गाउँका पाका महिलाहरु सुत्केरी हुन लागेकी ख्याउटीलाई सम्हाल्दै थिए । ख्याउटी घरनै भत्किएला जसरी ‘ऐया मरेनी आमा’ भन्दै चिच्याउदैँ थिई । प्रसव पीडाले छटपटिएकी ख्याउटीको एक्कासी श्वास रोकियो । बन्द ढोका चेपबाट हर्केले चिहाएको थियो । घरभित्र गाइँगुइँ हल्ला हुदैँ गर्दा नवजात शिशु याँ याँ गर्दै रुन थाल्यो । हर्केले अनुमान लगायो, पक्कै छोरा हुनुपर्छ । नभन्दै छोरा । पहिले पनि उसको घरमा सन्तानको बास नभएको भने होइन । हर्केकी बुढीले तीन छोरीपछि मात्रै छोरा जन्माएकी थिई । हर्के खुसीले गदगद थियो । सामाजिक रीति अनुसार उसको वंश जोगाउन, अंश खाइदिन र मरेपछि घाटमा दागबत्ती दिई कर्मकाण्ड गरिदिन छोरा नै चाहिएको थियो । त्यो दिन छोरा नभएकोमा मरेपछि स्वर्ग पुगिने होइन् कि ? भन्ने पिरबाट ऊ मुक्त भएको थियो ।
पाका महिलाहरुले, “तैले भने जस्तै भयो छोराको बाउ पनि भइस हर्के । सुत्केरी राम्ररी स्याहारेस् । तेले छोरा हो, अलि खड्को पर्न सक्छ । सात घर गै तेल लिएर तेलले सेक्नु पर्छ ।” भनेपछि उ मुसुमुसु हाँस्दै बटुको समाई छिमेकीमा गयो । तेल लियो, छिप्पिएको भाले काटेर सुत्केरीलाई झोल बनाई खुवायो । पहिलाका छोरीहरु जन्मिदाको भन्दा बुढाको रफ्तार पृथक देखेर ख्याउटी पनि मख्ख थिई । छोरा जन्मिएको तेस्रो दिन, न्वारनको दिन । इष्टमित्र, छिमेकी सबै जम्मा भएका थिए । घरमा ठुलै भतेर चल्यो । नाम के राख्ने भन्नेमा बृहत छलफल भयो । कसले के, कसले के । जम्मा भएका मध्ये सबैभन्दा पाको बुढी आमाले नवजात शिशुलाई काखमा खेलाई सुमसुम्याउदैँ भन्न थालिन, “अठिलो छ, आँखा पनि किरकिर हेर्च । पुस्ट पो छ केटा त । ल यसको नाम फलामे ।”
उपस्थित सबैले चौरासी नाघेकी बुढीआमाले राखिदिएको नाममा सहमति जनाए । त्यसपछि उसको नाम भयो “फलामे”। छरछिमेकी ,सैसाथी सबैले उसलाई ‘फलामे’ भनि चिन्थे । जब फलामेले पाठशाला टेक्यो भर्ना गर्ने बेलामा हेड मास्टरले ढड्डामा नाम टिपाई दिए दिल बहादुर पुन मगर ।
घरमा पढाईको राम्रो वातावरण भएकाले उसले पढाइमा राम्रो गर्न थाल्यो । पढाईलेखाइमा अब्बल । विद्यालयमा हुने अतिरिक्त क्रियाकलाप, भलिबल, फुटबल, हाइजम्प, लङजम, रनिङ सबै खेलकुदमा सधैंै सरिक हुन्थ्यो । बक्तित्वकला, हाजिरीजवाफ, निबन्धलेखन जस्ता क्रियाकलापमा बिजेताको हकदार प्राय उहीँ हुन्थ्यो । पालिकास्थरीय गतिबिधिमा उसको बलियो उपस्थिति हुन्थ्यो । समग्रमा पालिका भरिमा राम्रो विद्यार्थीमध्येमा उसले छाप छोडेको थियो । गाउँकै स्कुलमा १२ कक्षा सकेर उ स्नातक गर्ने उद्देश्यले पोखरा हानियो । पृथ्वीनारायण क्याम्पसमा भर्ना भयो । समयक्रम सँगै क्याम्पसमा हुने राजनीतिक गतिविधिले उसलाई तान्यो । गाउँको फलामे स्कुलको दिल बहादुर पोखरा झरेपछि दिप्स पुन भैसकेको थियो । उसलाई चिन्ने जतिले दिप्स भनि चिन्थे । विद्यार्थी नेताहरुसँग उसको हिमचिम बद्दै गयो । संगठनमा रामै्र पद पनि सम्हाल्ने मौका पायो ।
विद्यार्थी संगठनले गर्ने क्रियाकलापमा सक्रिय भई लाग्थ्यो । सचेतनात्माक कार्यमा, संगठन बिस्तार, राहत बितरण, पार्टीले गर्ने कार्यक्रममा स्यमसेवक त कहिले रेडक्रसले गर्ने रक्तदान कार्यमा स्वयंसेवक भई काम गथ्र्यो । उ पनि नियमित रत्तदाता थियो । साथीहरुलाई पनि रत्तदान गर्न प्रेरित गथ्र्यो । सनिबार भयो कि केही न केही सामाजिक गतिबिधिमा सहभागी हुन्थ्यो । त्यतिमात्रै होइन् कहिलेकाहीँ जिन्दबाद । मुर्दाबाद । भन्दै संगठनको झन्डा बोकी नारा लगाउन, ढुङ्गामुढा बर्साउन, टायर बाली बाटोनै बन्द गर्ने समुहमा पनि ऊ अग्रपंतिमा हुन्थ्यो ।
तेस्रो वर्षको परिक्षा सकेपछि उसलाई भाषा पढ्ने भुतले छोयो । उसँग पढेका केही साथी कोरियन भाषा पढी कोरिया गई राम्रो पैसा कमाएको सुनाउथे । भाषा पढ्न सुझाउँथे । पढाइमा उसले राम्रो गर्दा गर्दै कोरियन भाषा पढ्न दिनहुँ महेन्द्रपुल धाउन थाल्यो । कलेजको पढाइमा भन्दा भाषा पढ्नमा ध्यान गर्न थाल्यो । विद्यार्थी संगठनमा सक्रियता कम गरेको लामै समय भएको थियो । दिनचर्या सधंै उस्तै । बिहान कलेज दिउसो भाषा कक्षा अनि पढाई ।
सरकारले सामाजिक सञ्जाल बन्द गरेको विरोधमा राजधानी काठमान्डौमा हजारौं विद्यार्थी सडक आन्दोलनमा होमिए । जसको नाम दिईयो जेन्जी आन्दोलन । मुद्दाहरु जम्मजम्मी दुई वटा । बन्द गरिएको सामाजिक सञ्जाल फुकुवा र देशमा ब्यापक रहेको भष्टचारको अन्त्य । उक्त आन्दोलनलाई सरकारले दमन गर्यो । झडप भयो । २३ जना कलिला विद्यार्थीहरु मारिए । दिप्स उर्फ ‘फलामे’ पनि अर्को दिनको आन्दोलनमा होमियो ।
केही दिन बेपत्ता जस्तै भयो । फोन पुरै अफ । कोठा बन्द । कहाँ गयो केही पत्तो भएन । धन्न उसलाई केही भएको रहेनछ । घरपरिवार र नजिकका साथीहरुलाई फोन गर्नुपर्दा मोबाइल खोल्दो रहेछ नत्र पुरै बन्द । एकदिन एकाबिहानै झिसमिसेमा मेरो कोठा बाहिर ढकढक आवाज आयो । ‘दाई दाई दाई ’ एकस्वरमा आवाज आयो । को रहेछ भनी ढोका खोली हेर्दा त फलामे । पछाडी सानो झोला, पुक्क परेको जेब्रा झोला हातमा बोकी मास्क र कालो चस्मा लगाई उभिएको छ । हतार हतारमा देखिन्छ । “दाई गाडीले चोकमा कुरी बसेको छ । दशै पनि आउनै लाग्यो । आज त घटस्थापन । कलेजको बिदा भो । केही दिनमा भाषा क्लास पनि छुट्टी हुने रे । म गाउँ जान लागेको । म अलिक हतारमा छु । ल यो चिठ्ठी तपाईको लागि । बाँकी कुरा पछि भेटमा गरौला ।”
एकै सासमा सबै कुरा सक्यो । हतार हतार पछि नफर्की बाटो लाग्यो । खाम बिनाको चिठ्ठी । फोल्ड गरिएको थियो । खोली हेर्दा सफा अक्षरमा स्पष्ट बुझिने गरी पुरै चार पेज भरिएको थियो । जसमा लेखिएको थियो ।
नमस्ते दाजु मिती –२०८२–६–५
सन्चै छु
आज सम्मलाई मस्तसँग बाचियो ।
अबका दिनमा के हुन्छ, जिन्दगीले कुन मोडमा पुराई छोड्ने हो ,पता भएन । ती सबै कुरा उपरवालाको हातमा छ । चिठ्ठी लेख्ने सीप भने छैन । चिठ्ठी लेख्ने जमनाको पनि त परिएन । त्यसैले ढङ्ग पनि नपुग्ला तैपनि मनमा गुम्सिएका केही कुराहरु यसमा सरसर्ती लेखिछोडेको छु ।
तपाईलाई थाहाँ नै छ, म गत भदौ २४ गतेको जेन्जी आन्दोलनमा होमिएको कुरा । त्यस दिनदेखि त बेपत्ता जस्तै छु । त्यस आन्दोलनमा म होमिनुको फेयरिस्त जस्ताको तस्तै उतारेको छु । मलाई राम्रोसँग थाहाँ छ तपाई लडाई ,झगडा मन पराउनु हुदैँन । हिसां विरोधी हुनुहुन्छ । मतलव शान्ति प्रिय हुनुहुन्छ । त्यस दिनको घटनामा मेरो जान अन्जानमा केही कमजोरी भए होलान् । अन्जानमा भएका ती गल्तिलाई माफी दिनुहुनेछ भन्ने आशा गरेको छु । राजधानीमा भएको आन्दोलनमा झडपमा गोली चलेर २३ आन्दोलनकारीको निधन भएको खबरले मन बेचैन भयो । रातभरी निदाउन सकिएन । केहीबेर निदाए पनि झल्यास्स बिउझिँदो रहेछु । भोलिपल्ट बिहान पोखरामा पनि थप आन्दोलनको माहोल बन्दै गयो । हरेकको आँखामा आवेग झल्किन्थ्यो । सबै पोखराबासी आक्रोसित देखिन्थे । नगरपालिका घेर्नुपर्छ भन्दै हुलका हुल मान्छेहरु जान थाले । के पो चल्दै छ त नगरपालिकामा हेर्नु जाऔं न त भनी एक जना साथी सँग म पनि न्युरोडतिर लागेँ।
न्यूरोडमा रहेको नगरपालिका कार्यालय वरपर मान्छेहरु जम्मा हुदैँ थिए । केही समुहमा त केही एक्ला एक्लै । एक हुल विद्यार्थीहरुको समुह सय बढी हुदाँ हुन् । सबै कलेज पोसाकमा थिए । एउटै कलेजका भने थिएनन् ति । प्रत्येकको हातमा प्याम्प्लेट थियो । जसमा नाराहरु लेखिएको थियो ।
प्रहरी दमन अन्य गर।।।
विद्यार्थी मार्न पाईदैन।।।
हत्यारालाई कारबाही गर।।।
नेपाल सरकार मुर्दाबाद।।।
के पी चोर देश छोड ।।।
नालायक गृहमन्त्री राजीनामा दे ।।।
यस्तै यस्तै । नारा लगाउदैँ पृथ्वी चोक हुदैँ हुल माथितिर आउदै थियो । भिड उत्तेजित थिएन । बिद्यार्थीहरु जोसका साथ नारा लगाउदैँ थिए । एक जनाले हाते माईकबाट नारा लगाउथ्यो, अरुले पछिपछि थप्दै जान्थे । त्यतिकैमा एक जना आन्दोलनकारी विद्यार्थीले पानीले भरिएको बोटल नगरपालिका गेटतिर फ्याक्यो । जोसका साथ नारा लगाउदै लाईनमा मिसियो । विद्यार्थीहरुको समूह बिपी चोकलाई परिक्रमा गरि केही बेर भाषण गरि पुनः नगरपालिका गेतमा गई नाराबाजी गर्न थाले ।
नारा बाजी घन्की रह्यो । हुलका हुल मान्छेहरु थपिदैँ गए । न्युरोडको बाटो नै जाम हुनेगरी भिड लाग्न थाल्यो । आन्दोलनकारिहरुले नगरपालिका कार्यालयतिर ढुङ्गा, इट्टा र पानीको बोतलहरु हान्न थाले । नगरपालिका कार्यालय सुरक्षार्थ खटिएका प्रहरीले लाठी चार्ज गर्दै आन्दोलनकारीहरुलाई लखेत्थे । आन्दोलनकारीहरु फेरि ढुङ्गा, ईट्टा र पानीका बोतलहरु प्रहार गर्थे । प्रहरीले भिड नियन्त्रण गर्न अश्रु ग्यास पनि फ्याक्थ्यो । उल्तै अश्रुग्यास प्रहरी भएतिर फालिदिन्थे केही जोसिला केटाहरु । दुवै तर्फको ढुङ्गामुढा प्रहारले गर्दा केही आन्दोलनकारी र केही प्रहरी घाईते समेत भए । आक्रोसित भिडलाइ थेग्न नसकेपछि प्रहरीले नगरपालिका छोडेर गए । नगरपालिका कर्मचारीहरुले गेट भित्रबाट ताला लगाए । आन्दोलनकारी गेत भत्काउन थाले ।
आन्दोलनकारीले प्रेस लेखिएका ज्याकेट लगाई भिडियो खिच्न आएका पत्रकार र क्यामेरा म्यान हरुलाई समेत धपाउन थाले । आन्दोलनको माहोल एकाएक उग्र हुन थाल्यो । माहोल पुरै बदलियो । केहीबेरमा हुलले नगरपालिका कार्यालय गेट तोड्यो । भित्र प्रवेश गरी कोहीले कागजातहरु बाहिर निकाल्न थाले । कसैले बाटो हिड्दैँ गरेको मोटरसाइकल रोकि पेट्रोल निकाली पानीको बोटलमा भरी कागजातहरुमा छर्की आगो दन्काउन थाले । सेतो नम्बर प्लेट भएका जति स्कुटर, मोटरसाईकल सबै जलाए । हेर्दाहेर्दै केही बेरमा पालिकाको कार्यालय दनदनी आगोले जल्न थाल्यो ।
आन्दोलनकारीहरु सबै अक्रोसित देखिन्थे । पुरै जोसका साथ चिच्याउथे । “अब नेताहरुको घर पनि जलाउनु पर्छ । ति सबै भ्रष्ट्रचारी हुन् । तिनको सम्पति सबै जलाएर खरानी बनाउनु पर्छ । हामी जनता लुट्ने तिनै हुन् । हिजो विद्यार्थी मार्नमा तिनीहरुकै हात छ । छोड्नु हुदैँन जाउ सबै । बिन्दुकुमार थापाको घर जलाउनु पर्छ । घर मैले देखेको छु ।” भन्दै एक जना जंगिदै बाटो लाग्यो । अरु उसको पछिपछि लागे । एकैछिनमा घर दनदनी बल्यो । घर भित्रका ग्याँसका सिलिन्डरहरु बम जसरी पड्किन्थ्यो । हेर्न आएकाहरु दुई हातले कान च्याप्दै चिच्याउदैँ भाग्थे । घर तोडफोड गरी आगजनी गर्नेहरु भन्दा धेरै त फोटो भिडियो खिच्नेहरु थिए । म त बिन्दु थापा भन्ने मान्छे महिला होला भन्थानेको थिए । पछि मात्र थाहाँ भयो उनी त पुरुष रैछन् । गण्डकी प्रदेश सभा सदस्य रैछन् । केही दिन पहिले टिकटक, युट्युब, फेसबुक लगायतका सामाजिक सञ्जलमा चलेको नेपो बेबी अभियानमा उनका छोराको तस्बिरहरुसमेत भाईरल भएका थिए ।
भिड थामिनसक्नु थियो । टिकटक, युटयुबको लागि भिडियो खिच्न, आन्दोलन हेर्न आएका जति सबै आन्दोलनकारी भैसकेका थिए । केहीबेर अघि पे्रसको ज्यकेट लगाई क्यामरा अघि रिपोटिङ गरिरहेकी एकजना महिला पनि पे्रसको ज्याकेट फ्याकी ढुङ्गा बोकी आन्दोलनकारी सँगै तोडफोडमा सहभागि भएकी थिईन । छेउछाउका पसलवालाहरु जोसिला युवाहरुलाई पानी वितरण गर्थे । कसैले चाउचाउ, बिस्कुट त कसैले जुसहरु बाड्थे । आन्दोलनकारीहरु समुह बिभाजित भए । योजना मुताबिक होईन । जो जता जान मन लाग्छ उतै । कसैले कसैलाई चिन्थेन होला सायद । त्यतिन्जेल मसँग गएको साथी कता गयो थाहाँ नै भएन । म एक हुल हुलको पछि लागे । त्यो हुल पृथ्वीचोकमा रहेको यातायात कार्यालयतर्फ सोझियो ।
नयाँ बजार पुगेपछि ने.क.पा एमाले पार्टी कार्यालय छि¥यो । कोठा बन्द थियो । एकजनाले ताला तोड्यो । भित्र प्रवेश गरियो । माक्स, लेनिन, माओ, मदन भण्डारी, पुष्पलाल लगायतका नेताहरुका फोटाहरु झुन्डिएका थिए । कम्युनिष्ट म्यानुफिस्ट, कार्ल मास्कको पुजी लगायतका बिख्यात पुस्तकहरुका चाङ नै थियो । जुन किताबहरु अधिकाशं मैले पढिसकेको थिए । केही त म सँग अझै छन् । कार्यालय दोस्रो तलामा थियो । घर नै जलाउनु हँुदैन भन्ने सल्लाह भयो । बर्षौ एमाले निकट अनेरास्ववियु कार्यकर्ता भई हिडेको म, आफ्नै पार्टी कार्यालयमा रहेका सामाग्री जलाउन तल्लिन थिए । त्यहाँ रहेका सम्पुर्ण कागजात ,ठेली पुस्तक, मास्क, लेनिन, माओ, पुष्पलाहरुका फोटाहरु र फर्निचरका सामान बाटोमा निकाली जलाइयो । सुर्य चिन्ह अंकित रातो चारकुने झण्डा सबै जले । चन्द्रसुर्य अंकित राष्ट्रिय झण्डा भने जलाइएन । उपस्थित सबैलाई मैले नै बाडिदिए । हामी सबैको घाटीमा राष्ट्रिय झण्डा झुन्डियो । हामी सबै देश भक्त जस्ता देखियाे ।
भिड अगाडी बढ्यो । यातायात कार्यलयमा । अर्को समुहले तोडफोड गर्दै रहेछ । हाम्रो समुह पनि सामेल भयो । एक जना स्मार्ट लाईसेन्स बितरण गर्ने कक्षमा गई भएभरको लाईसेन्स झोलामा हाल्यो । केही छेउछाउमा रहेकालाई बाडिदियो । त्यसको चाल देखि मलाई बडो हाँसो उठेर आयो । के गर्नलाई ति मनुवाले त्यतिका धेर लाईसेन्स झोलामा भरे होलान् ? मनमनै प्रश्न गरे । अर्को मनले भन्यो बिचरा बर्षौ बित्दा पनि लाइसेन्स नपाएको पिडा पोख्यो होला । केही बेरमा वरपरका सबै कार्यालयहरु पनि जल्न थाले ।
भिड पृथ्वी चोक तिर मोडियो । पृथ्वी चोक पुग्दा अर्को समूहले नेपालका प्रथम शहिद लखन थापाको सालिक तोड्दै थियो । घाटीमा राष्ट्रिय झण्डा भिरेका तिनीहरु पाका उमेरका देखिन्थे । जेन्जी उमेर समुह बाहिरका । मजबुत पाखुरा भएकोे, हातमा त्याटु खोपेको आधाबैसे दाह्रिवाल युवाले बल गरि घनले सालिक तोड्दै थियो । अन्य बुढाहरु राजा आउ देश बचाउ भन्ने नारा लेखिएको पमप्लेट समाएका थिए । कसैले पृथ्वीनारायण शाहाको तस्बिर समाएका थिए । म लगायतको केही समुह भने पृथ्वी चोकमा रोकिएको नगर बसमा चढ्यौं । दुई वटा बस भरिए । जिल्ला प्रशासन कार्यालय शहिद चोकमा पुगेपछि गाडी रोकियो । खलासिले पैशा मागेनन् । सित्तैमा हामी आन्दोलनकारीहरुलाई बोकिदिए । जिल्ला प्रशासन कार्यालय दनदनी आगो बलिरहेको थियो । केही हुल अदालत जलाउन भन्दै अदालततिर लाग्दै थियो । जताततै धुवाँको मुस्लो देखिन्थ्यो । आर्मी प्रहरी कहिँ कतै देखिदैनथे । जताततै आन्दोलनकारी । मनलाग्दो पाराले तोडफोड र आगजनी गर्दै हिँडिरहेका थिए ।
एक जना ठिटाले बेपत्ता पारिएका व्याक्तिहरुको तस्बिरमा ढुङ्गा हान्दै थियो । पिपल छेउ फोटो सहितको ब्यानर झुन्डिएको थियो । जसमा १८ जनाका फोटाहरु थियो । गाढा अक्षरमा लेखिएको थियो ।
हाम्रा मान्छे कहाँ छन् ? साँचो सत्य बताईदेउ !
कुन कुनामा लुकायौं ? छिटो हामीलाई देखाईदेउ !
बेपत्ता योद्धाहरु कहाँ छन ?
अर्कोले एक जनाले, “त्यसमा नहानौ, ती त द्धन्दकालमा बेपत्ता पारिएका नागरिकहरु हुन् ।” भनेपछि रोकियो । छेउको सानो पार्क भित्र छिरेका थिए चार जना केटीहरु । ति स्कूल पोसाकमा थिए । बस्नलाई बनाएको फलामे कुर्सी बल लगाएर उखेल्ल जमर्को गर्दै थिए । उखेल्न भने सकेका थिएनन् । एउटीले सानो ढुङ्गाले तलतिरको खुट्टानेर खोस्रिदै थिई । दुइजना घाटीमा राष्ट्रिय झण्डा भिरेका ठिटाहरु गए सम्भबतः ती केटाहरु एमाले पार्टी कार्यालय जलाउदाका मेरै समूहका हुदाँ हुन् । सबैजना मिली त्यो फलामे कुर्सीलाई उत्तानो पारी छाडे । प्रदेश प्रहरी कार्यालयमा भने पुलिसको बाख्लो उपस्थिती थियो । हतियार सहित पुरै पोजिसनमा थिए । प्रदशनकारीहले भित्र छिर्न आँट गर्न सकेका थिएनन् । मनमनै डर लागेर आयो । एक मनले सोच्यो, कतै हिजो काठमान्डौमा जसरी प्रहरीले गोली चलाए हालत के होला ? मेरै छाति ताकेरै ठेकिदिए के होला ? पुलिसले पछाडी बाट मेरै कम्पारो ताकेरै ठोक्दियो भने के होला ? त्यसमाथि म त घरको एक्लो छोरा । परिवारको भरोषा । हैट पछि हत्नुपर्छ । जिउ ढक्क फुलेर आयो । कपालका रौ जिरिङ्ग भए । महिला, केटाकेटी, बुढाखाडा समेत जोसिएर नाराबाजी गर्दै गरेको देखी फेरी म अगाडी बढे । धन्न प्रहरीले गोली चलाएनन् ।
भिड उत्तर तर्फ रहेको सडक विभागतिर लाग्यो । भित्र डोजर, रोलर, टिपर, ट्याक्टर ,फोहोर बोक्ने गाडी ,अलकत्र पकाउने मेसिन लगायतका हेवी मेसिनहरु थिए । भित्र पाले थिए । ति पचास कटेका हुदाँ हुन् । गुरुङ थरिका जस्ता देखिन्थे ।
“तेरो बाउको सम्पति हो ? छिटो खोल ।” भन्दै केटाहरुले धम्क्याउन थाले । डरले पाले गेट नखोली भित्रतिरैबाट कता भागे । एकैछिनमा गेट सबै भताभुङ्ग । सुरुमा केटाहरुले सिसी क्यामेरा तोडे । त्यस पछि केटाहरुलाई “के खोज्छस कानो आँखो” भनेझै भयो । जस्ले जे मन लाग्यो त्यहीँ गर्दै थिए । मानौ कि ती उपस्थित सबै बादर नै हुन् । गतिबिधी त्यस्तै थियो । डोजर, रोलर, ट्याक्टर, टिप्पर जसले जे चलाउन जानेको छ सामाउन थाले । चाबी हात हातमा परेपछि केटाहरुलाई के चहियो । जसले जे चलाउन जानेको छ त्यहीँ सुचारु गर्न थाले । गुडाउन नसकेका मेसिनहरु निजी गाडीँ, बाईक, स्कुटर, प्रहरी कार्यालयबाट लुकाउन राखिएको प्रहरी भ्यान सबै त्यहीँ जलाए । अलकत्र पकाउने कालो मसिन पछाडि धकेलिदिए । चालक ति ठिटाहरु कुनै प्रोफेसनल चालकजस्ता देखिन्थेनन् । कतै खलासी सिक्दै गरेका हुदाँ हुन् । सिकारु जस्ता देखिन्थे । डोजरको भित्र छिरी स्टेरिङ समाई फोटो भिडियो खिच्नेहरुको जमात पनि बाक्लै थियो । केही चाबी त म सँग पनि आएको थियो । मैले चलाउन जानेको भए त चलाउथे होला । चाबी बोकी डोजर भित्र म पनि छिरेको थिए तर चाबी कता घुसाउने हो केही मेलोमेसो पाएन् । डोजर, रोलर, ट्याक्टर, टिप्पर एकैसाथ लाईन लागेर हिडेपछि माहोल झनै रमाइलो भयो । टिप्पर र ट्याक्टर भरी केटाहरु चढे । ता ता तु तु हर्न मार्दै अगाडी डोजर त्यसपछि अन्य रोलर, ट्याक्टर, टिप्पर र फोहोर बोक्ने गाडीहरुसम्म गुडाए । त्यसको पछिपछि आन्दोलनकारीहरु चिच्याउदै ,नाराबाजी गर्दै हिडे ।
एकैछिनमा मोटर साईकल र्याली हर्न बजाउदैँ चोकमा आयो । पन्ध्र बढी हुदाँ हुन् । सबैले हर्न बजाउथे, चिच्याउथे, नाराबाजी गर्थे । अधिकांशको घाटिमा राष्ट्रिय झण्डा थियो । म त्यहीँ समुहको बाईकमा चढे । अन्य केही केटाहरु पनि । हर्न मार्दै कारागार भएतिर हाम्रो समूह लाग्यो । कारागारबाट कैदीहरु पोका पुन्तुरो बोकी निस्किदै थिए । जेब्रा झोला, झोला, तन्नामा पोका पारिएका सामान त कसैले मुडा सम्म बोक्न भ्याईसकेका थिए । जेल बाट छुट्न पाएकोमा हर्सित देखिन्थे । उता मुख्यमन्त्रि कार्यालय लगायतका अन्य सरकारी कार्यालयहरु पनि दनदनी जल्दै थिए । प्रदेश प्रहरी तालिम केन्द्रमा भने प्रहरीको बाक्लो उपस्थिति थियो । आन्दोलनकारी भित्र छिर्न आँट गरेका थिएनन् । जिरो कि.मी. हुदैँ हाम्रो टोली न्युरोडमा रहेको भाटभटेनीमा रोकियो । केही केटाकेटीहरुको समूह भित्र छिर्न खोज्दै थिए ।
केही दाह्रिवाला केटाहरु हेर्दै हट्टाकट्टा देखिन्थे । “निजी सम्पतिमा तोडफोड नगरौं ,क्षति गर्नु पनि हुदैँन । यो राम्रो होईन् । भाग केटाकेटीहरु ।” भन्दै लाठी चार्ज गर्दै भित्र छिरेका केटाकेटी धपाए । दाह्रिवाला केटाहरुले । ति केटाहरु संयमित देखिन्थे । बाइकमा सवार हाम्रो समूह पृथ्वीनारायन क्याम्पस गेटमा पुग्यो । जहाँ जेन्जी समूहले चर्को नाराबाजी गर्दै थियो ।
केपी चोर ।।। एक जनाले, भन्थ्यो अन्यले स्वरमा स्वर मिलाउदैँ,
देश छोड ।।।
के पी मोरो ।।।
सेरे मोरो ।।।
प्रचण्डे मोरो ।।।
र...डको छोरो ।।। भन्दै पुरै जोसका साथ छाडा नाराबाजी लगाउथे ।
पिएन क्याम्पस पढ्ने विद्यार्थी संगठनमा आबद्ध विद्यार्थीहरुको बाक्लो उपस्थिती थियो । अनेरास्ववियु, अखिल क्रान्तिकारी, ने.वि. संघ, अखिल छैठौ लगायत अन्य साना ठुला । त्यसदिन एक समूहले अर्कोलाई देखि नसहने सबै एकै ठाउमा उभिएका थिए । चर्को चर्को नारा एकै स्वरमा घन्काएका थिए । एकजुट देखिन्थे ।
एक जना विद्यार्थी नेता जो मेरै जान परिचानको थियो । ऊ ने.वि संघ निकट विद्यार्थी नेता थियो । हाते माईक समाएर भाषण गर्न थाल्यो ।
आदरणीय उपस्थित साथीहरु ।
अविबादन, लालसलाम,जय नेपाल, जय देश । राज्यको ज्याजती अति भयो । शान्तिपुर्ण बिरोध गर्न जादाँ हिजो राजधानिमा हाम्रा साथीहरु मारिए । आज हामी पनि नमरिएला भन्न सकिन्न् । साथीहरु छातिमा गोली थाप्न तयार हुनुपर्छ हामी सबै । नालायक सरकारले हामी कति जनालाई मार्ला ? मारोस । मर्न तयार हुनुपर्छ । सरकार कि वार कि पार । उपस्थित सबैले ताली बजाउदैँ हुटिङ गर्थे । ऊ भाषणलाई चर्काउदै गयो । अबोध विद्यार्थी मारेर के पाउछ यो सरकार ? हाम्रो माग थियो के नै ? भष्ट्रचारको अन्य र सामाजिक सञ्जान बन्द नहोस् । यत्ति होईन् ? बदलामा हाम्रा साथीहरु मारिनुपर्ने ? यो काहाँको न्याय हो ? हामी नेपाली जनता कतिन्जेल आन्दोलनको नाममा मर्नुपर्ने ?
साथीहरु हाम्रा पुर्खाहरु राणा शासन कालमा अंग्रेजलाई खुशी पार्न भारतमा भएको सिपाही विद्रोहमा मारिनु पुगे । प्रथम, दोस्रो बिश्व युद्ध र राणा शासन अन्यको नाममा चलेको आन्दोलनमा कति नेपाली मारिए लेखाजोखा छैन् । त्यस्तै दश वर्ष चलेको जनयुद्धमा हजारौ निर्दोस जनता मारिए । त्यसको बदलामा हामीले पायौं के ? देशमा रोजगारी खै ? गुणस्तरीय शिक्षा खै ? उद्योग, कलकारखाना किन खोलिएन । खोलिएका उद्योग, कलकारखाना किन बन्द भए ? नेताहरुलाई पखला चल्दा सिङ्गापुर पुग्ने । सिटामोलको अभाबमा दुर्गममा जनता कहिलेसम्म मर्ने ? जनता भोकभोकै मर्नुपर्ने ? नेताहरुको पुस्तौ पुस्ता पुग्ने सम्पति कहाँबाट आउँछ ? छानबिन किन हुदैँन? तिनलाई कारबाही कस्ले गर्छ? जताततै भष्ट्रचार, लुटतन्त्र, घुषखोरी छ । बजार बिचौलियाको कब्जामा । किसान मर्कामा । वर्षभरी खेतबारिमा काम गर्छ ,न खान पुग्छ न लगाउन नै ।
देशमा पाखुरा बजारेर खाने वातावरण कहिलेसम्म बन्छ । मेरो राज्यले विदेशको लागी कुल्ली र भाडाको सिपाही कतिन्जेल उत्पादन गर्ने हो? बल्लतल्ल दुःख गरेर बाह्र सम्म पढ्यो ,देशमा रोजगार छैन । खाडी, कतार, मलेसिया जानुपर्ने बाध्यता छ । शहरमा घरैपछि मेनपावर सेन्टर छन् । पढेलेखेका युवा बिदेश पठाउनलाई खोलिएका कन्सलटेन्सी चोकै पिच्छे छन् । शहर बजारमा खुलेका महँगा बोर्डिङ स्कूलले देशका लागी सक्षम युवा कहिले उत्पादन गरेनन् । गरे त केवल अष्ट्रेलिया, अमेरिका, जापान, बेलायत लगायतका देशका लागि कामदार ।
उहिले कवि भुपी शेरचनले,
“यहाँका स्वतन्त्र आमाहरुले छोरा जन्माउदैनन् ,केवल अंग्रेजका लागी सिपाही ।” भनी कवितामा लेखेथे । कतिन्जेल हामी नेपालीले विदेशिनु पर्ने हो ? ए सरकार कि रोजगारी दे ! होइर्न भने छिटो बिदेश पठाई भन्दा समेत सरकारले गोली ठोक्छ । गत वर्ष कोरिया छिटो पठाउनु परो सरकार नत्र हामी भोकले मर्छौ भन्दै बिन्ति पत्र चढाउन जाँदा दुई जनालाई ठाँउको ठाँउ ढलाइदियो सरकारले । परिवारका सदस्यलाई चोर सरकारले जनही दश लाख दिई भुलायो । के हामी नेपालीको ज्यान दश लाख बराबरको मात्रै हो त ?
विद्यार्थीहरु जोडजोडले ताली पिट्दै, चिच्याउदैँ सर्मथन जनाउदैँ थिए । हेर्न आउने मान्छेहरुको भिड झनझन थपिदैँ थियो । एक जनाले भन्यो, “हिजो काठमान्डौ सिंह दरबारमा पक्राउ परेका ३२ जना विद्यार्थीहरुको लाश भेटिएको छ अरे । प्रहरीले सबैलाइ मारेछ अरे । फेसबुकभरी न्युज जताततै शेयर भएको छ । ”
यत्ति के भनेको थियो भिड झनै उत्तेजित भयो । भाषण गर्दै गरेका युवा रोकिए । हुल दङ्गा मच्चिन थाल्यो । सबै आक्रोसित भए । लाठी, ढुङ्ग, रड हातमा जे छ त्यहीँ बोकी हिडे । कसैले प्रदेश संसद भवन जलाउनुपर्छ भन्थे । कसैले जिल्ला प्रहरी कार्यालय भन्थे । भिड तितरबितर भयो । केही बेरमै गण्डकी प्रदेश प्रहरी कार्यालय र प्रदेश शिक्षा कार्यालय, डिभिजन बन कार्यालयबाट धुँवाको मुस्लो उड्न थाल्यो ।
म गण्डकी प्रदेश सभा भवन भएको स्थान नदिपुरतिर लागेँ । स्वीस मेडेलमा बनेका पुराना काठ र ढुङ्गाले छाइएका घरहरु जल्न समय लागेनन् । दृश्य देख्दा कुनै हिन्दी फिल्मको सुटिङ गर्नलाइ तयार गरिएको स्पटजस्तो देखिन्थ्यो । कार्यालयबाट निकालिएका कागजात यत्रतत्र छरिएका थिए । एकजना केटाले कभरमा ‘निहोन गो’ लेखिएको बाख्लो ठेली किताब समातेको थियो । अर्का दुई जना केटा र केटीले हातभरी काडमा किताब बोकेका थिए । किताबको गातामा लोकसेवा आयोग लेखिएको थियो । केही विज्ञानका ठेली जस्ता । जे होस् त्यतिका धेरै आन्दोलनकारीबीच मैले तीन जना किताबलाई माया गर्ने मनुवाहरु देख्ने मौका पाएको थिए ।
महिला केटाकेटीहरु जल्दै गरेको भवनको तस्विरको फोटो भिडियो खिच्थे । जान्थे । सायद टिकटक, फेसबुक रिल, इन्टाग्राम, युटयुबमा अप्लोड गर्नलाइ होला कि ? मनमनै सोचे । केही बेरमा झमक्कै साँझ पनि परिगो । सरकारले सेना परिचालन गर्ने र कफ्र्यु लगाउने निर्णय गरेको हल्ला चारैतीर फैलियो । सबै आन्दोलनकारीहरु आआफ्नो घरतर्फ लागे । म पनि मेरो कोठातिर लागेँ । मोबाईल अफ थियो । चार्ज गरे । घरबाट धेरै मिस्कल आएको रहेछ । आमालाई फोन लगाए । पहिलो घण्टीमै आमा हतार हतारमा सोध्दै थिईन ,
“बाबु मेरो छोरा फलामे त ठिकै त छस् नि ? आन्दोलनमा त गैनस् नि ।”
“गएको छैन आमा । दिनभरी सुतिबसेको ” भनि झुट बोले ।
“कतै नगएस् है छोरा । मान्छे मरेका मरेई छन् रे काठमान्डुमा ! बरु त्यता आन्दोलन भै रयो भने घर आइजा है । यता हाम्लाई तेरो कम्ता पिर छ ।” आमा अत्तालिनुभएको थियो ।
केहीबेर कुराकानी गरियो । कुराकानी सकेर फोन राखिदिए । बिहानको बासी भात रैच ,चाउचाउ र अण्डाको झोल उमालेर खाए । मोबाइल अफ गरे । सुत्दा पौने दुई भैसकेको थियो । भोलिपल्ट निद्राले छोड्दै छोडेन् । दिउसोँ बाह्र बजेमात्रै उठे । भात तरकारी पकाई खाए । मोबाईल अन गरे घरमा फोन गरे, फेरी अफ गरिदिए । ल्याप्टप खोलि सामाजिक सञ्जाल हेरँे । जताततै हिजो भएको आन्दोलनमा घटेका घटनाहरुको फोटो, भिडियो, समाचारहरु मात्रै देखिन्थे । ठुला नेताहरुको घरहरु, सरकारी कार्यालयहरु, संसद भवन, सिंहदरबार जस्ता हजारौं वर्ष लामो इतिहास बोकेका धरोहरहरु जलेर ध्वस्त भैसकेका रहेछन् । हिजो नै सरकार प्रमुखले राजिनामा दिई सकेका रहेछन् । सरकार गिरिसकेको रहेछ । प्रधानमन्त्रि के पी शर्मा ओली लगायतका नेताहरुलाई सेनाले सुरक्षा दिई राखेको रहेछ । देश सरकार प्रमुख बिहीन भैसकेको रहेछ । राष्ट्रपति रामचन्द्र पौडेलले संसद भंग गरिसकेका रहेछन् । राजधानी काठमान्डौ, पोखरा, बिराटनगर लगायतका शहरहरुमा कफ्र्यु लागेको समाचार आईरहेको थियो । जताततै सेना परिचालित भैसकेका थिए । पोखरा पनि पुरै सुनसान थियो । पोखराका सरकारी कार्यालय प्रायः सबै जलेका रैछन् । भाटभटेनी जल्दै गरेको फेसबुकमा लाईभ आइरहेको थियो । सामाजिक सञ्जालमा देश सरकार प्रमुख बिहीन भएको अबस्थामा कसलाई सरकार प्रमुख बनाउने भन्नेमा बृहत छलफल देशभर चलेको थियो ।
नेपालको इतिहासमै छोटो समयको आन्दोलनले सरकार गिरेको पहिलो घटना थियो । २७ घण्टामै सत्ता पलट भएको इतिहास बिश्वको कुनै देशमा छैन् । तर हाम्रोमा अचम्मै भएको थियो । कुनै लिडर थिएनन् । आन्दोलनमा होमिएकाहरु सबै लिडर थिए । जुन लिडर बिहिन आन्दोलन श्रीलंका ,बंगलादेश हुँदै त्यसको हावाले नेपालसम्म छोएको थियो । नेपाली सेना प्रमुखले सरकार प्रमुख चुन्ने जिम्मा जे–जेन्जी हरुलाई नै दिएका थिए । सेना परिचालन भैसकेकाले जमघट गरी छलफल गर्ने वातावरण थिएन् । जे–जेन्जी हरुमाझ डिस्कसबाटै कसलाई प्रधानमन्त्री चुन्ने भन्नेमा छलफल हुन थाल्यो । त्यसमा म पनि सहभागी भए । धेरै जना ब्याक्तिहरु मध्येबाट भोटिङको आधारमा पुर्व प्रधान न्यायधिस शुसिला कार्की छनोट हुनुभयो ।
भोलिपल्ट राष्ट्रपति सामु सपथग्रहण गरी प्रधानमन्त्रिमा शुसिला कार्की नियुक्त भईन । केही मन्त्रिहरु पनि नियुक्त भए । तिनीहरुले पनि सपथ ग्रहण गरे । अर्को दिन सार्वजनिक कार्यक्रममा प्रधानमन्त्रि शुसिला कार्कीले “तोडफोड गर्ने, आगजनी गर्नेजति सबैलाई छोड्नुहुदैँन् । कारबाही गर्नुपर्छ ।” भन्दै भाषण गरिन । हामी जे–जेन्जी जो आन्दोलनमा होमिएका थियौैं जसलाई आतंकारीको बिल्लानै भिराइदिईन् । होला रे कतै घुषपैठ भएको । प्रतिपक्ष दल जहिले सरकारको खिलापमा हुन्छ । सरकार टिकिरहेको देख्नै सक्त्तैन त्यो बिश्व ब्यापी नियम नै हो । विदेशी शक्तिको चलखेल नभएको होला भन्न पनि सकिदैँन । तर म र म जस्ता हजारौ विद्यार्थी साथीहरु भने कहीँ कतैबाट परिचालित भने थिएनौ । आक्रोसित भिडले जता लग्यो त्यतै गयौं । अरुले जे जे गर्थे त्यसै गरियो ।
हामी जे–जेन्जी ले नै चुनेको प्रधानमन्त्रिले हमीलाई नै कारबाही गर्ने भनेपछि मुटु ठाँउमा थिएन् । आन्दोलनको दिन ,‘बाबु तिमीहरुले जे गरेउ ठिक गरेउ ।’ भनि स्याबासी दिनेहरु, पानीको बोतल बाड्नेहरु,फुर्ती,बिस्कुट,चाउचाउ बाड्नेहरु सबैले कर्के नजरले हेर्न थाले । कतिले त ,‘उ जेन्जी हो की फेन्जी के जाती केता आयो ।’ भन्न थाले । पुलिसले समाउने पो हो कि भन्ने दरले साथीकोमा गई बसे । केही दिन कोठाबाट बाहिर निस्किएन ।
यसो फेसबुक खोल्यो कि इनबक्समा सामाजिक सञ्जालमा अबलोड भएका भिडियोहरु, युतुब बाट अबलोड भएका भिडियो क्लिपका कट, टिकटकका भिडियोहरु, रिलहरु आफन्त र साथीहरुले गुटुटुटु पठाइरहन्छन् । जसमा कुनैकुनैमा आफ्नै थोपडा पनि देखिन्छ । केही समय त रमाईलो लाग्यो । पछि त बोर नै लाग्न थाल्यो । जसले जे सुकै भनोस् बाल मतलब भनि मोबाईनै पुरै बन्द गरि बसे । काम पर्दा मात्रै खेल्थे । फेरी अफ गर्थे ।
उता गाउँमा बाउ आमाले छोरा कुरिबसेका छन् । यता दशैको मुखमै पुलिस मामा घरमा नै पुगियो भने के पो गर्ने होला ? डर लाग्न थाल्यो त्यसैले म त गाउँ चल्देको । गाउँमा पुलिस न सुलिस् । पछिका दिनमा जे सुकै होला बेहोरौला । जेलनै जानु परेछ भने, म मात्रै जाने छैन क्यारे ! जस्तो पर्ला त्यस्तै तर्ला ।
नमस्ते ! नमस्ते ! नमस्ते !
उहीँ तपाइले प्यार गर्ने ,गाली गरिरहने, सम्झाइरहने, तपाईको प्यारो भाई फलामे । बाकी दशैबेला गाउँमै बात मारौंला ।
दिप्स पुन