सुरेश छन्त्याल
बागलुङ : जिल्लाको गलकोट नगरपालिका—१० पाण्डवखानीमा नेपाली काँग्रेसको भेटघाट तथा छलफल साथै वडा अधिवेशनको पनि पूर्व तयारी समेत सम्पन्न भएको छ ।
गलकोट नगरपालिका १० पाण्डवखानीमा रहेको नेपाली काँग्रेस वडा कार्य समितिको आयोजनामा भएको भेटघाट कार्यक्रममा संविधान सभा सदस्य नरबहादुर पुन निरजले नेपाली काँग्रेसलाई सशक्त र बलियो बनाउनका लागि गाउँ गाउँबाट आम कार्यकर्ता जागरुक बन्नुपर्ने बताए । केन्द्रमा नेताहरुको मुख ताकेर बस्दा काँग्रेसको अवस्था बिग्रदै गएको भन्दै उनले पार्टीलाई गतिशिल बनाउनका लागि गाउँ गाउँबाट सबै लाग्नुपर्ने बताए ।
बागलुङ क्षेत्र नम्बर २ का क्षेत्रीय सचिव तिलक घर्ती मगरले नेपाली काँग्रेसको स्थापना नेपाली जनतालाई चरम ज्यादती, शोषण गरिरहेको राणाकालिन समयमा भएको हो ।
तत्कालीन समयदेखि नै सुवर्ण शमशेर र विपी कोइराला बीचको समझदारी मार्फत नेपाली जनताको उन्मुक्तिका निमित्त नेपाली काँग्रेस स्थापना भएको भन्दै स्थापना कालदेखि नै लोकतान्त्रिक प्रक्रियामा रहेर अहिले १४ औं महाधिवेशन पूर्व सन्ध्यामा आइरहेको बताए ।
यो अवसरमा देश, समाजको मुहार फेर्नको लागि सहि नेतृत्व चयन गर्नु क्रियाशील काँग्रेसहरुको महत्वपूर्ण भूमिका रहेकोले सम्पूर्णमा जागरुक हुन अपिल गरे । कार्यक्रममा जिल्ला सदस्य रामप्रसाद वि.क, पूर्व महाधिवेशन प्रतिनिधि राधिका पुन, भूतपूर्व शैनिक संघ, क्रियाशील सदस्य, तरुण दल, शिक्षक संघ लगायतका प्रतिनिधि, नेपाल प्रेस युनियन जिल्ला सदस्य सुरेश छन्त्याल लगायतले बोलेका थिए ।
नेपाली काँग्रेस पाण्डवखानीका सभापति देवराज पुनको अध्यक्षतामा भएको कार्यक्रममा स्वागत सहसचिव दीप घर्ती र सञ्चालन सचिव ज्ञानबहादुर श्रीसले गरेका थिए ।