अब कांग्रेसको आफ्नै भवन

बागलुङ काँग्रेसको आफ्नै घर बनाउने अभियान तीव्र

बागलुङ काँग्रेसको आफ्नै घर बनाउने अभियान तीव्र

  • माघ २६, २०७८ बुधवार
  • १८:१७:३७ बजे
  • 3.4K
    SHARES
  • बागलुङ काँग्रेसको आफ्नै घर बनाउने अभियान तीव्र

    बागलुङ : नेपाली काँग्रेस बागलुङले पार्टी कार्यालयका लागि आफ्नै भवन निर्माणको अभियान थालेको छ ।

    हालै निर्वाचित नेपाली काँग्रेसको जिल्ला कार्यसमितिले पहिलो बैठकबाट पार्टी कार्यालयका लागि वीपी स्मृति भवन निर्माण गर्ने निर्णय गरेका थियो । बैठकको निर्णय अनुसार अहिले काम अगाडि बढाइएको नेपाली काँग्रेस बागलुङका सभापति जीतबहादुर शेरचनले बताए ।

    पार्टी कार्यालय निर्माणका लागि बागलुङ नगरपालिका—३ नारायणचोकमा जग्गा टुंगो लगाएर बैना गर्ने काम समेत भैसकको उनले बताए ।

    ‘हामी बागलुङ नगरपालिका—३ मा  १४ आना जग्गाको व्यवस्थापन गरिसकेको छौं,’ उनले भने,‘जग्गाको मूल्याङ्कन गरेर जग्गाधनीलाई २५ लाख रुपैयाँ बैना दिएका छौं । चाँडोभन्दा चाँडो पार्टी कार्यालय निर्माण गर्ने योजना रहेको छ ।’ 
    बागलुङ नगरपालिका—३ मा रहेको कृष्णशंकर श्रेष्ठ र ईश्वर राजभण्डारीको नाममा रहेको जग्गाको दुई करोड ५ लाख मूल्य निर्धारण गरेर बैना गरिएको उनले बताए ।

    ‘हामी बागलुङ काँग्रेसको नेतृत्वमा आएपछि पार्टी कार्यालय नै बुर्तिबाङ लैजान्छ भन्ने खालका अफवाहहरु पनि चलेका थिए,’ उनले भने,‘हामीले पार्टी कार्यालय बनाउँछौं । यही बागलुङमै बनाउँछौं, बुर्तिबाङमा क्षेत्रीय कार्यालय बन्छ ।’

    नेपाली काँग्रेस बागलुङलाई थप व्यवस्थित र सशक्त बनाउनका लागि आफ्नै पार्टी कार्यालय जरुरी रहेको उनले बताए । ‘पार्टी कार्यालय भनेको नेता कार्यकर्ताको मन्दिर जस्तै हो, त्यो भनेको चौबिसै घण्टा खुला हुनुपर्छ,’ उनी भन्छन्,‘त्यसका लागि आफ्नै भवन जरुरी छ । भाडाको घरमा बसेर काम गर्न कठिन हुन्छ ।’ 


    उनले केही वर्षभित्र कार्यालय निर्माण गरिसक्ने योजना रहेको सुनाए । जतिसक्दो छिटो जग्गा पास गरेर चाँडो भवन निर्माण गर्ने गरी पार्टी अगाडि बढेको पार्टी सचिव गण्डकी थापा अधिकारीले बताइन् । ‘जग्गा बैना भैसकेको छ पास गर्न बाँकी छ, त्यसका आर्थिक सङ्कलनको अभियान तीब्र पारेका छौं,’ उनले भनिन्,‘यही महिनाभित्र पार्टीको नाममा जग्गा ल्याउने हाम्रो योजना हो । हेरौं कति सम्भव हुन्छ ।’ पार्टी सभापति जित शेरचन संयोजक, सहदेव राजभण्डारी सहसंयोजक र पार्टी सचिव हरिहर शर्मा सदस्य सचिव रहेको सहयोग सङ्कलन समितिको खाता सञ्चालन गरिएको उनले बताइन् ।

     पार्टी कार्यालयको जग्गा किन्न र भवन निर्माणका लागि सबैसंग सहयोग आह्वान गरिएको नेपाली काँग्रेस बागलुङका सचिव हरिहर शर्माले बताए ।

    ‘हामीले पार्टीका नेता कार्यकर्ता, भातृ तथा शुभेच्छुक संस्थामा आबद्ध व्यक्तिहरु, उद्योगी व्यवसायी सबैलाई हाम्रो पार्टी कार्यालय निर्माणका लागि सहयोग गर्न आग्रह गरिरहेका छौं,’ शर्माले भने,‘कतिपयले सहयोग रकम र चेक हस्तान्तरण गरिरहनुभएको छ । कतिपयले बोल्नुभएको हस्तान्तरण गर्न बाँकी छ । सकेसम्म यो निर्वाचन अगाडि नै काम सुरु गर्छौं ।’ अब निर्वाचन केन्द्रीय अभियान सञ्चालन गर्नुपर्ने भएकाले सकेसम्म छिटो यो काम टुंग्याउने पक्षमा आफूहरु रहेको उनले जानकारी दिए । ‘अब स्थानीय तह निर्वाचनका लागि पार्टीका सिंगो शक्ति त्यता लगाउनुपर्ने भएकाले छिटो यो काम टुङ्ग्याउने योजनामा छौं, राजनीतिक पार्टी अन्य धेरै गतिविधिमा संलग्न हुनुपर्ने भएकाले पनि भने जसरी लाग्न पाएका छैनौं, छिटै काम हुन्छ,’ शर्माले भने ।

     जग्गा पास भए लगत्तै भवन निर्माणको काम समेत अगाडि बढाउने गरी भवनको डिजाइन इष्टिमेट तयारीका विषयमा पनि छलफल चलिरहेको उनले बताए ।

    ‘हामी प्राविधिक साथीहरुसंग बसेर सामान्य छलफलहरु गरेका छौं, पुरै टुंगो लाग्न बाँकी छ, निर्माणको काम पनि चाँडो अगाडि बढाउने हो,’ उनले भने । भुईतला बाहेक कम्तीमा पाँच तलाको भवन निर्माण गर्ने तयारीमा रहेको उनले सुनाए । ‘इन्जिनियरिङ डिजाइनको काम भैसकेको छैन, भुइँतलामा सपिङ कम्प्लेक्स सहित बनाउने कि भन्ने पनि कुरा भएको छ, भुइँ तलामा पार्किङको व्यवस्था त हुन्छ नै,’ उनले भने,‘त्यो बाहेक अरु पाँच तलाको हुने गरी भवन निर्माण हुन्छ ।’

     भवनको पहिलो तलामा भातृ तथा शुभेच्छुक संस्थाको कार्यालय,दोस्रो तलामा प्रदेश क्षेत्र, संघीय क्षेत्र र पालिका कार्यालय, तेस्रो तलामा सचिवालय र पुस्तकालय तथा चौथो तलामा सभापति सहित पदाधिकारीको कार्यकक्ष र बैठक कक्ष हुनेछ । पाँचौ तलामा कम्तीमा चार पाँच सय व्यक्ति अटाउने गरी सभाहल बनाउने छलफल भएको र विज्ञहरुसंगको छलफलपछि टुंगो लाग्ने उनले बताए ।

    नेपाली काँग्रेस बागलुङको आफ्नै पार्टी कार्यालय भवन नहुँदा यस अगाडि पार्टी सभापतिहरुले आफ्नो अनुकुलतामा घर भाडामा लिएर कार्यालय सञ्चालन गर्दै आएका थिए । 

     

  • सम्बन्धित विषय:

  • # काँग्रेस
  • # बागलुङ
  • # वीपी स्मृति भवन

  • संगम घर्तीमगर

    उहाँ बागलुङ पोस्ट डटकमका कार्यकारी सम्पादक हुनुहुन्छ ।

    सम्बन्धित समाचार