अन्तर्वार्ता

“सुखी र समान : समुन्नत तमान” निर्माणमा हामी प्रतिबद्ध छौँ

“सुखी र समान : समुन्नत तमान” निर्माणमा हामी प्रतिबद्ध छौँ

  • माघ २२, २०७८ शनिवार
  • ०९:३७:१३ बजे
  • 3.4K
    SHARES
  • “सुखी र समान : समुन्नत तमान” निर्माणमा हामी प्रतिबद्ध छौँ

    बागलुङको सबैभन्दा दुर्गमको पालिकाका रुपमा हेरिने तमानखोला गाउँपालिकामा पछिल्लो समय विकासले गति लिन थालेको छ । पालिका स्थापना भएको पाँच वर्ष पुरा हुन थालेको छ । यो समयमा पालिकाले नागरिकको आवश्यकतालाई प्राथमिकतामा राखेर काम गरेको छ कि छैन ?, जनताले अनुभूति हुने काम भएको छ कि छैन ? विकासमा के–कस्ता चुनौति छन् ? लगायतका विषयमा  गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत विकास लम्सालसँग गरिएको कुराकानी–

    तपाईलाई बागलुङ पोस्ट डटकमको बागलुङ संवादमा हार्दिक स्वागत छ !
    हजुर धन्यवाद

    अहिले देशैभर कोरोना संक्रमण बढि रहेको छ, तमानखोलामा संक्रमणको अवस्था कस्तो छ ?
    तमानखोला गाउँपालिकामा पनि संक्रमण देखिइनै रहेको छ । ओमिक्रोन भेरियन्ट देखिएसँगै ३७४ जनाको परिक्षण गरिएकोमा हालसम्म ७९ जनालाई संक्रमण देखिएको र  हाल पालिकाभित्र ४२ जना सक्रिय संक्रमित रहेका छन् । 

    संक्रमण नियन्त्रणका लागि पालिकाले के–के प्रयास गरि राखेको छ ?
    पालिकाले कोभिड परीक्षणलाई निरन्तरता दिएको र हालसम्म सबै संक्रमितहरु सामान्य अवस्थामै भएका कारण होम आइसोलेसनमा रहेका छन् । कोभिड संक्रमणको खोजिमलाई मध्यनजर गर्दै गाउँपालिकाले १० बेडको आइसोलेशर्न  तयारी अवस्थामा राखेको छ । पालिकासँग १० वटा अक्सिजन कन्सनट्रेटर र २३ थान अक्सिजन सिलिन्डर लगायत अन्य अत्यावश्यक स्वास्थ्य सामग्रीह तयारी अवस्थामा राखिएको छ । संक्रमण थप फैलिन नदिनका लागि नागरिकलाई सचेत बनाइ रहेका छौँ ।

    कोरोनाका कारण विगतका वर्षमा विकास निर्माणलाई केही प्रभावित त बनाएकै थियो, यस वर्ष पनि त्यस्तै बनाउने हो की भन्ने पनि छ होला, अहिले विकास निर्माणका कामहरु के कसरी भइराखेका छन् या ठप्पै रोकिएका छन् ?
    विगतका वर्षहरुमा विकास निर्माणका कामलाई केही असहज बनाए पनि यस पटक हालसम्म त्यस किसिमको समस्या परेको छैन । गाउँपालिका भित्रका विकास निर्माणका कामहरु अहिले निर्वाध रुपमा चलिरहेको अवस्था छ । पालिकामा भएका सबै योजना समयमै सक्ने गरि काम गरेका छौँ ।

    चालु आर्थिक वर्षमा तमानखोलामा कति योजना छ, त्यस मध्ये अहिलेसम्म कति योजना सम्पन्न भए, कति बाँकी छन् ?
    चालु आर्थिक वर्षमा तमानखोला गाउँपालिकामा जम्मा ७६ योजना मध्ये ५७ वटा योजनाको सम्झौता भएकोमा ३२ योजना सम्पन्न भएर फर्छौट भएका छन् । सम्झौता भएका केही योजनाहरु सम्पन्न भएर फर्छौट हुने क्रममा रहेका छन् । योजनाका कामहरु निरन्तर चलि रहेका छन् । 

    अधिकांश पालिकाले वर्षा सुरु हुन लाग्दा योजान अगाडी सार्ने र असारे विकास गर्ने गरेको पाइएको छ, तमानखोलाले कहिलेसम्म सबै योजना सक्ने लक्ष्य लिएको छ ?
    यस वर्ष स्थानीय तहको निर्वाचनको कारण पछिल्लो समय काम गर्न सहज नहुन सक्ने अवस्थालाई मध्यनजर गर्दै पालिकाले केही काम गर्न लामो समय लाग्ने योजनाहरु बाहेक चैतको अन्त्यसम्ममा अन्य सबै योजनाको काम सम्पन्न गर्ने लक्ष्य लिएको छ । सोही अनुसार योजनाका कामहरु तीव्र गतमा भइरहेका छन् ।

    तमानखोलामा विकास त भईराखेकै छ, विकास गर्दा जनताको आधारभूत आवश्यकतालाई कत्तिको ध्यान दिनु भएको छ ?
    तमानखोला गाउँपालिका स्थापना भए पश्चात यस क्षेत्रको विकासको प्रत्येक्ष रुपमा अनुभव गर्न सकिन्छ । पालिका केन्द्रसम्म मोटरबाटो नपुगेको यस पालिकामा हाल सबै वडाका सबै बस्तीहरुमा यातायातको पहुँच पुगेको छ । ८० प्रतिशतभन्दा बढी घरधुरीमा एक घर एक धाराको व्यवस्था भएको छ । सबै वडामा मोबाइल, फाईवर ईन्टरनेट लगायतका सेवाहरु पुगिसकेका छन् ।

    आर्थिक विकासका पाटाहरु कृषि, लघुउद्यमका क्षेत्रमा पनि पालिकाले लगानी गरिरहेको छ । सामाजिक विकासका क्षेत्रहरु स्वास्थ्य, शिक्षा लगायतका क्षेत्रमा पालिकाको सबैभन्दा बढी लगानी रहेको छ । यसरी हेर्दा यहाँका विकासका क्रियाकलापहरु पूर्ण रुपमा जनताका आवश्यकता केन्द्रित नै रहेका छन् ।

    तमानखोलामा तपाईहरुको सोचाई अनुसारको विकास हुन के–के चुनौति छन् ? त्यसलाई कसरी समाधान गर्न सकिएला ?
    तमानखोला गाउँपालिकाको कठिन भौगोलिक अवस्थिती, थोरै जनसंख्याको छरिएको बस्ती भएको, बाढी पहिरोको उच्च जोखिमको क्षेत्र भएका कारण यहाँ सोचे अनुसारको काम गर्न चुनौतीपूर्ण नै रहेको छ । यसको समाधानको लागि यस गाउँपालिकामा एकिकृत बस्ती विकासको योजना बनाई कार्यान्वयन गर्न सके जनताको ईच्छा चाहना अनुरुप अझ प्रभावकारी विकासका कामहरु गर्न सकिन्थ्यो जस्तो लाग्छ ।

    जिल्लाका केही पालिकामा जनप्रतिनिधि र कर्मचारी बीचको सम्बन्ध त्यत्ति सुमधुर भएको पाइँदैन, तमानखोलामा जनप्रतिनिधि र कर्मचारीको तालमेल कत्तिको मिलेको छ ?
    जनप्रतिनिधि र कर्मचारी बीचको सम्बन्ध र तालमेलको हिसाबले तमानखोला गाउँपालिका एउटा नमुना पालिकानै हो जस्तो लाग्छ । यहाँ अध्यक्ष, उपाध्यक्ष लगायत सम्पूर्ण जनप्रतिनिधि र कर्मचारीबीच एकदमै सुमधुर सम्बन्ध रहिआएको छ । जनप्रतिनिधि र कर्मचारी बीच कुनै पनि किसिमको विवाद, मनमुटाव छैन । सबैले आफ्नो–आफ्नो जिम्मेवारी बुझेर काम गरिरहनु भएको छ ।

    संवादको अन्त्यमा छौँ, अन्त्यमा केही भन्नु छ की ?
    समग्रमा बागलुङको सदरमुकामदेखि सबैभन्दा टाढा र दुर्गम क्षेत्रमा रहेको यस तमानखोला गाउँपालिकाले आफ्नो साधन र स्रोतले भ्याएसम्मको कामहरु सन्तोषजनक रुपमा नै गरिरहेको छ । बजेट, योजना तथा कार्यक्रम कार्यान्वयनको मुख्य जिम्मेवारी बहन गर्दा पालिकाका जनप्रतिनिधि, कर्मचारी र जनसमुदायले चासो राखेर आ–आफ्नो क्षेत्रबाट साथ र सहयोग गरिदिँदा काम गर्ने  सहज वातारण छ । आउँदा दिनहरुमा पनि सबै क्षेत्रबाट यस्तै साथ र सहयोगको अपेक्षा गर्दै स्रोत साधन उच्चतम उपयोग गरि “सुखी र समानः समून्नत तमान” निर्माणमा हामी प्रतिबद्ध छौँ भन्न चाहन्छु ।

    यो समय र संवादको लागि धेरै–धेरै धन्यवाद !
    गाउँपालिकाको समग्र विषयवस्तुको बारेमा केही कुरा राख्ने अवसर प्रदान गर्नुभएकोमा यहाँलाई पनि धन्यवाद ।


    बागलुङ पोस्ट

    सम्बन्धित समाचार