क्षणिक माया

क्षणिक माया

  • पौष ३, २०७७ शुक्रवार
  • ०८:५४:५२ बजे
  • 5.1K
    SHARES
  • क्षणिक माया

    भगबता पोख्रेल : ऐना अगाडि उभिएर ममता आफैलाई हेरिरहेकी थिइ। सादा मेकअपमा पनि ऊ कुनै परीभन्दा कम थिइन।

    आँखामा लगाएको त्यो कालो गाजलले त झन् सुनमा सुगन्ध थपे जस्तै उसको मुहारको चमकता अझ निखारिएको स्पष्ट देख्न सकिन्थ्यो।

    निकै खुसी र प्रफुल्ल थिइ। धेरै समयपछि गाउँ फर्किदै छे। यात्रा लामो थियो। त्यो पनि रात्री बसमा, मनमा अनेक किसिमका कुराहरु खेलीरहेका थिए। घरबाट निस्कने समय भैसकेको थियो, ट्याक्सीलाई कल गरी अनि बसपार्क पुगी।

    बस हिंड्न् एक डेढ घन्टा बाँकी थियो। मानिसहरू विस्तारै विस्तारै आइरहेका थिए। केही बेर बाहिर बसेर ऊ आफ्नो सिटमा गएर बसी। मानिसहरु बसमा चड्ने र ओर्लेने क्रम जारी थियो। कोही ल चिन्ता नगरी जानु है भन्दै थिए त कोही घर पुगेपछि तुरुन्तै कल गर्नु है भन्दै थिए।

    ऊ चार नम्बर सिटमा बसेकी थिइ। थाहा थिएन ऊसँगैको सिटमा अर्को को छ भनेर। उसले खासै वास्ता पनि गरिन। यस्ता यात्राहरु त उसले धेरै पटक गरेकी छ। समय र परिस्थिति अनुसार चल्नु पर्छ भन्ने थाहा छ उसलाई।

    बसभित्र मानिसहरु क्रमशस् आ-आफ्ना सिट खोज्दै बस्दै गरिरहेका थिए। यात्रुहरूले सबै सिट भरिसकेका थिए। तर ममताको सँगैको सिटमा कोही पनि आएको थिएन। उसले सोची, खाली पो छ कि१ भए त ठिकै हुन्थ्यो, आफ्नै हिसाबले जान हुन्थ्यो।

    बस हिंड्न् अझै केही समय बाँकी थियो। ब्यागबाट पुस्तक निकाली, उसलाई यात्रामा वा एक्लै हुँदा पढ्न निकै मन पर्छ।

    उसले नेपाली र विदेशी राइटरहरुका उपन्यास धेरै पढेकी छ। उसले पारिजातको ुपरिभाषित आँखाहरुु भन्ने उपन्यास पढिरहेकी थिइ, एक्कासी बजेको हर्नले उसको पढाइको मौनतालाई भंग गरिदियो।

    ममताले बस भित्र चारैतिर आँखा डुलाइ, सबै सिट प्याक भैसकेका थिए। तर ऊ सँगैको सिटमा कोही पनि आएको थिएन।

    उसले सम्झी, सायद अब यो खाली नै हुनु पर्छ। बसको झ्यालबाट बाहिर हेरेर आफ्नो संसारमा के हराउन लागेकी थिइ,अकस्मात् कसैको एक्स्क्युज मि, के म यहाँ बस्न सक्छु’ भन्ने आवाजले ऊ झस्की।

    अनि बोली, आफ्नो सिट हो भने बस्दा हुन्छ। यति भनेर यसो के हेरेकी थिइ, एकजना युवक ऊ तिर हेरेर मुस्कुराइरहेको थियो। उसले तुरुन्तै आफ्नो नजर हटाइ त्यहाँबाट। बस विस्तारै निस्कियो।

    केही समय दुवै जना मौन रहे, ममताले झ्यालबाट बाहिर हेरिरहेकी थिइ। ऊ आफ्नो प्यारो जन्मभूमिको बारेमा सोच्दै थिइ।

    यात्रा लामो थियो। बस आफ्नै सुरमा गुडिरहेको थियो। विस्तारै दिन ढलेर रात पर्ने तरखरमा थियो। दुवै जना मौनतामा थिए। ममताको तन, मन सबै उडेर घर पुगिसकेको थियो क्यारे, सोचमग्न थिइ।

    धेरै वर्षपछि फर्किदै छे, उसले एक एक गर्दै सम्झिन थाली गाउँ, घर, इस्टमित्र, साथी भाइ, आहा१ कति रमाइलो होला।

    खुसीले पागल जस्तै बनिरहेकी थिइ,त्यही सुरमा के के बोली एक्लै, सँगैको साथीले अचम्म मानेर हेरिरह्यो। उसले आफूसँगै सिटमा अरु पनि कोही छ भन्ने बिर्सिछ क्यारे।

    ‘युवकले म महेश, तपाईरु’ भनेर सोधेपछि पो बल्ल झस्किदै बोली ‘म ममता१’ दुवैले परिचय गरे। दुवै जना एकै तिर ओल्लो, पल्लो गाउँ जाने रहेछन्।

    विस्तारै एक-अर्काको बारेमा सोध खोज गरे, घर परिवारको बारेमा सबै बताइ ममताले। महेशले पनि खुलेर सबै बतायो। एकैछिनमा दुवै जना साथी बन्न पुगे।

    दुवै जना पढे लेखेका निकै बौद्धिक देखिन्थे। महेश निकै भलाद्मी देखिन्थ्यो, उसको लबाइ, खबाइ,कुरा गर्ने तरिका ममतालाई साह्रै मन पर्यो।

    महेशले यसो हेर्यो, ममता पनि कुनै कुरामा कम थिइन। निश्चल, सुकोमल, सरल स्वर्गकी परी जस्तै आहा१ उसले मन मनै भन्यो। छोटो समयमा दुवै जना यति नजिक भएकी लाग्थ्यो उनीहरुको कुरा गराइ सुन्दा वर्षौं पहिलादेखिका साथी हुन्।

    यात्रा निरन्तर अघि बढिरहेको थियो, दुवैले एक(अर्काको बारेमा कुरा गरिरहेका थिए। खै कसरी ममता महेशका हरेक कुराबाट प्रभावित बन्न पुगी, पत्तै भएन।

    महेशलाई पनि ममता आफ्नै नजिकको मान्छे हो जस्तो लाग्न थाल्यो। केही घण्टामा नै उनीहरु यति नजिक भए कि एक-अर्कामा छुट्नु परे बाच्न सक्दैनन् कि जस्तो।

    मनका धेरै कुराहरु साटासाट गरे, यतिसम्म कि अबका दिनहरुमा सँगसँगै जिउने र सँगै मर्नेसम्मका वाचा गर्न पछि परेनन्। मान्छेको मन न हो, एकैछिनमा दुवैका मन मुटु एउटै भए।

    दुवैको मनमा लागिरहेको थियो कास१ यो यात्राको अन्त्य नै नभइ दिए हुन्थ्यो, छुट्ने ठाउँ नआइदिए हुन्थ्यो। तर यात्रा छोटिदै थियो, दुवैको मुटुको ढुकढुकी बढिरहेको थियो कसरी छुट्ने होला भनेर।

    सदरमुकाम आइपुग्यो, सबै यात्रुहरु झर्न लागे। सबैले आ-आफ्ना सामान निकालेर विस्तारै विस्तारै ओर्लिरहेका थिए।

    त्यहाँबाट महेश र ममताको गाउँसम्म पुग्न जीपमा जानु पर्थ्यो। महेश पनि उठ्यो, आफ्नो र ममताको ब्याग लिएर ओर्लन लाग्यो। ममता पनि पछि पछि आइरहेकी थिइ। अकस्मात१ अल्झिएर लड्न पुगी।

    महेश ममतालाई उठाउन पुग्यो, बायाँ हात समातेर उठाउन के खोजेको थियो, ऊ त छाँगाबाट खसे जस्तै भयो। सानो छ्दा ममता लडेर बायाँ हात गुमाउनु परेको थियो, उसले प्लास्टिकको हात लगाएकी थिइ।

    महेशले एककोहोरो ममतालाई हेरिरह्यो, केही बोल्न सकेन र एक्कासी समातेको हात छाडिदियो। ममता भुइमा पछारिन पुगी।  अनि महेश केही नबोली विस्तारै ममताको ब्याग पनि त्यहीँ खसालिदिएर अघि बढ्यो।

    ममता एक निमेष पनि आँखा नझिम्काइ हेरिरही हेरिरही, जबसम्म महेश आफ्नो नजरबाट ओझेल परेन। सेताेपाटीबाट

  • सम्बन्धित विषय:

  • # माया

  • बागलुङ पोस्ट

    सम्बन्धित समाचार