बागलुङ : निसीखोला गाउँपालिकाको सभापतिका लागि वडा नम्बर १ का वडाध्यक्ष एवं काँग्रेस पालिका संयोजक इन्द्र मल्ल र वडा नम्बर ६ का वडाध्यक्ष सूर्यबहादुर घर्तीबीच रस्साकस्सी चलेको छ । मल्लले आफुले एक कार्यकाल महाधिवेसनबाट निर्वाचित भएर काम गर्ने इच्छा देखाएका छन् भने घर्तीले नेतृत्व हस्तान्तरण हुँदा पार्टीलाई थप शसक्त र चलायमान बनाउन सहयोग पुग्ने बताउँछन् ।
विगतमा केन्द्रले संयोजक तोकेको पूर्ण समिति नहुँदा सहज रुपमा काम गर्न नसकेकोले फेरी सभापति बन्ने मल्ल बताउँछन् । ‘केन्द्रले जिम्म दियो तर समिति पूरा नहुँदा सहज रुपमा काम गर्ने वाताबरण भएन,’ उनले भने, ‘यो एक कार्यकाल म पालिकामै बसेर काम गर्ने चाहाना छ भनेको छु ।’ आफुले अबको एक कार्यकाल मात्रै नेतृत्व गरेर हस्तान्तरण गर्ने उनले बताए । पालिकामा बसेर संगठन विस्तार गर्दै बलियो बनाउने र प्रशिक्षण
चलाएर पार्टी कार्यकर्तालाई अनुशासित बनाउने उनले बताए । २०३६ सालबाट काँग्रेसमा आवद्ध रहेका मल्लले पालिकामा पार्टी कार्यालय बनाउने आफ्नो लक्ष्य रहेको बताए । आफुलाई निसीखोला गाउँपालिकाको पार्टी सभापतिको रुपमा दाबी गरिरहेका वडा नम्बर ६ का वडाध्यक्ष सूर्यबहादुर घर्तीले पार्टीको अस्तव्यस्त अवस्था सुधार्न आफु योग्य रहेको बताए । ‘अहिले पार्टीको अवस्था त्यती राम्रो छैन,
त्यसैले सबैलाई मिलाएर पार्टीलाई सुदृढ र सशक्त बनाउने मेरो योजना छ,’ उनले भने,‘पार्टीलाई संगठनात्मक र गुणात्मक रुपमा पनि बलियो बनाउने गरी कार्ययोजना बनाएर मैले काम गर्नेछु ।’ गुट उपगुटको अन्त्य गरी पार्टीलाई लोकतन्त्र र जनताको पक्षमा अग्रसर गराउनका लागि आफुले सभापतिमा दाबी गरेको बताए । लामो समय एउटै व्यक्ति पदमा रहीरहँदा पनि पार्टीले गति लिन नसक्ने भएकाले
नेतृत्व हस्तान्तरण हुनुपर्ने उनको माग छ । २०४६ सालदेखि नै पार्टीमा निरन्तर सक्रिय भए पनि आफुले पार्टीमा कुनै पदीय भूमिका नलिएका कारण यो पटक सभापतिमा दाबी गरेको उनले बताए । ‘मैले अहिलेसम्म पार्टीको कुनै पनि पद लिएको छैन, म काँग्रेसमा लागेर निरन्तर क्रियाशील छु, संगठन निर्माणमा खटिएको छु ।
काँग्रेस भएकैले विस्थापित हुुनुपर्दा पनि मैले काँग्रेसको काम गरेको कारण अहिले अबसर मागेको हुँ ।’ अग्रजलाई सम्मानपूर्वक माथिल्लो तहमा पठाएर आफुले पालिकामा काँग्रेसलाई गतिशील बनाउन चाहेको उनले बताए ।