एउटा बिरामी वा घाइतेलाई काँधमा बोकेर अस्पताल पुर्याउनुमा जति आनन्द र पुण्यलाभ प्राप्त हुन्छ त्योभन्दा कयौं गुणा पुण्यलाभ मानिसहरूलाई आध्यात्मिकतातर्फ अभिप्रेरित गर्नुमा हुन्छ । अत: मेरो सम्पूर्ण प्रयास यतैतिर केन्द्रित हुनेछ ।
शास्त्रमा भनिएको छ:
- जसले वेद र भगवानलाई प्रमाण मानेर जसले यो सत्यलाई स्वीकार गर्दछ र दार्शनिक चिन्तनमननमा समय नष्ट गर्दैन त्यसैले मुक्तिको सर्वोच्च पूर्ण अवस्थालाई प्राप्त गर्दछ ।-पृष्ठ १९५. / कहिल्यै पनि व्यर्थ प्रलाप (व्यर्थका कुराहरू) बोल्न हुँदैन । जो बोलिन्छ त्यो शास्त्रसम्मत हुनुपर्दछ । यही नै आध्यात्मिक क्षेत्रमा बोल्ने विधि हो । शास्त्रीय प्रमाणहरूको उद्धरण गरे तत्काल आफ्नो भनाइको पुष्टि गर्नुपर्दछ ।....यसबाट मानव समाजको उत्थान हुनसक्दछ ।"-पृष्ठ ६५०.,श्रीमद्भगवद्गीता यथारूप ।
हो, म यही प्रमाणलाई मुख्य आधार मानेर 'श्रीमद्भगवद्गीता यथारूप' मार्फत 'गीता एक्सप्रेस' को यात्रा तय गर्नेछु । सीट सीमित छ । यात्रा गरेबापत कुनै पारिश्रमिक वा शुल्क लाग्नेछैन । पृथ्वी धरातलदेखि वैकुण्ठसम्मको यो यात्रामा तपाईं सम्पूर्णलाई हार्दिक स्वागत छ ।
आउनुहोस्, आज यो रमाइलो यात्रा 'गीता एक्सप्रेस' मा सवार होऔं ।
भनिहालूँ, गीता एक्सप्रेसको मुख्य उद्देश्य प्रभुपादले भाष्य गर्नुभएको 'श्रीमद्भगद्गीता यथारूप' को आधिकारिकता एवं महत्त्वमाथि सप्रमाण युद्ध छेड्नु हो । यथार्थमा गीताको सारगर्वित महत्त्व बुझ्न सके भने मानिसहरूले स्वतस्फूर्त गीता खोजी खोजी पढ्नेछन् । हुनसक्दछ कि यो झिनो प्रयत्नबाट कुनै पनि मानिस आफ्नो निजी हितको लागि एकप्रति 'श्रीमद्भगवद्गीता यथारूप' सुरक्षित गर्न र आफूलाई आध्यात्मिक कीत्तामा उभ्याउन सक्यो भने म आफ्नो हृदयको भीत्तामा नाम लेखेर सजाउनेछु, स्वर्ण अक्षरले । भला त्यो भाग्यमानी एक जना किन नहोस् ।
गुरुजी ! गाडी स्टार्ट गर्नुहोस् । हर्न बजाउनुहोस् । ल आउनुस्, आउनुस्, छिटो आउनुस् । गाडी छुट्नै लाग्यो.....!
हो, इस्कोन गण्डकीका श्रद्धेय प्रभुजीहरूले मेरो हातमा एउटा 'श्रीमद्भगवद्गीता यथारूप' थमाए, थमाएरै छाडे । वर्षौंदेखि थाँती रहेको मेरो गीता पढ्ने तीव्र इच्छा यसपालि भने पूरा भयो । मलाई यो अविस्मरणीय संयोग जुरेको थियो- 'गीता जयन्ती'को सुखद अवसरमा आयोजित 'डिसेम्बर म्याराथन्-२०२५'को वर्षगाँठमार्फत ।
छुट्टिने बेलामा एक जना प्रभुजीले भन्नुभएको कुरा मेरो कानमा गुञ्जिरह्यो । अझ भनूँ, गीता पढेको पूरै अवधिभर यो आवाज मेरो मनमस्तिकमा झन्झनाइरह्यो-"श्रील प्रभुपादलाई प्रसन्न बनाउने प्रयास गरौं !"
शुरुमा त म अलमलिएँ । मैले आफैंलाई प्रतिप्रश्न गरे, गरिरहें- "प्रभुपाद को हुन् जसलाई मैले प्रसन्न पार्नुपर्ने ? फेरि मसँग त्यस्तो जादू (जादूको छडी) नै के छ जसले प्रभुपादलाई खुशी पार्न सकोस् / सकियोस् ?
मेरो बालसुलभ मस्तिकमा एउटा जिज्ञासाले सधैं सताइरहन्थ्यो । शहरमा सिमेन्ट र कंक्रिटले बनेका भीमकाय घरहरू । मनग्ये कोठा । सबै कोठाहरूमा विजुलीको चमक । प्रत्येक वाथरूम र शौचालयहरूमा पानीको पर्याप्त सुविधा । यो सब कसरी सम्भव छ ? मैले धेरै पछि थाहाँ पाएँ कि यो सब 'मिटरबक्स' र 'पानी तान्ने 'मोटर' को कमाल रहेछ । जब मैले गीता पढें तब थाहा पाएँ कि यो विशाल ब्रह्माण्ड र सृष्टि सञ्चालनमा पनि कुनै न कुनै अदृश्य शक्तिको हात अवश्य छ जसको कारण यो सम्पूर्ण जगत क्रियाशील छ ।
गीतामा बताइए अनुसार त्यो अदृश्य शक्तिको नाम हो-'श्रीकृष्ण' ।
गीतामा स्पस्ट बताइएको छ- "भगवान श्रीकृष्ण नै भगवद्गीताका वक्ता हुनुहुन्छ । भगवद्गीताको पाना-पानामा उहाँको उल्लेख भगवानकै रूपमा भएको छ । यहाँ भगवान शब्दले पुरुषोत्तम भगवान श्रीकृष्णलाई बुझाएको छ । ब्रह्मसंहिता तथा श्रीमद्भागवत महापुराण लगायतका अन्य पुराणहरूमा पनि 'कृष्णस्तु भगवान स्वयं' भनेर यस तथ्यलाई स्वीकार गरिएको छ । यसैकारण हामीले स्वयं भगवानद्वारा निर्देशित गरिए अनुसार नै भगवद्गीतालाई यथारूप ग्रहण गर्नुपर्दछ ।"-पृष्ठ ०३.
हो, गीता पढ्दाखेरि प्राय: मानिसहरू यहीँनेर फेल खान्छन् जसले श्रीकृष्णलाई भगवानको रूपमा स्वीकार गर्न सक्दैनन् अर्थात् अस्वीकार गर्दछन् । यही नै कलियुगी मानिसहरूको लागि वास्तविक अग्निपरीक्षा हो । गीताको सम्पूर्ण रहस्यहरू यहीँनेर कैद छ । अर्को शब्दमा भनूँ-"जसले मह काट्छ उसले नै हात चाट्छ ।"
मैले दिलचश्पीकासाथ गीता पढें । त्यसपछि म रन्थनिएँ, पुरै रन्थनिएँ । जसले गर्दा केही नलेखी सुखै पाईन, पाइएन । मलाई लाग्यो-"श्रीमद्भगद्गीता यथारूप सबैले पढ्नुपर्दछ । यसको महत्त्व सबैले बुझ्नुपर्दछ, बुझाउनुपर्दछ । यो प्रत्येक मानवको जन्मसिद्ध अधिकार एवं कर्तव्य हो ।"
ठहात मेरो आँखामा एउटा अव्यक्त र भयानक तस्वीर नाच्न थाल्यो ।
एउटा सन्त । उमेर झण्डै ७० वर्ष । साथमा केवल एउटा सुटकेश, छाता, अलिकति दाल, बाकसमा केही थान पुस्तक र जम्मा रूपैंया ४० (भा.रू.चालीस) मात्र । र, सकसपूर्ण ३७ दिनको लामो सामुद्रिक यात्रा ।
हो, उनै प्रभुपाद जो सन् १९६५ मा जलदूत नामक पानीजहाजद्वारा न्युयोर्क (अमेरिका) पुग्नुभएको थियो, त्यो पनि रोगी शरीरको कुनै परवाह नगरी ।
यहाँ एउटा प्रश्न उठ्नसक्दछ: "यस्तो वृद्धा व्यक्ति जो वृद्धाभत्ता खाने उमेरमा पनि किन अमेरिका जानुभयो ? अमेरिका जानुपर्ने खास कारण के थियो ?"
एउटै कारण थियो: "भक्तिवेदान्त स्वामी सरस्वती ठाकुरको आदेशानुसार अंग्रेजी भाषाका माध्यमबाट वैदिक ज्ञानको प्रचार-प्रसार गर्नु / विश्वभर एउटा फराकिलो वैदिक आधारशीला निर्माण गर्नु ।"
आफ्नो गुरुको आदेश शिरोपर गर्नु शिष्यको कर्तव्य हो । मानौं जसरी युद्धको मैदानमा कमाण्डरको आदेशको पालन गर्नु सिपाहीको प्रमुख कर्तव्य हुन्छ ।
प्रभुपाद गुरुको महान सदिच्छालाई हृदयमा साक्षी राखेर आफ्नो अभियान विस्तार गर्न लाग्नुभयो, निरन्तर । यसक्रममा उहाँले कयौं संघर्ष एवं चुनौतीहरूको सामना गर्नुपरेको थियो । उहाँ थोरै समय मात्र सुत्नुहुन्थ्यो । रातभरि संस्कृतलाई अंग्रेजीमा अनुवाद गर्दै बस्नुहुन्थ्यो । सबैले बुझ्न सकून् भनेर शब्दावली पनि समावेश गर्नुहुन्थ्यो, ओखर फुटाले झैं । मानिसहरू आध्यात्मिक छलाङ मार्न जति उत्साहित हुन्छन् त्यति नै मात्रामा प्रभुपादजीको योगदानको गहिराइलाई अनुभव गर्नेछन् ।
प्रभुपाद लेख्नुहुन्छ:
यो गीतोपनिषद् वा भगवद्गीताका यस्ता भाष्यहरू अंग्रेजी भाषामा प्रशस्त उपलब्ध हुँदाहुँदै फेरि यो अर्को भाष्यको आवश्यकता किन पर्यो ? भन्ने प्रश्न पनि उठ्न सक्दछ । एउटी अमेरिकी महिलाले भगवद्गीताको कुनै एउटा प्रामाणिक अंग्रेजी सिफारिस गरिदिन अनुरोध गरिन् ।-पृष्ठ ०२./ अत: अंग्रेजीमा एउटा यस्तो गीताको आवश्यकता थियो जो गुरुशिष्य परम्पराबाट प्राप्त भएको होस् । त्यही ठूलो आवश्यकता पूरा गर्ने उद्देश्यले यहाँ यो प्रयास गरिएको हो । भगवद्गीताको यो स्वीकृत 'यथारूप' मानवताको लागि एउटा महान वरदान सिद्ध हुनेछ, तर यदि यसलाई मात्र काल्पनिक दार्शनिक चिन्तन हो भनेर स्वीकार गरियो भने त्यो समय नष्ट गर्नु मात्र हुन्छ ।-पृष्ठ १८४.
अत: ती अमेरिकी महिला अथाह धन्यवादकी पात्र छिन् जसले गर्दा आज हाम्रो हातमा 'श्रीमदभगवद्गीता यथारूप' उपलब्ध छ । यसको सम्पूर्ण श्रेय प्रभुपादलाई जान्छ ।
भनिएको छ- "विगत ३० वर्षभित्र संसारका १०० भन्दा बढी भाषामा अनुदित भई एक करोडभन्दा बढी प्रतिहरू बिक्री भएको श्रीभक्तिवेदान्त स्वामी प्रभुपादद्वारा भाष्य गरिएको 'श्रीमद्भगवद्गीता यथारूप' विश्वसाहित्यमा सर्वाधिक बिक्रीसंख्या भएको पूर्वीय वाङ्मयको आधिकारिक तथा अद्धितीय ग्रन्थका रूपमा विख्यात छ ।"
स्वयं प्रभुपाद भन्नुहुन्छ- "यस विषयमा मेरो कुनै श्रेय छ भने त्यो हो मैले कुनै मिसावट नगरीकन भगवद्गीतालाई जस्ताको तस्तै प्रस्तुत गर्नु प्रयास गरेको छु ।"-पृष्ठ (Xvii).
अत: गीता यथारूपको सबैभन्दा ठूलो विश्वसनीयता भनेकै विभिन्न धर्म, पन्थ र साम्प्रदायिक कीत्तामा विभाजित एवं दिग्भ्रमित मनुष्यहरूको आत्मा-उद्धारको लागि यसको आधिकारिता / प्रामाणिकता नै हो । जसले गर्दा गीता यथारूप आज विश्वकै सर्वप्रिय एवं पूर्ण विश्वसनीय ग्रन्थ बन्न पुगेको छ । त्यसो त बजारमा गीताका अनेकौं किसिमका भाष्कृत ग्रन्थहरू नपाईने होइन, पाइन्छन् । छ्यापछ्याप्ती । यत्रतत्र सर्वत्र । तर .....!
'श्रीमद्भगवद्गीता यथारूप' नै किन ?
किनकी :
"सामान्यतया तथाकथित विद्वान, राजनीतिज्ञ, दार्शनिक तथा स्वामीहरूले कृष्णलाई राम्रोसँग नबुझीकन भगवद्गीताको भाष्य लेख्न शुरू गर्दा कृष्णलाई नै त्यहाँबाट हटाउन या उहाँको अस्तित्व नै समाप्त पार्ने प्रयत्न गर्दछन् । भगवद्गीतामाथि लेखिएका यस्ता अप्रमाणिक भाष्यहरू मायावादी भाष्य भनिन्छन् र श्रीचैतन्य महाप्रभुले यस किसिमका भाष्यहरूबाट हामीलाई सावधान गराउनुभएको छ । उहाँले भन्नुभएको छ कि भगवद्गीतालाई मायावादी दृष्टिकोणबाट बुझ्ने प्रयास गर्ने व्यक्तिले भयङ्कर ठूलो भूल गरिरहेको हुनेछ । यस्तो भ्रम वा भूलको परिणाम के हुन्छ भने भगवद्गीताका विद्यार्थीहरू पथभ्रष्ट हुन्छन् र आध्यात्मिक मार्गदर्शनको पथबाट भ्रमित हुन्छन् । फलत: तिनीहरू 'भगवद्धाम' फर्किन सक्दैनन् ।"-पृष्ठ Xvii.
म श्रीमद्भगवद्गीता यथारूपलाई साक्षी / आत्मसाक्षी राखेर यी हरफहरू कैद गरिरहेको छु । म पूर्णतया सचेत छु । किनभने मलाई थाहा छ- "कृष्णको इच्छाको सन्दर्भ नदिइकन भगवद्गीताको व्याख्या गर्नु ठूलो अपराध हो ।"-पृष्ठ Xviii.
भनिएको छ- "यदि कृष्णलाई सामान्य चेतना भएको एउटा सामान्य बद्ध जीव (आत्मा) मान्ने हो भने प्रामाणिक शास्त्रका रूपमा उहाँको भगवद्गीताको कुनै मूल्य रहने छैन । गीता यस्ता साहित्यभन्दा धेरै माथि छ । कुनै सांसारिक किताबसँग भगवद्गीताको तुलना गर्न सकिदैंन । कृष्णलाई एउटा सामान्य मानिस सम्झनासाथ उहाँको गीताको सारा महत्व समाप्त हुन्छ ।-पृष्ठ ७९.
अत: भन्न सकिन्छ कि 'श्रीमद्भगवद्गीता यथारूप' र 'कृष्ण' को सन्दर्भ नदिइकन गीताको गलत भाष्य गर्ने हिम्मत अब कसको ? गीताको मर्मलाई लत्याएर मनगढन्त भाष्य लेख्ने धृष्टता गर्नु भनेको आफ्नै घुँडामा वञ्चरो प्रहार गर्नु समान हो । भला ऊ अर्को जन्ममा वैकुण्ठ जगतका राजदूतका रूपमा स्वयं 'प्रभुपाद' भएर जन्मनुपर्दछ । अन्यथा असम्भव ।
भनिएको छ- "मानिसले सर्वप्रथम कृष्णको भक्ति गर्नुपर्दछ, अनि मात्र उसले भगवद्गीताको टीका लेख्ने प्रयास गर्न सक्दछ ।-पृष्ठ ५००. / जसले कृष्णलाई उहाँ जस्तो हुनुहुन्छ त्यही रूपमा र भगवद्गीतालाई पनि जस्ताको तस्तै स्वीकार गर्दैनन् तिनीहरू मनोमानी ढंगले भगवद्गीताको व्याख्या गर्ने प्रयत्न गरेर अपराधको भागी नबनून् । जो कृष्णलाई भगवानका रूपमा स्वीकार गर्न तयार छ त्यसले मात्र भगवद्गीताको व्याख्या गर्न उचीत हुछ ।-पृष्ठ ७०२. / यसरी कृष्णलाई भगवानको रूपमा स्वीकार गर्नसक्ने हुनको लागि पनि यो जन्म वा पूर्वजन्ममा कुनै ठूलै तपस्या वा यज्ञहरू गरेको हुनुपर्दछ । शुद्ध भक्तहरूको अहैतुकी कृपाद्वारा नै कृष्णलाई भगवानको रूपमा बुझ्न सकिन्छ । योबाहेक भगवानलाई बुझ्ने अर्को उपाय छैन ।"-पृष्ठ १००.
तर विडम्बना !
प्राय: मानिसहरू कृष्णलाई एउटा कामुक व्यक्तिका रूपमा चित्रण गर्दछन् । उपहास गर्दछन् । सोर्ह सय गोपिनीहरूको भद्दा प्रसङ्ग कोट्याएर आफ्नो भँडास र यौनकुण्ठा वीषवमन गरिरहेका हुन्छन् । स्वयं आफ्नै हृदयमा परमात्माका रूपमा नित्य निवास गर्ने पारमार्थिक तत्त्व आत्मा नै 'कृष्ण' हुन् भन्ने कुराको कुनै आत्मबोध एवं गुञ्जायस नै छैन । जब कि यो वृक्षरूपी मानव शरीरमा कृष्ण साक्षी भएर बस्न चरो हुनुहुन्छ भने अर्जुन फल खाने चरो हुन् अर्थात् कर्मको फल भोग्ने धर्तीको एक मात्र चेतनशील प्राणीका रूपमा हामी स्वयं । अर्को शब्दमा 'कृष्ण' ज्ञानका प्रतीक हुनुहुन्छ भने अज्ञानको प्रतीक रूपमा हाम्रो प्रतिनिधित्त्व गर्ने एक जुझारू पात्र 'अर्जुन' ।
भगवान श्रीकृष्ण भन्नुहुन्छ :
- म पाण्डवहरूमा 'अर्जुन' हूँ, मूनिहरूमा म 'व्यास' हुँ ।-१०.३७, भगवानको ऐश्वर्य ।
- उनीलाई विशेष कृपा गर्नको लागि, तिनीहरूको हृदयमा निवास गरेर ज्ञानको उज्यालो बत्तीद्वारा अज्ञानबाट उत्पन्न अन्धकारलाई मैले नाश गरिदिन्छु ।-१०.११, भगवानको ऐश्वर्य ।
अत: यसबाट स्पस्ट हुन्छ कि अर्जुन पनि उनै कृष्ण । वेदव्यास पनि उनै । भगवान कृष्णको अहैतुकी कृपाले जब अज्ञानको अन्धकार नाश हुन्छ तब ज्ञानको प्रशिक्षण पाएको आध्यात्मिक आँखाले हामी समस्त जीवात्माका हृदयभित्र निवास गर्ने परमात्मा कृष्णलाई प्रतक्ष्य देख्न सक्दछौं । यत्रतत्र सर्वत्र कृष्णको अदृश्य उपस्थिति महशुस / अनुभव / अनुभूति गर्न सक्दछौं । भनिएको छ –"पदार्थ र आत्मा दुवै कुरा कृष्ण नै हुन् । कृष्णभावनाको उच्च अवस्थामा पुगेपछि मानिसले यस किसिमको विभेद पाउँदैंन । उसले हरेक वस्तुमा केवल कृष्ण मात्रै देख्न थाल्दछ ।"-पृष्ठ ३९९.
तर दूर्भाग्य !
नास्तिक तथा निराकारवादीहरू ईश्वरको कुनै स्वरूप नै हुदैंन भनेर अन्धो तर्क दिने गर्दछन् । त्यस्ता अभक्तहरू आफ्नो कार्यक्षेत्रमा जतिसुकै निपूर्ण भए पनि तिनीहरूले कृष्णलाई चिन्न असम्भव प्राय: छ । मानिसहरू भगवानको सदिच्छाप्रति समर्पणभाव राख्नु त परै जावोस्, उहाँको सन्देशसम्म पनि सुन्न चाहँदैनन् । भन्दछन्- "हामीलाई जीवनको अमरताको विषयमा सुन्ने समय नै छैन ।" आफ्नो फाइदाको लागि तिनीहरू रात-दिन सुत्दैनन् । आन्द्रामा घाउ होस्, अपच होस्, खाँदै नखाइकन रहनुपरोस्, तिनीहरू सन्तुष्ट रहन्छन् र आफ्ना मायामय स्वामीको लाभका लागि दिनरात काममा घोटिन्छन् । आफ्नो सम्पूर्ण मूल्यवान समय व्यर्थै मायाको सेवामा नष्ट गर्दछन् । अझ दूर्भाग्यको कुरो के छ भने तिनीहरू कहिल्यै भगवानका शरणमा जाँदैनन्, न भगवानका विषयमा सहि व्यक्तिबाट केही श्रवण गर्ने समय यिनीहरूलाई हुन्छ । विष्टा खाने सुँगुरले घिउ र चिनीबाट बनेको मिठाइतिर हेर्दैन, त्यसको कुनै वास्ता गर्दैन । त्यस्तै मूर्खकर्मी मानिस पनि इन्द्रियलाई आनन्द दिने यस नश्वर जगतका क्षुद्र समाचार निरन्तर सुनिरहन्छ तर संसारलाई गतिशील पार्ने शाश्वत जीवन-शक्तिका विषयमा सुन्ने समय उसका लागि ज्यादै कम हुन्छ ।-पृष्ठ ३२०. / यो विचरो पशुलाई उसको मालिकले सकेसम्म काममा लगाउँदछ र रातदिन कसका लागि यति कठिन परिश्रम गरिरहेको छु भन्ने कुरा स्वयं गधालाई पनि थाहा हुदैंन । पेटभरि घाँस खान पाए उसलाई पुगिहाल्दछ, यसैमा ऊ सन्तुष्ट रहन्छ । मालिकले पिट्छ भन्ने डरले ऊ पूरा निदाउन पनि सक्दैन । आफ्नो कामवासना तृप्तिका लागि ऊ बारम्बार विपरीत लिंगी वा गधिनीको लात्ती खाईरहन्छ र उ त्यसैमा तृप्त हुन्छ ।-पृष्ठ ३२०. / मानिस शाश्वत आत्माको बारेमा केही विचार नगरी पागलजस्तो बनेर दिन-रात कठिन श्रम गरिरहेको छ, पैसा जम्मा गरिरहेको छ । यो पागलपन हो । यही पागलपनले गर्दा तिनीहरू आध्यात्मिक ज्ञानमा अगाडि बढ्ने विषयमा अत्यन्त अनिच्छुक हुन्छन् ।-पृष्ठ ५७१. / कलियुगमा सामान्यतया मानिसहरूको आयु छोटो हुन्छ । तिनको आध्यात्मिक अनुभूति मन्द हुन्छ र तिनीहरू विभिन्न चिन्ताले सताइएका हुन्छन् ।-पृष्ठ २६६.
आज ठीक यस्तै दशा छ कलियुगी मनुष्यहरूको । यो नै वर्तमान समाजले भोगको कटु यथार्थ हो ।
प्रभुपादले आफ्नो सम्पूर्ण जीवन अध्यात्मका खातिर उत्सर्ग गर्नुभयो । जब कि वेद, गीता र भगवान कृष्णको नाम नै नसुनेका एवं पूर्णतया बेखबर पश्चिमा जगतमा पुगेर एक्लै वैदिक ज्ञानको प्रचार-प्रसारमा होमिनु भयो । विभिन्न देशहरूमा १०८ वटा कृष्ण मन्दिरहरूको स्थापना गर्न सफल हुनुभयो । सबभन्दा खुसीको कुरो त उहाँले सन् १९६६ मा न्युयोर्क अमेरिकबाट 'अन्तराष्ट्रिय कृष्णभावनामृत संघ' अर्थात् इस्कोनरूपी ''आध्यात्मिक क्रान्ति' को उद्घाटन एवं उद्घोष गर्नुभयो जुन् आज 'स्प्रिचुअल फ्लेम' को रूपमा संसारभर फैलिइरहेको छ । भनिएको छ- "यो सङ्कीर्तन संस्कृति विश्वभरिका नगर-नगर तथा गाउँ गाउँसम्म फैलिनेछ ।"-पृष्ठ १९४.
भगवान कृष्णले गीताको उपदेश गर्नुभएको लगभग ५००० वर्ष व्यतित हुँदैंछ । शास्त्रमा भनिएको छ –"विगत पाँच हजार वर्षदेखि हामीहरू यो कलियुग भोगिरहेका छौं । यस युगमा पापाचार बढेर चरमसीमासम्म पुग्दछ ।" जब कि कलियुगले ४ लाख २७ हजार वर्ष भोग गर्न अझ बाँकी नै छ । हामी सजिलै अनुमान गर्न सक्दछौं कि कलियुगको अन्त्यसम्म पापको साम्राज्य कति निर्मम र भयानक होला ?
आज यो कुरा विस्तारै सत्य प्रमाणित हुदैंछ । नढाँटीकन भन्नुपर्दा कलियुगमा केवल गास, बास, कपास र सहवासलाई नै प्राथामिकता दिइरहेको देखिन्छ । प्राय: मानिसहरू पाँच 'प' -'पद, पैसा, प्रतिष्ठा, पावर र परस्त्रीगमनका साथै पाँच 'म'- मनि, महिला, मदिरा, मासु र मैथुनमा आफ्नो अमूल्य समय नष्ट गरिहेका छन् । मानौं उनीहरू यसैका लागि जन्मिएका हुन् । जब कि शास्त्रीय दृष्टिकोणबाट पूर्णतया वर्जित मांसहार, मदिरा, जूवातास र यौन व्यभिचारको उन्मादमा रमाईरहेको सिङ्गो मानव समाज र पृथ्वीरूपी वोइङ नारकीय यात्रातर्फ अगाडि बढिरहेको छ । र, हामी यसभित्र जबरजस्त यात्रा गर्न विवश छौं, चाहेर होस् वा नचाहेर ।
प्रभुपादले तीव्र गतिमा नारकीय यात्रातर्फ उन्मुख कलियुगरूपी भयानक वोइङलाई सीधै फर्काएर 'भगवद्-धाम' (वैकुण्ठ) तर्फ अवतरण गर्न निरन्तर प्रयासरत हुनुहुन्छ । प्रभुपादले संसारभर आध्यात्मिक तहल्का नै पिट्नुभयो, गीता यथारूपमार्फत । अन्यथा प्रभुपादबिना वैदिक सभ्यताको जननी एवं पवित्र वेदभूमि मानिएको नेपाल र हामी नेपालीहरू 'श्रीमद्भवद्गीता' को प्रामाणिक पुस्तकप्रति पूर्णतया बेखबर हुने थियौं । जब कि नेपाल (दमौली, तनहूँ) मा जन्मनुभएका महर्षि वेदव्यास (चार वेद अठार पुराणका रचयिता) ले वैदिक उत्थानको लागि गर्नुभएको प्रयास ओझेलमा परिरहेको छ । अब यसलाई विश्वरभर संप्रेषण गर्ने गहन दायित्व हाम्रो काँधमा निर्भर छ ।
तर अफसोस !
आज वैदिक सनातन धर्मको मर्यादालाई लत्याएर हामी बत्तीमुनिको अन्धकारमा बाँच्न अभिशप्त छौं । पश्चिमा देशहरूमा वैदिक सभ्यताको कृत्रिम सूर्दोदय हुँदैंछ । जब कि पूर्वीय सनातन सभ्यताको मालिक, हकदार र वेदानुयायी हौं हामी । हामी आफ्नो वैदिक संस्कार, संस्कृत र संस्कृतिलाई भूल्दै गइरहेका छौं । मानिसहरू आफूलाई निकै सभ्य, पठित, विद्वान, बौद्धिक र दार्शनिक भएको घोषणा गर्दै विभिन्न विदेशी लेखक र तिनका प्रकाशित कृतिहरूको गुणगान र प्रशस्ती गाउँछन् । मार्क्सवाद, लेलिनवाद, स्टालिन, ऐंगेलेल्स, गोर्की, चेखब, च्वेग्भारा, हिटलर, मुसोलिनी आदिको खूब प्रशंसा गर्दछन् तर त्यही ओठले भगवान कृष्ण, वेद र गीता उच्चारण गर्न समेत हिच्चकिचाउँछन् । राष्ट्रिय स्तरका कतिपय प्रतिष्ठित सञ्चार माध्यमहरू पनि यसबाट अछूतो छैनन् । राजनीतिक डाँकले भरिएका र प्राय: यौनजन्य रङ्गीन सामाग्रीहरूले प्राथामिकता पाउँदछन् । मानौं आध्यात्मिक सामाग्रीहरू प्रकाशित एवं संप्रेषण गर्नु भनेको कुलको इज्जत माटोमा मिलाउनु हो / सूली चढ्नु हो / आत्मदाह गर्नु हो ।
स्मरणीय छ- "मैले गत वर्ष जन्मदिनको उपलक्ष्यमा एक जना मित्रलाई उपहारस्वरूप 'गीता' प्रदान गरेको थिएँ । कम्तीमा मलाई लागेको थियो कि संसार पढेको यत्तिको विद्वान मान्छेले गीता पढेर केही सकरात्मक सन्देश प्रवाह गर्ला । तर भइदियो ठीक उल्टो । उसले गीताको अस्मितामाथि कालोमोसो मात्रै दलेन, बलत्कार नै गर्यो । गीताको मर्म र भावनामाथि पेट्रोल छर्केर आगो लगाइदियो । उसले बिनासंकोच लेख्यो- "गीता औसत धार्मिक पुस्तक हो ।"
गीता किनेर पढ्न प्राय: मानिसहरूलाई ज्वरो नै आउँछ । जब कि संसारकै सबभन्दा महङ्गो ब्राण्डीको मदिरा खरिद तथा सेवन गर्न र रात्रीकालिन जमघटहरूमा पैसाको खोलो बगाउन कुनै कञ्जुस्याइँ गर्दैन मान्छे । प्राय: मानिसहरूको ओठबाट कटु जवाफ आउँछ- "गीता घरमै छ । दराजमा छ । फुर्सदमा पढूँला नि । के को हतार ?"
थन्क्याएर मणि अँध्यारो कुनामा मान्छे ।
निस्तो भात मुछेर खाँदैंछ दुनामा मान्छे ।।
म चिच्याएर भन्न चाहन्थें -"हे कलियुगी मुनुश्यहरू हो ! दराज फुटाल र गीता पढ । जिन्दगीको सूर्य अस्ताएपछि थाहा पाउनेछौ ।" तर चिच्याउने र नचिच्याउने पनि आ-आफ्नै समय हुन्छ ।
तर दूर्भाग्य !
भनिएको छ-"यदि समाजका अनुत्तरदायी नेताहरूले सनातन धर्मको परम्परालाई नै विखण्डित पारिदिए भने त्यसबाट समाजमा अव्यवस्था फैलिन पुग्दछ । फलस्वरूप मानिसहरू जीवनको मूल उद्देश्य भगवान विष्णुलाई नै बिर्सन पुग्दछन् । यस्ता नेताहरूलाई नै अन्धा भनिन्छ र यिनीहरूका पछि लाग्नेहरू अवश्य नै अस्तव्यस्तको स्थितिमा पुग्दछन् ।"-पृष्ठ ६१.
यही नै आजको वास्तविक यथार्थ हो । अधिकांश नेताहरू वैदिक ज्ञान र दार्शनिक सुझबुझबाट विल्कूल बेखबर एवं अनविज्ञ छन् । जब कि भारतीय प्रधानमन्त्री मोदी यसबारे पूर्णतया जानकार छन् । मोदीले बाराक ओबामा, डोनाल ट्रम्प र रूसका राष्ट्रपति भ्लादिमिर पुटिनलाई समेत गीता प्रदान गरेका थिए । तर ख्यै हाम्रा नेताहरूमा त्यस्तो त्याग, समर्पण र आध्यात्मिक निष्ठा ?
स्मरणीय छ: गत वर्ष अन्तरिक्ष यात्रीका रूपमा विश्व कीर्तिमान कायम गर्न सफल सुनिता विलियम्स मंगल ग्रहमा जाने क्रममा साथमा 'श्रीमद्भगवद्गीता यथारुप' लिएर गएकी थिइन् जुन् खबर संसारभर भाइरल भएको थियो ।
गीताको सान्दर्भिकता यसबाट पनि अनुप्रमाणित हुन्छ:
भारतीय प्रधानमन्त्री मोदी भन्दछन्: "राष्ट्रपति पुटिनलाई रूसी भाषामा लेखिएको गीताको एकप्रति दिएको छु । गीताको शिक्षाले संसारभरका लाखौं मानिसहरूलाई प्रेरणा दिनेछ ।" / साथै मोदीले जापानका नरेश अकिहितोलाई भगवद्गीता उपहार दिदैं भनेका थिए –"उहाँलाई दिनका लागि मसित गीताभन्दा ठूलो अरू केही थिएन र दुनियाँलाई पनि यसभन्दा धेरै केही पाउनु छैन ।"
ईशाइ दार्शनिक थोमस- "यो अत्यन्त प्रेरणादायक पुस्तक हो । यसले मेरो जीवनमा सुख, सन्तोष प्रदान गरेको छ । मलाई लाग्छ, तपाईंले पनि यस्तै अनुभूति पाउनु हुनेछ । यो पुस्तक पढ्नु होला ।"
जर्मन विद्वान् हम्बोल्ड्ट- "गीता पढ्ने बेला म यसकारणले ईश्वरप्रति कृतज्ञ हुन्छु कि उहाँले मलाई यस ग्रन्थको सामीप्य नपाएसम्म जिउने अवसर दिनुभयो । यो संसारकै लागि अत्यन्त गहन र उत्कृष्ट उपहार हो ।"
परमाणु बमका निर्माता जुलिएस रवर्ट ओपनहाइमर- "गीता जीवन र जगतको सत्यतथ्यमाथि प्रकाश पार्ने विचार, संकेत र गूढार्थको महासागर नै हो ।"
भनिन्छ: हाइमरलेले गीताको श्लोक ११.१२ र ११.३२ को आधारमा परमाणु बमको अनुसन्धनात्मक परीक्षण गर्न सफल भएका थिए ।
गीताको बारेमा लेख्नु अत्यन्त कठीन काम हो । ठूलो गोता खानुपर्दछ । गीता पढेर प्रभावित नहुने मानिस सायदै छन् / होलान् । उदाहरण: थोरो, वाल्ट ह्विटम्यान, इलियट, सोपेनआवर, लियो टाल्सटाय, डा. थोमस जे. होप्किन्स, एल्विन पावेल लगायत अन्य....!
वास्तवमा प्रत्येक मानिसले जीवनमा एक पटक गीता पढ्नैपर्दछ । पृथ्वी धरातलमा भएका सबै वृक्षहरूलाई कलम र समुद्रलाई मसी सम्झिएर गीताको बारेमा लेख्ने हो भने पनि त्यो अधूरो र अपूर्ण नै हुन्छ । एक वाक्यमा भन्नुपर्दा गीता अत्यन्त महान रहस्यले भरिएको विशद ग्रन्थ हो ।
भनिएको छ- भगवद्गीता पनि वेद जत्तिकै हो । भगवद्गीताको मर्म भगवद्गीतामै व्यक्त गरिएको छ । गीतालाई स्पस्ट रूपले बुझेको उदाहरण स्वयं भगवद्गीतामा नै छ । गीता पढेपछि कुनै पनि पाठक गीताकै निश्कर्षमा आइपुग्दछ । यसमा यमा कुनै शंका छैन ।
म गीता पढेको नाताले गर्वकासाथ भन्न सक्दछु कि हाम्रो यो यात्राको मुख्य अभिभावक हुनुहुन्छ- 'प्रभुपाद !'
हो, प्रभुपादले सन १३ जुलाइ १९६६ मा न्युयोर्क, अमेरिकामा एक 'अन्तराष्ट्रिय कृष्णभावनामृत संघ' (संक्षेपमा-'इस्कोन') को स्थापना गर्नुभएको थियो । यसको प्रधान कार्यालय भारतको पश्चिम बंगालमा अवस्थित छ । अझ भनूँ यसको वास्तविक मुख्यालय त भगवद्धाम (वैकुण्ठ) नै हो, जो भगवान कृष्णको शाश्वत एवं निजीधाम मानिन्छ । यही भगवद्धाम (वैकुण्ठ) नै हरेक जीवात्माको अन्तिम गन्तव्य हो जहाँ पुगेपछि फेरि कहिल्यै पनि यस पृथ्वी फर्किएर आउनुपर्दैन । यसको मुख्य निर्देशक, व्यस्थापक एवं संरक्षक नै स्वयं भगवान श्रीकृष्ण हुनुहुन्छ । विश्व लगायत नेपालमा पनि 'इस्कोन शाखा'हरू तीव्र रूपमा स्थापना भैरहेका छन् । यी आध्यात्मिक काउन्टरमा सम्पर्क गरी कुनै पनि व्यक्तिले आफ्नो जीवनको वास्तविक यात्रा तय गर्न सक्दछ ।
यो विश्वास बढ्नुको एउटा विशेष कारण छ । त्यो हो- "सुरक्षित यात्रा !"
हो, सबै तहका यात्रीहरूका लागि यो एक मात्र सरल, सहज र सुरक्षित आध्यात्मिक यात्रा हो । यसबाहेक अरू कुनै मार्ग वा उपाय छैन, छैन, छैन ।
वैकुण्ठ जगतका आध्यात्मिक राजदूत प्रभुपादले यो यात्राको सम्पूर्ण विश्वास एवं आश्वासन दिनुभएको छ, गीता यथारूपमार्फत । यो एक मात्र यस्तो सुरक्षित यात्रा हो जहाँ कहिल्यै दूर्घटनाको जोखिम हुँदैंन । भौतिक सवारीहरू एकापसमा ठक्कर खान्छन्, दुर्घटनाग्रस्त हुन्छन् र त्यहाँ मानवीय हताहत एवं क्षति हुने प्रबल सम्भावना रहन्छ । तर यो यात्रामा त्यस्तो कुनै भय हुँदैंन, न ट्राफिक जाम, न त सडक अबरूद्ध नै । केवल 'गीता एक्सप्रेस' मा सवार गरे पुग्दछ ।
वश !
म पनि सुटुक्क 'गीता एक्सप्रेस' मा चढें ।
हाम्रो यात्रा अगाडि बढ्यो सीधै भगवद्धाम (वैकुण्ठ) तर्फ ।
मैले जिज्ञासापूर्वक सोधें: –"गुरु ! यो एक्सप्रेसमा प्राय: 'श्रीमद्भगद्गीता यथारूप' को नयाँ संस्करण देखिरहेको छु । के यो बिक्रीको लागि हो ?"
गुरुले भन्नुभयो: "होइन, प्रचारप्रसारको लागि । यही नै हो वास्तविक 'गीता एक्सप्रेस !'
म आश्चर्य विस्मित भएँ । नतमस्तक भएँ । मेरो मन, मस्तिक र मुटुमा अनौठो तरङ्ग सञ्चार भयो । हृदयभित्र रोम रोम आनन्दको महासागर उद्दिग्न भएर आयो । शायद म बढी भावुक भएँ क्यार-"अनयासै हर्ष र आनन्द मिश्रित आँशु आँखाको डीलबाट गुडुल्किएर 'श्रीमद्भगद्गीता यथारूप' माथि खस्यो तप्प, तप्प, तप्प ....!
मैले गम्भीर भएर सोचें- "साँच्चै ! कथित राजनीति निर्वाचनको प्रयोजनार्थ गरिने अनावश्यक खर्च वा बजेट विनियोजन आध्यात्मिक उन्नयनका लागि सुनिश्चित गर्ने हो भने हाम्रो देश आध्यात्मिक रूपमा कति सभ्य र सम्मृद्ध हुन्थ्यो होला ! अनि प्रभुपाद झन् कति खुसी हुनुहुन्थ्यो होला हगि !"
नेपथ्यमा एउटा सुरिलो भजन गुञ्जिरहेको थियो-"हरे कृष्ण हरे कृष्ण कृष्ण कृष्ण हरे हरे हरे राम हरे राम राम राम हरे हरे .......!"