बुर्तिबाङ : ढोरपाटन नगरपालिका र निसीखोला गाउँपालिकामा थप ३२ जना कोरोना संक्रमित थपिएका छन् ।नेपाली कांग्रेस बागलुङ क्षेत्र नम्बर २ का सभापति दोर्ण कुँवरले व्यक्तिगत लगानीमा गरेको ७१ जनाको स्वाब संकलन परीक्षणमा ३२ जनामा संक्रमण पुष्टि भएको छ । सभापति कुँवरले केही दिन अगाडी ढोरपाटन नगरपालिका वडा नम्बर १, २, ३, ५, ६, ९ र
निसीखोला गाउँपालिका वडा नम्बर १ र ५ का गरी ७१ जनाको स्वाब परीक्षणको लागि संकलन गरेर बागलुङ ल्याएका थिए । धौलागिरी अस्पतालले परीक्षण नगरिदिएपछि पोखरा पठाएका थिए । ५० जना पुरुष र २० जना महिलाको स्वाब संकलन गरेर पोखरा स्थित एक प्राइभेट प्रयोगशालामा पठाइएको कुवँरको भनाई छ । गाउँ–गाउँमा नागरिकहरु बिरामी पर्दै गएको र
सरोकारवाला निकायहरुले परीक्षण गर्न ढिला सुस्ती गर्दा संक्रमण तीव्र रुपमा फैलिन सक्ने भन्दै व्यक्तिगत लगानीमा उनीहरुको स्वाब परीक्षण गरेको बताए ।बुर्तिबाङ बजारका व्यवसायी, राजनीतिक दलका नेता, पत्रकार, जनप्रतिनिधि तथा अन्य नागरिकहरुको स्वाब पोखरा पठाइएको उनको भनाई छ । सरकारले एकद्वारा प्राणाली मार्फत नागरिकको स्वाब परीक्षण
गर्ने नीति भएको हुँदा जिल्ला कोभिड संकट व्यवस्थापन समिति (डिसिसिएमसी) बागलुङको बैठकले अनाधिकृत रुपमा गरिएको स्वाब संकलनलाई मान्यता नदिने निर्णय गरेको थियो । धौलागिरी अस्पतालले उक्त स्वाब परीक्षण नगर्ने भएपछि कुँवरले पोखराको प्राइभेट प्रयोगशालामा पठाएको बताए । ७१ जनाको परीक्षण गर्दा ३२ जनामा संक्रमण देखिएपछि समुदायमा कोरोनाको जोखिम बढेको छ । यस प्रति आम नारिकहरु सतर्क हुनु पर्ने देखिन्छ ।