बागलुङ : दुई वर्ष अगाडिको बजेटमा धौलागिरि अस्पताललाई दुई सय शैयामा स्तरोन्नति गर्ने सरकारले घोषणा गरेको थियो ।
सरकारले अस्पतालको स्तरोन्नति गर्ने घोषणा गरेर आवश्यक बेड खरिदका लागि रकम पनि पठायो । त्यसबाट बेड खरिद भएर अहिले पनि धौलागिरि अस्पतालमा थन्किएका छन् । ती बेड राख्ने भौतिक पूर्वाधार पनि छैन र त्यसलाई उपयोगमा ल्याउने जनशक्ति पनि छैनन् । कोरोना महामारी नियन्त्रणका लागि भन्दै बागलुङमा अहिले पनि कडा निषेधाज्ञा जारी छ ।
कोभिडका सङ्क्रमितहरु केही घटेको जस्तो देखिए पनि जोखिम अझै कायमै छ ।
कोरोनाको दोस्रो लहरमा स्वास्थ्यमा गम्भीर समस्या देखिएको धेरै जनालाई धौलागिरि अस्पतालको आइसियुमा राखेर पनि उपचार गरियो ।
तर कोरोना महामारी जारी रहेकै समयमा धौलागिरि अस्पतालको आइसियु कक्ष बन्द भएको छ ।
जनशक्ति अभावमा आइसियु कक्ष सञ्चालन गर्न नसकिएको धौलागिरि अस्पतालले जनाएको छ । आवश्यक जनशक्ति नभएपछि अहिले आइसियु बन्द भएको छ,’धौलागिरि अस्पताल बागलुङका मेडिकल सुपरीटेन्डेन्ट डा. शैलेन्द्र विक पोख्रेलले भने,‘अहिले भएको जनशक्तिले इमर्जेन्सी कक्षलाई मात्रै पनि थेग्न गाह्रो भएको छ ।’
अस्पतालमा अहिले जम्मा ६ जना मात्रै मेडिकल अधिकृत कार्यरत रहेको उनले बताए ।
‘ ६ जना मात्रै मेडिकल अधिकृत हामीसंग कार्यरत हुनुहुन्छ, उहाँहरु इमरजेन्सी कक्ष र प्रसुति कक्षमा खटिनुपर्छ,’ उनले भने,‘आइसियुका लागि जनशक्ति पुगेको छैन ।’ धौलागिरि अस्पताल ५० शैयाको हुँदा धौलागिरिका अस्पतालका लागि ६ जना मात्रै मेडिकल अधिकृतको दरबन्दी सरकारले तोेकेको थियो । अहिले दरबन्दीका कुनै पनि डाक्टर धौलागिरि अस्पतालमा छैनन् । प्रदेश सरकारले पठाएको ३ जना र करारमा अन्य ३ जा मेडिकल अधिकृत कार्यरत रहेको उनले बताए ।
‘जनाको दरबन्दीमा तीन जनाको सरुवा भयो, तीन जना अध्ययनका लागि गएपछि मेडिकल अधिकृतको दरबन्दी पूरै खाली भएको छ,’ उनले भने,‘हामीले कम्तीमा १५ जना चाहिन्छ भनेर माग गरेको छौं तर व्यवस्थापन भएको छैन ।’
तीन सिफ्टमा डाक्टर खटाउनुपर्ने भएकाले आइसियु सञ्चालनमा कठिनाइ भएको उनको भनाइ छ । ६ जनालाई एक पटक मात्रै ड्युटी खटाउन पाए त काम चलाउन सकिन्थ्यो, २४ सै घण्टा चल्ने भएपछि सफ्टमा ड्युटी लगाउनुप-यो,’ उनले भने,‘आइसियु सञ्चालनका लागि छुट्टै ६ जना डाक्टरको आवश्यकता पर्छ ।’
जनशक्तिको अभावमा अस्पतालको सेवा प्रभावित हुन थालेपछि आफुले मन्त्रालय विभाग धाइरहेको समेत उनले जानकारी गराए ।
‘म दुई हप्तादेखि यसैका लागि दौडधुपमा छु, स्वास्थ्य मन्त्रालयमा मन्त्रीज्यूसंग कुरा भयो, विभागमा पनि महानिर्देशकज्यूसंग कुरा भएको छ, प्रदेशमा कुरा भएको छ, तर जनशक्तिको व्यवस्थापन हुन सकेको छैन,’ उनले भने ।
अस्पतालमा अहिले कोभिड सङ्क्रमित एक जनालाई मात्रै इमरन्जेन्सीमा राखेर उपचार दिइरहेको तर नर्मल आइसियु सञ्चालन नभएको उनी बताउँछन् । अस्पतालले केही बेड एनआइसियु पनि सञ्चालनमा ल्याएको थियो ।
जनशक्तिको अभावमा त्यसले पनि गति लिन सकेको छैन ।
अस्पतालसंगै रहेका पोर्टेबल भेन्टिलेटर प्रयोग गरेर तयार गरिएको एनआइसियु कक्ष पनि सञ्चालन हुन नसकिरहेको उनी बताउँछन् ।
‘हामीले एनआइसियु कक्ष सञ्चालनका लागि तीन करोड रुपैयाँ माग गरेका थियौं तर जम्मा ६० लाख मात्रै आएको छ, त्यसले गर्दा इकुप्मेन्टहरु फुल्ली जडान हुन सकेको छैन,’ पोख्रेलले भने,‘विगतमा निकै अप्ठ्यारो परेको बेला सञ्चालनमा ल्याएका थियौं त्यो पनि पूर्ण छैन ।’
आइसियु सञ्चालन नहुँदा कोभिडका बिरामी सबैभन्दा बढी मारमा पर्ने भएकाले आफूले सम्बन्धित निकायमा पटकपटक यस बारेमा जानकारी गराएको उनको भनाइ छ ।
गतहप्ता मात्रै अस्पताल व्यवस्थापन समिति, जिल्लाबाट प्रतिनिधित्व गर्ने सांसद र राजनीतिक दलका नेताहरु सहित स्वास्थ्य मन्त्रालयमा पुगेर मन्त्रीलाई भेट्दा सकारात्मक जवाफ पाए पनि कार्यान्वयनमा जान कति समय लाग्ने थाहा नभएको उनी बताउँछन् । अब कोरोनाको तेस्रो लहरको विषय उठिरहँदा जनशक्ति अभावले अस्पतालका सेवा प्रभावित हुँदै गएको छ ।
अस्पतालमा अहिले १० जना विशेषज्ञ डाक्टर कार्यरत छन् । मेडिकल सुपरिटेन्डेन्ट बाहेक अन्य सबै करारका छन् ।
फिजिसियन दुई जना मात्रै भएकाले मेडिकल अधिकृतको अभावमा अस्पतालको आइसोलेसन कक्ष सञ्चालनका लागि समस्या देखिएको छ । तेस्रो लहरमा बढी बालबालिका प्रभावित हुने भनिएकाले एनआइसियु कक्षलाई तयारी गर्नुपर्ने भए पनि त्यसको काम पनि अगाडि बढ्न सकेको छैन ।
अस्पतालमा उपकरणहरु थपिदै गए पनि जनशक्ति नहुँदा यहाँका नागरिकलाई भने जस्तो सेवा दिन नसकेको अस्पताल व्यवस्थापन समितिका अध्यक्ष केवी राना मगर बताउँछन् ।
‘विपन्न नागरिकलाई राम्रो स्वास्थ्य सेवा पु¥याउनुपर्छ भनेर विभिन्न उपकरणहरु थपिएको छ,’ उनले भने,‘तर सरकारले जनशक्तिको व्यवस्थापन नगर्दा समस्या भएको छ । सरकारले डाक्टर पनि नपठाउने र हामीलाई डाक्टर राख्ने अधिकार पनि नदिएका कारण यस्तो भएको हो ।’
जनशक्तिको समस्याको विषयमा प्रदेश सरकारको स्वास्थ्य मन्त्री मधुमाया अधिकारी, संघीय सरकारका स्वास्थ्य राज्यमन्त्रीलाई पनि जानकारी गराएको उनले बताए ।
‘हामीले आफ्नो तर्फबाट गर्ने सक्ने जति सबै गरेका छौं, सरकारको भर पर्नुपर्ने हाम्रो काबु बाहिरको विषयले समस्या पारेको छ,’ राना भन्छन् ।