विद्यार्थीभन्दा बित्तिकै हामीले पढ्ने लेख्ने र सिक्ने पात्रलाई लिन्छौँ । तर त्यत्ति मात्रैले विद्यार्थीको परिचय पुग्दैन । उनीहरुलाई भविष्यको राष्ट्र निर्माणको बलियो खम्बाको रुपमा पनि लिइन्छ । विद्यार्थी डाक्टर हो । पाइलट हो । इन्जिनियर हो । शिक्षक, ड्राइभर, कर्मचारी सबै हो । नेपालमा अधिकतम बालबालिका २÷३ वर्ष पुग्ने वित्तिकै विद्यार्थी बन्न पुग्दछन् । बाबाआमा दुबै ले जागिर गर्दछन् भने त त्यतिखेर देखि नै मन्टेस्वरीमा विहानदेखि साँझसम्म छोड्द छन् । यदि रोजगारीका निम्ति अन्य राष्ट्रहरुमा गएका छन् भने त झन् परिवारका अन्य सदस्यका साथमा विद्यालय जान थाल्दछन् ।
त्यो खेल्ने अनि बाबाआमाको न्यानो माया पाउने उमेरमा नै उनीहरुलाई गृहकार्य गर्न लगाइन्छ । बालबालिकाको मनोविज्ञानलाई वास्ता नै नगरी सबैलाई एउटै किसिमकोको सिकाइले कस्तो असर गरिरहेको छ भन्ने तिर कसैको ध्यानाकर्षण भएको पाइँदैन । नेपालको परिप्रेक्षमा हेर्दा सरकारी विद्यालयभन्दा निजी विद्यालय तर्फ बढ्दो आकर्षण देखिन्छ । के सरकारी विद्यालय मा पढ्ने विद्यार्थी निजी विद्यालयमा पढ्ने विद्यार्थीभन्दा कम्जोर हुनाले निजी विद्यालय तर्फ आकर्षण बढ्न थालेको हो त ? नेपाल सरकारले राष्ट्रिय स्तरमा गर्ने लगानी मध्ये सबैभन्दा बढी शिक्षामा नै गरिएको छ भनिन्छ । तर सरकारी विद्यालय तर्फको आकर्षण किन घटिरहेको छ भन्ने तिर कसैले पनि चासो देखाएको पाँइदैन ।
सरकारी विद्यालय तर्फ निरन्तर आकर्षण कम हुँदै जानु के राष्ट्रले गरेको लगानीलाई राम्रो भनी धेरै धेरै पृष्ठका प्रतिवेदन तयार गर्ने विज्ञहरुको टोलिले केका आधारमा विष्लेषण गर्छन् ? त्यो जान्नका लागि इत्सुकता हामी सबैमा सृजना हुनु आवश्यक छ । के अन्य रास्ट्रहरुमा शिक्षामा भैरहेको परिवर्तन र नेपाल मा चलिरहेको शिक्षा पद्धति उस्तै नै छ त ? हामी नेपालीमा लगानी के मा ? कुन बेला ? र कसरी गर्ने ? भन्ने कुराको ज्ञानको कमीले गर्दा नै यावत समस्या सृजना भएका छन् । अहिलेको परिप्रेक्षमा विदेश नै पलायन भएर भए पनि आफ्ना बालबच्चाको पालन पोषण अनि शिक्षाका निम्ति कैयौँलेआफ्नो पसिना बेचिरहेको कुरा त हामी सबैलाई अवगत नै छ ।
सबै आमाबुबाले आफ्नो छोराछोरीले प्रगति गरून् भन्ने चाहान्छन् । त्यसका लागि आफ्ना कैयौं इच्छाहरुलाई त्याएर दिन रात नभनी मेहनत गर्दछन् । विशेष गरि गाउँमा घर भएका अनि विदेश तिर काम गर्ने दाजुभाईहरुले बाल बच्चालाई राम्रो शिक्षा दिनका निम्ति घरदेखि टाढा कोठा भाडामा लिएर नै भए पनि राख्ने कुरा त हामी सबै जसो नेपालीलाई थाहा नै भएको कुरा हो । निजी विद्यालयको शुल्क अनि शहरको महङ्गीमा चल्नु पर्दा धेरै जसोले कम नै बचत गर्न भ्याउँदछन् । उता सरकारले सबैभन्दा बढी लगानी शिक्षामा नै गरिरहेको छ तर त्यसको विपरित विद्यालय तहको शिक्षा हासिलको निम्ती नै हामीले धेरै लगानी गरिरहेका छौं ।
नेपाल सरकारका अनुसार १–१२ सम्मको पढाईका निम्ति १ रुपैयाँँ पनि तिर्नु नपर्ने भनिएको छ तर बालबालिकालाई निजी विद्यालय अनि कलेजमा पढाउँदा नै जीवन भरि कमाउन सकिने पैसा अने काम गर्न सक्ने समय सकि सक्छ । जब विद्यार्थीको स्नातक वा स्नातकोत्तर पढ्ने समय आउँछ त्यतिबेला परिवारले अब छोराछोरीबाट नै आर्थिक सहायताको आश गर्न थाल्दन् । अहिलेको प्रतिस्पर्धाको जमानामा स्नातकोत्तर नगरी कुनै पनि किसिमको जागिर पाउन मुस्किल नै पर्दछ । त्यतिबेला विद्यार्थीको दिमागमा घरको आर्थिक स्थितिले नराम्रो असर गर्न थाल्दछ ।
कतिपय त मानसिक रोगको सिकार पनि भएको देख्न सकिन्छ । जो कोहिलाई पनि अगाडी बढ्ने, प्रगति गर्ने इच्छा हुन्छ नै तर पनि समयसंगै चल्न नसक्दा कैयौं समस्याहरु झेल्न परेको छ । निजी विद्यालयमा पढ्नुको प्रमुख उद्देश्य के हो त भनेर बुझ्ने हो भने अङग्रेजी माध्यम नै भन्ने पाइन्छ । के अङग्रेजी पढ्न अनि बोल्न जान्नु मात्रै सिकाइ हो त ? नेपालमा सरकारी र निजी विद्यालयमा पढि कस्तो काम गरिरहेका छ्न त ? विदेश जानका निम्ति चाहिने अङग्रेजी भाषा बाहेक अरु के फाइदा छन् त ? निजी विद्यालयका सरकारी विद्यालयमा भन्दा बढी सरकारी विद्यालयमा पढेका विद्यार्थी नै नेपालको जुनसुकै क्षेत्रमा पहिलो स्थानमा छन् । तर पनि हाम्रो ध्यान त्यता तिर घट्दै गइरहेको छ ।
निजी विद्याल हरुमा प्रायजसो विद्यार्थीलाई होस्टेलमा राखी कोर्षको बुक रटाएर हुन्छ कि कपि गर्न सिकाएर हुन्छ परिक्षा केन्द्रीत नै गरि बढी प्रतिशत ल्याई पास गराउँदछन् । यस कारण धेरै जसो विद्यार्थीलाई होस्टेलमा राखी छोराछोरीको उज्ज्वल भविष्यको कल्पना गरिरहेका बुबाआमालाई छोराछोरी कुलतमा फसेको त सुइँको नै हुँदैन । जनतन स्कुल लेवल पार गरिसकेपछि होस्टेलबाट त छुटकरा पाउँछन् तर लागि सकेको कुलत ले त्यति सजिलै कहाँ छाड्छ र ? जस कारणले गर्दा आज कैयौं घरबाट टाढा वा सानै उमेरदेखि आमाबुबासँग नबसी पढाईका निम्ति सम्पुर्ण आफ्ना खुशी त्यागेका विद्यार्थीलाई सुधार गृहमा राख्न पर्ने अवस्था सिर्जना हुन्छ ।
हाम्रा बालबालिकाले निजी विद्यालयमा गएर सिकेको र सरकारी विद्यालयमा हुने अङग्रेजी सिकाईमा कति फरक छ भनी कुनै पनि किसिमको अध्ययन पनि गरेको पाँइदैन । यदी यस विषयमा अध्ययन गर्ने नै हो भने कुनै पनि कुरा बुझ्नको निम्ति चाहिने क्षमता सरकारी विद्यालयमा पढ्ने विद्यार्थीमा पनि रहेको हुन्छ । अङग्रेजीलाई भाषा नै त हो भन्ने कुरा राम्रोसँग नबुझ्नाले पनि समस्या सृजना भएका छन् । नेपालका निजी विद्यालयमा अध्ययन गरि युरोपियन राष्ट्रहरुमा गएका धेरै विद्यार्थीलाई हेर्ने हो भने पनि कुलत र डिप्रेसनमा परेका उदाहरणहरु यत्रतत्र नै छन् । पढाई त झन् अन्योलमा नै पर्दछ ।
महंगो शुल्क र विदेश जानको निम्ति लिएको ऋण तिर्दा तिर्दा अध्ययनलाई धेरै समय दिन नपाउँदा बिच मै पढाईलाई रोकि काम मात्र नै गरेर बस्न बाध्य छन् । पैसालाई मात्र ठुलो देख्ने बानी हामी नेपालीमा चुलिएको छ । पैसा कमाउने मात्र नभई खुशी अनि स्वास्थ्यका कुरालाई पनि गहन रुपमा विचार गर्नु अपरिहार्य छ । परिवारसँग बस्नु सुखदुखमा संगै हुन पाउनुलाई पनि धन सरह नै सम्झनु पर्दछ । विदेश जानुका पनि धेरै नराम्रा पक्षहरु छन् । पैसा तुलनात्मक रूपमा बढी कमाएको मानिन्छ ।
धेरैजसोले कमाएको मात्र सुनाउने र त्यसमा कति खर्च हुन्छ भन्ने कुरा लुकाउनाले पनि विदेशी मोह बढेको हो र विदेशमा गएर पनि धेरै मेहनत गर्नु पर्दा मेहनत गर्ने शक्ति सरकारी विद्यालयबाट पढेका विद्यार्थीमा बढी भएको पाउन सकिन्छ । किन कि सरकारी विद्यालयमा विद्यार्थीले नै धेरै मेहनत गर्ने कुरा त दुई मत नै छैन । जे जस्तो अवस्थामै भए पनि आफ्नो परिवारसंगै रमाउन पाउनु ठुलो धन हो जुन विश्वका कुनै पनि बजारमा खोजेर मिल्दैन ।