६ महिना भो, धौलागिरि अस्पतालका स्वास्थ्यकर्मीले जोखिम भत्ता नपाएको !

६ महिना भो, धौलागिरि अस्पतालका स्वास्थ्यकर्मीले जोखिम भत्ता नपाएको !

  • माघ ४, २०७७ आइतवार
  • २०:२०:५८ बजे
  • 4.4K
    SHARES
  • ६ महिना भो, धौलागिरि अस्पतालका स्वास्थ्यकर्मीले जोखिम भत्ता नपाएको !

    बागलुङ : धौलागिरि अस्पतालमा दुई जना कोरोना संक्रमितको उपचार खर्च डेढ करोड । यो शिर्षकको समाचार गत जेठमा पोखराबाट सार्वजनिक भयो ।

    गण्डकी प्रदेश सभामा एक सदस्य यो विषयमा प्रश्न उठाएपछि यो समाचार सार्वजनिक भएको थियो । यो समाचारले धौलागिरि अस्पतालको चर्को आलोचना भयो । स्वास्थ्यकर्मीहरुले गम्भीर आपत्ती नै जनाएपछि अस्पताल प्रशासनले त्यो दुई जनाको उपचार खर्च नभई कोभिड सुरु भएपछि असार मसान्तसम्म कोरोना विरुद्ध फ्रन्टलाईनमा खटिने स्वास्थ्यकर्मीलाई उपलब्ध गराउने भनिएको जोखिम भत्ता माग गरिएको स्पष्ट पा-यो ।

    यो विषयका कारण बागलुङमा स्वास्थ्यकर्मी र पत्रकारबीच एकखालको शीतयुद्ध नै चल्यो । गण्डकी प्रदेश सरकारको सामाजिक विकास मन्त्रालयले त्यसबारेमा छानबिन गर्ने बतायो ।

    मन्त्रालयले छानबिन ग-यो या गरेन । गत असार मसान्त मसान्तमा जिल्लाभरका आईसोलेसनमा खटिएका स्वास्थ्यकर्मीका लागि जोखिम भत्ता दिनु भन्दै धौलागिरि अस्पतालको खातामा ९१ लाख रुपैयाँ भने पठायो । तर त्यस यता जोखिम भत्ता मात्रै होईन अन्य उपचार खर्चका कुनै पनि रकम धौलागिरि अस्पतालमा आएको छैन ।

     सरकारले गत चैत देखि नै कोरोना भाइरस (कोभिड—१९) संक्रमित बिरामीको उपचार गर्ने अस्पतालमा कार्यरत स्वास्थ्यकर्मीहरुलाई जोखिम भत्ता प्रदान गर्ने निर्णय गरेको थियो । धौलागिरी अस्पताल बागलुङलाई कोभिड अस्पतालको रुपमा सूचिकृत गरिएको । यस अस्पतालले नेपालमै पाँचौ र छैठौं कोरोना संक्रमितको उपचार ग-यो । आफ्नो ज्यान जोखिममा राखेर कोरोना अस्पतालमा संक्रमितको उपचारमा खटिने स्वास्थ्यकर्मी र कर्मचारीलाई सरकारले प्रदान गर्ने भनेको जोखिम भत्ता  पाउन सकेका छैनन् ।

    विगत ६ महिना देखि जोखिम भत्ता बापतको कुनै पनि रकम नआउँदा स्वास्थ्यकर्मीहरु जोखिम भत्ता पाउनबाट बञ्चित भएको अस्पतालमा कार्यरत स्वास्थ्यकर्मीहरु बताउँछन । ‘अन्य जिल्लामा कोभिड अस्पतालमा कार्यरत स्वास्थ्यकर्मीले जोखिम भत्ता पाए भन्ने सुनिएको छ । अस्पतालमा कार्यरत नर्सिङ अधिकृत देवी भट्टराईले भनिन्– तर हाम्रो अस्पतालले अहिलेसम्म दिएको छैन । अस्पताल प्रशासनले प्रदेश र संघबाट आउनुपर्ने हो आएको छैन भनेको छ । कहिले आउने हो पत्तो छैन ।’

    सरकारले निर्णय गर्ने र कार्यान्वयन नगर्दा जोखिम मोलेर संक्रमितको सेवामा खटिएका स्वास्थ्यकर्मी तथा कर्मचारीको मनोबल गिर्न सक्छ । साउन महिना यता कुनै पनि रकम नआएको धौलागिरि अस्पतालको सूचना अधिकारी तिर्थराज गौतमले बताए ।

    ‘असार मसान्तमा ९१ लाख रुपैयाँ आएको थियो, त्यसपछि कुनै पनि रकम आएको छैन,’ गौतमले भने,‘जोखिम भत्ता मात्रै होईन अन्य उपचार खर्च लगायतको रकम पनि आएको छैन ।’ धौलागिरि अस्पताल प्रशासनले प्रदेश सरकारबाट आएको बजेटले तीन महिनाको लागि मात्र जोखिम भत्ता पुगेको जनाएको छ ।

    ‘चैत वैशाख र जेठको मात्रै जोखिम भत्ता भनेर स्वास्थ्य साथीहरुलाई खुवाउन सक्यौं,’ धौलागिरि अस्पतालका प्रमुख मेडिकल सुपरिटण्डेण्ट डा शैलेन्द्र विक पोखरेलले भने,‘ पहिले आएको रकमले तीन महिनाका लागि पुग्यो । त्यस पछाडी कही कतैबाट आएको छैन । अहिले स्वास्थ्यकर्मीहरुले कहिले आउँछ जोखिम भत्ता भन्दै हुनुहुन्छ । संघिय सरकारबाट आउने हो की प्रदेश बाट आउने हो कुनै निधो छैन ।’

    प्रदेश सरकारबाट विवरण माग भएपछि पठाएको तर त्यसपछि कुनै जानकारी नआएको उनले बताए । ‘प्रदेश सरकारले विविरण माग गरेको थियो, हामीले सबै विवरण पठाएका छौं,’ उनले भने,‘त्यसपछि कुनै जानकारी आएको छैन ।’ अघिल्लो पटक प्रस्ताव पठाउँदा मात्रै पनि बाहिर आएको अनावश्यक टिप्पणीले मनोबल कमजोर बनाएको बताए ।

    ‘अघिल्लो पटक हामीले प्रस्ताव मात्रै पठाएका थियौं, सबैतिर त्यसरी नै पठाईएको थियो, तर हाम्रो विषयमा अलि ज्यादा नै राजनीतिक भयो र आलोचना भयो,’ उनले भने,‘त्यसले गर्दा मनोबल पनि गिराउने काम ग-यो । यस पटक मागेको विवरण पठायौं तर सोधखोज गरेका छैनौं ।’ अहिलेसम्म धौलागिरि अस्पतालले करिब तीन सय जना कोभिड संक्रमित बिरामीको उपचार गरेको छ ।

    अस्पतालमा १ सय ४७ स्वास्थ्यकर्मी र कर्मचारी कार्यरत छन् । सरकारले कोभिड अस्पतालमा उपचाररत संक्रमितका लागि दिने भनिएको रकम पनि हालसम्म धौलागिरी अस्पतालमा उपलब्ध नगराएको सूचना अधिकारी गौतमको भनाई छ ।

     सरकारले सामान्य संक्रमितलाई ३५ सय, लक्षण सहितका बिरामीलाई ७ हजार र आईसीयु तथा भेन्टिलेटरमा बसेका बिरामीलाई १५ हजारका दरले रकम पठाउने निर्णय गरेको थियो । तर हाल सम्म कुनै पनि विरामीको उपचार बापतको रकम अस्पतालमा नआएको गौतमले बताए ।

    अस्पतालले अस्पताल भित्र २५, धौलागिरी बहुमुखी क्याम्पसरमा ५५ र रात्माटा आईशोलेशनमा ३५ बेड क्षमता भएको आईशोलनमा संक्रमितहरु राखेर उपचार गर्दै आएको थियो । धौलागिरी अस्पताल बाहेक अन्य स्थानीय तहमा रहेका आईसोलेशनमा खटिएका स्वास्थ्यकर्मीलाई भने स्थानिय तहले नै व्यवस्थापन गरेको स्वास्थ्य कार्यालय बागलुङका  प्रमुख सुरज गुरौले जानकारी दिए । गुरौका अनुसार स्वास्थ्य मन्त्रालयले गत चैत्र देखि असारसम्मको जोखिम भत्ता दिने भने पनि त्यस भन्दा पछाडीको कुनै निर्णय गरेको छैन ।

    तर कोभिड अस्पतालको हकमा बाहिरी जिल्लामा जोखिम भत्ता आएको भन्ने सुनिएको उनले बताए ।

    गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयले भने प्रदेश मातहतका सबै कोभिड अस्पतालकामा कार्यरत स्वास्थ्यकर्मीका लागि जोखिम भत्ता उपलब्ध गराउन केन्द्र सरकारसँग ताकेता गरेको निर्देशनालयका अस्पताल विकास तथा

    चिकित्सा सेवा महाशाखा प्रमुख डा रामबहादुर केसीले बताए । 

    सम्बन्धित समाचार