काठमाडौं : एक पुरूषलाई ठगी गरेको आरोपमा प्रहरीले दुई जना युवतीलाई पक्राउ गरेको छ। महानगरीय अपराध महाशाखाले दुई जनालाई काठमाडौंबाट सोमबार पक्राउ गरेको हो। ठगी गरेको आरोपमा प्रहरीले काभ्रेको बनेपा घर भई काठमाडौं जडिबुटी बस्ने १९ वर्षीया
उर्मिला भन्ने युनिसा मगर र नमोबुद्ध घर भई बनेश्वर बस्ने २६ वर्षीया रोशनी भन्ने सुनिता तामाङलाई पक्राउ गरेको हो। उनीहरूले एक जना पुरूष व्यक्तिबाट अन्दाजी ३७.०५ ग्रामको सुनको सिक्री लिएर बेचेको आरोप छ। ती पुरूष र महिलाहरूबीच सामाजिक सञ्जालबाट चिनजान भएको महाशाखाका
प्रहरी उपरीक्षक कृष्ण कोइरालाले बताए। उनीहरूबीच त्यसरी चिनजान भएपछि दुई युवतीले पुरूषलाई एयरपोर्ट बोलाएका थिए। त्यहाँबाट उनीहरू ट्याक्सी चढेर ललितपुरको चापागाउँ बसपार्क पुर्याएका थिए। बसपार्क नजिकैको खाजा कटेजमा खाजा खानेक्रममा टिकटक बनाउने
बहानामा सुनको सिक्री लिएको महाशाखाले जनाएको छ। फेरि उनीहरूले साथीको जन्मदिन मनाउन चापागाउँकै मोक्तान होटलमा लगे। त्यहाँ युनिसाले सुनिता र ती पुरूषलाई होटलको कोठाभित्र छोडेर उनी सुनको सिक्री लिएर भागेकी थिइन्। उनीहरूले पछि सो सुन पनि बेचेको प्रहरीले जनाएको छ।
त्यसरी ठगी गरेको भन्ने जाहेरीपछि प्रहरीले दुबै युवतीलाई पक्राउ गरेको हो। उनीहरूमाथि थप अनुसन्धान गर्न महानगरीय प्रहरी परिसर ललितपुरमा बुझाएको छ।