सहिद शब्द आफैमा अति सम्मानित शब्द हो । यस शब्दले देश, जनता, राष्ट्रियता, सार्वभौम सत्ता, नागरिकहक, स्वतन्त्रताका लागि संघर्ष गर्दा, अन्याय अत्याचारका विरुद्ध आवाज उठाँउदा दिलो ज्यान बलिदान दिन्छ । त्यो नै सच्चा सहिद हो जसले राष्ट्र, राष्ट्रियता, नेपाली आमालाई रक्षा गर्नका लागि प्राण वा जीवन आहुति गर्नु वा बलिदान गर्दछ । देश र समाजमा भएका असमानता, दमन शोषण लगायत राजनीतिक, सामाजिक, आर्थिक, सांस्कृतिक, भौगोलिक जस्ता विभिन्न क्षेत्रमा भएका गलत प्रवृतिका विरुद्ध आवाज उठाउँदा दिलो ज्यान गुमाउन पुगेका व्यक्ति वास्तविक सहिद हुन् । आज शहिदको परिभाषा शायद फेरियो कि भन्ने लाग्दछ ! त्यसैले होला शहिदको संख्या, उनीहरुलाई गर्ने सम्मान, उनीहरुले पु¥याएको योगदानका बारेमा चर्चा गर्न एक बर्ष कुर्न पर्ने अवस्था रहेको छ । हरेक वर्ष माघ १६ गते शहिद दिवसका दिन शहिद पार्कका गएर उनीहरुको शालिकमा फूलमाला अर्पण गरी र २, ४ वटा भाषण ग¥यो १ मिनेट मौन धारण ग¥यो अनि चियापान तिर लाग्यो बस शहिद दिवश सम्पन्न भयो । त्यस पछि अन्त्यमा भनिन्छ शहिद दिवस भव्य रुपमा मनाइयो ।
अखिर सहिदको नाममा एक दिन, केही क्षण भाषण गरेर उनीहरु प्रति सच्चा सम्मान हुन्छ त ? उनीहरुले देश र जनता प्रति गरेको बलिदान र सपना साँच्चै पुरा भएको छ वा छैन यो गम्भीर चिन्तनको विषय हो । देश र जनताको रक्षा अधिकार प्राप्तीका लागि दिलो ज्यान दिने विभिन्न कालखण्डका शहिद र उनीहरुको परिवारलाई राज्य राजनीतिक दल, नागरिक समाज र हामी सबै सचेतवर्गले उनीहरुलाई कसरी सम्मान गर्ने स्मरण गर्ने, उनीहरुले पु¥याएको योगदानको कसरी कदर गर्ने ? नयाँ पुस्ताले उनीहरुको जीवनीको बारेमा के कस्ता विषयमा जानकारी पाउनु पर्ने हो भन्ने विषय आज हामी नेपालीका लागि सोच्नै पर्ने विषय हुन् । उनीहरुका लागि कुनै राजनीतिक दलको कार्यकर्ता थियो म¥यो १० लाख पायो सकियो । वर्षको १ पटक सम्झिएकै छ भनेर हल्लका तरिकाले लिने चलनले शहिदको सम्मान हुन्छ ? यसरी शहिदको रगतको बलिदानको कदर हुन्छ ? देशमा राणा शासनको अन्त्य गर्नका लागि बलिदान गर्ने शहिद लखन थापा, दशरथ चन्द, धर्मभक्त माथेमा, शुक्रराज शास्त्री, गंगालाल श्रेष्ठदेखि पञ्चायतकालीन शासन व्यवस्थाको विरोधमा दिलोज्यान दिएका शहिद, प्रथम जनआन्दोलन, दोस्रो जन आन्दोलन, १० वर्ष जनयुद्धमा ज्यान गुमाएका शहिद, तराई मधेसको सघंर्षमा शहिद बनेका देखि विभिन्न समयमा राष्ट्र र राष्ट्रियताको सरक्षण, हक अधिकार न्यायका लागि जीवन आहुति गर्न सवै महान शहिद, नेपाली आमाका सपुत हामी सवै नेपालीका आदरणीय गौरव वोकेका व्यक्ति हुन् ।
त्यसेैले शहिदको अवमूल्यन हुने, योगदानको सम्मान नहुने, पसिना र रगतको कदर नहुने हो भने अव देश र जनताको लागि लड्न को तयार हुन्छ ? इतिहासको विभिन्न कालखण्डका भएका संघर्ष आन्दोलन युद्ध लडाईमा वास्तवमा ठूला नेता कोही शहिद बनेनन् सवै नेपाली आमाका मध्यम वर्गीय परिवारका छोरा छोरी शहिद भएका छन् । शहिद बन्न तयार नहुने तर राष्ट्र राष्ट्रियताको रक्षा हामीले गरेका हौ । सवै परिवर्तन ल्याउने श्रेय हामी र हाम्रो पार्टीमा छ भन्ने प्रवृतिले अहिले राजनीति प्रति वितृष्णा जागेको पाइन्छ । युवापुस्ता राजनीतिलाई फोहोरी खेलको रुपमा लिन विवश छन् । जनतालाई केवल चुनावको बेलामा मात्र खोजिन्छ अनि चुनाव सकिए पछि नेता र कार्यकर्ता वीचको खाड्ल गहिरिन्छ । चुनावको बखत चिनजान भएर उसैको भोट र योगदानले जितेको नेता सांसद, मन्त्री भएपछि नचिन्ने बन्दछन् । आवश्यक परेको समयमा काम हुनु त परैजाओस् भेट्ने समय पनि दिदैनन् । यस्तो अवस्थामा अब देशमा राजनीतिक परिवर्तन नेताले वा युवा कार्यकर्ता कसले गरेका हुन् ? परिवर्तनमा कसको हात र योगदान छ ? सरोकारवाला सबैले बुझ्नु आवश्यक छ ।
कसकालागि कसले, के गर्न परिवर्तन ल्याएका हुन स्पष्ट हुन जरुरी छ र सोही अनुरुप राजनीतिमा आमुल सुधार हुन आवश्यक छ । नेता, नीति, नेतृत्व बीचको टकराबको अन्त्यगरी राम्रो रणनीति बनाएर जनआस्था र सहभागितामा काम गर्ने पर्ने समय आएको छ । जनताहरुले पनि अधिकार खोज्ने तर कर्तव्य पुरा नगर्ने सैलिमा आमुल परिवर्तन हुन जरुरी छ । देशमा गणतन्त्र आएको पनि १० वर्ष विति सक्यो जनताका अपेक्षाहरु बढदै गएका छन् । शहिदको सपना पुरा हुन सकेका छैनन् । ‘जो म¥यो उसैका छोराछोरी टुहुरा’ आमाको काख रित्तै भनेझैँ शहिद परिवार अझैँ शोक, भोक र रोगमा पिल्सिएको छ । ‘घाइते परिवार झनै शोक, भोक र रोगमा पिल्सिएको छ ।’ घाइते परिवारजन, द्वन्द्व पिडितको अवस्था उस्तै बल्झिरहेको छ । बेपत्ता पारिएका परिवारको विचल्ली अझै कहाली लाग्दो छ । कति सरकार फेरिए, शहिद बनाउन आन्दोलनमा होमाउने व्यक्ति पनि पटक पटक मन्त्री बने आखिर सच्चा देश भक्त शहिद, शहिद परिवारले के पाए ? उनीहरुका लाला बाला, बालबच्चा, वृद्ध बाबा आमा , अवला श्रीमतीले आखिर के पाए, राज्यले के दियो ? के दिने योजनामा छ ?
यो विषयमा आज आम जनता अञ्जानमा छन् । चुनावको समयमा भोट आकर्षित गर्न शव्दजालमा विकासका आधिँवेरी ल्याउने काम गरी घोषणा पत्र तयार हुन्छन । छलछाम गर्न नेता पछि पर्देनन् । यो जितेका नेताको लागि मात्र प्रश्न होइन चुनावमा जनताको समर्थन हुदाँ हुदै पनि केही मतान्तरले पराजित नेताका लागि पनि प्रश्न हो । चुनाव हारे पछि हारेका नेताका जनता होइनन् र जनउत्तरदायी नहुने ? उसको समाजमा केही भूमिका हुदैन र ? अर्को चुनावसम्म मौन भएर बस्ने चलन हाम्रो देशमा छ । यस्तो राजनीतिक प्रवृतिले जन अपेक्षा अनुसार काम हुन नसक्दा आज लाखौँ युवा विदेशिन बाध्य छन् । गाउँमा बुढाबुढीको उपचारका लागि अस्पताल लैजाने मानिस छैन , मरेपछि पनि काज किरिया गर्न मानिस खोज्नु पर्ने अवस्था छ । प्रशव व्यथा बोकेका नारीको अवस्था अझै दर्दनाक छ, बाटोमै प्राण त्याग गर्न विवश छन् । सुत्केरी महिला आवश्यक औषधि र पौष्टिक तत्वको अभावमा तडपि रहेका छन । यस्ता विविध समस्यामा राज्य सरकार जिम्मेवार हुनुपर्ने बा नपर्ने ? शहिदले स्वदेशमा रगत बलिदान गरेर स्वदेश बनाउन दिलो ज्यान दिए आज हजारौँ युवा विदेशी भूमीमा जीवन आहुति गरेका छन् । यो अवस्था सृजना गर्ने को ? यो विषयमा जवाफदेही को हुने ? कसले यो समस्याको समाधान खोज्ने ?
शहिदले बा शहिद जन्माउनेले बा शहिद बनाउनेहरुले गम्भीर अवस्था आज हामी सामु छ । साँच्ची शहिदको सम्मान गर्न उनीहरुको आत्माको शान्तिका लागि देशमा अमन चयन , शान्ति, सुव्यवस्था , हत्याहिंसाको अन्त्य नागरिक अधिकार, जनमतको सम्मान, दिगो विकास, समानता, समानुपातिक विकास, कानुनी शासन , विधिको शासन हुन जरुरी छ । शहिद परिवार र उनीहरुको समग्र जीवन सुधार गर्नमा राज्यले पूर्ण सघाउनु आवश्यक छ । शहिदहरुलाई धोका दिने प्रवृतिले आज आफु मर्दा कसले हेर्ने भनि सोच्न बाध्य हुनु अत्यन्त जरुरी भएको छ । शहिदको सपना पुरा हुन नसक्नु, पुरा हुने वातावरण नबन्न शहिद माथी धोका दिनु हो । त्यसैले शहिदको योगदानको कदर गर्दै उनीहरुको स्मरण एक दिन मात्र होइन हरेक योजना बनाउँदा, कार्यान्यन गर्दा, कुनै विशेष खालका निर्णय गर्दा उनीहरुको सपनालाई सम्झनु जरुरी छ । नेपाल आमालाई बचाउने शहिद रुदा कसैको कल्याण हुदैन । संघियतालाई संस्थागत गर्न, समग्र विकास गर्न, संघ ,प्रदेश र स्थानीय निकायले शहिदका सपना साकार बनाउने गरी योजनावद्व ढंगले अगाडि बढ्न भुल्नु हुदैन ।
नतिजामुखीे, नागरिकमुखी, नागरिकको विश्वास आर्जन गर्न सक्ने सरकार, प्रतिस्पर्धी ,सेवामुखी, लक्ष्य उन्मुख सरल भविष्यमुखी, उपलब्धीमूलक एवं नतिजामुखी चुस्तदुरुस्त प्रशासन भई सेवा प्रवाहमा हुने दैनिक समस्याहरुको समाधानसँगै मानव अधिकारको सम्मान, अन्याय र शोषणको अन्त्य, नागरिकहरुका बीच सदभाव र मैत्रिपूर्ण वातावरण, कुण्ठा, आक्रोस र द्वन्द्वको सम्बोधन, स्वेच्छाचारीताको नियन्त्रण, लोकतन्त्रको सुदृढिकरण, निष्पक्षताको प्रत्याभुति भएको अवस्थामा मात्र समुन्नत, शान्त र न्यायपूर्ण नेपाल निर्माण भई शहिदका सपना साकार हुनेछन् । त्यसैले माघ १६ गते एक दिन शहिद दिवश मनाएर शहिदका सपना पुरा हुदैनन् । सधैभरि शहिदको सम्मान हुने काम गरी उनीहरुको स्मरण गर्ने पर्दछ । नेपाली आमाको मुहार हँसाउन शहिदले बगाएको रगतको सम्मान गर्न, नेपाली आमाका सपुतका गलामा मालाले होइन सुशासन, दीगो विकासले सम्मान गर्नु पर्दछ । रोइरहेकी आमा हाँस्नु पर्दछ, सुस्ता, कालापानी , दसगजा नक्सामा मात्र होइन वास्तविकत रुपमा हाँस्नु पर्दछ । जङ्गे पिल्लरहरु जुन ठाउँमा थिए सोही ठाउँमा गाडिनु पर्दछ अनिमात्र शहिदको सपना पुरा हुनेछन् । बर्षको एक दिन झारा टार्न होइन सदैव स्वस्थ र सफा मनले शहिदको सम्मान र स्मरण गरिनु पर्दछ ।