कैद गरेर क्षणिक मनोरञ्जनको स्वाद लिन पल्किरहेका छन् । मोबाइलमा सार्वजानिक गर्न उद्दत छन्, जुन् यो अत्यन्त गम्भीर एवं आपत्तिको विषय हो ।
मोबाइल साक्षी छ । अश्लील गीतको रचना, गीतको छनौट र शारीरिक हाउभाउ तथा नखराले यस्तो बताउँछ कि केही षोडशीहरूको जवानी छचल्किएर भूईंमा पोखिन आतुर छ, चाहे ती विवाहित होऊन् वा सुकन्या । मध्यरातले कोल्टो फेरेपछि मोबाइलमा यस्ता कामुक दृश्यहरू बढी सलवलाएको महशुस गर्न सकिन्छ, जसरी रातमा उडुस र उपियाँ सलवलाउँदछन् । व्यक्तिको चरित्र हत्या गर्नु, इज्जतमाथि खेलवाड गर्नु, नाङ्गो र उदाङ्गो हुने गरी अश्लील हरकतहरू छताछुल्ल हुनु निश्चय पनि राम्रो लक्षण होइन । यसलाई पतनको चिल्लो सडक / पतन्मोख यात्रा भन्न सकिन्छ ।
खासमा ‘प्रकृति’ ले नै हरेक प्राणीहरूको इच्छा र आवश्यकता पूर्ति हेतु विशेष किसिमका आचरण तथा स्वभावहरू निर्धारण गरेको छ । तर संसारमा मानिस मात्र यस्तो ज्याद्रो प्राणी हो जसलाई कुनै ऋतु, समय र कानूनको सीमाभित्र कैद गर्न सकिदैंन । जब मानिस प्रकृतिको नियम उल्लंघन गर्ने दुस्साहस गर्दछ तब मानिसहरूको लागि यो महङ्गो सावित हुन जान्छ/ जानेछ ।
समाजका चेतनशील र चिन्तनशील अभियन्ताहरू जान्दछन् कि आजकल मानिस यसलाई निकै ठूलो स्वतन्त्रता र मानवीय उपलब्धि ठानेर प्रकृतिले निर्धारण गरेका शाश्वत नियमका विरूद्ध धावा बोलिरहेको छ । प्रकृतिको नियमलाई पुरै वेवास्ता गरेर आफ्नै प्रकृतिको नियम लादिरहेको छ, जबरजस्त । त्यस्तै कथित मनोरञ्जन वा व्यवसायका नाममा रोधीघर, मसाज सेन्टर, डिस्को, बार, दोहरी साँझ तथा रात्रीकालिन जमघटहरू नै किन नहोऊन्, त्यहाँ पनि अश्लील चरित्र हावी भईरहेको छ । विभिन्न उत्सव र महोत्सवहरू पनि यसबाट अछुतो छैनन् । स्त्रीहरूलाई प्रायः कामुक चरित्रको रूपमा खुलेआम प्रयोग र प्रदर्शन गरिन्छन् । मानौं स्त्रीहरू केवल मनोरञ्जनका साधन / खुराक हुन् ।
नियमन गर्ने सम्बन्धित निकायको अभावमा यस्ता धन्दाहरू सलवालइरहेका छन् । पछिल्लो समयमा समाजमा बढ्दै गएको यौन अराजकता यसैको निरन्तरता एवं अभ्यास हो जसले आगामी समाज र पुस्ताको मानसिकतामा मन्दवीष घोलिरहेको छ । यसबाट हाम्रा भावी सन्ततिहरू र वाल-मस्तिकमा कस्तो मानसिक प्रभाव पर्ला ? यो अत्यन्त गम्भीर प्रश्न हो । अर्को कुरा यस्ता अश्लील सामाग्रीहरूको लतमा फँस्ने कि दलदलबाट बाहिर निस्कने वा प्रतिरोध गर्ने ?
आखिर हाम्रो समाज कता जाँदैछ ? कता जादैंछौ हामी ? अनि कस्तो संस्कार र संस्कृतिलाई बढवा दिइरहेका छौं हामी ?
समग्रमा यसले के सङ्केत गर्दछ भने मोबाईलमा अश्लील दृश्यहरू भूसको आगो सरी सल्किरहेको छ, जसलाई नजरअन्दाज गर्न सकिदैंन । मोबाइलका स्क्रीनहरूमा यो यौन उन्मादको आगो ‘सेन्टा ऐना विन्डस’ भन्दा कयौं गुणा रफ्तारमा फैलिइरहेको छ । यो लसऐन्जलसमा लागेको आगोभन्दा कयौं गुणा विषाक्त र भयावह हुनेछ जसलाई निभाउन संसारको कुनै पनि शक्तिले सम्भव छैन, हुनेछैन ।
प्रश्न उठ्नु स्वभाविक हो –“यो कस्तो आनन्दआनन्द प्राप्तिको श्रोत हो जसले स्वयं आफू र कसैको व्यक्तिगत वा मानवीय संवेदनशीलतालाई मोबाईलमामार्फत सार्वजानिक गर्न रूचाउँदछ ? मानिसको मन र मस्तिक नै बिथोलिने गरी प्रदर्शन गरिएका अश्लील हरकतहरूबाट के तिनका आफन्तजनहरू खुसी छन् ? यो कसैको बाध्यता हो कि रहर ?
शास्त्रमा स्पस्ट बताईएको छः
अधर्माभिभवात्कृष्ण प्रुष्यष्यन्ति कुलस्त्रियः ।
स्त्रीषु दुष्टासु वार्ष्णेय जायते वर्णससङ्करः।। अर्थात् -“हे कृष्ण ! कुलमा अधर्म बढ्न शुरू भएपछि कुलका स्त्रीहरू दूषित हुन पुग्दछन् र यसरी स्त्रीहरू आफ्नो सतीत्वबाट पतित भएपछि नचाहिएका सन्तानहरू उत्पन्न हुन्छन् ।”-१.४०.,श्रीमद्भवद्गीता यथारूप ।
तात्पर्यमा भनिएको छः असल सन्तानको जन्म स्त्रीहरूको सतीत्व र निष्ठामा निर्भर गर्दछ । जसरी बालकहरू सजिलैसँग नराम्रो बाटोतिर लाग्छन् त्यसै गरी स्त्रीहरू पनि पतन हुनतर्फ उन्मुख हुन्छन् । त्यसैले बालकहरू र आईमाईहरू दुवैलाई समाजका वृद्धजनहरूको संरक्षणको आवश्कता पर्दछ । साथै, .....यदि वर्णाश्रम धर्मको नाश भयो भने आईमाईहरू स्वच्छन्दतापूर्वक लोग्ने मानिसहरूसँग सम्बन्ध बढाउँदछन् । यसबाट व्यभिचार बढ्न थाल्दछ अनि वर्णसङ्कर (अवान्छित) सन्तान जन्मिन्नछन् । अनुत्तरदायी मानिसहरू पनि समाजमा व्यभिचार बढाउन सहयोग गर्दछन् । यसरी अनावश्यक वर्णसङ्कर सन्तानहरूको बृद्धि हुन्छ । यसबट मानव जातिमाथि अनेकौं युद्ध र महामारीको सङ्कट आइपर्दछ ।-पेज ५९,श्रीमद्भवद्गीता यथारूप ।
नेपथ्यमा एउटा घराना ‘संभ्रान्त वर्ग’ छ जसले नारीलाई उपभोग गर्ने कला वा कायदा जानेको छ जसले नारीलाई मासु र मदिराको प्यालामा चुर्लुम्म डुबाउन चाहन्छ । कथित सुन्दरी प्रतियोगिता, अश्लील फिल्म, मसाज सेन्टर, लिभिङ् टुगेदर आदि यसका उर्वर भूमि हुन् । अर्कोतर्फ समाजमा मांशाहर, जुवतास, मदिरा सेवन र अवैध यौन सम्बन्ध बढ्दै गरइरहेको छ जसले समाजलाई नरकतर्फ धकेलिरहेको छ । जब कि स्वच्छ समाज निर्माणको यी चार कुराहरू त्यज्य मानिन्छन् ।
भनिन्छ- “भोक र यौनतृष्णा अत्यन्त प्रबल र घातक हुन्छ ।”
यो कलियुग हो । कलियुगले पाँच हजार वर्ष व्यतित गर्दैछ । जब कि कलियुगले अझै चार लाख सत्ताइस हजार समायवधि भुक्तान गर्न बाँकी नै छ ।
शास्त्रमा भनिएको छ- “यस युगमा पापाचार बढेर चरमसीमासम्म पुग्दछ ।” अत: हामी सजिलै कल्पना गर्न सक्दछौं कि आगामी दिनहरूमा यो स्थिति कति भयावह होला ?
समग्रमा नारी गंगा हुन् / धर्ती हुन् । शास्त्रमा नारीको स्थान अत्यन्त पवित्र एवं उच्च छ । संसारमा जति पनि पुरुष देहधारी मनुष्यहरू छन् ती सबैको जन्म नारीकै योनिबाट सम्भव भएको हो । आगामी समाजलाई यौन व्यभिचारको तलतल र दलदलबाट मुक्त गर्न एउटा आध्यात्मिक सुपुत्र जन्माउने मातृकोख सदा सुरक्षित र पवित्र हुनु अत्यन्त अनिवार्य छ ।
हरेक समाजको एउटा अकाट्य स्वभाव हुन्छ-‘राम्रो ईलमको प्रशंसा गर्नु, खराब चरित्रउपर औंला ठड्याउनु / फँडा उठाउनु ।’
वास्तवमा समाज एउटा तटस्थ भूमिका निर्वाह गर्ने संस्था मात्र होइन, जिम्मेवार अभिभावक पनि हो । ऊ राम्रो चित्रको प्रंशसा गर्छ, नराम्रो चरित्रको खण्डन पनि गर्दछ । अतः सामाजिक सञ्जालमा ‘भ्यूज’ र ‘भाईरल’ को मोहमा चुर्लुम्ब डुबेर मिथ्या प्रशंसा र मनोरञ्जनको विचित्र ‘चित्र’भन्दा ‘असल चरित्र’ निर्माणमा आफूलाई समर्पित गर्नु बढी श्रेयष्कर / बुद्धिमानी हुन्छ । आफूलाई परिवर्तनको संवाहक बनेर स्वयं अगाडि नबढेसम्म समाजले नारीलाई नयाँ नयाँ प्रयोग र परीक्षण गरिरहन्छ, गरिरहन्छ । फलस्वरूप नारी सडकमा भौंतारिइरहेकी ‘मालीगाई’ सावित हुनेछिन् । यौन व्यभिचार, लुटपाट, हत्या, हिंसा र बलत्कारका घटनाहरू बढ्नेछन् । यस्तो दिन आउनेछ कि अश्लीलताको आगो अत्यन्त निर्मम भयावह हुनेछ, जसलाई निभाउन हम्मेहम्मे हुनेछ । अन्ततः लसएन्जलसको जस्तै कष्टपूर्ण जीवन भोग्न बाध्य हुनुपर्नेछ ।
निश्कर्ष:
आगो अत्यन्त प्रज्ज्वलनशील पर्दार्थ हो । आगोलाई निरन्तर इन्धन (तेल, मट्टीतेल, पेट्रोल) खन्याइरहे पनि कहिल्यै तृप्त पार्न सकिदैंन । विषयभोग र अश्लीलताको प्रयोग पनि सलाईको काटीको रूपमा सीमित हुनुपर्दछ । जहाँसम्म (पाँच-‘स’) सरकार, समाज, सामाजिक सञ्जाल सम्बन्धित संघसस्था वा सरोकारवाला र सचेत प्रयोगकर्ताको कुरा छ यसमा सबै जिम्मेवार छन् / हुनुपर्दछ ।
संभ्रान्त वर्ग त एउटा स्वार्थी मदारी हो । ऊ सुन्दरीलाई पिठ्युँमा बोकेर हिँड्छ त कहिले काँधमा । तर जब चोकमा मानिसहरूको भीड बढ्न थाल्दछ तब मदारीले सुन्दरीलाई नचाउन थाल्दछ, छमछमी । दर्शकहरूबाट विस्तारै रूपियाँ असुल्न शुरू गर्दछ । मानौं यो उसको आनुवांशिक कला हो । आखिर मदारीको ईशारामा कतिञ्जेल घाँटु नाचिरहन्छ्यौ सुन्दरी ?
एउटा पुरुष आफ्नो खराब आदतका कारण मात्र वरवाद ऊ हुन्छ । तर एउटी नारी (गृहिणी) पतीत भइन् भने सिङ्गो परिवार नै वर्वाद हुन्छ । अश्लीलताको अदृश्य आगो समयमै निभाउनु शख्त जरूरी छ । आध्यात्मिक एवं स्वच्छ समाज निर्माणको यो अत्यन्त अपरिहार्य छ । नारी अस्मिताको जग नै यौन अराजकता वा शोषणको चक्रव्यूहमा परेर छिन्नभिन्न भयो भने न रहन्छ बाँस न बज्दछ बाँसुरी । अन्यथा सिङ्गो पृथ्वी (नारी) यौन उन्मादको भयानक रापमा जलेर खरानी बन्न अभिश्प्त हुनुपर्नेछ जसले गर्दा मानव अस्तित्व सदाका लागि समाप्त नहोला भन्न सकिदैंन ! बेलैमा होशको दबाई खाने कि !
श्रोत / सन्दर्भ सामाग्री:
श्रीमद्भगवद्गीता यथारूप ।
प्रहरी द्धैमासिक प्रकाशन ।
विभिन्न पत्रपत्रिका तथा विद्युतीय सामाग्रीहरू ।