साहित्य

डाक्टर सायब ! आमाको अवस्था कस्तो छ ? (कविता)

डाक्टर सायब ! आमाको अवस्था कस्तो छ ? (कविता)

  • पौष १२, २०८२ शनिवार
  • ०८:३९:५२ बजे
  • 3.6K
    SHARES
  • डाक्टर सायब ! आमाको अवस्था कस्तो छ ? (कविता)

    मैले राती सपनामा ताराहरू खसेको देखें

    उल्का पिण्डहरूको उल्का देखें

    उल्कै थियो त्यो

    भयानक र वीभत्सपूर्ण ।

    ।।१।।

    डाक्टर सायब ! आमालाई कस्तो छ ?

    हो, मेरी आमा जो आईसीयूमा उपचारत छिन्

    आमाको होश अझै खुलेको छैन

    आमाको अवस्था

    चिन्ताजक छ, अत्यन्त गम्भीर र जटिल

    भन्न सकिन्न कि कतिखेर के हुन्छ ?

    उर्फ !

    त्यसो त मृत्युलाई जित्न कसले सक्छ छ र !

    आमा त मृत्युभन्दा महान छिन्

    आमा शास्‍त्रभन्दा माथि हुन्छिन्

    आमा त सिङ्गो धर्ती हुन्

    तर अफशोस !

    कुरा मृत्युको होइन

    कुरा आमाको हो

    आमाको अस्‍तित्वको हो

    आमाको अस्मिताको हो

    हो आमा !

    मैले कयौं पटक गुहारें / हारगुहार गरें

    सयौं पटक खबर गरें कि आमा मृत्युशैयामा छिन् भनेर ।

    तर बिडम्बना !

    बुद्धुहरू बुद्धको आकाशमा

    प्रतिशोधको 'ड्रोन' उडाउनमा व्यस्त छन्

    तर आउँदैनन् भेट्न आमालाई ।

    हो आमा !

    राजनीतिको गुलियोमा पल्किएका

    तिम्रा सुपुत्रहरूले सुन्ने कान नै लगाउँदैनन्

    भन्छन् –'मलाई अहिले फुर्सद छैन ।'

    भन्छन्- 'देशको भाग्य र भविश्य बदल्नुछ ।'

    र, भन्छन्- 'जनता जनार्दन !'

    मलाई त शंकै लाग्छ

    दारूरामले पनि यस्तै भन्थ्यो ।

    दारूराम भन्थ्यो- 'तँ आमाको उपचार गर, परेको म ब्यहोर्छु !'

    म कसको कुरा पत्याऊ ?

    यहाँ कसैमाथि विश्‍वास र भरोषा छैन आमा !

    यो स्वार्थै स्वार्थको दुनिँया हो

    यो संसार रङ्गीन सपनाहरूको काँच हो

    यो मायाको हाटबजार हो

    यहाँ मध्यरातमा पनि सपनाहरूको मोलमोलाइ हुन्छ  

    यहाँ पायो भने अलकत्रा पनि पिउँछ मान्छे

    हो, आमा !

    यहाँ सुनको कचौरा लिएर

    भीख माग्दै हिँड्नेहरू बग्रेल्ती छन्  

    यहाँ धनका धनीहरू धेरै छन्  

    तर मनका साह्रै गरीब

    मलाई थाहा छ –तिमी मृत्युशैयामा छ्यौ !

    म देखिरहेको छु

    तिम्रा प्रिय सन्तानहरू

    जुनसुकै पार्टी, पद र पहुँचका किन नहोऊन्

    अनेकौं स्वार्थको झण्डा र प्लेकार्ड बोकेर

    सडक तताउँछन्

    नारा उराल्छन्

    र, भन्दछन्- 'हाम्रो देश प्राणभन्दा प्यारो छ !'

    ।।२।।

    साँच्चै !

    मलाई एक पटक

    यिनीहरूको छाती चिरेर हेर्न मन छ ताकि छातीभित्र देश छ कि छैन ?

    यिनीहरूको मुटु चिरेर हेर्न मन छ ताकि मुटुभित्र आमाको माया छ कि छैन ?

    अनि !

    यिनीहरूको आँखा फुटाएर हेर्न मन छ ताकि  

    आँखाको नानीभित्र देश र जनताको सुन्दर तस्वीर छ कि छैन ?

    हो आमा !

    आखिर यी डाम्नाहरू जुनसुकै पद र पार्टीको मसिहा किन नहोऊन् ?

    उमार्छन् राजनीतिक दलको विषालु च्याऊ

    लेख्छन् घोषणा-पत्र रङ्गीन अक्षरले

    भर्छन् महत्त्वांक्षाको अनेकौं बुट्टा

    बाँड्छन् आश्‍वासनका गुलिया चक्लेटहरू

    र, ठड्याउँछन महल सत्ताको

    यी बुख्याँचाहरू   

    अन्तत: तिम्रै छातीमा टेकेर हिँड्छन्

    अन्तत: तिम्रै छातीमा परेड खेल्छन्

    अन्तत: तिम्रै नाममा राजनीति गर्छन्

    अन्तत: तिम्रै नाम बेचेर थैली भर्छन्

    र, भन्छन्

    आमाको उपचार गर्दै गरूँला

    पहिले चुनाब त जितूँ !

    तर अफशोस

    हात्ती आयो हात्ति आयो फुस्सा !

    ।।३।।

  • सम्बन्धित विषय:

  • # डाक्टर सायब

  • प्रेमराज मिश्र "अभीष्‍ट"

    उहाँले बागलुङ पोस्ट डटकमका लागि लेख रचना लेख्नुहुन्छ ।

    सम्बन्धित समाचार