अन्तर्वार्ता

‘सूचना प्रबिधि बिनाको शिक्षा अपुरो हुन्छ’

‘सूचना प्रबिधि बिनाको शिक्षा अपुरो हुन्छ’

  • भाद्र १३, २०७८ आइतवार
  • १९:०७:२४ बजे
  • 8.2K
    SHARES
  • ‘सूचना प्रबिधि बिनाको शिक्षा अपुरो हुन्छ’

    महामारीका रुपमा फैलिएको कारोना भाइरसका कारण विश्व आक्रान्त बनिरहेको छ । यसले प्रभाव सबै क्षेत्रमा परेको छ । अझ भनौँ शिक्षा क्षेत्र झन् बढी प्रभावित बनेको छ । कोरोना संकटका कारण शैक्षिक क्षेत्र चलायमान बनाउन सूचना प्रबिधिको प्रयोग भएका छन् । सबै ठाउँमा भने यसको सहज पहुँच पुग्न सकेको छैन । धेरै चूनौतिहरु छन् । त्यस्ता चूनौतिहरुलाई पार लागउँदै शैक्षिक संस्थाहरुले पठनपाठनलाई तीव्रता दिन थालेका छन् । यसै सन्दर्भमा निसीखोलाको देविस्थान माविले पनि प्रबिधिको प्रयोग मार्फत शैक्षिक गतिबिधिलाई अगाडी सारेको छ । दुर्गम ठाउँमा प्रबिधिको प्रयोगबाट शैक्षिक गतिबिधिलाई निरन्तरता दिन हुने चूनौतिका बारेमा देविस्था माविका प्रधानाध्यापक झगबहादुर क्षेत्रीसँग गरिएको सम्पादित अंश :-

    तपाईलाई बागलुङ संवादमा हार्दिक स्वागत छ !
    धन्यवाद !

    तपाईहरुले निसीखोलामा पहिलो पटक अनलाइन कक्षा सञ्चालन गर्नु भएको छ, यसमा के कस्ता चुनौतिहरु छन् ?
    कोभिड १९ को विश्वव्यापी महामारीका कारण विद्यालयहरु विगत लामो समयदेखि बन्द हुँदा पठनपाठन क्रियाकलाप ठप्प रहेको अवस्थामा विद्यार्थीलाई सिक्ने अवसर प्रदान गर्दै नियमित शैक्षिक गतिविधी संचालन गर्ने उदेश्यले देविस्थान माध्यमिक विद्यालयले  अनलाइन कक्षा संचालन गरेको यहाँलाई अवगत नै छ । यस सन्दर्भमा हाम्रो जस्तो भौगोलिक रुपमा विकट र संचार प्रविधिको पहुँच नपुगेको स्थानमा अनलाइन कक्षा चलाउनु निकै चुनौतिपूर्ण र असम्भव प्राय जस्तै लाग्दथ्यो । 

    सरोकारवाला पक्षसंगको छलफलमा सफल हुन नसक्ने सम्मका सुझावहरु पनि नआएका होइनन् ।  तर पनि हामीले  अनलाइन कक्षा संचालन गरिछाड्यौ । अनलाइन कक्षा संचालनमा मुख्यतया ः कुनै पनि विद्यार्थीको घरमा इन्टरनेट जडान नहुँदा मोवाइल डाटा प्याकमा निर्भर रहनुपर्ने, मोवाइल नेटवर्क राम्रो नहुदा सहज रुपमा कक्षा संचालन गर्न नसकिनु, सबै विद्यार्थीका अभिभावकसंग स्मार्टफोन नहुनु साथै गरिबीका कारण मोवाइल रिचार्ज गर्न समेत समस्या हुने जस्ता समस्या विद्यार्थीले भोग्नु परिरहेको छ भने अर्काे तर्फ शिक्षकहरुमा प्रविधिको ज्ञानको कमी साथै पाठयोजना बनाएर डिजिटल सामग्री सहित सिकाई सहजीकरण गर्नुपर्ने भएकाले समय व्यवस्थापनमा समेत निकै कठिनाई रहेको अनुभव छ । 

    कोरोनाका कारणले गर्दा अहिले जताततै भर्चुअल माध्यम मार्फत पठनपाठन चलिरहेको छ, यस माध्यमबाट शिक्षण सिकाई क्रियाकलाप कत्तिको प्रभावकारी हुँदो रहेछ ? 
    सुचना र प्रबिधिको प्रयोगले मानिसका हरेक क्रियाकलापमा परिवर्तन आइरहे जस्तै शिक्षणमा समेत यसको प्रयोग विकसीत देशहरुले धेरै पहिले देखि नै गर्दै आएको कुरा हामीले सुन्थ्यौ ।  हाम्रो जस्तो विकाशोन्मुख देशमा भर्चुअल माध्यमको प्रयोग विरलै हुने गरेको अवस्थामा जब कोरोना महामारीले विश्व नै आतंकित बन्यो तव सिकाइ क्रियाकलापमा समेत भौतिक उपस्थितिको विकल्प खोज्न थालियो । करिब एक वर्ष पहिले सम्म हामीहरु भर्चुअल माध्यमबाट कक्षा लिन सकिने सोच समेत गर्दैनथ्यौ तर हाल यो अवको उत्तम विकल्प मध्ये एक हुन आएको छ । 

    शिक्षण सिकाईको प्रभावकारिताको कुरा गर्दा महामारी र संकटका बेला यो विधिको प्रयोग गरेर शिक्षण गर्न सकेको खण्डमा विद्यार्थीको पढ्न पाउने नैसर्गिक अधिकार प्रदान गर्न  र  शैक्षिक क्षति कम गर्न सकिन्छ । झट्ट हेर्दा यो महंगो लागे ता पनि यो अन्य माध्यमको तुलनामा सस्तो र सहज माध्यम हो । आफ्नो घर वा अनुकुल स्थानबाट कक्षामा जोडिन मिल्ने भएकाले समयको बचत हुने साथै विद्यार्थीले समेत रेकर्ड गरेर  हेर्न मिल्ने भएकाले यो निकै प्रभावकारी हुने देखिन्छ । यसको प्रभावकारीताका लागि नेट सुविधा र अभिभावक सचेतना अनिवार्य हुदो रहेछ ।

    निसीखोला अझै पनि सूचना प्रबिधिमा पछाडी नै छ, यद्यपी तपाईहरु पठनपाठनलाई सूचना प्रबिधिमैत्री बनाउन खोजि राख्नु भएको छ, यसलाई प्रभावकारी बनाउन के–के आधारभूत कुराहरुको आवश्यक छ ?   
    सामुदायिक विद्यालयलाई हरेक पक्षबाट अब्बल बनाउन सर्वप्रथम त सामुहिक इच्छाशक्ति आवश्यक पर्दछ । पठनपाठनलाई  प्रविधिमैत्री बनाउन दक्ष जनशक्तिको आवश्यकता अनिवार्य सर्त हो । विद्यालयमा कार्यरत शिक्षक तथा कर्मचारीको क्षमता विकास गर्न आवश्यकतामा आधारित नियमित तालिम र प्रशिक्षण चाहिन्छ । नयाँ कुराको सुरुवात गर्दा शिक्षकमा हौसला र यथेष्ट सहयोग जरुरी छ । भौतिक पुर्वाधार पनि बलियो आधार हो । अनलाइन कक्षा चलाउन संथामा इन्टरनेट सुविधा र शिक्षकका हातमा कम्प्युटर चाहिन्छ । विद्यार्थीको हातमा ल्यापटप वा स्मार्टफोन लगाएतका डिभाइसहरु र मोवाइल नेटवर्क नभई हुदैन । सबै कुराको व्यवस्थापन गर्न आर्थिक स्रोत जरुरी पर्दछ । स्रोत व्यवस्थापनको भरपर्दाे आधार तयार गरेर सकारात्मक सन्देश प्रभाव गर्न सक्ने अभिभावक र स्थानिय समुदायको साथ विना अनलाइन कक्षा प्रभावकारी बनाउन सकिदैन ।

    स्थानीय, प्रदेश र केन्द्र सरकारबाट विद्यालयहरुलाई के–के सहयोग भयो भने निसीखोलामा अनलाइन पढाई प्रभावकारी बन्न सक्थ्यो ?  
    सामुदायिक विद्यालयको संचालन गर्न आवस्यक पर्ने स्रोत प्राप्त गर्ने क्षेत्र नै सरकार हो । सरकारी स्रोत प्राप्त गरी समुदाय स्तरबाट संचालित यस क्षेत्रका सामुदायिक विद्यालयहरुमा जस्तोसुकै शैक्षिक गतिविधी संचालन गर्न पनि स्थानिय प्रदेश र केन्द सरकारको सहयोग आवस्यक पर्दछ । अहिलेको विसम परिस्थितिमा अनलाइन पढाई प्रभावकारी बनाउन सरकारले निश्चित अवधीका लागि  विभिन्न पक्षबाट सहयोग गर्नुपर्दछ । विद्यालयहरुमा प्रविधिको प्रयोग गर्न सक्ने जनशक्तिको अभाव रहेकाले सो सम्बन्धी तालिम तथा प्रशिक्षण दिनुपर्दछ । 

    इन्टरनेट र कम्प्युटर ल्यावको व्यवस्थापन गर्न आर्थिक सहायता अपरिहार्य देखिन्छ । यसै गरी केन्द्र सरकारबाट शिक्षा क्षेत्रमा कोभिड १९ को अवधीमा शिक्षण सिकाई क्रियाकलाप संचालन गर्न  विभिन्न शिर्षकमा आएको बजेट समेत निसीखोला गाउँपालिकामा फिर्ता पठाईएको तितो यथार्थ समेत हाम्रा सामु छ । त्यसैले सिकाइ सहजिकरणमा स्थानिय सरकारले समेत नियमित सहयोग, निर्देशन र  अनुगमन गरी आवस्यक बजेट समेत प्रदान गर्नुपर्दछ । यसै गरी तीनै तहका सरकारबाट भौतिक पुर्वाधारमा खर्च गरिने बजेटमा सुचना प्रविधिको क्षेत्रमा आवस्यकता र विद्यालयको प्रस्ताव अनुसार सहयोग गर्न बान्छनिय देखिन्छ ।

    यस क्षेत्रमा इन्टरनेट सुविधाको अभाव रहेकाले विद्यार्थीको सहज पहुच हुने गरी नेटको व्यवस्थापन गर्र्न स्थानिय सरकार लाग्नुपर्दछ भने केन्द्र र प्रदेश सरकारले बालबालिकाले पढ्नका लागि मोवाइल डाटाको प्रयाग गरेमा निशुल्क उपलब्ध गराउने व्यवस्था गर्न जरुरी देखिन्छ । गतबर्ष मात्रै निसीखोलाका कक्षा ४ देखि १२ सम्म अध्ययनरत विद्यार्थीले प्राप्त गर्ने नेपाल टेलिकमको सियुजी सेवा शुल्क समेत विद्यालयहरुले प्राप्त गर्न नसकेको हुदा यसमा समेत ख्याल गरी अनलाइन कक्षा संचालन गर्न प्रोत्साहन गर्न सकेमा निसीखोला जस्ता दुर्गम वस्तीका सामुदायिक विद्यालयमा यसको प्रभावकारिता बढाउन सकिन्छ जस्तो लाग्छ ।

    सूचना प्रबिधि मैत्री शिक्षा बनाउन आवश्यक सामग्री परिपूर्ति भएर मात्रै हुँदैन होला, शिक्षिकहरु पनि त्यसमा पोक्त हुनु पर्छ होला नी ?
    शिक्षण सिकांई क्रियाकलापका अभिन्न पक्ष भनेका शिक्षक र विद्यार्थी हुन । त्यस पछि मात्रै विद्यालय भवन, कक्षाकोठा , फर्निचर लगाएत अनलाइन कक्षा संचालनमा कम्प्युटर र इन्टरनेट सुविधा जस्ता भौतिक सामग्री पर्दछन । बालबालिका  सिक्न उत्सुक र तत्पर छन शिक्षक तयार हुनुपर्दछ । मैले माथि नै भनिसके प्रविधिमैत्री बनाउन शिक्षक दक्ष हुनुपर्दछ । प्रविधीको क्षेत्र नया भएकाले धेरै शिक्षक साथीहरुमा यस सम्बन्धी ज्ञानको अभाव छ । तर ज्ञानको अभाव छ भनेर पनि त भएन । समय र परिस्थिति अनुकुल शिक्षण सिकाइ क्रियाकलाप संचालन त गर्नै पर्याे । त्यसैले शिक्षकमा प्रविधिको ज्ञान हासिल गर्न दृढ इच्छाशक्ति भएमा सिक्ने थलो प्रसस्त छन । 

    अनलाइनमा गुगल सर्च गरेर धेरै ज्ञान हासिल गर्न सकिन्छ । त्यसै गरी विद्यालय र विभिन्न क्षेत्रबाट आवस्यकतामा आधारित तालिम संचालन गरेर शिक्षकको दक्षतामा वृद्धि गर्न सकिन्छ । नविनतम प्रविधिको प्रयोग गर्न शिक्षकलाई हौसला र सहयोग आवस्यक पर्दछ । राम्रो गर्न सक्ने साथीबाट सिक्ने अवसर त विद्यालय आफैले शिक्षकहरुलाई प्रदान गर्न पनि सकिन्छ । यति गर्न सकेको खण्डमा अनलाइन शिक्षण संचालनमा जनशक्ति व्यवस्थापन गर्न सकिन्छ ।  

    अबको शिक्षण प्रक्रिया कस्तो हुन जरुरी छ ?
    शिक्षकले समयानुकुल शिक्षण गर्न सक्ने क्षमताको विकास गर्दै अगाडी बढ्नु पर्दछ । विज्ञान र प्रविधिको विकासले विश्वव्यापी परिवर्तनका कारण शिक्षण सिकाई क्रियाकलाप पनि परिवर्तित सन्दर्भ अनुकुल हुन जरुरी हुन्छ । शिक्षण सिकाईलाइ पेशा र प्रविधिसंग जोड्न सकेमात्र विद्यार्थीले सीपयुक्त ज्ञान हासिल गर्न सक्छन । प्रविधिको प्रयोग गरेर शिक्षण गर्नका लागि कम्प्युटर र इन्टरनेटको अधिकतम प्रयोग गर्न विद्यालयहरु पछि पर्नुहुदैन । 

    प्रविधिको प्रयोग गरेर डिजिटल सामग्रीको प्रयोग गरी शिक्षण गर्नु अवको अपरिहार्यता हुनसक्छ । इ–स्कुलिङ, अनलाइन स्कुलिङ, होम स्कुलिङ, डिजिटल स्कुलिङ लगायतका अवधारणा विकसीत भइरहेको अवस्थामा विद्यालयमा प्रविधिमैत्री वातावरण तयार गरी डिजिटल र अनलाइन शिक्षण गर्न सकेको खण्डमा मात्र विद्यार्थीको रोजाई सामुदायिक विद्य ालय हुनसक्छन । होइन भने सहरी क्षेत्रका एकदम ख्यातिप्राप्त विद्यालयले हाम्रो जस्ता विद्यालयको अस्तित्व नै समाप्त हुने गरी शिक्षण सिकाई क्रियाकलाप गर्न सक्ने संभावना देखिन्छ ।

    निसीखोलामा शिक्षा क्षेत्रमा के–के चूनौति छन् ? 
    निसीखोला गाउँपालिका अति विकट क्षेत्रमा अवस्थित रहेकाले यहाँ शिक्षा, स्वास्थ्य, संचार, यातायात लगाएतका विकासका पूर्वाधारहरुको अवस्था निकै कमजोर रहेको छ । भौगोलिक कठिनाइ, जनचेतनाको कमी, आर्थिक अभाव, बेरोजगारी जस्ता समस्याले ग्रस्त यस पालिकाको शिक्षा क्षेत्रको अवस्था हेर्दा निरासाजनक देखिन्छ । तथापी स्थानियको सक्रियतामा सामुदायिक विद्यालयहरु स्थापना विगत देखि हालसम्म पनि भइरहेका छन । यी विद्यालयको भौतिक तथा जनशक्तिको व्यवस्थापन र स्तर वृद्धि नगरी शैक्षिक गुणस्तर सुधार गर्न कठिन छ । पर्याप्त शिक्षकको व्यवस्थापन गर्न नसक्दा विद्यालयमा दरवन्दी अभाव छ ।

    विद्यालयमा स्थानिय राजनैतिक दलका नेताको कार्यस्थल बन्दा शिक्षक र कर्मचारी नियुक्तिमा दक्ष जनशक्ति भित्रिन नसकेको तथा विद्यालय व्यवस्थापन समितिमा राजनैतिक दलको बाहुबल प्रयोग गर्ने यथार्थले समेत गुणस्तरमा असर पुर्याएको देखिन्छ । सरकारको यथेष्ट लगानी भित्राउन नसक्दा भौतिक पुर्वाधारमा समेत कमजोर अवस्थामा हामी छौ । त्यसै गरी शिक्षा क्षेत्रमा गाउँपालिकाले योजना निर्माण गरी काम गर्न नसक्दा कतिपय योजनाका बजेट समेत फिर्ता हुने र कर्मचारीको अभावले शिक्षा क्षेत्र सोचे अनुकुल छैन । स्थानिय सरकार आएको चार वर्ष वितिसक्दा समेत गाउँ शिक्षा समिती नहुनु र शिक्षा अधिकृत तथा कर्मचारी नहुदाँ यहाको विद्यालयका गतिविधी शिक्षक र विद्यालय प्रशाशनको मनमौजी अनुसार चलिरहेको अवस्था छ । योग्यता पुगेका शिक्षक र प्रअ नियुक्तिमा राजनैनिक दलको आडले कार्यकर्ता भर्ति गर्दा सबैभन्दा बढी चुनौति व्यहोरिरहेको छ ।  

    ति चूनौतिहरुलाई पार लगाउन कुन क्षेत्रबाट के हुनु पर्छ ?
    हामीले देखेका चुनौतिहरुसँग जुद्दै निसीखोला लगायत अन्य स्थानका विद्यालयहरुको समेत  शिक्षा क्षेत्रमा परिवर्तन गर्न सर्वप्रथम त शिक्षा क्षेत्रमा लगानी वृद्धि गर्न जरुरी देखिन्छ । दक्ष शिक्षकको पदपुर्तिका लागि विद्यार्थी संख्याको आधारमा दरवन्दी मिलान गर्ने, शिक्षकहरुले वृत्ति विकासका लागि सेवा प्रवेश र सेवाकालिन तालिम अनिवार्य देखिन्छ । पालिकाले शैक्षिक योजना र कार्यतालिका अनुसार विद्यालयलाई सहयोग र सहजीकरण गर्ने ,राजनैतिक हस्तक्षेप बन्द गरी योग्यता र दक्षताका आधारमा जिम्मेवारी प्रदान गर्ने, प्रधानाध्यापकलाई सेवा करार गरी कार्य सम्पादनको मुल्यांकन गर्ने, शिक्षा सेवाका कर्मचारीको जिम्मेवारी तोकी विद्यालय अनुगमन, निरिक्षण र सहजीकरण गर्ने व्यवस्था मिलाउने । अनुदान रकमलाई विद्यालयको योजना र प्रस्तावनाका आधारमा थप सहायता दिने गर्न सकेको खण्डमा अझ राम्रो हुने देखिन्छ । राम्रो गर्ने शिक्षकलाई प्रोत्साहन  र सम्मान दिन समेत प्रशासन पछाडी हट्न हुदैन ।

    संवादको अन्त्यमा केही भन्नु छ की ?
    सामुदायिक विद्यालयको सुधार गर्न र कोभिड १९ जस्ता अन्य समयमा आउने महामारी तथा प्रकोपको समयमा समेत उपयोगी बन्न सक्ने,अनलाइन प्रविधीमा होस या अफलाइन र प्रत्यक्ष सिकाइ सहजीकरणमा डिजीटल लर्निङ प्लेटफम निर्माण  गर्नु आजको आवस्यकता हो । शिक्षकको पेशागत विकास र नविनतम  प्रविधिको प्रयोग सम्बन्धी ज्ञानको अभावमा शिक्षण सिकाई सफल हुन सक्दैन । शिक्षामा राज्यको ध्यान पुग्न सकेको छैन । देश विकासको मेरुदण्ड शिक्षा भएकाले अन्य पुर्वाधारको विकास गर्न समेत शिक्षा आवस्यक पर्दछ । समावेशी तथा बालमैत्री वातावरण तयार गरी शिक्षण गर्नका लागि हामी तयार हुनु जरुरी देखिन्छ ।नविनतम प्रविधीको ज्ञान हासिल गर्न शिक्षक तत्पर हुनुपर्दछ तवमात्र सिकारुलाई सिक्ने अवसर प्रदान गर्न र सहजीकरण गर्न शिक्षक सफल बन्छ । 

    यो समय र संवादका लागि धेरै–धेरै धन्यवाद !
    विद्यालय शिक्षाको बारेमा मेरो आफ्ना कुरा व्यक्त गर्ने अवसर दिनुभयो यहाँलाई पनि धन्यवाद !


    बागलुङ पोस्ट

    सम्बन्धित समाचार