साहित्य

यी प्रेम र यादहरु मुर्दा हैनन् सहिद हुन्

यी प्रेम र यादहरु मुर्दा हैनन् सहिद हुन्

  • पौष १५, २०७८ बिहिवार
  • ०८:४७:५३ बजे
  • 12.0K
    SHARES
  • यी प्रेम र यादहरु मुर्दा हैनन् सहिद हुन्

    गंगा थापा (भिक्षु)

    ओइ मान्छे ! के लाग्छ तिमीलाई ? 
    माया, प्रेम अनि याद मौसम हुन् ?
    या तिमी जस्तै आयु र आकार हुन् ?
    कि बदला, प्रक्रिया र छनोट हुन् ?
    जहाँ मनलाग्दी प्रवेश र निषेध हुन्छ 
    मनपरी आवेदन र बर्खास्त गरिन्छ
    स्वाद, सन्तुष्टि र फाइदाको हिसाब हुन्छ
    अनि ताकेता, उजुर र मन्जुर गरिन्छ 

    अ साच्ची ! बजार उर्लदो छ रे
    भाउ बढ्या बढ्यै छ रे
    नाफा कति पुग्ला प्रतिस्पर्धी बजारमा ?
    म, मात्र सिद्धान्तको अर्थशास्त्री
    प्रयोग कसरी गर्‍यौ सोध्न मन लाग्यो___
    मेरो समाजशास्त्र मलाई चिमोट्छ
    तर तिम्रो अर्थशास्त्रले ज्याद्रै निमोठ्छ
    खसखस लाग्छ त्यसैले टक्टक्याउन मन लाग्यो 


    ओइ मान्छे ! विराट् लाग्छ अंकगणित ?
    जसले नाफै नाफाको सुत्र सिकाओस् 
    तिम्रो मगजमा नाफामुखी सुत्र छापोस्, हैन ?


    आउ हेर यो विपुल हृदय
    आभास गर यसको विशालता
    यो जय नगर हो अमरहरुको
    यो शक्ति हो अजयहरुको
    सुत्रहिन शक्ति, आवाज र आह्वान हो प्रेमहरुको
    जहाँ गणित र अर्थशास्त्र फेल हुन्छ व्यापारहरुको
    अर्थ खर्चेर नमिल्ने आयु, प्रेम अनि यादहरु
    जहाँ अमर हुन्छन् यी मायालु सम्पत्तिहरु ।।


    त्यसैले, मुर्दा हैनन् माया, प्रेम र यादहरु
    जसलाई जलाइन्छन् आर्यघाटमा 
    वस्तु हैनन् यी सम्पत्तिहरु
    जसलाई किनबेच गरिन्छन् सुपरमार्टहरुमा 
    खरिदबिक्री गरिन्छन् व्यापारी मगजहरुमा 
    अनि जलाइन्छन् सवै जल्ने स्मशानघाटहरुमा
    अह, यी ती वस्तु कत्ती पनि हैनन् 
    जसको अस्तित्व क्षेणिक होस्, मुर्दा होस् 


    र त, यी माया, यी प्रेम र यादहरु मुर्दा हैनन्, सहिद हुन् 
    शक्ति, सामर्थ्य र आत्मबल हुन् 
    हो यी माया, प्रेम र यादहरु सहिद हुन्
    सजिव अनि जिवन्त सहिद 
    अजय अनि अमर सहिद 

  • सम्बन्धित विषय:

  • # सहिद
  • # प्रेम र याद

  • बागलुङ पोस्ट

    सम्बन्धित समाचार