तिमी,
देशमा जनताको शासन ल्याउन
छातीमा गोली थापे पछाडी
गणतन्त्र, प्रजातन्त्र, लोकतन्त्र आयो
तर बिडम्वना
जुन आए पनि
सामन्ती तन्त्र न हो
शक्तिवालाले एक इसारामा
सरकार ढलाउछ
यहाँ ‘लोक’ ले होइन
‘तन्त्र’ले सबथोक चलाउछ
देशलाई जिवित बनाउन
तिमी निर्जीव बनेका हौ
आज हेर त
देश थला पर्न लागेको छ
शरीर धान्न नसक्नेहरुले
देश धानी रहेका छन्
देशको भविष्य बोक्ने काधहरु
खाडीमा घन हानि रहेका छन्
यो खोला नालाहरुमा
आफ्नो रगत बगायौ
आफू स्वाश फेर्न छोडेर
देशलाई सितल बतास दियौं
तर हेर न
फोहोरी राजनीतिले
देश निसासिएको छ
तिमी ले ठड्याएर छोडेको
सगरमाथा जस्तो अग्लो स्वाभिमान
शरणार्थी भएको छ
माघ १६ गते मात्र,
पत्रपत्रिकाको हेडलाईनमा
तिमी समाचार बन्छौ,
लेखिन्छ तिम्रा बारेमा
थुप्रै कथा र कविताहरु
सहिदमय बनाइन्छ
समाजिक संजालका भित्ताहरु
तिम्रो गलामा
नयाँ माला फेरिदिन्छन
तिम्रो साहसका गीत गाएर
पुरै सालिकहरु घेरिदिन्छन
तिम्रा बलिदानका फाइदा लिएर
सत्तामा पुगेकाहरुले
आजको दिन मात्र
तिम्रो गुणगान गाउदै
भाषण दिनेछन्
तिम्रो सपना पूरा गर्ने
झुटा बचन दिनेछन्
अनि भोलिदेखि
तिमीले देखेको नयाँ नेपाललाई
गोलि मार्दै,
तिम्रा सबै सपनाहरुलाई
रुखमा झुन्डाएर
देश लुट्न कम्मर कस्ने छन
तिमी लाई आज सम्झिए
अब एक वर्ष ढुक्क बस्नेछन्