परिचय
गण्डकी प्रदेश अन्तरगत बागलुङ जिल्लाका १० वटा स्थानीय तहहरु मध्येको एक ढोरपाटन नगरपालिका हो । साविकका ४ गा.वि.सहरु जस्तै वुर्तिवाङ, खुङ्गा, अधिकारीचौर र बोबाङ मिलाएर ९ वडाको एउटा नगरपालिकालाई ढोरपाटन नगरपालिका भनिन्छ । यस नगरपालिकामा नेपालको एक मात्र शिकार आरक्षण ढोरपाटन शिकार आरक्षण रहेको छ । रुकुम, बागलुङ्ग र म्याग्दी जिल्लाका केही भागलाई मिलाएर आरक्ष बनको छ । यस आरक्षमा ३२ प्रजातिका स्तनधारी जनावर पाइन्छन् । यसमा प्रमुख जनावर नाउर, झारल, थार र हिमाली भालु हुन् । यहाँ दुर्लभ एवं संरक्षित पंछीको सूचीमा परेका डाँफे, मुनाल, चिर लगायत १६४ प्रजातिका चराहरू पाइन्छन् । वन्यजन्तुको सदुपयोगका साथै संरक्षण होस् भन्ने हेतुले यस क्षेत्रलाई शिकार आरक्ष बनाइएको भएतापनि आरक्ष र स्थानीयबासी बिच विविध विषयमा आपसी मेल नरहेको समेत पाइन्छ । आरक्षलाई सुनदह, सेङ, दोगाडी, बार्से, फागुने, सुर्तिबाङ र घुस्तुङ गरि ७ ( सात) ब्लकमा विभाजन गरी शिकार खेल्न दिने व्यवस्था मिलाइएको छ । यहाँ लिखित अनुमति लिएर तोकिएको समय र क्षेत्रमा तोकिएको जनावरको शिकार गर्न पाइने ब्यवस्था छ ।
यस आरक्षमा व्यवस्थित शिकारको व्यवस्था मिलाइएका कारण राष्ट्रले बर्सेनि विदेशी मुद्रा आर्जन गर्न सकेको छ । स्थानीय स्तरमा पर्यटन विकास भएको छ । तथापि स्थानीयले भने यसबाट कुनै प्रतिफल हासिलगर्न नसकेको गुनासो गर्दछ्न । जेहोस पेशेवर विदेशी शिकारीहरूका लागि यो आरक्ष एक प्रमुख गन्तव्यकै रूपमा रहेकोले बैदेशिक मुद्रा आर्जनको यो महत्त्वपूर्ण स्रोत बनेको छ । राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागले समय समयमा शिकार गरिने मुख्य वन्यजन्तु नाउर र झारलको गणना तथा अनुगमन गरी वार्षिक कोटा निर्धारण गरी प्रतिस्पर्धाको आधारमा शिकार गराउने गरेको छ ।
यसरी शिकार गर्न दिइँदा कुनै जनावर अत्यन्त न्यून वा सखापै हुने अवस्था रहँदैन । साथै जनावरको संख्या अत्यधिक बढेर आफ्नै बासस्थानलाई नोक्सान पु¥याउने वा स्थानीय बालीनालीलाई अत्याधिक क्षति पु¥याउने परिस्थिति पनि उत्पन्न नहुने भएकोले यो ब्यवस्था गरेको पाइन्छ । शान्त वातावरणमा रंगीबिरंगी फूल, छिनछिनमा परिवर्तन हुने मौसम, शीतल हावापानी, पशु गोठहरूमा रमाउन पाउँदा समय बितेको पत्तै नहुँदो रहेछ । ढोरपाटनको फाँट र पाखा बुकी फूलेर रंगिएपछि रमणीय बन्ने गर्र्दछ । लेकमा फूल्ने फूलहरूलाई समग्रमा बुकीका नामले चिन्ने गरिन्छ ।
यस क्षेत्रको अर्को महत्वपूर्ण गन्तब्य बुकी समथर फाँट र भिरालो पाखामा फुलेका रङ्गीबिरङ्गी फूल, चरन क्षेत्रमा रमाइरहेका घरपालुवा जनावरको बथान, पहाडका टाकुराबाट पृष्ठभूमिमा देखिने हिमाल, बादल, घाम र आकाशे पानी हुन । कोलाहलमुक्त वातावरण, शीतल हावापानी, चराचुरुङ्गी र जनावरहरूको आवाज सुन्न पाउनु यहाँको अर्को विशेषता हो । यी दृश्य पाउने क्षेत्र पूर्वी रुकुम, बागलुङ र म्याग्दी जिल्लाको एक हजार तीन सय २५ वर्ग किलोमिटर क्षेत्रफलमा फैलिएको ढोरपाटन सिकार आरक्षको हो । क्षेत्रमा १३ प्रजातिका फरकफरक फूलहरु पाइछन् । तिनमा दहीठेकी, राक्षस, बिसौरी, बोक्सी, राके, दूधे, ओठे, पुतली, नाकेफुली, फट्याङ्ग्री, प्याउली, मदाने र कापचुच्चे स्थानीय नाम दिइएको छ ।
बागलुङदेखि बुतिबाङसम्मको दुरी र यात्रा
बागलुङदेखि बुतिबाङसम्म ९३ कि.मी दुरी छ भने बुतिबाङदेखि ढोरपाटनसम्म ३५ कि.मी दुरी रहेको छ । ढोरपाटनको प्रवेशद्वारका रुपमा रहेको बुर्तिबाङ बजारलाई मध्यपहाडी लोकमार्गले जोडेको छ । बुर्तिवाङदेखि चहिखोला बजार, गादीखोला, बोवाङ गाउँ, लाकुरीबोट हुँदै फल्लेघर भएर ढोरपाटन पुगिन्छ । ढोरपाटन जादा बुर्तिवाङदेखि ३२ किलोमिटर कच्ची सडकको यात्रा गर्नु पर्दछ । बुर्तिबाङ नेपाल सरकारले १० नमूना शहरमा सूचीकृत गरेको बजार हो । निसी, भूजी र तमानको सगमस्थल मानिने बुर्तिबाङ बजार बागलुङ जिल्लाको दोस्रो ठूलो व्यापारिक केन्द्र पनि हो । बुर्तिबाङ बजारलाई सरकारले नयाँ सहरको योजनामा पूर्वाधार बिकासको निर्माण गर्न लागेको छ । बुर्तिबाङ ढोरपाटन नगरपालिकाको केन्द्र पनि हो । बुर्तिबाङ निसी, भुजी र तमान खोलाको संगम स्थल र ढोरपाटनको रुद्रतालबाट उदगम भएको वडिगाड खोलाको किनारमा पर्दछ । बुर्तिबाङमा पर्यटकहरूलाई खाना बस्नको सुविधा छ । बुर्तिबाङदेखि पर्यटकहरूलाई ढोरपाटन पु¥याउने जीपहरू पनि पाइन्छ । तर भाडा दरभने महङो रहेका छ ।
प्राकतिक आकर्षणहरु
ढोरपाटनमा विगत बर्षमा सिकार खेल्न मात्रै केही विदेशी पर्यटक आउने गरेकामा पछिल्लो समय आन्तरिक तथा बाहय पर्यटक सिकार आरक्ष क्षेत्रको अवलोकन, ढोरपाटन उपत्यका, निशेलढोर र ढोरबराह मन्दिर, बुकीपाटन र जलजलालगायतका क्षेत्रको अध्ययन तथा अवलोकनका लागि त्यहाँ आउने गरेका छन् । ढोरपाटन उपत्यकामा दुई दर्जन होटल तथा घरबास सञ्चालनमा रहेको र सोझै पोखरादेखि पर्यटकलाई प्याकेजमै ल्याउने लैजाने व्यवस्थापनका कारण पर्यटकलाई सहज भएको छ ।
ढोरपाटनमा हिमाल मात्र होइन, पार्मी ताल, मान्द्रे ताल, जाल्पा ताल, पुठातालले पनि पर्यटकहरूलाई आकर्षण गराउछ । ढोरपाटन उपत्यकाको बीचमा उत्तरगंगा नदी बगेको छ । हिमाली र पहाडी भूभागको संगमस्थल भएको कारण प्राकृत्तिक दृष्टिकोणले ढोरपाटन अत्यन्त मनमोहक रहेको छ । ढोरपाटन जादा पर्यटकहरूले स्यालपाँखे, पाँखाथर, नबी, नौथर, छेन्टुङ लगायत गाउँहरूको संस्कृति र जनजिविकाको बारेमा पनि अध्ययन अवलोकन गर्न सक्दछन ।
यसपछि एक घण्टाको यात्रामा टिकाधाराको उपल्लो पाटनका थुम्काहरू पर्दछ । त्यहाँबाट रुकुमको भू–भाग, फागुनेधुरी, तल खोंच, राजवन चरनक्षेत्र, मुर्चुला, ढुक जौलेघाँटी जस्ता स्थानहरूमा घुम्न र रमाउन सकिन्छ । यसैको लागि बुकीपाटन क्षेत्रमा जेष्ठदेखि भदौसम्म पर्यटकहरू पुग्ने गर्दछन । यो समयमा उपल्लो पाटन क्षेत्रमा चारैतिर हरियाली वातावरण, रंगीविरंगी फूलहरूको मौसम, उत्तरतिर हिमाल र पाटनभरी छरिएर रहेका भेडाका बथान देख्न सकिन्छ । अर्कोतर्फ बेलाबेला खुल्ने मौसम, अनि एकैछिनमा कुहिरोले ढमक्क ढाकिएर अर्को संसारजस्तो लाग्ने वातावरण, उत्तरपट्टी बेलाबेला देखिने हिमालका अग्ला १४वटा हिमचुचुराहरुले पर्यटकको मन लोभ्याउँछ ।
धार्मिक विस्श्वास
ढोरपाटनमा उत्तरगंगा नदीमा स्नान गरी ढोरबराहामा पूजा अर्चना गरे मनोकामना पूर्ण हुने मान्यता छ । त्यही भएर तीर्थाटन पर्यटकहरू ढोरपाटन पुग्ने गर्दछन । यहाँको मुख्य मैदानी भागमा ढोरबराह मन्दिर र पानीको मुलमा २२ धाराहरु निर्माण भएका छन । उत्तरगंगाको उदगमस्थल ढोरबराहमा प्रत्येक वर्ष जनै पूर्णिमा र वैशाखे पूर्णिमाको दिन मेला लाग्ने गर्दछ । ढोरबराही मन्दिरमा मेला भर्न छिमेकी जिल्लाहरू म्याग्दी, रुकुम, रोल्पा, प्यूठान, गुल्मी, पर्वत जिल्लाका साथै पछिल्लो समय मुलुक भरका तीर्थाटनका पर्यटकहरू पुग्ने गर्दछन । ढोरपाटनमा पर्यटकहरू घोडा चढेर ढोर क्षेत्रको अवलोकन गर्न सक्ने व्यवस्था छ । समथर ढोरपाटन उपत्यका ठूलो क्षेत्रफलमा फैलिएको हुँदा पर्यटकहरू घोडा चढेर घुम्न रमाउँछन । मंसिर, पौष र माघ महिनामा ढोरपाटन क्षेत्रमा बाक्लो हिमपात हुन्छ । कतिपय पर्यटकहरू हिउँ खेल्नकै लागि ढोरपाटन पुग्ने गर्दछन । पर्यटकको आर्कषण हिउँ खेल्ने र घोडचडी पनि हुन्छ । ढोरपाटन उपत्यकमा घोडा दौडाउने, भिडियो खिच्ने, फोटो खिच्ने र टिकटक बनाउने पर्यटकहरूको संख्या धेरै हुन्छ । ढोरपाटनमा पर्यटकहरूलाई खान बस्नको लागि सुविधाका लागि ढोरपाटन क्षेत्रमा चार वटा सामुदायिक होमस्टे सञ्चालित छन् ।
ऐतिहासिक र साँस्कृतिक पक्ष
ढोरपाटनमा एउटा इतिहास तिब्बती शरणार्थीको रहेको छ । पर्यटकहरूले तिब्बती शरणार्थीको जनजीवन, रहनसहन र संस्कृतिको पनि अध्ययन गर्न सकिन्छ । सन् १९५९ अर्थात वि.स. २०१५ मा तिब्बत र चीनबीच युद्ध चर्कियो । चिनियाँ सैनिकसँग तिब्बतीहरूको केही जोर चलेन र आफ्नो ज्यान जोगाउन उनीहरू आफ्नो थातथलो छाडेर यहाँ आएको पाइन्छ ।
तिब्बत र चीनबीच युद्धको चपेटामा कोही भारत छिरे कोही तिब्बतीहरू वि.सं.२०१६ मा शरणार्थीका रुपमा ढोरपाटन पुगेका थिए । ढोरपाटनमा कोही डोल्पा हुँदै कोही मुस्ताङ हुँदै तिब्बती शरणार्थीहरू आइपुगेका थिए । ढोरपाटनमा तिब्बती शरणार्थीहरूलाई पुनःस्थापना गर्न स्वीस सहयोग निकायबाट सञ्चालित स्वीस प्राविधिक सहायता संघ साटाको सहयोग थियो । तिब्बती शरणार्थीहरू ढोरपाटन उपत्यकाको तेरागाउँ र छेन्तुङ गरी दुई ठाउँमा क्याम्प बनाएर बसेका थिए । तिब्बती शरणार्थीहरूलाई आवश्यक गास, वास र कपासको व्यवस्थापनको निम्ति साटाको माताहतमा स्वदेशी र स्वीस कर्मचारीको टोली रहेका थिए । स्वीस शैलीमा निर्माण भएका त्यसबेलाका घर र गलैंचा बुन्ने कारखाना अहिले पनि ढोरपाटनमा पर्यटकहरूले देख्न सक्दछन ।
ढोरपाटनमा स्वीसहरूद्वारा निर्मित पानीघट्ट अहिलेसम्म सञ्चालित छ । त्यसबेला तिब्बतियनका लागि स्वीस सरकारले ढोरपाटनमै कार्पेट उद्योग र विभिन्न उन्नत प्रजातिका फलफूल र तरकारीहरू ढोरपाटन भित्रिए । बि.स.२०२९ मा ढोरपाटनमा विमानस्थल बन्यो । तर विमानस्थल भने धेरै बर्ष देखि बन्द छ । पछिल्लो समय ढोरपाटनमा बस्ने शरणार्थीको सख्या घटदो छ । स्वीस सहायता संघले यहाँबाट हात झिक्नु लगत्तै ततकालिन नेकपा माओवादीको सशस्त्र द्वन्द्व सुरुभए पछि तिब्बतीहरू आफूलाई असुरक्षित ठानी पोखरा र काठमाडौं बसाइँ सर्न थाले । तिब्बती शरणार्थीहरूले बसाई सार्न थालेपछि उनीहरूले सञ्चालन गर्दै आएका व्यापार व्यवसाय ठप्प भयो । आजभोलि ढोरपाटनमा कुल शरणार्थीहरूको एक चौथाइ मात्र तिब्बतीहरू बसोबास रहेको छ । शिविर परिवर्तन, विदेश पलायन र शहरी क्षेत्रमा बसोबास गर्ने क्रम बढेपछि ढोरपाटनमा तिब्बती शरणार्थी घटेका हुन् । अझै पनि केही शरणार्थी तिब्बतियनहरू आफ्नो संस्कार, संस्कृति जोगाउदै ढोरपाटनमै बसिरहेका छन् ।
यहाँको अर्को महत्वपुर्ण पक्ष रेडपाण्डा हो । सिकार आरक्ष क्षेत्रबाहेक बागलुङका माथिल्लो वनक्षेत्रमा रेडपाण्डा पाइन्छ । ढोरपाटन सिकार आरक्षको फागुने, सुर्तिबाङ, सुनदह, बार्से, भुस्तुङ, दोगाडी र सेङ ब्लकमा रेडपाण्डा भेटिने गरेका छन । पहिलेको तुलनामा अहिले रेडपाण्डा बढी मात्रामा देखिन थालेका छन । ‘०७२ सम्म ढोरपाटनमा रेडपाण्डा छिटपुट रूपमा थिए, ०७४ सालमा सर्भे गर्दा सबै ब्लकमा रेडपाण्डा भेटिए, अहिले धेरै ठाउँमा बाक्लो रूपमा भेटिन्छन् । ‘अहिले करिब तीन सयको हाराहारीमा रेडपाण्डा ढोरपाटनमा रहेको हाम्रो आकलन छ, जुन संख्या मुलुकभरका राष्ट्रिय निकुञ्जमा भएकोभन्दा बढी हो ।’ तथापि बढ्दो डढेलो, जंगल फँडानी, सडक विस्तार र जनघनत्वका कारण यसको संरक्षणमा चुनौती बढेको छ । रेडपाण्डा संरक्षणका लागि स्थानीय सरकार जागरुक बन्नुपर्ने र स्थानीयबासी सचेत बन्नु पर्ने देखिन्छ ।
नाउर र झारलको वैधानिक सिकार खेल्न पाइने उक्त क्षेत्रमा विदेशी पर्यटक लाखौँ खर्च गरेर सिकार खेल्न आईपुग्दछन् । मनोरम ढोरपाटन उपत्यकालाई चिरेर बगेको उत्तरगङ्गा, हरियाली र फुलैफूलको फाँटले त्यहाँ पुगेका पर्यटकलाई आकर्षण गरेको पाइन्छ ।
ढोरपाटन र बुकीपाटन किन जाने ?
ढोरपाटन जादा बुकीपाटन पुगेन भने यात्रा अधुरो जस्तो हुन्छ । बुकी क्षेत्रबाट धौलागिरी, अन्नपूर्णलगायत दर्जनौँ हिमश्रृखलाहरू अवलोकन गर्न सकिन्छ । ढोरपाटन क्षेत्रमा जेठदेखि असोजसम्म गाई, भैँसी, भेडा, बाख्राका घुम्ती गोठहरू हुन्छन । ढोरपाटनदेखि बुकी क्षेत्रमा पैदल अथवा घोडाबाट पनि पुग्न सकिन्छ । बुकी क्षेत्रमा जादा आँखै अगाडि देखिने दन्त लहर हिमश्रृखलाले पर्यटकहरूको उकालो यात्राको थकान मेटिन्छ । ढोरपाटनका बुकी क्षेत्रमा स्थानीयको घुम्ती गोठको जीवनशैली पनि पर्यटकका लागि अध्ययन र अवलोकन बन्दछ । बुकी क्षेत्रमा गोठालाहरूले प्रयोग गर्ने भेडा, बाख्राको उनबाट तयार गरिएको घुम, काम्लो, कम्मल पर्यटकहरूलाई नौलो लाग्दछ । समुन्द्री सतहदेखि चार हजार १० मिटर उचाइमा रहेको गर्पाछेडा पाटन वरपर थरीथरीका फूलले बर्षायाममा रङ्गिएको हुन्छ । ढोरपाटनको पाटन खासगरी स्थानीयको पशुचौपायाको चरिचरण क्षेत्रका रुपमा चिनिन्छ । बाग्लुङको निसी, भूजी, तमान क्षेत्र र म्याग्दी, रुकुम, मात्र नभएर रोल्पा र डोल्पाको समेत पाटन क्षेत्रमा गाई, भैंसी, भेंडाबाख्रा र घोंडा खच्चडको बर्खे चरिचरन क्षेत्र हो । उपल्लो पाटन अर्थात बुकी क्षेत्रको गर्पाछेडा, दहखर्क, टीकाधारा, राजवन, स्याचुन, फुर्से देउराली, फागुने देउराली लगायतका बुकीपाटन चरिचरनको क्षेत्रमा घुम्ती गोठहरू रहन्छन ।
ढोरपाटनका सम्भावना र चुनौति
सडक, यातायात, होटल तथा घरबास सुविधा, सञ्चार माध्यम र सामाजिक सञ्जालका कारण बुकी फुलेको हेर्न, फोटो, भिडियो खिचेर सामाजिक सञ्जालमा राख्न र प्रकृतिसँग रमाउन दैनिकजसो दर्जनौं पर्यटक आउने गरेका छ्न । समुद्री सतहदेखि चार हजार १० मिटर उचाइमा रहेको गर्पाछेडा क्षेत्रमा फुलेका थरीथरीका फूलले रङ्गिएको ढोरपाटन बर्खायाममा अति सुन्दर र मनमोहक देखिन्छ । यो दृश्य झनै रमाइलो हुन्छ । त्यसैलाई हेर्न शुक्रबार, शनिबार र छुट्टीको दिन देशका विभिन्न सहरबाट ढोरपाटन घुम्न पर्यटकहरू पुग्ने गरेका छन् ।
त्यसैले आरक्षले फूलहरूलाई संरक्षण गर्न चरन क्षेत्रबाट ट्र्याक्टरमा गाईवस्तुको मल उठाउन रोके लगाएको छ। पोषिलो घाँस खुवाउन म्याग्दी, बागलुङ र पूर्वी रुकुमका किसानहरुले ढोरपाटनको बुकीमा गाईभैँसी, भेडाबाख्रा र घोडा चराउन गोठ लगेर गएका छन् ।
सामाजिक सञ्जालमा ढोरपाटनको मनमोहक तस्बिर र भिडियो देखेर घुम्न आएको आन्तरिक पर्यटक सडकका कारण दुःख पाएको गुनासो उत्तिकै छ । राज्यले पर्यटक बढी आउजाउ गर्ने ठाउँलाई प्राथमिकतामा राखेर काम गर्नु पर्नेमा अपेक्षित काम हुन सकेको छैन । वि.सं. २०७१ सालमा बागलुङ खण्डमा यस सडकको ट्रयाक खुलेको थियो । गङ्गरेदेखि ढोरपाटनसम्म ६१ किलो मिटर सडक पर्छ । तर हालसम्म कालोपत्रे हुन सकेको छैन ।
सालझण्डीदेखि ढोरपाटनसम्म १९७ किलोमिटर रहेको छ । वि.सं. २०७७ भदौ १७ गते राति आएको भिषण बाढीले विभिन्न स्थानमा सडक बगाएको थियो । बडिगाड गाउँपालिका–१० गङ्गरे, निसीखोला गाउँपालिका–७ राजकुट, वडा नम्बर १ देविस्थान हुँदै ढोरपाटन जोडिएको सडक स्तरोन्नतीका लागि चार वर्ष अगाडि कार्तिकमा ठेक्का सम्झौता भएको थियो । तर अहिलेसम्म काम हुन सकेको छैन ।
बाटोको समस्याको बावजुद पनि एक दशक अगाडि ढोरपाटनमा जनैपूर्णिमाका अवसरमा तीर्थयात्रु ढोरबराह मन्दिरमा पूजा अर्चना जाने गर्थे । अन्य समयमा घुम्नका लागि खास्सै जाँदैनथे । ढोरपाटन पुग्नेहरु गाईभैसीँ बाँध्ने गोठमा स्याउला र उनिउँ बिछ्याएर बस्नु पर्ने बाध्यता थियो । खाना खाने र सुत्ने होटलको सुविधा थिएन । अहिले बाह्रै महिना पर्यटक ढोरपाटन पुग्न थालेका छन् । पहिलेको जस्तो हिँडेर ढोरपाटन पुग्नु पर्ने अवस्था नभएतापनि अहिले कच्ची भए पनि सडक पुगेको छ । सडकको दुरा अवस्थाले गर्दा पर्यटकलाई सास्ती रहेको छ ।
हरके वर्ष ढोरपाटन उपत्यकामा होटल तथा घरबास पनि थपिँदै छन् । अहिले करिब ३५ वटा होटल तथा घरबास होम–स्टे संचालनमा आएको ढोरपाटन होटल व्यवसायी संघका अध्यक्ष जीवन पुनले जानकारी दिनुभयो । सडक र होटल संचालनमा आएपछि अहिले ढोरपाटन पुग्ने पर्यटकलाई सहज भएको उहाँको भनाइ छ । ढोरपाटन उपत्यकाको पाखाथर, स्यालपाखे, नवी, ढोरबराह मन्दिर आसपासमा होटल तथा घरबास संचालनमा आएका छ ।
ढोरपाटनको साव्दिक अर्थ फराकिलो हुन्छ । वरीपरी हिमाली र दृष्य हिमालको काखमा राता डाँडा त्यसमुनी हरियो जंगल, जंगल मुनी मैदानी भाग अनि बस्ती र स्वच्छ कञ्चन नदीको प्राकृतिक उत्तम उपहार ढोरपाटन हो । प्रकृति प्रेमी पर्यटकहरूका लागि ढोरपाटन एक मनोरञ्जन र अध्ययन अनुसन्धानको महत्त्वपूर्ण गन्तब्य हो ।
बागलुङ बजारबाट बुर्तिबाङ हुँदै अधिकारीचौर, बोबाङको उकालो पहाड चढ्नु यहाँको आनन्द हो । जव देउरालीमा पुगिन्छ तब त्यहाँबाट देखिने वरपरका अजंग पहाड र त्यसको काखमा रहेको रमणीय समथर भू–भागले मन लोभाउँछ । त्यसको आसपासका क्षेत्रहरू निसेलढोर, काँग, भूजी, मस, नवी, सेलपाखे, पाखाथर, नौथरगाउँ, भण्डारी गाउँ सबै ढोरपाटन क्षेत्रमा अध्ययन योग्य स्थानमा पर्दछन ।
आउन कठिन तर आएपछि आकर्षक ढोरपाटनले विशेषगरी हिमपात भएको समयमा स्वीजरल्यान्डको झल्को दिने गर्दछ। त्यसैले ढोरपाटन उपत्यकालाई प्रकृति प्रेमीले मिनी स्वीजरल्यान्डको उपनाम दिएका समेत पाइन्छ । ढोरपाटनको समथर फाँट र भिरालो पाखामा फुलेका रङ्गीबिरङ्गी फूल, चरन क्षेत्रमा रमाइ रहेका घरपालुवा जनावरको बथान, पहाडका टाकुराबाट देखिने हिमाल र आकाशे बादलको लुकामारीले पर्यटकहरूलाई छुट्टै अनुभूति हुने गद्र्छ ।
ढोरपाटनको उत्तर तर्फ अवस्थित गर्पा डाँडाबाट कास्की, म्याग्दी, बाग्लुङ, गुल्मी, पाल्पा, र पुर्वी रुकुमका धेरै भूभाग देख्न सकिन्छ । त्यसैगरी उत्तर तर्फका हिमाल, चुरेन पुठा, हिमचुली, गुर्जा हिमाल, सिस्ने हिमाल, धौलागिरी हिमाल, माछापुच्छे्र, निल गिरी, अन्नपूर्ण हिमाल एकै ठाउँबाट देख्न सकिन्छ ।
साहसिक पर्यटनमा रुचि भएका स्वदेशी तथा विदेशी पाहुनालाई साइकलमार्फत बागलुङबजार, काठेखोला गाउँपालिका–४ फापरखेत, बिहुँको घोडाबाधे, गलकोट, नमूना शहर बुर्तिवाङ हुँदै ढोरपाटन पुर्याउनका लागि सम्भावनाको खोजी भएको छ । पाँचदिने साइकलयात्राका क्रममा साइकलमार्फत ढोरपाटन पुग्नका लागि आवश्यक रुट, आवास तथा विश्रामस्थललगायतका सम्भावनाको पहिचान गर्ने कार्य भएको छ । यो यात्रामा निस्किएका युवा ट्रेकिङ व्यवसाय तथा लामो समयदेखि विभिन्न स्थानमा साहसिक साइकलयात्रासहितको पर्यटन प्रवद्र्धनमा सक्रिय छन् ।
घोडाको संख्यामा पुन वृद्धि, ८( १० मन्दिर घुमाउन सकिने, त्भब ज्यगकभ गोठस्ेट, त्भलत क्तबथ, ल्बतगचभ न्गष्मभ को व्यवस्था गर्न सक्ने सकिने सम्भावना, आलु, स्याउ खेति गरी मनग्य आदामी गर्न सकिने सम्भावना छ । घोडाबाट रोजगार बढाउन सकिने, दीगो पर्यटनको लागि थप सम्भावना खोजी गर्न सकिने अवस्था छ । यति हुदाँहुदैं पनि मानव वन्यजन्तु द्धन्द्ध, आरक्षण विकासको बाधक रहेको, वदेल, बाघ, व्वासोले समस्या सृजना गरेको, मौसमी वसाइँसराइ, वैदेशीक रोजगारको कारण युवाहरुको आकर्षणको कमी, पर्यटकीय सम्भावनाहरु प्रवल रहेता पनि थप नयाँ काम हुन नसकेको, सडकको समस्याको कारण अपेक्षित उपलब्धि हासिल हुन नसकेको, दैनिक जिवीको पार्जन जटिल रहेको, स्थानीय उत्पादनको कमी, आत्मनिर्भर कृषिको अभाव, कागजी पक्रियामा कृषि, पशुपालन, पर्यटनमा सिमित तर उपलब्धि अपेक्षित हुन नसक्नु, आरक्षका कारण धेरै करको मारमा जनता रहनु,। स्वागत, विदाइ कार्य नहुनु, मुल्यसुची नराख्नु, पर्यटक सुचना केन्द्रको समस्या, होटल तथा होमस्टेमा इन्ट्री कार्य नहुनु, बाडेर राख्ने सबै व्यावसायी बाँचौै भन्ने भावनाको कमि, आफनो सम्पर्कमा आउने पर्यटक बराबर गरी नराख्नु कम, सन्चालन गर्ने परम्परागत शैलि, नेटको अभाव आदि यहाँका समस्या रहेका छन ।
ढोरपाटन कसरी पुग्ने ?
पर्यटकहरू बुकीपाटन जादा ढोरपाटनको उपत्यकाबाट पाखाथरदेखि उकालो यात्रामा करिब आधामा साँघुरेगौडा पुगिन्छ । त्यसपछि चेप्टाढुँगा हुदे खोल्सीमा पुगिन्छ । त्यसपछि उकालो यात्रा गर्नु पर्दछ । उकालोकाटे पछि ढुँगेदेउराली हुदै भन्ने गर्पाछेंडा पुग्न सकिन्छ । गर्पाछेंडामा चिसो सिरेटो चल्ने, वरपर केही होंचा त केही अजंङ्गका कालापथ्थर सहितका डाँडा, बीचको फराकिलो हरियाली घाँसेमैदानले छोपिएको समथर भू–भाग पर्यटकहरुले देख्न सक्दछन । जस्लाई स्थानीयले बुकीपाटन भन्दछन । त्यसपछि फुर्सेदेउरालीबाट सुरु हुन्छ खास उपल्लो पाटन, भेंडाचरन, फूलहरूको अर्को प्राकृतिक बगैंचा, फगुने र सेचुन आसपासका क्षेत्रहरूको रमणीय दृश्यले पर्यटकहरूलाई एकछिन बसौं, हेरौं र रमाउन मन लाग्छ । देउरालीमा फूल चढाउने, ढुँगाको चुलीमा ढुँगा थप्ने, तस्बिर लिने गर्दा समय बितेको पत्तै हुँदैन । अलिक पर पुग्यो भने टिकाधारा भन्ने क्षेत्रमा पुगिन्छ । त्यहाँ बीचमा पोखरी, उत्तरपट्टी हिमालय श्रृखला, पश्चिमपट्टी ढुँगाहरूको ठूलो पहाड र दक्षिणतिर भेंडाका बथान देख्न सकिन्छ । पोखरा अनि सुर्खेत र मुसिकोट तर्फबाट ढोरपाटन जाने पर्यटकहरूले मध्यपहाडी लोकमार्ग प्रयोग गर्ने । बुटवलदेखि ढोरपाटन जाने पर्यटकहरूले पाल्पा रिडी हुँदै रुद्रवेणीदेखि बाग्लुङको खर्वाङ भएर बुतिबाङ पुग्न सकिन्छ। लुम्विनी आएका पर्यटकहरूले अहिले ढोरपाटन जान पोखरा नपुगी रुपन्देहीको सालझुण्डीबाट पनि ढोरपाटन पुग्न सक्दछन ।
निष्कर्ष
प्रचुर सम्भावना बोकेर पनि निजी क्षेत्रको नजरमा नपरेको ढोरपाटनले लगानी पर्खेर बसेको अबस्था छ । ढोरपाटन आउने सडक निकै समस्यामा छ, पाहुनालाई राख्ने सुविधा सम्पन्न होटलहरुको अभाव छ । प्राकृतिक सुन्दरता हेर्नका लागि आउने पर्यटकहरुलाई पूर्वाधारको कमी छ । अब ढोरपाटनलाई आश्वासन हैन लगानी गर्ने लगानीकर्ता र जोस जागरका साथ योजना कार्यान्वयन गर्ने जनशक्ति आवश्यक छ । हालसम्म ढोरपाटन पछि पर्नुमा निजी क्षेत्रले चासो जगाउन नसक्नु हो । अथाह सम्भावना बोकेको यस क्षेत्रमा विदेशी पर्यटकसमेत ल्याउने योजना निर्माण गर्न आवश्यक रहेको छ ।
यसका लागि अब ढोरपाटन चिनाउन, रुकुम, म्याग्दी र वागलुङ जिल्लाका बस्तिहरू जाग्नु पर्दछ । स्थानीय परिकारमा आधारित होमस्टे सञ्चालनमा ल्याउनु पर्दछ । नियमित सरसफाई, निर्माण भएका सडकलाई पक्की बनाउने, नियमित मर्मत संभार गर्ने र ग्रामीण बस्तीहरूमा सडक सञ्जालको विकास गर्न जरुरी छ । पर्यटक पुग्दा क्षमता अनुरुप खाने बस्ने सुबिधा र सुरक्षाको ग्यारेन्टी हुनु पर्दछ । ढोरपाटन वरपरका ग्रामीण बस्तीमा परम्परागत सिपलाई उद्योगमा परिणत गर्दै आत्मनिर्भर बन्र्दै जानु पर्दछ । यसले गर्दा त्यहाँ पुग्ने पर्यटकहरूले स्थानीय उत्पादन भएका बस्तुहरू सहज रुपमा कोसेली घरबाट किन्न सकुन । स्थानीय बासिन्दाहरूले पनि पर्यटकहरूलाई मायाको चिनो स्वरुप आफूले उत्पादन गरेको बस्तु बेचेर दैनिकी चलाउन सकुन ।