पाेखरा : गण्डकी प्रदेश सभामा राष्ट्रिय जनमोर्चाका सांसद खिमविक्रम शाहीलाई भर्ना गरिएको चरक अस्पताललाई प्रहरीले पहरा दिइरहेको छ । प्रदेश सभामा मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङविरुद्धको अविस्वासको प्रस्तावमाथि मतदान हुने समयमा बुधबार दिउँसो शाहीलाई चरक अस्पताल भर्ना गरिएको हो । त्यहाँ प्रहरीको बाक्लो उपस्थिति रहेको छ ।

शाही अस्पताल भर्ना भएसँगै प्रहरीले अस्पताल वरपर पहरा दिइरहेको हो । प्रदेश सभा सदस्यलाई अविश्वासको प्रस्तावमाथि आफ्नो मत दिनबाट रोकेर अस्पतालमा ‘बन्दी बनाइएको’ भन्दै कांग्रेसले आपत्ति जनाएको छ । कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले गण्डकी प्रदेश सभामा ‘अविश्वास प्रस्तावमा मत दिन रोक्ने नाममा सत्ता संरक्षित गुण्डागर्दी ‘ हो भन्दै प्रधानमन्त्री केपी शर्मा ओलीलाई प्रश्न गरेका छन् ।
उनले सांसद शाहीलाई राखिएको चरक अस्पतालमाथि पनि प्रश्न उठाएका छन् । जनमोर्चाका सांसद शाहीको अवस्था अज्ञात रहेकाले अवस्था पत्ता लगाउन र जीवन रक्षाको माग गर्दै उक्त दलकी सचेतक पियारी थापाले सभामुख नेत्रनाथ अधिकारीलाई निवेदन दिएकी थिइन् । उक्त निवेदनका आधारमा प्रदेश सभाको बैठक अनिश्चितकालका लागि स्थगित गरिएको छ ।

मुख्यमन्त्रीविरुद्धको अविश्वासको प्रस्ताव पास गर्नका लागि प्रदेश सभामा ३१ सदस्यको आवश्यकता पर्छ । गण्डकी प्रदेश सभामा सरकारको नेतृत्व गरिरहेको एमालेका २७, कांग्रेसका १५, माओवादी केन्द्रका १२, राष्ट्रिय जनमोर्चाका ३, जनता समाजवादी पार्टीका २ र एक सांसद स्वतन्त्र छन् । एमाले बाहेकका दलले अविश्वास प्रस्तावको पक्षमा मतदान गर्ने निर्णय गरेका छन् । source:Dhorpatannews