बागलुङ : नेपाली काँग्रेस बागलुङका युवा नेता यामेन्द्र कुमार घर्तीले १४ औं महाधिवेसनका लागि महाधिवेसन प्रतिनिधिमा उम्मेदवारी घोषणा गरेका छन् ।
बागलुङको बडिगाड गाउँपालिका—३ सिसाखानीका घर्तीले जनजातितर्फबाट बागलुङ क्षेत्र नम्बर २ मा महाधिवेसन प्रतिनिधिको उम्मेदवार बन्ने घोषणा गरेका हुन् । सबल नेतृत्व चयन गरेर काँग्रेसलाई गतिशील बनाउने आफुले महाधिवेसन प्रतिनिधिमा उम्मेदवारी घोषणा गरेको उनले बताए । ‘अहिले नेपाली काँग्रेस जस्तो अवस्थामा छ त्यही अवस्थामा चित्त बुझाउन सकिने ठाउँ छैन,’ उनले भने,‘काँग्रेसलाई अझ गतिशील बनाएर नेपाली जनताको समस्या समाधान गर्ने ल्याकत राख्ने पार्टी बनाउनुपर्छ । त्यसका लागि सक्षम र सबल नेतृत्व चयन आवश्यक छ ।’
सत्ता सञ्चालन गर्न नसकेर कम्युनिष्टहरु बदनाम हुँदा पनि नेपाली काँग्रेसले जनताको मन जित्न नसक्नु अहिलेको पार्टीको सबैभन्दा ठूलो कमजोरी भएको भन्दै उनले काँग्रेसलाई चलायमान गराउनु जरुरी रहेको बताए ।

नेपाली काँग्रेसले जनताको एजेन्डा बोकेर हिँड्नका लागि त्यही खालको नेतृत्व चयन अहिलेको आवश्यकता रहेको उनको भनाई छ । घर्तीले सामाजिक उत्तरदायित्व सहितको सबल काँग्रेस हाम्रो चाहाना, १४ औं महाधिवेसनको कार्यभार सबल काँग्रेस बहुमतको सरकार भन्ने नारालाई सार्थक बनाउने गरी नेतृत्व चयनका लागि आफुले उम्मेदवारी दिएको बताए ।
२०४८ सालमा नेपाल विद्यार्थी संघ रत्नलक्ष्मी माध्यमिक विद्यालय रिघाको ईकाइ सभापति भएर उनी नेपाली काँग्रेसमा आवद्ध भएका थिए । घर्ती २०५१ सालमा साबिक बागलुङ क्षेत्र नम्बर ३ को नेविसंघ उपसभापति, २०५६ सालमा नेपाल तरुणदल बागलुङको जिल्ला सदस्य भएका थिए ।
नेपाली काँग्रेस बडिगाड—३ सिसाखानीको सभापति, नेपाली काँग्रेस पूर्व जिल्ला सदस्य र पूर्व महाधिवेसन प्रतिनिध भएर उनले काम गरेका छन् ।