बागलुङ : धौलागिरि अस्पताल बागलुङले ड्रिलिङ प्रविधिबाट जमिनमुनीको पानी निकालेर प्रयोग गर्न योजना अगाडी बढाएको छ ।
अस्पतालमा खानेपानीको समस्या भएपछि अस्पतालले जमिनमुनीको पानी पम्पिङ गरेर प्रयोग गर्ने रणनीतिका साथ योजना अगाडी बढाएको हो ।
गण्डकी प्रदेश सरकार सामाजिक विकास मन्त्रालयको ४० लाख बजेटमा योजना अगाडी बढेको हो ।
अस्पतालमा दैनिक आवश्यक पर्ने पानी जमिनमुनीबाटै निकालेर प्रयोग गर्ने योजना अनुसार ड्रिलिङ गर्न सुरु गरिएको धौलागिरि अस्पताल विकास समितिका अध्यक्ष केवि रानामगरले बताए ।
‘हामीले यहाँ पानीको निकै समस्या छ, दैनिक ठूलो मात्रामा पानी किनेर प्रयोग गर्नुपर्छ,’ उनले भने,‘दैनिक रुपमा आवश्यक पर्ने पानी यही हाम्रै जमिनभित्रबाट निकालेर उपयोग गरौं भन्ने हिसाबले यो योजना अगाडी बढेको हो ।
धौलागिरि अस्पतालमा अहिले दैनिक ४० हजार लिटर पानी प्रयोग हुने गरेको छ ।
अस्पतालले दैनिक रुपमा ६ ट्याङ्करसम्म पानी किनेर प्रयोग गर्ने गरेको अस्पताल विकास समितिका सदस्य शालिकराम शर्माले बताए ।
अस्पतालमा पानीको समस्या समाधानका लागि रोटरी क्लबसंग कुराकानी भए पनि कोभिडका कारण योजना अगाडी बढ्न नसेकेपछि प्रदेश सरकारसंग योजना माग गरिएको उनले बताए ।
अहिले गण्डकी प्रदेश सरकारको सामाजिक विकास मन्त्रालय मार्फत ४० लाख बजेटमा काम सुरु भएको हो ।
धौलागिरि अस्पतालको आवास भवन अगाडीको प्राङ्गनमा ड्रिलिङ गरी करिब १५० मिटर तल जमिनबाट पानी तान्ने योजना रहेको बताईएको छ ।
उक्त योजना गण्डकी प्रदेश सरकार सामाजिक विकास मन्त्रालय अस्पताल विकास महाशाखा प्रमुख डा. रामबहादुर केसीले शिलान्यास गरे ।
जमिन मुनीबाट पानी निकाल्का लागि डिटीएच रक ड्रिलिङले जिम्मा लिएको छ । एक हप्तामा पानी निकाल्ने कम्पनीका सुपरभाईजर सूर्य चिमोरियाले बताए ।
‘कति तल पुगेपछि पानी आउँछ भन्ने त थाहा छैन, करिब १५० मिटर तलसम्म पुगेपछि पानी प्राप्त गर्न सकिन्छ भन्ने हाम्रो विश्वास छ,’ उनले भने,‘एकहप्ता भित्रमा पानी निकाल्न सकिन्छ भन्ने हाम्रो विश्वास छ ।’
प्रतिसेकेन्ड २.७५ लिटर पानी निकाले उपयोग गर्ने योजना अस्पतालको छ ।
आठ इन्चको पाईप प्रयोग गरेर पानी तान्न कम्पनीले जनाएको छ ।
सामाजिक विकास मन्त्रालयले ४० लाख बजेट विनीयोजन गरे पनि ड्रिलीङको काम १९ लाखमा पूरा हुने धौलागिरि अस्पतालका लेखा अधिकृत झलक आचार्यले बताए ।
१९लाखमा पानीको ड्रिलिङ भए पनि अन्य संरचना तयार पार्न रकम अलि अपुग हुने उनी बताउँछन् ।
पम्पिङ गरिएको पानीलाई एक लाख लिटरको ट्याङ्की निर्माण गरेर संकलन गरिनेछ ।
त्यसका लागि खानेपानी डिभीजन कार्यालय मार्फत काम हुने गरी मन्त्रालयले अर्को ४० लाख रुपैयाँ बजेट विनीयोजन गरेको छ ।
यस अगाडी चिल्ड्रेन लाईफ ईङ्लिस बोर्डिङ स्कुलमा पनि यही कम्पनीले पानी निकालेकाले
पानी भेटिने विश्वास गरिएको छ ।