विचार

चुनौती र अवसरको तराजुमा सिभिल इन्जिनियरिङ 

चुनौती र अवसरको तराजुमा सिभिल इन्जिनियरिङ 

  • माघ ७, २०७८ शुक्रवार
  • ०९:४५:४५ बजे
  • 11.7K
    SHARES
  • चुनौती र अवसरको तराजुमा सिभिल इन्जिनियरिङ 

    अग्रता शर्मा : नेपालको सन्दर्भमा हेर्ने हो भने इन्जिनियरिङ विषयलाई विशिष्ट र समाजको प्रतिष्ठित पेशाको रूपमा लिइन्छ । त्यसैमाथि हरेक मानिसले दैनिक जीवनमा उपयोग गरिरहने घर, स्कुल, बाटो, मठमदिर, पुल आदीको निर्माणबाट प्रत्यक्ष जोडिने भएकोले पनि सिभिल इन्जनियरिङ महत्वपूर्ण छ । सांस्कृतिक रुपमा हेर्ने हो भने पनि प्राचिन समृद्ध शहरहरू द्वारिका इन्द्रप्रस्त, लंकाजस्ता सहरहरुका निर्माता विश्वकर्मालाई देवताहरूको इन्जिनियरको रुपमा मानी हरेक वर्ष असोज १ का दिन विश्वकर्मा दिवस मनाइन्छ । प्राचिन कालदेखि नै नेपालमा निर्माण भएका अनेकौं मन्दिर र दरबारहरुमा इन्जिनियरिङलाई विशेष महत्वका साथ लिएको देख्न सकिन्छ । ठाउँ, उपलब्धता र परम्पराका अनुसार विभिन्न संरचनाहरूको निर्माण भिन्न भिन्न किसिमको पाइन्छ ।

    प्राविधिक रूपमा इन्जनियरिङ ज्ञान र सिपको प्रयोग धेरै पहिलेदेखि नै हुदै आए पनि पाठ्यसामग्रीको रूपमा भने इजिनियरिङ शिक्षाले धेरैपछि प्रवेश पायो । नेपालमा सन १९३० मा इन्जनियरिङ अध्ययन संस्थानको स्थापनासंगै विधिवत रूपमा नेपालमा इन्जनियरिङ विषयको अध्ययन सुरु भयो । जहाँ ओभरसियर र सभओभरसियर कोर्सहरु अध्यायपन हुन्थे । पछि सन १९७२ मा थापाथलीमा रहेको  नेपाल टेक्निकल ईन्स्टिच्युट र पुल्चोकमा रहेको आइ.ओ.ईलाई त्रिभुवन विश्वविद्यालयको छाताभित्र ल्याई सिभिल इन्जिनियरिङ तथा अन्य विषय तर्फ स्नातक र अन्य तहहरुमा विस्तार हुँदै गए । सुरुवाती चरणमा उच्च माग तर थोरैमात्र कलेज रहेको इन्जिनियरिङ क्षेत्रमा पोखरा, पूर्वाञ्चल र मध्यपश्चिम विश्वविद्यालयको स्थापना र आङ्गिक कलेजको विस्तारसँगै सर्वसुलभ बनेको छ तर इन्जिनियरिङ अध्यापनको आधारभूत मान्यता पनि ख्याल नगरी मात्र व्यापारका लागि खोलिएका इन्जिनियरिङ्ग कलेजहरुले नेपालको इन्जिनियरिङको स्तर खस्कँदो छ । 

    कुनै बेला आइ.ओ.ईलाई सिभिल इञ्जिनियरिङ तर्फ दक्षिण एसियाकै हब मानिन्थ्यो तर प्रविधिमा आएको परिवर्तनसँगै आफूलाई ढाल्न नसक्दा र राजनैतिक पूर्वाग्रह बढी हुँदा नेपालका इन्जिनियरिङ्ग कलेजहरुले  सोचे अनुसारको उपलब्धि हासिल गर्न सकेका छैनन् । लिच्छबिकाल, मल्लकालदेखि नै सिभिल इन्जिनियरिङको क्षेत्रमा नेपालमा थुप्रै कामहरु भएका छन् । सिंचाइका लागि बनाइएका राजकुलो खानेपानीका  लागि बनाइएका ढुङ्गेधारा विश्वविख्यात काष्ठमण्डप ,कृष्णमन्दिर, भक्तपुर दरबार आदि नमुना मात्र हुन्  । राणा शासनका बेला बनाइएको सिंहदरबार कुनै समयमा विश्वका सबैभन्दा ठूला प्रशासकीय भवन मध्ये पथ्र्यो । सन् १९१६ मा मकवानपुर र बारा जिल्ला जोड्ने गरी बनाइएको चुरे टनेललाई  एसियाकै पहिलो टनेल मानिन्छ । यस्ता थुप्रै सम्पदाहरुको छन् । जुन नेपालमा बन्नु पहिले विश्वमा दुर्लभ थिए ।

    सिभिल इन्जिनियरिङ अन्तर्गत विश्व ईतिहास नै हेर्ने हो भने आर्किटेक्चरलाई खासै महत्व दिइँदैनथ्यो तर नेपालमा रहेका मठमन्दिर र पुराना पुरातात्विक भवनहरुले प्राचीन समयदेखि नै सम्पदाहरु बनाउँदा आर्किटेक्चरको  को विशेष प्रयोग हुँदै आएको देखाउँछ । अरनिकोको इतिहासले पनि नेपाल वास्तुकला शिल्पकला को  क्षेत्रमा कति अघि थियो भन्ने कुरा बुझ्न सकिन्छ ।  सन् १९९० को भुकम्पले गर्दा प्राचीन नेपालका बारे खासै जान्ने मौका पाएनौँ तर भग्नावशेष र प्राचिन इतिहासलाई आधार मान्दा लिच्छबि र मल्लकालमा इन्जिनियरिङ क्षेत्रको विकास उर्वर रुपमा भएको अनुमान गर्न सकिन्छ । आज मात्र होइन अबको  बीसौं वर्षपछि पनि नेपालमा सिभिल इन्जिनियरिङको भूमिका उत्तिकै महत्वपूर्ण रहनेछ । भौगोलिक हिसाबले धेरैजसो भाग पहाडी क्षेत्रले ओगटेको हाम्रो देशमा पूर्वाधार निर्माण त्यति सहज छैन तुलनात्मकरुपमा कमजोर

    अर्थव्यवस्था र भौगोलिक कठिनाइका कारण विकास र प्रविधिमा हामी शक्ति राष्ट्रसँग प्रतिस्पर्दा गर्ने  अवस्थामा छैनौं तैपनि सिभिल इन्जिनियरिङको क्षेत्रमा धेरै गर्न सक्ने अवसर हामीसँग छ । ८३ हजार मेगावाटभन्दा बढी उत्पादन दिन सक्ने खोला, एसियाकै उत्कृष्ट मानिएको निजगढ विमानस्थल, निकै महत्वपूर्ण मानिएको  केरुङ –काठमाडौँ  रेलमार्ग, पहाडी क्षेत्रमा जोडिने कयौं पहाडी सडकहरु अबको सिभिल इन्जिनियरिङका लागि चुनौती र अवसर दुवै हुन् । २०७२ को भूकम्पले तहसनहस बनेका कयौ सार्वजनिक सम्पदाहरुको पुनःनिर्माण र अबका दिनमा भूकम्प प्रतिरोधी संरचना  निर्माण गर्नु आजको आवश्यकता छ । भूकम्पीय जोखिमको हिसाबले विश्वकै सबैभन्दा खतरनाक मानिएको काठमाडौं सहित देशका प्रमुख शहरहरुमा देखिएको

    अव्यवस्थित शहरीकरणलाई व्यवस्थित गरी सुरक्षित र स्वस्थ जीवनयापन जनतालाई प्रत्याभूत गराउनु हरेक सिभिल इन्जिनियरको कर्तव्य हो । भनिन्छ नि एक जना डाक्टरले गल्ती गर्नाले एक जना मान्छे मर्छ तर एक इन्जिनियरको गल्तीले हजारौं मानिस मृत्युको मुखमा पर्छन् । हरेक वर्ष हजारौंको संख्यामा हुने सडक दुर्घटना र ३ हजारभन्दा बढी अकल्पनीय मृत्युमा कुनै न कुनै रुपमा इन्जिनियरहरू पनि जिम्मेवार छन्  । इन्जिनियर देश विकासका खम्बा हुन् । तर विगत केही दशकमा यो क्षेत्र भ्रष्टाचारको अखडा बनेको छ । पिच भएको महिना दिन नपुग्दै भत्कने बाटो सा–सानो हावाहुरीले भाचिएका पुल ,दशकौसम्म अघि बढ्न नसकेका हाइड्रोपाबर र बिमानस्थल  देख्नु आजकल नौलो छैन। त्यसैले पनि सम्पूर्ण इन्जिनियरहरू

    आफ्नो दायित्वप्रति प्रतिवद्ध हुन आवश्यक छ । अझै पनि देशको धेरैजसो भागहरु सडक संजालले जोड्न बाँकी छ । सडक सञ्जाल बिना ती स्थान को बिकास हुनु कल्पना बाहिरको कुरा हो । सिभिल इन्जिनियरिङको दृष्टिकोणले मात्र होइन दैनिक जनजिबन र समग्र अर्थतन्त्रको हिसाबले पनि  महत्वपुर्ण छ। गतिलो यातायात पुर्बाधार नहुदा जुम्ला र हुम्लामा स्याउ कुहिएर गएको छ । अर्को तर्फ भने चाइनाबाट करोडौंको स्याउ आयात हुन्छ । समयमा सिचाइ आयोजना नबन्दा हजारौं हेक्टर खेतियोग्य जमिन बाझो राखी अरबौको खाधान्न आयात गर्नुपर्ने बाध्यता छ । पर्यटनको प्रचुर सम्भावना बोकेको हाम्रोजस्तो देशमा सिभिल इन्जिनियरिङलाई पर्यटनसङ जोडेर मनग्य आम्दानी गर्न पनि सकिन्छ। कालिगण्डकि नदिमाथी बनेको

    बागलुङ–पर्वत जोड्ने झोलुङ्गे पुलले केवल त्यहाँको आवातजावत सहज बनाएको छैन विश्वकै दोस्रो अग्लो बञ्जी संचालन गरि आन्तरिक र बाह्य पर्यटकको आकर्षणको केन्द्र बनेको छ । गोरखा जिल्लामा बनेको मनकामना केवलकार, नवलपुरको सि.जि धाम जस्ता थुप्रै क्षेत्रहरु छन्, जसले जीवनयापनमा मात्र होइन देशको र स्थानीयको अर्थतन्त्रमा प्रत्यक्ष प्रभाव पारेका छन् । देशमा निर्माण गरिने हरेक पूर्वाधारलाई बहुआयामिक तवरले निर्माण गरिनु आवश्यक छ । देशलाइ विकास र समृद्धिमा अघि बढाउन सिभिल इन्जिनियरको भूमिका अहम हुन्छ । अझ देश संघीयतामा गैसकेको अवस्थामा हरेक कुना कन्दरामा विकासका पूर्वाधार पुर्याउन एक दक्ष प्राबिधिकको हिसाबले इन्जिनियरले गर्ने हरेक कार्यकलाप देशको भविष्यसँग पनि जोडिन्छ ।

    देशको सरकारी सेवामा कार्यरत ५÷१० हजारको  संख्यामा रहेका इन्जिनियरहरुले भ्रष्टाचार बिना आफ्नो काम सम्पन्न गर्ने हो भने मात्र एकातिर हाम्रो दिगो विकासको सपना पूरा हुन्छ भने अर्कोतिर समयमै काम सम्पन्न भइ उचित लाभ राज्यले लिन सक्छ । त्यसका लागि सर्वप्रथम इन्जिनियरिङ बिषयमा प्रयोगात्मक सिकाइ आबस्यक छ । नेपालमा अहिले धेरैजसो बिस्वबिधालयबाट निस्केका इन्जिनियर विद्यार्थीहरुको प्रयोगात्मक ज्ञान शुन्यप्राय छ । त्यसैले यस्ता प्राबिधिक क्षेत्रहरुमा राज्यले धेरैभन्दा धेरै राज्यले लगानी गर्नुपर्छ । विकासका पूर्वाधार बिना देश कुनै पनि क्षेत्रमा अघि बढ्न सक्दैन । राज्यले अधिकतम लगानी गरे पनि व्यवस्थित नहुँदा एकातिर देशको पूँजी दुरुपयोग हुँदै छ । भने अर्को तिर अपरिपक्क निर्माणले दुर्घटना निम्ताएको पनि छ ।

    समयको विकासक्रमसँगै राज्यको तर्फबाट लागू गरिएका भवन निर्माण आचारसंहिता, नेपाल रोड स्टान्डर्ड जस्ता अनेकौँ कार्यबिधी सिघ्र अति सिघ्र हरेक स्थानीय तहमा र्काान्वयन हुनु जरुरी छ । विकास योजनाहरु छुट्टाउन मात्र होइन व्यवस्थित तबरले सम्पन्न गर्ने पनि राज्य र प्राबिधिक कटिबद्ध हुनुपर्छ । मेलम्ची, पश्चिम सेती र निजगढ जस्तो हालत राज्य तहबाट कुनै पनि आयोजनाको हुनु हुँदैन । आम जनसमुदाय, प्राबिधिक र राज्यको संयुक्त सहभागिताले मात्र विकास निर्माणका काम सम्पन्न हुने हुँदा आआफ्नो क्षेत्रको काम कुशलतापूर्वक सम्पन्न गरि दीगो विकासमा अघि बढ्नु आजको आवश्यकता हो ।


    अग्रता शर्मा

    उहाँले बागलुङ पोस्ट डटकमका लागि नियमित लेख लेख्नुहुन्छ ।

    सम्बन्धित समाचार