अठार वर्षदेखि चालिस वर्षसम्मका उर्जावान मानिसलाई युवा भनिन्छ । युवाशक्ति कुनैपनि राष्ट्रको जल्दोबल्दो शक्ति जुन आफ्नै खुटामा उभिन सक्छन् । युवा देशका कर्णधार र मेरुदण्ड भएकोले समय सँगसँगै देशको धार्मिक, सामाजिक, सांस्कृतिक, आर्थिक, राजनीतिक क्षेत्रको परिवर्तन युवाको हातमा हुन्छ । उनीहरुको भुमिकाले देशमा सकारात्मक र नकारात्मक असर पार्दछ । हामीले नकारात्मक क्रियाकलापलाई बढ्न नदिनु र सकारात्मक क्रियाकलापका साथ सही मार्गमा हिड्नु र हिड्न सघाउनु युवाको भूमिका हुन्छ यद्यपि नेपालमा युवा परिचालन अपेक्षित रुपमा हुन नसक्नु एक प्रमुख सम्स्या हो ।
समय परिवर्तनशील र गतिशील छ । परिवर्तनशील र गतिशील समयलाई पछाउन नसके देश, समाज र मानिसको अस्तित्व रहन सक्दैन । मानिसको दैनिक जीवनयापनका लागि समयको पहिचान अनिवार्य हुन्छ किनकि समय खोला जस्तै बगिरहन्छ । यसैगरी उमेर अनुसार मानिसको दायित्व, कर्तव्य र भूमिका पनि फरक फरक हुन्छ । हाम्रो भूमिका बालपनमा छुटै हुन्छ र युवा अवस्थामा सम्पूर्ण राष्ट्र निर्माणको जिम्मा युवाहरुमा नै हुन्छ ।
युवाहरु समझदार र सहनशील हुनु पर्दछ । विभिन्न संघसंस्था र ब्यक्तिहरुले युवाको परिभाषाका लागि आ–आफ्नै आधार बनाएका छन् । बलिदान, त्याग, नवनिर्माणको भावना भएका युवाहरू राष्ट्रको शक्ति हुन् । सामाजिक रुपान्तरणको अभियानमा युवा वर्गले धेरै भूमिका निर्वाह गरेका हुन्छन् । नेपालको सन्दर्भमा हेर्ने हो भने, राष्ट्रको प्रगति, शान्ति, सुरक्षा, विकासको लागि युवाको मुख्य भूमिका रहेको देखिन्छ । नेपालमा युवाहरुले नै राष्ट्रलाई अन्धकारमा पारेको राणा शासन हटाएका थिए । राणा शासनको अन्त्य गरी जनतालाई सर्वाधिकार प्रदान गर्न जीवन दिने युवाहरु दशरथ चन्द, धर्मभक्त माथेमा, शुक्रराज शास्त्री, गंगालाल श्रेष्ठ आदिको भूमिका अविस्मरणीय छ ।
इतिहास केलाउँदा देशमा आमुल परिवर्तन ल्याउन युवाहरुको गहन भूमिका रहेका उदाहरण हामी माझ छिपेका छैनन । वि.स. २००७, २०४७, २०६२–२०६३ मा युवाहरुले रगत बगाएर देशमा निरङकुश शासन तथा राजतन्त्र हटाई, लोकतन्त्र कायम गरेका छन् । त्यसर्थ युवाहरु सक्रिय भएर अगाडि बढ्ने हो, भने देश विकास कठिन हुदैन । राष्ट्रले पनि युवाशक्तिको सदुपयोग गर्नुपर्छ अनि मात्र देशको उज्वल भविष्य देख्न सकिन्छ । युवाहरुको निःस्वार्थपूर्ण भावनाबाट देशमा ठूलो परिवर्तन गर्न सकिन्छ । समाजमा बस्ने मानिसहरुलाई आवश्यक पर्ने विकासका पूर्वाधार जस्तै शिक्षा, स्वास्थ्य, सडक, विजुली, खानेपानी आदि मानव जीवनका अपरिहार्य बस्तु हुुन यिनीहरुको विकास नभए सम्म व्यक्तिको विकास हुन् सक्दैन् भने कुनैपनि समाजको मुहार फेरिन सक्दैन् ।
त्यसैले समाजको विकास निर्माणमा यूवाहरुको अहम भूमिका रहन्छ । यूवाको दक्षता, क्षमता, रुचि, चाहना सबैलाई एकिकृत गरी विकासमा लगाउन राज्य सधै लाग्नु पर्नेमा नेपालमा यो अबस्था कमजोर रहको छ । यदि सहि रुपमा यूवाहरुको परिचालन हुन सकेमा अवश्य पनि पहाड पनि वेशी हुन सक्दछ । समस्याको पहाड पनि अवसरको खानी बन्न सक्दछ । यूवालाई जोश, जाँगर विकासमा लगाएर अगाडि बढ्न उत्पे्ररित गर्ने कार्य राज्य सरकारले गरोस् वा नगरोस् तर यूवा जमात यो राष्ट्र निर्माणको मूल प्रवाहमा मेरो पनि दायित्व छ भनि अग्रसर हुन आवश्यक छ ।
समाज विकासको काल खण्डलाई हेर्दा विभिन्न मानिसको निस्वार्थ त्याग बलिदान, सेवा आदि छलङ्ग देखिन्छन् । यूवाहरुले समाज र राष्ट्रको मुहार फेरेका उदाहरण हामीसँग प्रशस्त छन् । विश्वको सन्दर्भमा हेर्दा मार्टिन लुथर किङ्ग जसको भूमिकाको कारण काला र गोरा मानिस बीचको अत्याचार अन्त्य भयो । मडर टेरेसा, माहात्मा गन्धी, नेल्सन मन्डेला, मेडम कियुरी, महाविर पुन, अनुराधा कोइराला, पुष्पा बस्नेत आदि व्यक्तित्वको समाज विकासमा अतुलनीय योगदान रहेको छ । मानिसको जीवनमा गर्भदेखि चितासम्म आइपर्ने सम्पूर्ण समस्याहरु समाधान गर्न, प्राकृतिक प्रकोप जस्तै आगोलागी, भूकम्प, बाढी, पहिरोदेखि मानव निर्मित समस्याहरुको समाधानमा समेत यूवावर्गको अतुलनीय भूमिका रहेको छ । यूवाहरुलाई गुणस्तरीय शिक्षाको आवश्यकता हुन्छ । मानव जीवनलाई सही मार्गमा लैजानुमा स्तरीय ब्यवहारिक र गुणस्तरीय शिक्षाको महत्व हुन्छ । शिक्षालाई जनताको पहुँचमा पु¥याएर उनीहरुको आवश्यकता बुझेर राष्ट्रमा गरिबी र निरक्षरता उन्मूलनका लागि पनि शिक्षाको आवश्यकता पर्दछ । शिक्षाले जनताहरुलाई आफ्नो कर्तव्य र दायित्वमा सचेत बनाई राष्ट्रिय विकासमा टेवा पु¥याँउछ ।
शिक्षालाई आत्मसाथ गर्न सकेमामात्र आजका बालक भोलिका आदर्श नागरिक बन्न सक्दछन् । २१ औँ शताब्दीमा शिक्षा विहिन मानिसको केहि महत्व हुदैन् । शिक्षाले नै गर्दा मानिस अन्धकार युगदेखि यहाँसम्म आएका छौँ । त्यसकारण राष्ट्र निर्माणमा यूवा शक्तिसँगै शिक्षाको पनि धेरै आवश्यक छ । शिक्षाविनाको यूवाले आफ्नो शक्ति कसरी, कहाँ, किन प्रयोग गर्नुपर्छ भने कुरा थाहा हुदैन् । राष्ट्र निर्माण गर्न शिक्षित यूवा अगाडि बढ्नु पर्छ । युवा देशका महत्वपूर्ण अङ्ग हुन् । उनीहरुले नै देशलाई उज्ज्वल बनाउने काम गर्छन् । उनीहरु विना देश चल्न सक्दैन् । बालकहरु परिपक्क हुदैनन् भने बुढाहरुमा जागर हुदैन । युवाहरुले परिवारदेखि राष्ट्रसम्मको दायित्व बोकेका हुन्छन् । देश निर्माण र समाज परिवर्तनका निम्ति युवाहरुको ठूलो दायित्व रहेको हुन्छ । यसर्थ उनीहरु देश परिवर्तनका सम्वाहक हुन् ।
युवाशक्तिबाट समाजमा सकारात्मक र नकारात्मक असर पनि परेको छ । उनीहरु पनि विकृति र विसङ्गतिको शिकार भएका छन् । यूवावर्गहरु अहिले आफ्नो देशको संस्कृति विर्सिएर छाडापन, चेलिबेटी बेचविखन, दुव्यर्सनी लागु पदार्थ, हत्याहिंसा चोरी जस्ता समाजलाई असर पर्ने गतिविधिमा पनि लागेको पाईन्छ । नेपालका यूवाहरुले रोजगार पनि नपाएको अवस्था छ । त्यसकारण पढेलेखेका यूवाहरु पनि खाडीमा गएर आफ्नो पसिना बगाउन बाध्य भएका छन् । आफ्नो रोजगारका लागि उनीहरु आफैँ देशलाई सुधार्ने र देशलाई विकासको बाटोमा लम्काउन पर्छ । इतिहासका विभिन्न कठिन क्षणामा संघर्ष गरेर आफ्नो ज्यान बलिदानदिन पनि तयार बनेका रास्ट्र निर्माणको अभियानमा लागेका शक्ति, जोश, जाँगर, क्षमताका धनी नेपाली युवाहरूले आज रोजगारी नपाएर पीडासँगै विदेशको भूमिमा बाच्न विवश भएका छन् । नेपालबाट प्रत्येक बर्ष करिब ४ लाख ५० हजार युवावर्गहरु श्रमको लागि विदेश पलायन हुन्छन् । श्रम मन्त्रालयको तथ्यांक अनुसार प्रत्येक दिन बैदेशिक रोजगारका लागि करिव १५०० युवाहरु बिदेसिन्छन् । मुटुमाथी ढुंगा राखेर भन्नुपर्छ, नेपाली युवाको प्रत्येक दिन ७–१५ वटा रातो बाकसमा शव भित्रिन्छन् । ८० लाख युवायुवती विदेशी भूमिमा श्रम बेच्न बाध्य भएका छन भने शिक्षित युवाहरु अहिले बेरोजगार छन् ।
नेपालमा युवाशक्ति स्वदेशमै रहन नसक्नुका कारणहरुलाई विश्लेषण गर्दा, सरकारको अस्थिरता, भष्टाचार, नेता, नीति र नियती प्रमुख कारणहरु रहेका छन । नीति बनाउने, तर कार्यान्वयन नगर्ने प्रवृत्ति हावी हुनुले युवामा राज्यप्रति विश्वास क्रमश गुम्दै गएको छ । देशमा बसेर केही हुदैन भन्ने भाष्य बनेको छ । देशभित्र केही गर्न सकिन्छ भन्ने विश्वास युवामा जगाउन सकिएको छैन । यो अवस्था सिर्जना हुनमा वर्षौँदेखि सत्ता र सत्ताको सेरोफेरोमा रहने दलको कार्यशैली, भनाइ र गराइ बिचको बेमेल हो ।
दल र नेताहरूले युवालाई सदमार्गमा डो¥याउनेभन्दा आफ्नो राजनीतिक अभीष्ट पूरा गराउने काममा उपयोग गरिएको छ । उद्यमशीलता प्रवद्र्धन गर्न विश्वविद्यालयसँग सहकार्य गरिने कुरा चालू आवको बजेटमा भनियो । तर आर्थिक वर्ष सकियो तर कति प्रगति भयो कतै सुनियन । तथापि राजनीतिक दलहरूले शिक्षादेखि हरेक क्षेत्रमा भ्रातृसंस्थाहरू खडा गर्न भने छाडेका छैनन ।
नेपालमा शिक्षालाई सीपसँग जोड्ने संरचनागत प्रयास करिव न्यून नै देखिन्छ । चालू आर्थिक वर्षमा शिक्षालाई सीपसँग जोड्ने कुरा आयो । युवामा खुशीयाली छायो पनि । बजेटमा उद्यमशीलतामैत्री शिक्षालाई प्रोत्साहन गर्न सातामा २० घण्टा कामको न्यूनतम ज्यालासहित कमाउँदै पढ्दै कार्यक्रम सञ्चालन गरिने कुरा गरियो । तर कार्यान्वयनको अबस्था के हुने हो ? हरेक वर्ष युवालक्षित कार्यक्रम बजेटमा त आउँछन् । तर ती घोषणामै सीमित हुन्छन्, कार्यान्वयन फितलो छ । त्यसको मूल्यांकन र प्रभाव विश्लेषण गर्ने परिपाटी छैन । विकसित देशहरूमा यही व्यवस्था रहेका कारण हाम्रा सन्तानहरू त्यता जान लालायित छन् ।
नेपालमा अहिले पढदैं कमाउदैं गर्ने नीति कार्यक्रम बारे चर्चा गर्न थालिएको छ । विद्यालय तहदेखि नै शिक्षा प्रणालीमा उद्यमशीलता र सीप समावेश गर्न ‘कमाउँदै पढ्दै’ कार्यक्रम ल्याएको छ । यसको कार्यान्वयनमा तालुकदार निकायले काम थालिहाल्नुपर्छ । अर्को सहुलियतपूर्ण कर्जा कार्यक्रमको वितरण प्रणालीलाई पारदर्शी बनाइनु पर्छ । पहुँचविहीन युवा पनि सहभागी हुन सक्ने विश्वासिलो वातावरण बनाउन आवश्यक छ । युवालाई ‘राजनीतिक अभीष्ट पूरा गराउने साधन होइन, ‘साझेदार’का रूपमा स्वीकार गर्ने वातावरण बन्नुपर्छ ।स्थानीय तहमा युवाअनुकूल वातावरण सिर्जना गर्ने काममा तिनै तहका सरकारले काम गर्न जरुरी छ । युवा उद्यमशीलताको वातावरण निर्माण गर्न राज्य चुकिरहेको छ । युवा स्वरोजगार मात्र होइन, खेलकुद क्षेत्रमा युवा सहभागिता सुनिश्चित गर्न दीर्घकालीन रणनीति समेत छैन । खेलकुद पूर्वाधार कमजोर छन् । खेललाई व्यवसायसँग जोड्न नसकेको अवस्था छ ।
छिमेकी र अन्तर्राष्ट्रिय देशका विविध अभ्यास विश्लेषण गर्दा हामी कहाँ छौँ भन्ने प्रस्ट हुन्छ । भारतले स्टार्टअप इन्डिया, स्किल इन्डियाजस्ता कार्यक्रममार्फत लाखौँ युवालाई उद्यमशीलता र रोजगारमा सक्रिय र रोजगार दिएको छ । चीन, इजरायल, दक्षिण कोरिया, फिनल्यान्डले शिक्षालाई नवप्रवर्तनसँग जोडेर युवालाई ‘जब क्रिएटर’ बनाएका छन् । विश्वविद्यालय, उद्योग र सरकारबिच सहकार्य स्थापित गरिएको छ । यसले स्टार्टअप, अनुसन्धान र डिजिटल नवप्रवर्तनमा युवाको भूमिका संस्थागत बनाएको छ । अमेरिका, बेलायत, जर्मनीजस्ता देशमा युवाका लागि मनोवैज्ञानिक सल्लाह केन्द्र, नीति–निर्माणमा सशक्त साझेदारी तथा भागीदारी र ‘कमाउँदै पढ्ने’ व्यवस्था विधिवत् रूपमा लागू गरेका छन् । तर नेपालमा यस्तो अवसर दिन नसकेको अबस्था छ ।
अर्कोतिर पछिल्लोपटक युवाहरुमा राजनीतिमा गएर देशलाई सुधार्न सकिन्छ कि भन्ने आशा पलाएर राजनीमा लागेको पाइन्छ । अहिलेका नयाँ राजनीतिक दलहरूमा र संसद्मा प्रतिनिधित्व गर्ने युवा सांसदमा अब हामीले नगरे कसले गर्ने भन्ने हुटहुटी रहेको पाइन्छ । तर बुढा नेताले ओगटेको ठाउँ सहज रुपमा युवाले पाउने अवस्था देखिछैन । उनीहरूको भावनालाई सम्मान गरेर सहकार्य गर्ने संस्कार अब ठुला दलका ठुला नेताले बसाल्न सकेका छैनन । ठुला दलका युवा नेताले पनि आफ्ना बा–हजुरबा पुस्ताका नेतालाई दबाब दिन सकेका छैनन ।
अहिले देशमा गुन्जिरहेको राजनीतिक समस्यालाई सुधार्ने वा यसलाई मिलाएर राजनीतिलाई फरक किसिमले अगाडि बढाउनु युवाको कर्तव्य हो । युवाले नयाँ नयाँ खोज र सकारात्मक सोच गरी नयाँ किसिमले अगाडि बढ्नु आजको आवश्यकता हो । राष्ट्र निर्माणको मूल यात्रा युवाबाट नै चल्नु पर्छ । त्यसले युवावर्गले निः स्वार्थ भावना र चाहनालाई मनन गर्दै देशमा ठूलो परिवर्तन निम्ताउन सक्छौँ । यस्तै विज्ञान र प्रविधिको युगका कारण विश्वमा परिवर्तन आए तापनि त्यो केवल युवाहरुको जोश जागरले मात्र सम्भव भएको हो । युवाशक्तिको प्रयोग गरी देश निर्माण गर्नु नै उज्ज्वल भविष्यको सुनिश्चिचत गर्नु हो । युवाहरुले आगो बाल्न पनि सक्दछन् र आगो ओकल्न पनि सक्दछन् ।
उनीहरुको काँधमा नै देश अडिएको हुन्छ । विकासको लागि मात्र नभई देशलाई सुधार्न पनि युवावर्ग र शिक्षाको धेरै आवश्यक पर्छ । त्यसकारण राष्ट्र निर्माणका लागि शिक्षित युवा हातमा हात काँधमा काँध गरेर देशभर शिक्षाको उज्यालो ज्योति फैलाउनुका साथै नकारात्मक सोच विसङ्गगति, विकृतिलाई अन्त्य गर्नुपर्छ । राष्ट्र निर्माणमा ‘ एकले थुकी, सुकी सयले थुकी नदी ’ भने जसरी अगाडि बढ्नु र राज्यका आधारभूत कर्तव्यको पालना गर्नु नै युवाको मुख्य भूमिका हो ।
नेपालीहरु आज पनि विकासका सपनाहरू बुनेर समृद्धिको बाटो कुरेर बस्न विवश छन । अथाह स्रोतसाधन हुँदाहुँदै पनि हाम्रो समृद्धिको सपना पूरा हुन सकेका छैनन् । युवाका जोश, जाँगर, उत्साह, सिर्जनसिलता, सोच र विचारको कदर हुन सकेमा मात्र हामीले परिकल्पना गरेको समृद्ध नेपाल सुखि नेपाली बन्ने सपना साकार हुनेछ । संसार परिवर्तन गर्न चाहनेले सुरुवात पहिले आफैँबाट गर्नुपर्छ । समाजले आजका युवाहरुबाट धेरै अपेक्षा गरेको छ यद्यपि समयमा सही मार्ग निर्देशन हुन नसक्दा अहिले युवा परिचालन गरी विकास निर्माण कार्य अगाडि बढ्न सकेका छैनन् । यसकालागि तिनै तहका सरकारले हरेक युवामा परिवर्तनको भोक जगाउने गरी काम गर्नुपर्ने वेला आएको छ । यस मामिलामा संघीय सरकार अझ बढी जिम्मेवार छ । युवाहरूको अधिकतम परिचालनमार्फत देश विकास गर्न सकिन्छ भन्ने उदाहरण विदेशी मुलुकबाट पाउन सकिन्छ । अब युवाहरूलाई राजनीतिक, आर्थिक, सामाजिक, नवप्रवर्तनका हरेक क्षेत्रमा नेतृत्वदायी भूमिका रहेर काम गर्ने जिम्मेवारी र असल वातावरण राज्यले बनाइदिनुपर्छ ।
युवा बिदेसिनु र रेमिटान्स भित्राउनुलाई गौरव मान्ने मानसिकता तोड्नु पर्दछ । नेपाललाई के दिन सक्छु भन्ने नविन सोच र चिन्तन गरी आफूले सक्ने कामबाट समाज परिवर्तन गर्न तर्फ सिर्जनशील, लगनशील, कर्तव्यनिष्ट भएर अगाडि बढ्ने असल वातावरण राज्यले दिन जरुरी छ ।