बागलुङ: ३९ वीपी स्मृति दिवसको अवसरमा काँग्रेस बागलुङले जिल्लाको जैमिनी नगरपालिकामा कोभिड नियन्त्रण, रोकथाम र उपचारका लागि स्वास्थ्य सामग्री हस्तान्तरण गरेको छ ।
जैमिनीमा रहेको कुश्मिसेरा प्राथामिक स्वास्थ्य केन्द्रका लागि १ थान अक्सिजन कन्सनटे«टर, १० लिटर स्यानिटाईजर, सर्जिकल मास्क र अन्य स्वास्थ्य सामग्री हस्तान्तरण गरिएको छ । हस्तान्तरण कार्यक्रममा बोल्दै नेपाली काँग्रेसका आमन्त्रित केन्द्रीय सदस्य किरणराज पौडेलले काँग्रेसले कोभिड नियन्त्रण र उपचारको लागि देशव्यापी रूपमा स्वास्थ्य सामग्री वितरण गर्दै स्वास्थ्य सचेतना फैलाईरहेको बताए ।
उनले सभापति शेरबहादुर देउवाको नेतृत्वमा गठित सरकार जनताको स्वास्थ्यप्रति जिम्मेवार रहेको र सबै नागरिकलाई खोपको व्यवस्था गर्ने गरी तयारी गरेको बताए ।

स्वास्थ्य सामग्री हस्तान्तरण गर्दै काँग्रेस बागलुङका सभापति दिपेन्द्रबहादुर थापाले वीपीको चिन्तनलाई आत्मसाथ गर्दै हरेक जनप्रतिनिधि र राजनीतिक कार्यकर्तालाई जनताप्रति उत्तरदायी बनेर काम गरेमा वीपीप्रति उच्च सम्मान हुने बताए । उनले समुन्नत समाज निर्माण र असहज परिस्थितिमा देशलाई निकाश दिने जिम्मेवारी काँग्रेसले पुरा गरिरहेको बताए ।
कार्यक्रममा महासमिति सदस्य एवं पुर्व राज्यमन्त्री चम्पादेवी खड्का, जैमिनी नगरपालिकाका नगरप्रमुख ईन्द्रराज पौडेलले वर्तमान कोभिड र आगामी दिनमा थप सुरक्षणका लागि सबै एकजुट हुन आग्रह गर्नुका साथै वीपी र वर्तमान राजनीतिक अवस्थाका बारेमा चर्चा गरेका थिए ।
यस अघि स्वास्थ्य संस्थामा ५ लिटरका ४ वटा अक्सिजन कन्स्नटेट रहेको र यस पटक काँग्रेसले दिएको १० लिटरको अक्सिजन कन्सनटे«टरले सेवा प्रदानमा सहजता ल्याउने स्वास्थ्य केन्द्रका सिनियर अहेव शान्ति शर्माले बताईन् ।
केन्द्रमा १ जना डाक्टर, १ जना हेल्थ असिसेन्ट, ३ जना अहेव, ३ जना अनमी, १ जना स्टाफ नर्स, १ जना ल्याब असिसेन्ट, ३ जना कार्यालय सहयोगी, १ जना चालकको दरबन्दी रहेको छ । हाल डाक्टर र ल्याब असिस्टेन्टको दरबन्दी रिक्त रहेको सिनियर अहेव डिल्ली शर्माले जानकारी दिए ।
कार्यक्रम जिल्ला सभापति दीपेन्द्र बहादुर थापाको अध्यक्षता, महाधिवेशन प्रतिनिधि एवं जिल्ला सदस्य हरि आचार्यको स्वागत र जिल्ला कोषाध्यक्ष उमेश गौतमको सञ्चालन, जैमिनी नगर सभापति काशीराम आचार्यको धन्यवाद मन्तव्यमा सम्पन्न भएको थियो ।