काँग्रेस बागलुङ क्षेत्र नम्बर १ को संस्थापन पक्षले सहीदलाई साक्षी राखेर थाल्यो प्रचार अभियान

काँग्रेस बागलुङ क्षेत्र नम्बर १ को संस्थापन पक्षले सहीदलाई साक्षी राखेर थाल्यो प्रचार अभियान

  • कार्तिक २६, २०७८ शुक्रवार
  • १९:२२:५१ बजे
  • 3.7K
    SHARES
  • काँग्रेस बागलुङ क्षेत्र नम्बर १ को संस्थापन पक्षले सहीदलाई साक्षी राखेर थाल्यो प्रचार अभियान

    बागलुङ : नेपाली काँग्रेसको १४ औं महाधिवेसनको रौनक फेरि बढेको छ ।

    वडा र पालिका तहको अधिवेसन सम्पन्न भएपछि केही समय अन्यौलमा रहेको अधिवेसनको मिति तय भएसंगै रौनकता बढेको हो । नेपाली काँग्रेस बागलुङमा विभीन्न पदका आकांक्षीहरुले आ—आफ्नो उम्मेदवारी घोषणा गर्ने र आफ्नो पक्षमा मत माग्ने अभियानलाई तिब्र बनाएका छन् ।

    बागलुङ प्रतिनिधि सभा क्षेत्र नम्बर १ मा सभापतिका संस्थापन पक्षका उम्मेदवारहरुले शुक्रबार काठेखोला गाउँपालिका—१ पालाको सहीद स्मृति पार्कबाट औचापरिक रुपमा प्रचार अभियान सुरु गरेका छन् ।

    pala 2.jpg

    द्वन्द्वकालमा तत्कालिन विद्रोही माओवादीले तीन जना नेपाली काँग्रेसका कार्यकतालाई घरमै हत्या गरेपछि उनीहरुको सम्झनामा निर्माण गरिएको पार्कमा काँग्रेस संस्थापन पक्षका प्रतिनिधि क्षेत्र नम्बर १ का सभापति उम्मेदवार खडक बहादुर थापा प्रदेश सभा क का सभापति उम्मेदवार हरिबहादुर जिसी सन्तोष तथा प्रदेश ख का सभापति उम्मेदवार धनबहादुर शाही विकासले सहीदलाई साक्षी राखेर संस्कार सहितको गतिशील काँग्रेस बनाउने प्रतिवद्धता व्यक्त गर्दै आफुहरुलाई विजयी बनाउन आग्रह गरे ।

    प्रतिधिनिध सभा क्षेत्र नम्बर १ का सभापतिका उम्मेदवार खडक बहादुर थापाले सहीदहरुको सम्मानका लागि अभिलेख राख्ने र काँग्रेसलाई सबैको भरलाग्दो र रहरलाग्दो बनाउने प्रतिवद्धता व्यक्त गरे ।

    pala 3.jpg

    उनले राजनीतिलाई पेशा नभई सेवाको रुपमा विकास गर्ने र राजनीतिक योगदानका आधारमा दक्षता र क्षमता हेरेर सबैलाई उचित भूमिका दिने समेत बताए । सहीदहरुको पावन भूमिबाट पार्टीलाई सबल र सक्षम बनाउने उनले घोषणा गरे । कार्यक्रममा नेपाली काँग्रेस काठेखोला गाउँपालिका सभापति यामदत्त कँडेल, क्षेत्रीय सदस्य प्रकाश राना लगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए । कार्यक्रम नेपाली काँग्रेस पालाका उपभापति छत्रबहादुर खड्काको अध्यक्ष तथा क्षेत्रीय प्रतिनिधि रनबहादुर थापाको सञ्चालनमा सम्पन्न भएको थियो ।

    बागलुङ क्षेत्र नम्बर १ मा पदाधिकारी सदस्य बन्न चाहानेहरुले धमाधम उम्मेदवारी घोषणा गर्ने र प्रचार अभियानमा लाग्न क्रम जारी छ ।

    Pala 4.jpg

    क्षेत्र नम्बर १ मा संस्थापन पक्षमै रहेका परमानन्द कँडेलले पनि उम्मेदवारी घोषणा गरेर प्रचार अभियानमै रहेका छन् । यद्यपी संस्थापन समुहले खडक बहादुर थापालाई उम्मेदवार बनाउने औपचारिक निर्णय गरेको छ । संस्थापन पक्षबाट थापा नै प्रतिनिधि सभा क्षेत्र नम्बर १ को उम्मेदवार बन्ने निर्णय भैसकेकाले कँडेललाई मनाउने प्रयास भैरहेको बताईन्छ । संस्थापन पक्षबाट अन्य पदाधिकारी सदस्य तथा प्रदेश र संघीय प्रदेश महाधिवेसन प्रतिनिधिहरुको नाम अन्तिम टुंगो लगाउने कसरत भैरहेको बताईएको छ ।

    संस्थापन इतर समुहबाट चण्डीप्रसाद शर्मा पौडेलले प्रतिनिध सभा क्षेत्र नम्बर १ को सभापतिको रुपमा उम्मेदवारी घोषणा गरेर प्रचार अभियानलाई तिब्र बनाएका छन् ।

    सोही समुहबाट प्रकाश आचार्यले पनि क्षेत्रीय सभापतिमा उम्मेदवारी घोषणा गरेका छन् । अन्य पदहरुमा पनि उम्मेदवारी धमाधम घोषणा भैरहेको छ । प्रतिनिधि सभा क्षेत्र नम्बर १ को सभापतिमा चार जनाले उम्मेदवारी घोषणा गरे पनि अन्तिम समयमा दुई जनामै प्रतिस्पर्धा हुने काँग्रेस कार्यकर्ताको विश्लेषण छ । 

    सम्बन्धित समाचार