ज्ञानमाया घर्ती मगर : दर्लिङ गाविस वडा नम्बर ५, ६, ७, ८ र ९ अन्तर्गत पर्ने क्षेत्र प्रकृतीको सुन्दर वरदान भएको ठाउँ हो । जुन क्षेत्र बागलुङ, गुल्मी र प्यूठान गरी तीन जिल्ला र धौलागिरि, राप्ती र लुम्बिनी गरी तीन अञ्चल, गण्डकी र लुम्बिनी गरी दुई प्रदेश बीचको सिमाना जोडिएको ठाउँ हो । बडिगाड–१० धेरैजसो बस्ती उच्च स्थानमा रहेका छन् । उच्चस्थानमा बस्ती भएकाले बिहान् उठ्ने बित्तीकै चाँदी जस्तै सेता टल्किने अटल हिमालहरुको दर्शन गर्न पाइन्छ । मूलको चिसो पानी पिउन पाइन्छ ।
मृत्युलाई जित्ने अचुक औषधियुक्त जडिबुटीहरु प्रसस्त पाइन्छन् । माघ महिनाको अन्तिमदेखि वैशाखसम्म नेपाली राष्ट्रिय फूल लालीगुराँस ढकमक्क फुलेर मन लोभ्याउने गर्छन् । तन मन सफा र स्वस्थ बनाउने स्वच्छ हावा पानी सेवन गर्न पाइन्छ । यस्ता अनगिन्ती प्राकृतिक स्रोत भएर पनि बडिगाड–१० ले विकासको फड्को मार्न सकेको छैन । बडिगाड–१० मा वन जङ्गल पनि प्रचुर रहेको छ । वन जङ्गलमा रुख विरुवाका थुप्रै जडिबुटी पनि रहेका छन् । जस्तैः चिराईतो, सतुवा, सोमाई, रातो च्याउ, टोप्रेझार, बिलेजोर, हर्रो–बर्रो, सिलटिमुर आदी ।
यति धेरै प्राकृतिक जडिबुटी तथा विभिन्न स्रोत भएर पनि बडिगाड–१० का बासिन्दाले यसलाई उपयोग गरेर आम्दानी गर्न सकेका छैनन् । मोटरबाटो खने पनि वर्षा याममा पानी पर्दा पहिरोले बाटो पर्ने र बगाउने गरेकोले बाटोको अवस्था निकै नाजुक हुन्छ । साथै गाडी चल्न ठप्प हुन्छ । बडिगाड–१० का बासिन्दाहरुले सानो लघुविद्युत बाल्न बाध्य छन् । महिनामा ३÷४ पटक मर्मत गर्नु पर्दछ कुनै महिना त ठपक्कै बन्द हुन्छ । अझ साबिकको दर्लिङ गाविस वडा नम्बर ७ चिसापानीका बासिन्दा यसबाट पनि बञ्चित छन् ।
अध्याँरोमा बस्न बाध्य छन् । गण्डकी प्रदेश सरकारले उज्यालो प्रदेशको अभियान चलाएपछि केही टोलमा पोल त वितरण गरेको थियो । विश्व महामारीका रुपमा फैलिएको कोरोना भाइरस ( कोभिड—१९) ले गर्दा त्यो पनि जताबाट आएको उतै गयो । साथै बुढापाकाले भन्दै आएका ‘अभागीले आँटेको स्वर्गको जरा फाटेको’ भन्ने उखानले सार्थकता पायो । स्थानीय तहको सरकारले केही सुविधा उपलब्ध गराए पनि त्यहाँका भद्र भलादमी हुँ भन्ने आडम्बर भएकाले आफ्नै छोराछोरी, बुहारी, नातागोताहरुलाई उपलब्ध गराउँछन् ।
बाँकी जनताले सुइँको समेत पाउँदैनन् । चिसापानीको टोलका विद्यार्थीहरु कक्षा–६ देखि माथिको शिक्षा हाँसिल गर्न साढे एक घण्टाको बाटो हिँडेर गुल्मी जिल्लाको मालिका गाँपालिकामा जाने गर्दछन् । गाउँपालिका कार्यालय जानको लागि गाडीमै ३ घण्टा लाग्दछ । अहिले पानी परेर बाटो बिग्रेकाले गुल्मीको बाटो घुमेर जाँदा ४ घण्टा लाग्छ । बडिगाड–१० का बासिन्दा यस्ता थुप्रै समस्या भोग्न बाध्य छन् । कृषिको सन्दर्भमा हेर्दा कोदो, मकै, गहुँ, जौ, तोरी, धान, भटमास, केराउ जस्ता अन्न आलु, रायोको साग, गोबी, फर्सी, करेला तरकारीजन्य पलम, काँक्रो, आरु, बखडा, तरुल, स्याउ, केरा आदी फलफूलजन्य उत्पादन गरिन्छ ।
गाई, भैंसी, बाख्रा, भेडा, लोकल कुखुरा, कुकुर आदि घरपालुवा जीव जनावर पालिन्छ । बडिगाड–१० मा अझैसम्म पहिले पहिलेको जस्तै खेतबारीमा गोठ सार्ने चलन कायम रहेको छ । मकै स्याहारी सकेपछि भदौ,असोज र कार्तिक महिनामा गोठ सारिन्छ । त्यस्तै कोदो काटिसकेपछि खर, स्याउला, बलाङ, त्रिपाल आदीले बनाएको गोठ सार्ने गरिन्छ । सहरमा बैंक तथा सरकारी संघ– संस्थामा गार्डले गरे जस्तै सुरक्षा दिने काम बडिगाड—१० मा कुकुरले गर्दछ । त्यहाँका वासिन्दाले अन्नबाली र फलफूल उब्जाए पनि विक्री वितरण गर्ने बजार नभएकाले व्यावसायिक गर्न सकेका छैनन् । खान सके खाएका छन् । बाँकी कुहिएर जान्छ ।
गाई र भैंसी पालेर प्रसस्त दूध उत्पादन गरे पनि घरमा उपयोग गर्ने बाहेक अरु परिकार बनाउन र बेच्न सकेका छैनन् । बर्खा र हिउँदमा थरि थरिका प्रसस्त तरकारी उत्पादन हुन्छन् तर बजार नभएकोले मान्छेले खान सके खाने नत्र गाई भैंसीलाई कुँडो हन्छ । प्रकृतिको अनुपम ठाउँ भएकोले बडिगाड–१०मा स्वच्छ हावापानी रहेको छ । गर्मी महिनाको टन्टलापुर घाममा पनि चिसो स्वच्छ बतास चल्ने हुनाले सजिलै कामकाज गर्न सकिन्छ । हावाबाट बिजुली निकाल्ने प्रयास गरे पनि त्यहाँको बस्तीलाई पुग्ने बिजुली निकाल्न सकिन्छ ।
हावा जस्तै पानी पनि स्वच्छ र सफा छ । अन्य क्षेत्रको तुलनामा त्यहाँको मुहानहरुमा गुलियो र चिसोपानी रहेको छ । दिनको १र२ घण्टा पानी मात्र पिएर पनि बलको काम गर्न सकिन्छ । यी सबै कुरा प्रकृतिको वरदान मान्न सकिन्छ । बडिगाड–१० का बासिन्दाले बोटविरुवा रोपेर ठूलाठूला रुख त बनाएका छन् । तर फर्निचर उद्योग नहुँदा सहि तरिकाले सदुपयोग गर्न पाएका छैनन् । आफ्नो छोराछोरीलाई पढाउन जनतन विद्यालयमा पठाउँछन् । तर विद्यालय टाढा भएकाले पुगे नपुगेको खबर लिन सकेका छैनन् ।
मोबाइल फोनबाट सम्पर्क गर्न पनि गाउँमा लाइन नहुँदा टावरले अर्थात नेटवर्कले काम गर्दैन । तसर्थ कतिपय विद्यार्थी नियमित विद्यालयमा उपस्थित हुन नसक्दा धेरै वर्ष एउटै कक्षामा फेल भै रहन्छन् । त्यहाका बासिन्दाले देश–विदेशमा भएको आधुनिक समाज परिवर्तन र विभिन्न घटनाका कुरा रेडियो मार्फत सुन्छन् । तस्विर र भिडियोमा देख्न पाएका छैनन् । विश्व महामारी रुपमा फैलिएको कोरोनाले विद्यालय बन्द हुँदा सबै ठाउँमा वैकल्पिक शिक्षाको अनलाइन कक्षा सञ्चालन भए तर यहाँका बालबालिका असुविधाको कारण खेलेर समय खेर फाले । प्राकृतिक रुपमा धनी भए पनि आधुनिक विकासमा पछि पर्नुको मुख्य कारण राजनीति रहेको छ ।
२०७२ सालको संविधान पछि नेपालको नयाँ नक्सा अनुसार बडिगाड–१० लुम्बिनी प्रदेशमा गाभिएको थियो । त्यही नक्सालाई यथावत रहन दिएको भए वडिगाड–१०ले विकासको मुहार फेर्ने थियो । तर अरुले तपाईं नभने पनि मपाई गर्ने राजनीतिक नेताहरूले डेलिगेसन गएर गण्डकी प्रदेशमै फिर्ता गर्ने गरी नक्सा बदले । जसको कारणले वडिगाड–१० आधुनिक नेपालमा पनि विकट बन्न पुगेको छ । त्यतिबेला राजनीति गर्ने ठाउँ नभएर नक्सा त बदल भयो । चुनाव पनि जिते तर अहिले फर्केर हेरेका छैनन् ।
सायद बडिगाड –१० छ भन्ने नाम समेत नेताहरुले भुलिसकेका छन् । त्यसकारण बडिगाड–१० ले आजसम्म विकासको गति लिन सकेको छैन । यसरी माथि उल्लेख गरिए अनुसार बडिगाड–१०मा अत्याधिक प्रकृतिको सुन्दुर पक्ष हो । जहाँ पारम्परिक पशुपालन, फलफूल तथा सागपात उत्पादन, सर्वोपरी मानिएका बालीहरुको उत्पादन एवं पर्यटकीय दृष्टिकोणले विकासशील ठाउँ भए पनि विकास हुन सकेको छैन । यदी बडिगाड–१० मा उत्पादन हुने तरकारी अन्नबाली र दूधको विक्री वितरण गर्ने बजार हुने हो भने तीव्र गतिमा विकास हुनसक्छ ।
बडिगाड–१० को वन जङ्गलमा उत्पादन भएका जडिबुटी तथा काठ सहि तरिकाले प्रशोधन गर्ने साधन र विक्री वितरण गर्ने बजार व्यवस्थापन भएमा त्यहाँका बासिन्दाको जीवनचक्र फेरिने देखिन्छ । अत्यन्त मनोरम दृश्य अवलोकन गर्न सकिने ठाउँ भएकाले पर्यटकीय क्षेत्रको रुपमा पनि विकास गर्न मद्दत पुग्ने ठाउँ छ । बडिगाड–१० प्राकृतिक रुपमा धनी र सुन्दर भए पनि भौतिक सुविधा तथा आर्थिक विकासमा निकै पछि परेको देखिन्छ ।
बडिगाड–१० लाई जसरी प्रकृतिले अनुपम वरदान दिएको छ । त्यसरी भौतिक तथा आर्थिक रुपमा विकासका गति बढाउन जरुरी छ । यसका लागि स्थानीय सरकार र प्रदेश सरकारले उचित बजेट व्यवस्थापन गर्नुपर्छ । साथै कन्द्रीय सरकार तथा अन्य सरोकारवालाहरुको पनि ध्यान जान जरुरी छ । आशा छ आगामी दिनहरुमा सरोकारवालाहरुको दृष्टी यहाँमा पर्नेछ र सुन्दर ठाउँ भएको देख्न पाइनेछ । साथै यस्ता लेख लेख्नुपर्ने छैन ।