अन्तत:
जटिल परिस्थितिकाबीच
डाक्टरले मिति तोके- 'फाल्गुण २१ गते' !
।।१ ।।
त्यसो त
यसअघि पनि आमाको शल्यक्रिया नभएको होइन, भएकै हो
पटक पटक, धेरै पटक र कयौं पटक ।
तर यसपालि
आमाको शल्यक्रिया विगतभन्दा फरक खालको हुनेछ
अत्यन्त गम्भीर, आशावादी र अर्थपूर्ण ।
मानौं यो इतिहासकै एक भयानक अग्निपरीक्षा हो
त्यसैल त आमा !
तिमीमाथि तीखो दृष्टिपात परिरहेको छ विदेशीहरूको
तिम्रो अस्मितामाथि गिद्धेनजर लाउनेहरूको पनि कमी छैन यहाँ
हो आमा !
आज घर घर जस्तो छैन
देश देश जस्तो छैन
नेपाल नेपाल जस्तो छैन
के नमिलेको नमिलेको जस्तो
केही पाए जस्तो
केही हराए जस्तो
कता कता बाटो बिराए जस्तो
शायद कसैको चङ्गुलमा परेर हो कि !
किन हुदैंछन् एउटै घरभित्रका दाजुभाइहरू पनि कट्टर दुश्मन जस्ता ?
टुट्दैछन् सम्बन्धहरू अनेकौं विचार, वाद र वहानमा
उजाडिँदैछन् वस्तीहरू
र,
गाढिदैंछन् छन् आमाको छातीमा राजनीतिका असंख्य झण्डाहरू
एकले अर्काको कोखमा भाला रोप्न उद्दत छन् नेपालीहरू
एकापसमा लडीरहेका छन् भीरमाहुरीहरू झैं
मानौं यही नै नेपाली हुनुको पर्याय हो
आमा !
म देखीरहेको छु
तिम्रो अचेत अवस्थाको फाइदा उठाउँदै
गलामा स्टस्थेस्कोप भिरेर आउँछन् सेतो पोशाकमा विदेशी छद्मभेषीहरू
आमाको नाडी छाम्न
मुटुको धड्कन चेक गर्न
र,
स्वासप्रस्वासको गति नाप्न
यिनीहरू आमालाई स्पर्श गर्छन्, सुम्सुम्याउँछन् र फर्किन्छन्
मलाई अत्यन्त घृणा लाग्छ
यी वेसोमतीहरूको हरकत देखेर
यी धोकेबाज र बाजहरूको
मलाई पटक्कै विश्वास छैन
किनकी
यिनीहरूको नियतमा नै खोट लुकेको हुन्छ
के थाहा ?
मेरी आमालाई स्लाइनपानीभित्र मन्दवीष घोलेर दिन के बेर ?
मेरी आमालाई मृत घोषणा गर्न पनि के बेर ?
हो आमा !
म सबथोक सहन सक्छु
तर
परायको दासत्व स्वीकार गर्न सक्दिन, कदापि सक्दिन ।
।।२।।
म चाहन्छु:
मेरी आमाको शल्यक्रिया नेपालमै होस्
नेपाली वैद्यहरूबाटै होस्
जसका हातहरू होऊन- सुकोमल, स्निग्ध र मातृप्रेमले युक्त
औषधीहरू होऊन्- स्वेदेशी जडीबुटीले युक्त
र,
आत्मीयता होस्- 'हे आमा नेपाल तिमीलाई संसारकै राम्री बनाउँला !'
आशा गरौं- 'आमाको शल्यक्रिया अवश्य सफल हुनेछ !'
।।३।।