बागलुङ : नेपाली काँग्रेस बागलुङको भातृ तथा सुभेच्छुक संघ संगठनले प्रधानमन्त्री र राष्ट्रपतिको मिलेमतोमा भएको संसद विघटनलाई प्रतिगामी कदम भनेका छन् । नेपाली काँग्रेस बागलुङमा आवद्ध १३ भातृ तथा सुभेच्छु संस्थाले बुधबार संयुक्त विज्ञप्ती जारी गर्दै जेठ ७ गते मध्यरातमा काम चलाउ प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा
राष्ट्रपती विद्यादेवी भण्डारीद्वारा दोस्रो पटक गरिएको प्रतिनिधि सभा विघटन असंवैधानिक अलोकतान्त्रिक कदम प्रति आफुहरुको गम्भीर ध्यानाकर्षण भएको जनाएका छन् । नेपाली जनताको कठोर संघर्ष त्याग र बलिदानबाट प्राप्त लोकतान्त्रिक संविधान माथि राष्ट्रपति र प्रधानमन्त्रीद्वारा बारम्बार धावा बोल्ने काम भै रहेको र रातारात प्रतिनिधि सभा विघटन गर्ने, असंवैधानिक, स्वच्छचारी, निरंकुश र प्रतिगामी कार्यको विरुद्धमा जस्तोसुकै कदम पनि उठाउन आफुहरु तयार
रहेको विज्ञप्तमिा उल्लेख छ । नेपालको संविधानको धारा ७६ को उपधारा ३ बमोजिम प्रधानमन्त्रीमा नियुक्त केपी शर्मा ओलीद्वारा सोही धाराको उपधारा ४ बमोजिम विश्वासको मत लिनुपर्ने अनिवार्य संवैधानिक प्रावधानको उलङ्घन गर्दै उपधारा ५ बमोजिम नयाँ प्रधानमन्त्री नियुक्तीको लागि राष्ट्रपती समक्ष सिफारिस गरेकोमा राष्ट्रपति जस्तो गरिमामय पद र प्रतिष्ठाको धज्जी उडाउँदै राष्ट्रपतिबाट समेत प्रधानमन्त्रीको उक्त सिफारिस अनुसार नै २१
घण्टाको मात्र समय अवधी तोकेर नयाँ प्रधानमन्त्री नियुक्तीका लागि आह्वान गर्ने काम भएकोेमा लोकतन्त्र र संविधानको रक्षाको निम्ति विभिन्न राजनितिक दलहरु मिलेर १४९ बहुमत प्रतिनिधि सभाका सदस्यहरुको हस्ताक्षर सहित नेपाली काँग्रेसका सभापति प्रतिनिधि सभा सदस्य शेरबहादुर देउवालाई संविधानमा भएको व्यवस्था अनुसार विधि सम्मत प्रधानमन्त्री पदमा नियुक्तीको लागि राष्ट्रपति समक्ष पेश गरिएको दाबीलाई संविधानत निर्णय गरी प्रधानमन्त्री नियुक्ती गर्नुपर्नेमा उल्टै
प्रतिनिधि सभा विघटन गरी राष्ट्रलाई गम्भीर मोडमा धकेल्ने काम भयो यसले मुलुक नयाँ राजनीतिक धुब्रिकरण र जटिलता तर्फ उभिएको विज्ञप्तीमा छ। जारी विज्ञप्तीमा,‘कोरोना भाईरस (कोभिड–१९) को दोस्रो चरणको लहरले देश आक्रान्त बनिरहेको अवस्थामा जनताको स्वास्थ्य उपचार र व्यवस्थापनमा सरकार संवेदनशील हुनुपर्ने अवस्थामा भ्रष्ट्राचारमा लिप्त हुँदै सत्ता टिकाउको खेलमा संसदमा विचाराधीन रहेको नागरिकता सम्बन्धी विधेयक छलफल नै नगराई एकाएक
अध्यादेश पास गरिएको घटनाले नक्कली राष्ट्रवाद राष्ट्रघातमा सावित भएको छ । राष्ट्रघाती यो अध्यादेश खारेज गर्न हामी जोडदार माग गर्दछौं,’ उल्लेख गरिएको छ । प्रतिनिधि सभाको विघटनको निर्णयले न्यायालयको समेत मानहानी गरेको र राष्ट्रपति र प्रधानमन्त्रीबाट चालिकएको प्रतिगमनकारी कार्यका विरुद्ध एकजुट भै मातृ पार्टी नेपाली काँग्रेसले लोकतन्त्र र राष्ट्रिय हितको रक्षाका लागि राजनैतिक तथा न्यायिक संघर्ष अगाडि बढाउने निर्णयलाई समर्थन गर्दै आन्दोलनका लागि तयारी
रहन नेपाली काँग्रेस बागलुङका सबै भातृ एवं सुभेच्छुक संघ संस्थाहरुलाई विज्ञप्तीमा मार्फत अपिल गरिएको छ । नेपाल महिला संघ बागलुङकी अध्यक्ष शकुन्तला शर्मा, नेपाल तरुणदल बागलुङका अध्यक्ष उमाकान्त शर्मा ‘बाबु’, नेपाल विद्यार्थी संघ बागलुङका अध्यक्ष खडक थापा, नेपाल शिक्षक संघ बागलुङका अध्यक्ष उमाकान्त पौडेल, नेपाल दलित संघ बागलुङका अध्यक्ष ताराबहादुर विक, नेपाल भूतपूर्व सैनिक संघ बागलुङका अध्यक्ष क्याप्टेन हरिबहादुर भण्डारी,
नेपाल ट्रेड युनियन काँग्रेस बागलुङका अध्यक्ष ईश्वर ठाकुर पौडेल, नेपाल आदिवासी जनजाति संघ बागलुङका अध्यक्ष ओमकार थापा, नेपाल राष्ट्रिय मगर संघ बागलुङका अध्यक्ष तिलक घर्ती, नेपाल प्रजातन्त्र सेनानी संघ बागलुङका अध्यक्ष ताराप्रसाद गौतम, नेपाल किसान संघ बागलुङका अध्यक्ष लालबहादुर खत्री, डिएलए बागलुङका अध्यक्ष भूमिश्वर गौतम र नेपाल सांस्कृतिक संघ बागलुङका अध्यक्ष प्रेम थापाको हस्ताक्षरमा विज्ञप्ती जारी गरिएको छ ।