बेनी : म्याग्दीको मंगला गाउँपालिका वडा नम्बर १ पुर्णगाउँ तर्फ जाँदै गरेको जीप दुर्घटना हुँदा जीपमा सवार दुई जनाको मृत्यु भएको छ भने ६ जना घाइते भएको जिल्ला प्रहरी कार्यालय म्याग्दीले जनाएको छ । बुधबार सांझ मंगला गाउँपालिका वडा नम्बर २ सिमलचौरदेखि वडा नम्बर १, पुर्ण गाउँ जाने
क्रममा वडा नम्बर २को मिथौला स्थित ग १ ज ७६५२ नम्बरको जीप दुर्घटना हुँदा मंगला वडा नम्बर १ का १३ वर्षीय बिमल विक र बेनी नगरपालिका वडा नम्ब ५,की २० वर्षीया सबिना भण्डारको घटना स्थलमै ज्यान गएको बेनी अस्पताल व्यवस्थापन समितिका अध्यक्ष बेल बहादुर कटुवालले जानकारी दिए ।
यसैगरी घाइते हुनेमा २५ वर्षीया सुजन आचार्य , २६ वर्षीया एन्जिला भण्डारी, अन्दाजी २३ वर्षीय का चालक अनिल रसाइली , ८ वर्षीया एडीना नेपाली, ३५ वर्षीया गीता खत्री र ३५ वर्षीया अमृता राम्जाली रहेका छन् । कटुवालका अनुसार घाइते सबै मंगला गाउँपालिका वडा नम्बर १, का हुन् ।
जीपमा ८ जना सवार थिए । जीप सडकदेखि करिब तीन सय मिटर तल खसेको थियो । घाइते सबैको बेनी अस्पतालमा उपचार भइरहेको छ । रातको समय भएकोले दुर्घटनाको कारण खुल्न सकेको छैन । टाउकोमा चोट लागेका चालक रसाइलीको स्वास्थ अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ ।
घाइते आचार्यको निधारमा चोट, अमृताको टाउको ,घुडामा तथा एन्जिलाको ओठ ,घुडामा सामान्य चोट लागेको छ । त्यस्तै एडिनाको बायाँ आखाको साईडमा सामन्य चोट लागेको छ भने गितालाई बाहीरी चोट लागेको छैन ।