माओवादी मन्त्री बन्ने सर्ट लिष्ट सूचीमा बागलुङका देबेन्द्र पौडेलको पनि नाम 

माओवादी मन्त्री बन्ने सर्ट लिष्ट सूचीमा बागलुङका देबेन्द्र पौडेलको पनि नाम 

  • श्रावण १३, २०७८ बुधवार
  • १३:३५:३६ बजे
  • 7.1K
    SHARES
  • माओवादी मन्त्री बन्ने सर्ट लिष्ट सूचीमा बागलुङका देबेन्द्र पौडेलको पनि नाम 

    काठमाडौं : नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले गत साता पेरिसडाँडामा आयोजित एक कार्यक्रममा आफ्नो पार्टीका ४९ जनै सांसदलाई मन्त्री चाहिएको र यसले गर्दा आफू बेचैन भएको बताएका थिए ।


    अन्ततः माओवादीले ४९ सांसद मध्येबाट मन्त्री बन्ने सम्भावित नामहरूको ‘सर्ट लिस्ट’ तयार पारेको छ । सर्ट लिस्टमा १३ जना नेताको नाम छ । माओवादीले ६ जनासम्म मन्त्री पाउने सम्भावना छ । दुई जना, पम्फा भुसाल र जनार्दन शर्मा यसअघि नै मन्त्री बनिसकेका छन् ।


    माओवादी स्रोतका अनुसार प्रदेश १ बाट सुरेशकुमार राई, सुदन किराती र अमनलाल मोदीमध्ये एक जनालाई मन्त्री बनाउने तयारी छ ।

     

    प्रदेश २ बाट मात्रिका यादवको नाम आएको छ ।

    बागमती प्रदेशबाट हरिबोल गजुरेल, शशी श्रेष्ठ र अञ्जना बिसंखेमध्येबाट एकजना मन्त्री हुने माओवादी स्रोतले बतायो । हरिबोललाई पठाइएको अवस्थामा उनले पार्टीका तर्फबाट सरकारको नेतृत्व गर्ने माओवादीका नेताहरू बताउँछन् । त्यो अवस्थामा उनी उपप्रधानमन्त्री पनि बन्न सक्छन् ।

    तर, सरकारमा पार्टीको नेतृत्वमा हरिबोलले गर्ने कि नारायणकाजी श्रेष्ठले गर्ने भन्ने टुङ्गो लागिसकेको छैन ।

    गण्डकीको प्रतिनिधित्व हुने गरी नारायणकाजी श्रेष्ठ, देवेन्द्र पौडेल र हरि अधिकारीको नाम सर्ट लिस्टमा परेको छ । उनीहरूमध्ये एकजना मन्त्री बन्ने स्रोतले बतायो । यी तीन नाममध्ये नारायणकाजी श्रेष्ठलाई माओवादीबाट उपप्रधानमन्त्रीसहित सरकारको नेतृत्व गर्ने गरी पठाउने सम्भावना बढी देखिएको माओवादी नेताहरू बताउँछन् । तर, बागलुङका सांसद देवेन्द्र पौडेलले एकपटक पनि मन्त्री नबनेको स्थायी कमिटी सदस्य भएकाले आफूले अवसर पाउनुपर्ने बताउँदै आएका छन् ।

    लुम्बिनीबाट महेश्वर गहतराज र जयपुरी घर्तीको नाम चर्चामा छ । उनीहरूमध्ये एकजना मन्त्रीमा पर्ने भएका छन् । महिला र दलितको कोटा मिलाउँदा दुई मध्ये एकजना पर्न सक्ने स्रोतले बतायो ।

    कर्णालीबाट जनार्दन शर्मा मन्त्री बनिसकेका छन् । सुदूरपश्चिमबाट थारु समुदायका हरिराम चौधरीको नाम चर्चामा छ ।

    वर्षमान पुन, शक्तिबहादुर बस्नेत ओली सरकारका पालामा मन्त्री बनिसकेको हुनाले उनीहरु सर्ट लिस्टमा परेका छैनन् । त्यस्तै शशी श्रेष्ठ र जयपुरी घर्ती संसदीय समितिको सभापति रहेका छन् । उनीहरुको हैसियत पनि राज्यमन्त्रीको सरह हुन्छ ।  

    बुधबार बिहान बालुवाटारमा बसेको सत्तारुढ गठबन्धनको बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवाले चाँडो मन्त्रीहरूको नाम टुङ्गो लगाउन प्रचण्डलाई आग्रह गरेका थिए । प्रचण्डले एक–दुई दिनमै मन्त्रीहरूको नाम पठाउने बैठकमा बताए ।

    गठबन्धनका शीर्ष नेताहरूले आजै बैठक बसेर थप छलफल गर्ने बालुवाटारमा सहमति भएको स्रोतले बतायो । रातोपाटीबाट 

    सम्बन्धित समाचार