साहित्य

लासहरूले बनेको एउटा पहाडको रातो कथा

लासहरूले बनेको एउटा पहाडको रातो कथा

  • कार्तिक २३, २०८२ आइतवार
  • ०८:०६:२० बजे
  • 4.2K
    SHARES
  • लासहरूले बनेको एउटा पहाडको रातो कथा

    -प्रेमराज मिश्र "अभीष्‍ट"

    एकादेशमा 'नेपाल' भन्ने एउटा सुन्दर देश थियो । हिमवतखण्डमा पर्ने यो देश भौगोलिक आकारमा सानोको कद भए पनि अन्य हिसाबले उत्‍कृष्‍ट थियो । अब्बल थियो । मानौं नेपाल स्वर्गको टुक्रा थियो ।

    हिमालय पर्वतको एकान्तिक स्थलमा कैलाशपति महादेव गहिरो ध्यानमा निमग्न हुनुहुन्थ्यो । हठात गोली पड्केको जस्तो तीखो आवाज महादेवको कान नजिकैको बाटो हुँदै बतासिएर गयो । महादेवको ध्यान अचानक भङ्ग हुनपुग्यो । महादेवको क्रोधले कैलाश पर्वत हल्लिन थाल्यो । पृथ्वी डगमगाउन थाल्यो । त्यो देखेर आश्‍चर्य विस्मृत हुँदै यक्ष, गन्धर्व, किन्नर-किन्नरी, नन्दी, भिरीङ्गी लगायत अत्यन्त डरलाग्दो भेषभूषामा सजिएका हट्टाकट्टा मूर्कट्टा, भूतप्रेत, मशान, पिचाश, बोक्सी, डायनी, डङ्किनी, पचभैया, हाप्सिलो, फ्याउरो, आउरेभाउरे...... सबै उपस्थित भए ।

    नारायण ! नारायण ! नारायण ........!

    संयोगवश ! नारद त्यहाँ टुप्लुक्क आइपुगे । महादेवलाई अत्यन्त क्रोधित मुद्रामा देखेर नारदजीले विनम्रातापूर्वक सोधे- "हे महादेव ! हजुरलाई अचानक के भयो ?  हजुरको मुहारमा क्रोधको ज्वला र कुनै भयङ्कर अनिष्‍टको आँधी देखिरहेको छु । यो नारद हजुरको सेवामा हाँजिर छ ।"

    महादेवले लाग्नुभयोः "हे नारद ! म ध्यानमा निचेष्‍ट थिएँ । अचानक मेरो कान नजिकैबाट गोलीको पर्रा जस्तो तीखो आवाज सुईंकेर गयो । नमीठो गन्ध पनि सलवलाइरहेको छ । पृथ्वी धरातलमा अवश्य पनि केही न केही गडबढ भएको हुनुपर्छ । त्यसैले तिमी तुरून्त यो कुरा पत्ता लगाएर आऊ र मेरो सामु सत्यतथ्य प्रतिवेदन गर ।"

    नारद पर्यटकको भेषमा नेपाल आईपुगे । धरहराको माथिल्लो तल्लाबाट दूरदर्शक यन्त्रको सहायताले चारैतिरको दृश्यावलोकन गर्न थाले । ठहात भाद्र २३ र २४ गते काठमाडौंमा भएको  त्रासदीपूर्ण घटनाको सम्पूर्ण परिदृश्य उनको अत्याधुनिक क्यामेरामा कैद हुन गयो ।

    समग्रमा जेनजी पुस्ता (सन् १९९७ देखी २०१२ सम्म जन्मिएकाहरूको समूह) सरकारले सामाजिक सञ्जालमा लगाएको प्रतिबन्ध फुकुवा र भ्रष्‍टाचारको अन्त्यको माग राखी आन्दोलन छेडेको कुरा उनले बुझिहाले । जहाँ पहिलो दिनमै १९ युवाहरूको घटनास्थलमै ज्यान गएको थियो । सडकमा अँश्रुग्यास र गोलीका खोकाहरू असरल्ल थिए । सडकभरि ढुङ्गा र इट्टाका टुक्राहरू यत्रतत्र छरपस्‍ट थिए । केही थान गोलीको आवाज महादेवको कानको बाटो भएर बतासिएको थियो । यो कुरा नारदजीले चाल पाइहाले । घटनाको वास्तविकता र सम्पूर्ण नालीबेलीको सार खिचेर नारद सुईकिएँ, कैलाशतर्फ ।

    नारायण ! नारायण ......!

    नारदजीले आफ्नो मोवाइलमा कैद भएका सम्पूर्ण दृश्यहरू एक एक गरी देखाउँदै गए । महादेवले उक्त दृश्यहरू 'जुम्' गर्दै हेर्दै गए, जतिबेला सिङ्गो देश जल्न अभिशप्‍त थियो ।

    मानिसहरू हजारौंको संख्यामा भेलाजम्मा भएका थिए, जसलाई जेन-जेड (व्यवहारिकमा जेनजी) आन्दोलनको संज्ञा दिइएको थियो । आन्दोलनमा प्राय: भर्खरै ओठमाथि जुङ्गाको रेखी बसेका युवा, अल्लारे ठिटाठिटी, ओठ निचोर्दा दूध आउने खालका स्कूले केटाकेटीहरू लगायत डल्ले, पुड्के, वामपुड्के सबै सहभागी थिए । वंशालु उमेरको उन्मादले लठारिँदै सडकमा तडकभडक मच्चाउँदै हिँड्नेहरूको संख्या झन् बाक्लो थियो । आन्दोलनको खोल ओढेर भीडभित्र प्रवेश गर्ने पुराना छद्मभेषी अनुहारहरू पनि यदाकदा देखिन्थे । अधवैंशे र बुढाखाँडाहरूको खासै उपस्थिति थिएन, लगभग शून्य । खैर, आन्दोलनमा सहभागी जोशिला नवयुवकहरूको आँखामा एउटा अद्‍भूत सपना मडारिइरहेको देखिन्थ्यो । मानौं युवाहरूले देशमा पक्कै केही गर्छन् /गर्नेवाला छन् ।  

    कार्यक्रम शान्तिपूर्ण भनिएको थियो । तर .... अचानक ......!

    महादेव:  (जिज्ञासुभाव व्यक्त गर्दै) "अचानक के ?"

    नारद:  (विनम्र स्वरमा) अचानक भीड हिंसामा परिणत भयो । गोली पड्कियो । युवाहरू भूईंमा ढले, पालैपालो । सडकमा रगतको खोलो बग्यो । सिङ्गो वानेश्‍वर क्षेत्र नै रणमैदानमा परिणत भयो,अर्थात् कुरुक्षेत्र बन्यो वानेश्‍वर । यस्तो अनिष्‍ट हुन्छ भनेर कसैले सपनामा पनि चिताएका थिएनन् । न सरकारले चिताएको थियो, न प्रहरीले, न त स्वयं प्रदर्शनकारीहरूले नै ।"

    महादेव: "त्यसपछि के भयो ?"

    नारद: "ठहात १९ जनाको ज्यान गयो । हजारौं घाइते भए । त्यो विभत्स दृश्यको कुनै शब्दमा वर्णन गर्न सम्भव छैन । मानौं कुनै मद्रासी फिल्मको छायाङ्कन भैरहेको छ ।" 

    महादेव: "त्यसपछि ?"

    नारद: "दिउसै रात पर्‍यो ।"

    भोलिपल्ट !

    सूर्य आफ्नो नियमित समयमा उदाइसकेको थियो । एउटा भयानक अनिष्‍टको सङ्केत बोकेर सूर्य उदाएको कुरो कसैलाई पत्तो भएन । सूर्यको तापसँगै देशमा चौतर्फी आगलागी र आगजनी शुरू भईसेकेको थियो । यो क्रम लगभग मध्यरातसम्म जारी रह्‍यो । राष्‍ट्रपति भवन, सिंहदरबार, अदालत, संसदभवन, प्रहरी व्यारेक लगायत अन्य ........! सबै जल्यो । सबै खरानी । एकै वाक्यमा भन्नुपर्दा देश पूरै जल्यो । यसरी जल्यो / जलाइयो कि जल्नुपर्ने चिज केही बाँकी थिएनन् / रहेनन् ।

    महादेव: "नारद ! यो दृश्‍य के हो ? मानिसहरू किन झोलाकुम्लो बोकेर पर्खाल बाहिर निस्किरहेका छन्, कहाँ जान हिँडेका हुन् हतार हतार ?"

    नारद: "यो कारागारहरूको दृश्य हो । आन्दोलनको फाइदा उठाउँदै  थुनवा कैदीबन्दीहरू धमाधम बाहिर निस्किरहेका छन्, ।"

    महादेव: "यो दृश्य के हो ? मानिसहरु किन घरभित्र जबरजस्ती छिर्दैछन् र आगो झोस्दैछन् ? दम्पतीलाई बाहिर निकालेर रामधुलाई गरिरहेका छन्, अनि एउटा अवला नारीमाथि हातपात किन ?"

    नारद: "यो बुढानिलकण्ठस्थित एकजना लब्ध प्रतिष्‍ठित राजनीतिज्ञको निवास हो । निजकी श्रीमति भ्रष्ट्राचार विभागकी महारानी अर्थात् 'राष्ट्रिय भाउजु' उपनामले चिनिन्छन् । भन्छन्: पोथी बासेको घरमा अनिष्‍ट हुन्छ । दम्पत्ती नै मिलेर अकूत सम्पत्ति कमाएकोले जनतालाई सह्‍य भएन । त्यसैले.....!"

    महादेव: "यी कहाँका मानिसहरू हुन् जो सडकमा जताभावी होहल्ला गर्दै  हिँडिरहेका छन् ? मानौं यो कुनै लाखे नाच हो ?"

    नारद: "खासमा यी मानिसहरू प्रहरीको भवन र व्यारेकमा आगो लगाएर हिँडेका उश्रृंखल समूह हो जो दिउसै हातहतियारहरू लुटेर सडकमा रमिता प्रदर्शन गरिरहेका छन् । वर्दीको उपहास गर्दैछन् । कानूनको धज्जी उडाइरहेका छन् ।" 

    महादेव: "अनि यी मानिसहरू खोलामा किन भागदौड गर्दैछन्, के को हानथाप हो यो ?"

    नारद: यो वाग्मती खोलाको दृश्य हो । मानिसहरू खोलाको दुईतर्फबाट प्रहरीहरूलाई ढुंगामूढा बर्साइरहेका छन्, निर्ममतापूर्वक ।"

    महादेव: "किन ?"

    नारद: "देश बनाउन घर छोडेर हिँडेका नवयुवकहरूको मृत्युको विषयलाई लिएर मानिसहरू प्रहरीमाथि अत्यन्त असन्तुष्‍ट थिए । प्रहरीलाई एउटा गम्भीर आरोप लाग्यो / लगाइयो- 'प्रहरीले कलिला विद्यार्थीहरूको टाउकोमा ताकी ताकी गोली हान्यो । त्यतिमात्र होइन, आन्दोलनकारीहरूले प्रहरीहरूको पनि ज्यान लिए ।"

    महादेव: (केही क्रोधित मुद्रामा)-"के प्रहरी मारेर देश बन्छ ? भोलिका दिनहरूमा तिनीहरूलाई प्रहरी चाहिँदैन अरे ? कानून कार्यान्वयन गर्ने निकायलाई नै धरापमा पारेर देशमा कसरी शान्ति र सुशासन कायम हुनसक्छ ?"

    नारद: (विनित भावमा) –"हो महादेव ! तर एकै दिनमा दर्जनौं विद्यार्थीहरूको ज्यान जानु पनि सानो कुरो होइन । हुन त यो प्रहरीको पेशागत बाध्यता थियो । प्रहरीले हदैसम्म संयमता अपनाएको पनि थियो । तर प्रहरीलाई साथ दिने कोही भएन / भएनन् । तर .....!

    महादेव: "तर के नारद ?"

    नारद: "आन्दोलनमा घुसपैठ भएको हुनसक्ने गम्भीर आशंका छ / गरिएको छ । यसको लागि 'उच्च स्तरीय छानबीन आयोग' गठन भैसकेको छ ।"

    महादेव: (क्रोधित मुद्रामा) "जब कि घुसपैठ हुनसक्दछ भन्ने थाहा हुँदाँहुदै अभिभावकहरूले आफ्ना दुधे बालबालिकाहरूलाई आन्दोलनमा धकेल्नु हुँदैनथ्यो । हुलमुलमा ज्यान जोगाउनु अनिकालमा बीऊ जोगाउनु भन्ने उखान नै छ । अर्को कुरा, कलम समाएर हिँड्नुपर्ने उमेरमा आन्दोलनमा जाने कि पढ्ने ? पहिले आफ्नो भविश्य बनाउने कि देश ?"

    नारद: "पहिले जानुपर्ने त विद्यालय नै हो । तर देश नबनीकन / नबनाइकन पनि जनताको भविश्य बन्दैन । जेनजीहरूले आफ्नो देशमा सुरक्षित भविश्य देखेनन्  । त्यसैले आन्दोलनमा होमिन बाध्य भए ।"

    महादेव:"देश बनाउने कुरा त्यति सजिलो छैन । ठूलो त्याग, बलिदान र समर्पण चाहिन्छ । ठूलो सुझबुझ, धैर्यता र संयमता चाहिन्छ । अनि नारद ! देश बनाउँछु भन्नेहरू कहाँ गए ? देश जलेर खरानी हुँदासम्म सरकार के तमासा हेरेर बसेको थियो ? देशको विषम परिस्थितिलाई तुरून्त नियन्त्रणमा लिनु सरकारको कर्तव्य / दायित्व होइन ?"

    नारद: "हो, महादेव ! सूर्यास्तसँगै सरकार ढलिसकेको थियो, जसले गर्दा देश अस्तव्यस्त हुनगयो । देश टुहुरो अवस्थामा पुगेको थियो अर्थात् अभिभावकविहिन अवस्थामा ।"

    महादेव (झोक्किँदै): "अनि राजा थिएनन् ? कहाँ गएका थिए 'माइला' ?

    नारद: "खोपीका देउता अहिले चुपचाप बसेका छन्, मौका ढुकेर । बेलाबेलामा चर्चा र विवादमा आईरहन्छन् । राजालाई पिँजडामा थुनेर देशमा छोटे राजाहरूले गर्नुसम्म राज गरे / गरिरहेका छन्  । आज नारायणहिटी घिटीघिटी अवस्थामा छ ।"

    महदेवः "अनि जनताहरू के भन्दैछन् ?"

    नारद: "के भन्नु ! जनताहरू पनि स्वार्थी छन् । दुई जिब्रे छन् । चपाएर कुरा गर्छन् । अहिले फेरि राजा चाहियो भन्दैछन् । राजाको नाम सुन्नै नचाहनेहरू पनि छन् । कोही कोही त 'सेना आऊ देश बचाऊ' पनि भन्दैछन् ।"

    महादेव: "ठीक छ, भन्नदेऊ । समयको  कुरा हो । अनि, नेपालका दलहरूको के खबर छ, के गर्दैछन् टाउकेहरू ?"

    नारद: "टाउकेहरूको त झन् के कुरा गर्नु ? यी कठपुतलीहरूले घोषणापत्रमार्फत जनताहरूलाई विभिन्न आश्‍वासनको गुलिया चक्लेटहरू बाँडे । चुनावलाई भर्‍याङ बनाए । जनताको ढाडमा टेकेर सत्तामा पुगे । पालैपालो सत्ताको रजाईं गरे, गरिरेहे । कहाँतक भनूँ, सक्कली जनतालाई नक्कली भुटानी शरणार्थी बनाएर विदेश समेत पठाएको पाइयो । ब्रह्‍मलुट मच्चाए । सिङ्गो देश जलिरहँदा सबै जना टुलुटुलु रमिता हेरेर बसे, बसीरहे ।"

    महादेवः "उर्फ ?"

    नारदः"त्यति मात्र होइन महादेव । रोजगार ठप्प । उद्योगधन्दाहरू ठप्प छ । जताततै चरम निराशा  । जनताहरू विदेश पलायन हुन बाध्य भए । देश रित्तो हुँदै गयो । जनताहरू अहिले पनि चरम गरीबी, अभाव र अन्धकारको वस्तीभित्र कैद छन् । विषाक्त धूवाँमा सास फेरीरहेका छन् ।"

    महादेव: (भावुक हुँदै)- "स्वर्ग जस्तो देश कसरी यस्तो हुन गयो ?"

    नारद: "कारण स्पस्‍ट छ- 'भ्रष्‍टाचार' ।"

    महादेव: (गम्भीर हुँदैं)- "ए कुरा यस्तो पो !"

    नारद: "हो, महादेव भ्रष्‍टाचार अन्त्यको हुँकारस्वरूप एउटा नयाँ पुस्ता जन्मियो-'जेनजी पुस्ता!' यसले देशमा कृत्रिम भुकम्प नै ल्यायो । आँधीवेहरी नै सृजना गर्‍यो । भ्रष्‍टाचारी नेताहरूको भागभाग भयो । नेताहरूलाई नयाँ ढंगले सोच्न बाध्य बनायो । दुई दिनमै सत्ता नै ढल्यो ।"  

    महादेव: (आश्चर्य व्यक्त गर्दै)-"अहो ! बढो अचम्मको कुरो सुनायौ नारद । दुई मिनेटमै सत्ता ढल्ने कस्तो सरकार हो ?  सरकार के हेरेर बसेकोथ्यो त्यतिञ्जेल ?

    नारद: "हो महादेव ! नपत्याए भिडियो रेकर्ड हेरीबक्सियोस् ।"

    महादेव: "अहो ? सेनाको  हेलीकप्‍टर घरको छतमाथि उडीरहेको छ । मानौं यो कुनै हवाइ तालिमको अभ्यास हो । केही मानिसहरू हेलीकप्टरभित्र प्रवेश गर्न तछाडमछाड गरिहेका छन् । डोरीमा झुण्डीरहेका छन्, के दृश्य हो यो ?" 

    नारद: यो कुनै तालिमको दृश्य होइन । सेनाले आपतकालिन उद्धार गरेको दृश्य हो यो ।"

    महादेव: "कसलाई ?"

    नारद: "सरकार प्रमुखलाई अर्थात् प्रधानमन्त्रीलाई ।"

    महादेव: "त्यही उखाने ? जो 'सुखी  नेपाली सम्मृद्ध नेपाल' को नारा लगाएर जनताको घर घरमा ग्याँस र पाइपलाईन विच्छ्याउछु भन्दै हिँड्ने ? समुद्र नै नभएको देशमा पानी जहाज भित्र्याउँछु भन्ने त्यही नै होइन ?"

    नारद: "हो, महादेव । उसले त अझ 'देशको मृगौला' फेर्छु भन्दैथ्यो ।"

    महादेव: (व्यङ्ग्यात्मक शैलीमा) "यस्ता पत्रुले त देश चलाएका रहेछन् । यस्ता शोषक, सामन्ती र साँढेको हातमा देश परेपछि कसरी देश बन्छ ? कसरी देश उँभो लाग्छ ? देश बनाउन त कि जंगबहादुर चाहिन्छ कि त ढंगबहादुर ।"

    नारद:  (सही थाप्दै) "हो नि हजुर ।"

    महादेव: "यो दृश्य चाहिँ के हो ? आधुनिक हातहतियारहरूले सजिएका सेना, प्रहरी र अन्य युवायुवतीहरूको पनि बाक्लो जमघट देखिन्छ ।"

    नारद: "यो नयाँ मन्त्रीमण्डल गठनको दृश्य हो । जेनजी आन्दोलनले पुरानो सत्ता ढालेपछि विकसित भएको नयाँ घटनाक्रम हो । जसअनुसार पूर्व प्रधानन्यायधीश शुशीला कार्कीको नेतृत्वमा 'अन्तरिम सरकार' गठन र विस्तार' हुने प्रकृयामा देश अगाडि बढिरहेको छ । साथै, आगामी फाल्गुण २१ गते आम निर्वाचन हुने घोषणा समेत भइसकेको छ ।"

    महादेव: (सुल्फी तान्दै): हँ..., धन्यवाद छ नेपालीहरूलाई । कमसेकम, यति बुद्धि त पुर्‍याएछन् । नत्रा ता ......!

    नारद:  "नत्रा के हजुर ?" 

    महादेव: "नेपालको राजनीतिको कुनै भरोषा छैन । आन्दोलन अन्धो हुन्छ । हुलमुलमा ज्यान जोगाउनु अनिकालमा बीऊ जोगाउनु नै बुद्धिमानी हुन्छ । मैया, मानिसको मन, मदिराले मात्तिएको मानिस र मौसमको कुनै भर हुँदैंन । अनि यो दृश्य चाहिँ के हो ? केटाकेटीहरू दुई तीन समूहमा विभाजित भएर निकै होहल्ला गरिरहेका छन् । मानौं ठूलो लफडा हुनेवाला छ ? यसलाई संयमतापूर्वक नेतृत्व गर्ने कुनै दृढ युवक छैन ?"

    नारद: (सामान्य लयमा) "ए.... ! यो चाहिँ तिनै नेतृत्वविहीन जेनजी युवाहरूको लफडा हो । एउटा जेनजी साथीको 'गर्लफ्रेण्ड' अर्को  साथीले चोट्याइदिएछ, त्यसैले.....।"

    महादेव (क्रोधित मुद्रामा): "यो के पारा हो ? यस्तो पाराले कसरी देश बन्छ ? देश कसले सम्हाल्छ ? अक्करमा परेर ठक्कर खाएछि थाहा हुन्छ कि गर्लफ्रेण्डको चक्कर कति घातक र विषालु हुन्छ भनेर । मेरो सुझाव छ- ब्रह्‍मचर्यको पालन गर्नु । म जस्तो सच्चा साधु बन्ने प्रयत्न गर्नु । युवाशक्ति भनेको देश र परिवर्तनको मेरूदण्ड हो, नकि उद्दण्ड ।" 

    महादेव: "नारद ! अचानक यो तीखो दूर्गन्ध कहाँबाट आयो / आइरहेको छ ? यो भयानक रक्तदृश्य खास के हो ? जो रगतले मुछिएको छ ?" 

    नारद: "हे कैलाशपति ! यी दुई फरक फरक उद्देश्य र प्रकृतिका मानव लासहरूको पहाड हो जहाँबाट तीखो दूर्गन्ध आइरेहेको छ । एउटा शसस्‍त्र जनयुद्धको समयमा मारिएका १७ हजार मानिसहरूको लासको पहाड । र, अर्को जेनजी आन्दोलनका क्रममा मारिएका ७६ जना युवाहरूको लासको पहाड । यिनै लासहरूको पहाडमा 'डम्फू उत्सव' मनाइरहेका छन् रावण र इदिअमिनहरू । जनताको पसीना, शहीदहरूको आँशु र रगतमा होली खेलीरहेका छन् नेता, झोलेकार्यकर्ता र झण्डुवामहरू ।"

    महादेव: (गम्भीर / भावूक हुँदै): "आखिर मानिस जुन् उद्देश्यले मरेको / मारिएको भए पनि ती सबै नेपालीहरू होइनन् ? नेपालीहरूले किन बुझ्दैनन् यो कुरा ? आन्दोलन जुनसुकै प्रकृतिको किन नहोस्, संयमित र शान्तिपूर्ण हुनुपर्ने होइन र ?"

    नारद: "नेपालीहरूले कुरो नबुझेका होइनन्, बुझेर पनि बुझ पचाएका हुन् । क्रोधको सीमा कति घातक र भयानक हुन्छ भन्ने कुरा हजुर नै स्वयं जानकार हुनुहुन्छ । जुन् देशमा वैदिक धर्मको मर्मलाई नजरअन्दाज गरिन्छ त्यो देश र जनताको भविश्य यस्तै अन्योल र अस्तव्यस्त हुन्छ । जनताले अनेकौं कष्‍टको सामना गर्नुपर्ने हुन्छ । कुशल नेतृत्वबिनाको आन्दोलन गोठालाबिनाको गाइवस्तुको हूल जस्तै हुनपुग्दछ । माहुरीहरू 'रानो' को अभाव र विरहमा एकले अर्कालाई चिलेर मर्दछन् । जनताहरू अहिले ठीक यस्तै हालतमा गुज्रिरहेका छन् । तर दु:खको कुरो, जेनजी पुस्ताले राजासंस्था महत्त्व र गरिमाको अनुभित नै गर्न पाएनन् / सकेनन् ।

    महादेवः "नारद ! अहिले कस्तो छ देशको स्थिति ?"

    नारद: "नेपालको नेता, राजनीति र मौसमको कुनै भर छैन / हुँदैंन । हजारौं कैदीबन्दीहरू फरार छन् । लुटिएका हातहतियारहरू अझैसम्म अत्तोपत्तो छैन । नेपालको सुदूर भविश्य अस्थिर राजनीतिको 'ब्ल्याकहोल'तर्फ प्रवेश गरिरहेको छ । नेपालको सुरक्षा र राष्ट्रिय एकताको संयन्त्रहरूलाई अझ परिस्कृत, व्यवस्थित र मजबुत बनाउनुपर्ने अत्यन्त आवश्यक छ । नेपालीहरू एक जुट हुनु (राष्ट्रिय एकता) को विकल्प छैन । अन्यथा एक दिन नेपालीहरूको पुन: अर्को अदृश्य लासहरूको पहाड बन्नेछ नेपालभूमि ।"

    महादेव: (गम खाँदै) "तिमीले ठीक भन्यौ  । अनि, यो दृश्यचाहिँ के हो जहाँ भीषण ज्वला दन्किरहेको छ । आगोले भवनलाई काँच्चै निलिरहेको छ । आगोको मुश्लोमाथि झण्डा फरफराइरहेको छ । म के तमासा देख्दैछु ?"

    नारद: "हजुरले सही कुरा गर्नुभयो । सिंदरबारसँगै देश जल्यो । देशसँगै सिंहदरबार पनि जल्यो । मानौं यी दुई प्राणीहरू कुनै युगका युगल जोडी हुन् जसले कहिल्यै नमर्ने कसम खाएका थिए । देशभक्त नेपालीहरूले सिंहदरबार जलेको पटक्कै विश्वास गर्न सकिरहेका छैनन् जसरी कुनै एउटी सुत्केरी आमाले शिशु मृतक नै जन्मिए पनि मरेको झट्टै विश्वास गर्दिनन् । तर थाहा छैन कि सिंहदरबाको छातीमा कसले आगो झोस्यो, किन झोस्यो र केका लागि झोस्यो ? यसको जवाफ इतिहासले सदैव खोजीरहनेछ जबसम्म नेपाल र नेपालीको अस्तित्व यो धर्तीमा रहनेछ / जबसम्म चन्द्र र सूर्य अंकित राष्ट्रिय झण्डा फरफराइरहने छ । स्मरणीय छ- सिंहदरबार जलेर खरानी हुँदा पनि राष्ट्रिय झन्डा युँ मुस्कुराइरहेको थियो / फरहराइरहेको थियो / छ ।"

    महादेवः (आँशु पुच्छै) "मैले सबै कुरा बुझिसकें । नारद ! तिमीलाई धेरै धेरै धन्यवाद । अन्तमा तिम्रो भन्नु केही छ ?"

    नारदः (गम्भीर हुँदैं) "महादेव ! हजुरको आँखामा आँशु ? हे कालभैरव ! हे महाकाल ! हे नीलकण्ठ ! हजुर त्रिलोकका अधिपति हुनुहुन्छ । हजुरको बयान हजार जिब्रो भएका शेषनागले त गर्न सक्दैनन् भने म नाथे बबुरोले कसरी सकूँला !  मेरो विचारमा देशको यो हविगत हुनुमा रैतिदेखि रङ्क र सडकदेखि सत्तासम्मका व्यक्ति / निकायहरू सबै जिम्मेवार छन्, धेरथोर । समग्रमा जेनजी सलाईको सानो काँटी हो । जेनजी पुस्ता शुसासन र भ्रष्‍टाचारबिरूद्धको चरम नैराश्यता र आक्रोशको फलस्वरूप विस्फोट भएको 'डाइनामइट' हो । यसको दुरूपयोग कहिल्यै नहोस् / नगरियोस्  । वश ।"

    अन्तमा:

    महादेव: "नारद ! यो दृश्य के हो ? मानिसहरू तछाडमछाड गर्दै दौडिरहेका छन् । हातमा आगो र अनेकौं औजारहरू लिएर अघि बढिरहेका छन्, मलास जुलुस झैं । मानौं कुनै तोडफोडको तयारी हुँदैछ ?"

    नारद: "हे आशुतोष ! यो जेनजी आन्दोलनको मौका छोप्‍दै पशुपतिनाथको मन्दिर जलाउन पशुपतिनाथ क्षेत्रतर्फ अगाडि बढेको उश्रृंखल मानव जत्था हो । जो हातमा............!"

    मेरै निवासमा आगो लगाउने तिनीहरूको तेत्रो हिम्मत ?

    अचानक महादेवको रीसको पारो तात्यो । महादेव बसेको ठाउँबाट जुरूक्क उठे । हातमा त्रिशुल लिएर खडा भए । मुखबाट आगोको ज्वला ओकल्दै भन्नथालेः हे नारद ! तिमी तुरून्त नेपाल जाऊ र मेरो यो सन्देश सबैलाई सुनाऊ । अन्यथा भयङ्कर अनिष्‍ट हुनेछ:

    नेपालका घूस्या नेता र जनता दुवै दोषी छन् । दुवै स्वार्थी छन् । भ्रष्‍टाचारको अखडा ध्वस्त नगरेसम्म देश बन्दैन । जातीयताको नाममा अराजकताको बीउ रोप्ने, घूस दिने र घूस खाने यी तीनैथरी देशका ठूला शत्रु हुन् । उखान र टुक्काको भरमा हुक्का तानेर बस्ने पथभ्रष्‍ट  नेताहरूलाई आगामी चुनाबमार्फत मुक्का हानेर डाँडो कटाउनु । म त्रिशुल कोपेर ती भ्रष्‍टाचारीहरूको भुँडी फुटालिदिन्छु । भष्म गरिदिन्छु । राजतन्त्र र गणतन्त्र एउटै सिक्काका दुईवटा पाटा हुन् । दुवै मिलेर देश बचाउनु । दुवै मिलेर देश बनाउनु । यसैमा मुलुक र मुलुकबासीको कल्याण छ । नेपाल साना दुःखले अर्ज्याको मुलुक होइन । सबैलाई चेतना भया । अन्यथा न रहन्छ बाँस, न बज्छ बाँसुरी ।


    प्रेमराज मिश्र "अभीष्‍ट"

    उहाँले बागलुङ पोस्ट डटकमका लागि लेख रचना लेख्नुहुन्छ ।

    सम्बन्धित समाचार