सुख सयलमा हुर्केका अरुण थापाको दुःखान्त जीवन 

सुख सयलमा हुर्केका अरुण थापाको दुःखान्त जीवन 

  • श्रावण ५, २०७८ मंगलवार
  • १२:४८:२३ बजे
  • 5.4K
    SHARES
  • सुख सयलमा हुर्केका अरुण थापाको दुःखान्त जीवन 

    ऋतुहरुमा तिमी हरियाली बसन्त हौ, नदीहरुमा तिमी पवित्र गंगा हौ ....। नेपाली गित संगितमा रुची राख्ने सायद विरलै मानिस छन् होला । जसले यो गित नसुनेका हुन् ।

    सदावहार र कालजयी यो गीत त धेरैले सुनेका छन् । के यो गीत गाउने गायकका बारेमा थेरैलाई थाहा छ त ? यो गीत युवादेखि पाका पुस्तासम्मलाई मन पर्ने गित हो र अहिले पनि यो गितको लोकप्रियता कत्ति पनि खस्केको छैन । तर यही कालजयी गितमा आफ्नो कर्णप्रिय आवाज दिएका गायकको बारेमा भने धेरैलाई थाहा नै छैन र धेरैले यस बारेमा थाहा पाउने चाहाना पनि राख्दैनन् । आज साउन ५ गते स्वर्गीय अरुण थापामगरको स्मृति दिवस । अरुण उनै गायक हुन् जसले नेपाली गित संगित क्षेत्रलाई कालजयी गितहरु दिएर गए ।

    उनले गित संगित क्षेत्रलाई उर्बर बनाउनका लागि निकै ठूलो योगदान गरे । अहिले उनको बारेमा कमैले मात्रै थाहा पाउने अवस्था छ । आज उनै अरुण थापाको जीवनलाई कलिकति नियाल्ने कोसिस गरौं ।

    नेपाली सुगम संगितको पक्षलाई नियाल्ने हो भने यसको विकास र विस्तारमा योगदान पु¥याउनेहरुको सूची तयार गर्दैै गर्दा भुल्ने नहुने नाम हो, अरुण थापामगर । नेपाली आधुनिक गीत संगितको क्षेत्रमा आफ्नो सुमधुर स्वर भरेर नेपाली गीतसंगितलाई अहिले पनि कालजयी बनाएका छन् स्वर्गिय अरुण थापा मगरले । नेपाली सुगम संगितका अजर अमर गायक स्वर्गीय अरुण थापाको जन्म विक्रम संम्वत् २००९ साल माघ महिनाको ११ गते बुबा गुञ्जप्रसाद थापा मगर र आमा शान्ति थापा मगरको जेठो सन्तानको रुपमा भारतको कलकत्तास्थीत नेपाली महावाणिज्य दुतावासमा भएको थियो ।

    अरुण थापा मगरका बुबा गुाजप्रसाद थापा नेपाल बैंकमा वरिष्ठ अधिकृत थिए । जसले गर्दा अरुण थापालाई बाल्यकालमा कुनै समस्या झेल्नुपरेन । कलाकत्तामा जन्मिए पनि बाबु जागिरे भएपछि उनीहरु काठमाडौं आएका थिए । आधुनिक आवास जमिन गाडी लगायत सबै कुराले अरुण थापा मगरको परिवार सुसज्जीत थियो । उनका सम्पूर्ण परिवार ललितपुरको झम्सीखेलमा बस्दथे । दुई भाई र एक बहिनीका दाजु अरुणको प्रारम्भिक शिक्षा जेपी हाईस्कूल ठमेलबाट शुरु भएको हो । बालापनदेखि नै स्वर्गीय गायक अरुण थापा मगरले किताबी ज्ञानभन्दा पनि गित संगितमा रुचि राख्दथे र पौडी खेल्नमा पनि उनी सानै देखि निकै शौखिन थिए ।

    प्रारम्भिक शिक्षा काठमाडौं लिए पनि उनले विद्यालय तहको शिक्षा दार्जिलिङबाट लिए । अन्तिमा एसएलसी परीक्षा दिने बेला उनले पुनः जेपी हाईस्कुल ठमेलबाट सहभागी भएका थिए । विक्रम संवत २०२८ सालमा १९ वर्षको उमेरमा उनले विद्यालयत तहको परीक्षा पास गरे । बाबुको सहयोगाम केही समय उनले बिराटनगरमा नेपाल बैंकमा जागिर पनि खाए । तर उनको रुची जागिरमा पटक्कै थिएन । उनले बैंकका जागिर छोडेर आफ्नो गित संगितप्रतिको मोह पूरा गर्नका लागि २०३० सालमा पोखरा आए । पोखराको बसोबाससंगै गायक अरुण थापा मगरको आफ्नै बाबुका कारणबाट संगितकार नातिकाजी र शिवशंकरसंग भेट भएको थियो । बैंकमा जागिर गर्ने रुची नदेखाएपछि आफ्नै बाबुले अरुणलाई गित संगितमा लाग्न सहयोग गरेका थिए ।

    अरुणले २०३२ सालमा रेडियो नेपालबाट स्वर परीक्षा पास गरेका थिए । स्वर परीक्षा पास गरेपछि उनले आश्विन गुरुङको रचना र ओम विक्रम विष्टको संगितमा कतै टाढा तिमीबाट पुगें भने सम्झेर नरुनु ठूलो छ संसार बोलको गीत रेकर्ड गराएका थिए । उनको पहिलो गीतले खासै लोकप्रियता पाउन सकेन । अरुणले राम थापाको संगित र राजेन्द्र रिजालको शब्द रचनामा २०३४ सालमा ऋतुहरुमा तिमी हरियाली बसन्त हौं बोलको गित रेकर्ड गराए । यही गितले उनलाई नेपाल मात्रै होईन् नेपाली गित संगितलाई माया गर्ने विश्वभर उनलाई परिचित बनायो । पोखरामा आफ्नौ साथी सर्कलमा गायकको रुपमा परिचित अरुणलाई सिंगो देशले नै गायकको रुपमा चिन्न थाल्यो ।

    arun-.jpg

    २०३६ सालमा उनले जति माया लाए पनि जति कसम खाए पनि गित रेकर्ड गराए । उनको यो गित पनि निकै चर्चित भयो । उनले गाएको ऋतुहरुमा तिमी बोलको गीत बीबीसीले गरेको विश्व सर्वेक्षणका विश्वका उत्कृष्ट दश गीतमध्ये सातौं स्थानमा पर्न सफल भएको थियो । गायक अरुण थापाले पिएन क्याम्पसमा अध्ययन गर्दा क्याम्पसमा हुने विभीन्न कार्यक्रममा गीत गाएर थुपै्र प्रसंशक बटुल्न सफल भएका थिए । क्याम्पस पढाईकै क्रममा उनले मेरो जीवन कोरा काजग बोलको गित गाउँदा त्यसबाट मोहित भएकी पोखराकी विमला पालिखेले अरुणलाई प्रेम पस्ताव राखिन् । उसो त अरुणलाई चाहानेहरु कलेजमा धेरै थिए । अरुणले बिमलाको प्रेम प्रस्ताव स्वीकार गरे । उनीहरु प्रेमको बन्धनमा बाँधिए ।

    उनीहरुको प्रेम अन्तरजातिय थियो । बिमलाको परिवारले स्वीकार गर्ने कुरै भएन । अन्ततः उनीहरुले भागेर बिहे गर्ने निर्णय गरे । २०३४ सालको माघ महिनामा ओमविक्रम विष्ट लगायत केही साथीहरुको मात्र उपस्थीतिमा अरुणले भागेर काठमाण्डौको गुह्येश्वरी मन्दिरमा बिमलासंग विवाह गरे । पारिवारिक सहमति बिना गरिएको विवाहपछि बिमलाको माईती पक्षले उनीहरुले छुटाउने निकै प्रयास गरे । उनीहरु आफ्नो प्रेमलाई अक्षुण्ण राख्नका लागि विभिन्न ठाउँमा रहेका आफन्तहरुको घरमा लुकेर बस्ने काम गरे । केही समयपछि माहोल विस्तारै सामान्य हुँदै गयो । बिमलाको माईतीले उनीहरुको सम्बन्धलाई स्वीकार गरेको नाटक ग¥यो । स्थीति सामान्य जस्तो लागेपछि अरुणले बिमलालाई माईतीमा पठाउन राजी भए । केही दिन माईतीमा राखेर घर फर्काईदिने भनेर बिमलालाई माईतीले लगेका थिए ।


    तर लामो समयसम्म पनि बिमला घर फर्किनन् । पछि अरुणले थाहा पाए, बिमलाले परिवारको दबाबमा पोखराकै अर्कै पुरुषसंग बिहे गरिन् । आफैलार्ई भन्दा बढि माया गरेको श्रीमती अर्कैको श्रीमती भएको थाहा पाएपछि अरुण विक्षीप्त बने । अरुणले आफुले आफैलाई सम्हाल्न नसकेपछि नशालु पर्दाको सेवन गर्न थाले । पहिलो प्रेमको विछोड भएर घरबार बिग्रिएपछि अरुणले आफ्नै जीवनसंग मेल खाने खालका गित गाए । चोट के हो व्यथा के हो म जस्तो घाईतेलाई सोध ‘..। यो गितले फेरि अरुणलाई चर्चामा ल्यायो । पहिलो प्रेम विवाह असफल भएपछि अरुणले दोस्रो विवाह गरे । ललितपुर निवासी मुना केसीसंग उनले पारिवारिक सहमति बिना नै बिहे गरेका थिए । जसका कारण पारिवारिक असहमति अझै बढेर गयो ।

    उसै पनि अरुण कमाउन छोडेर गित संगितमा लागेका थिए । त्यो समयमा गित संगितबाट आम्दानी हुन्छ भन्ने कुरा कल्पना बाहिरको कुरा थियो । विक्रम संम्वत २०४० सालमा अरुण र मुनाबाट एक छोरीको जन्म भयो । त्यतिन्जेलसम्म उनका भाईहरु आ—आफ्नै पेशातर्फ लागिसेकेका थिए । अरुणले आफ्नो घर बेची श्रीमतीको नाममा अन्तै जग्गा किनेर भाडामा बस्न थाले । आर्थिक अवस्था कमजोर हुँदै गएपछि २०४४ सालमा श्रीमतीको नाममा भएको जग्गा पनि बेचेपछि अरुण र मुनाबीचमा मनमुटाव भयो । अरुणको दोस्रो प्रेमले पनि उनलाई खुशी दिएन । केबल पीडा थियो । उनीहरुको सम्बन्ध विच्छेद हुन पुग्यो । दोस्रो पटकको घरजम पनि असफल भएपछि अरुण पुनः लागुपदार्थको सेवन गर्न थाले र त्यसैको अभियोगमा २०४५ सालमा करिब १५÷१६ महिना जेल जीवन बिताउन पुगे ।

    जेलबाट छुटेपछि उनी फेरि गीत गायनमै लागे यद्यपी उनले लागुपदार्थको सेवन गर्न भने छाड्न सकेनन् । लागुपदार्थको सेवनको मात्रा बढ्दै गएपछि उनको स्वास्थ्यमा प्रतिकुल असर पर्न थाल्यो । उनको कलेजोमा हेपाटाइटीस बी को संक्रमण भयो । उक्त रोगको उपचार गर्न नसकेपछि रोगले छोपेको ५÷६ महिनापछि २०५६ साल साउन ५ गते उनको निधन भयो । उनको मृत्यु पनि कान्तिपुर गेष्ट हाउसको एउटा कोठामा भएको थियो । नेपाली गित संगितलाई विश्वका गितसंगितका दाँजोमा पु¥याउने सबैलाई मनोरञ्जन दिलाउने अरुणको निकै कारुणिक र दुःखान्त निधन भयो । अरुण थापा संगीतप्रेमीहरु माझमा लोकप्रीय रहे पनि सरकारले उनको कुनै सम्मान गरेन । २०३९ सालमा गीततर्फ उत्कृष्ट भएर रेडियो नेपालबाट पुरस्कृत भए पनि रेडियो नेपालले उनको मृत्युमा समवेदनासम्म बजाएन ।

    तत्कालिन सरकारले शोक शन्देशसम्म पनि दिएन र उनको पार्थिव शरिर राख्नलाई प्रज्ञा प्रतिष्ठानको भवन पनि उपलब्ध नगराएर उनको उपेक्षा ग–यो । अहिले पनि कलाकारितामा लाग्नेहरुका अवस्था त्यो भन्दा भिन्न देखिन्न । साउन ५ मा अहिले केही जातिय संघ संस्थाले कार्यक्रम गरेर अरुण थापाको सम्झना गर्ने गरेका छन् ।

    नेपाली गित संगितलाई विश्वमाझ परिचित गराउन महत्वपूर्ण भूमिका खेल्ने पात्र अरुणको अहिले पनि सहि मुल्याङ्कन हुन सकेको छैन । स्मृति दिवसको अवसरमा गायक स्वर्गीय अरुण थापाप्रति हार्दिक श्रद्धाञ्जली !

    सन्दर्भ सामग्री : विभिन्न पत्रपत्रिका र पुस्तकमा छापिएका लेखहरुको सहयोगमा

    २०७७ साल साउन ५ गतेको बागलुङ पोस्टको अर्काईबबाट 

  • सम्बन्धित विषय:

  • # अरुण थापा
  • # दुःखान्त जीवन

  • संगम घर्तीमगर

    उहाँ बागलुङ पोस्ट डटकमका कार्यकारी सम्पादक हुनुहुन्छ ।

    सम्बन्धित समाचार