विचार

पर्यटकीय गाउँ नागीले तानेको मन

पर्यटकीय गाउँ नागीले तानेको मन

  • माघ २७, २०७८ बिहिवार
  • ०८:३४:५९ बजे
  • 3.4K
    SHARES
  • पर्यटकीय गाउँ नागीले तानेको मन

    नेपाल विश्वमै अनुपम देश हो । यहाँ विभिन्न जातजातिका आ–आफ्नै संस्कृति र परम्पराहरु रहेकोले भाषा, कला, रीतिरिवाज, रहनसहन आदि पनि फरक फरक किसिमका छन् । प्राकृतिक सम्पदाले धपक्क बलेको नेपालमा सदा मुस्कुराउने हिमश्रृखलाहरु, कल्कलाउँदा झरनाहरु, शिरशिरे बताससँगै दुनियालाई मोहित पार्ने हरिया जंगल, मनोरम दृश्यहरु रहेका छन् । विविध जातजातिहरुका आ–आफ्नै रमाइला संस्कृतिले झकिझकाउँ नौलो पहिचान बोकेको नेपाल हिमाल, पहाड र तराई गरी तीन भागमा विभाजित छ । यसरी विभाजित नेपालको प्रत्येक क्षेत्रको आ–आफ्नै  मौलिक विशेषताहरु रहेका छन् ।   नेपालको प्रदेश नं ४ अन्तर्गत साविक धवलागिरि अञ्चलका चारवटा जिल्ला मध्येको एउटा म्याग्दी जिल्लाको राम्चेमा अवस्थित नागी गाउँ प्राकृतिक सुन्दरताले सु–सज्जित र भरिपूर्ण छ । शुरुमा नाङ्गो (खाली) डाँडा भएको र त्यस डाँडामा विभिन्न ठाउँबाट सिकारीहरु आएर सिकार गर्दथे । त्यसै क्रममा एउटा सिकारी धेरै पहिलादेखि नै त्यहाँ आएर बसेको र त्यसपछि उसलाई खोज्ने क्रममा सिकारी नाङ्गो डाँडामा छ रे भन्ने सुनेपछि त्यस ठाउँको नाम नागी रहन गएको पाइन्छ । समुन्द्री सतहदेखि करिव ३००० मिटर उचाइमा रहेको राम्चेमा सितोपष्ण हावापानी पाइन्छ ।

    यहाँका महरेडाँडा, ढुङ्गा गाडे धुरीमा एक महिना हिउँ जमिरहन्छ । जिल्ला  सदरमुकामबाट उत्तरमा पर्ने राम्चे पर्यटकीय सम्भावना बोकेको क्षेत्र हो । म्यागासेसे पुरस्कारका विजेता महाविर पुनको जन्मथलोका रुपमा सुपरिचित यस गाउ‘ सूचना प्रविधि, पर्यापर्यटन, कृषि, घरेलु उद्योग, जडिबुटी, च्याउ, चिया लगायत विविधतामा अगाडि रहेको छ ।  नागीमा बसोवास गर्ने मानिसहरु मध्ये ९० प्रतिशत मगर जातिहरु छन् । मगर बस्ती रहेको नागी गाउँमा मगर जातिको संस्कृतिले सम्पन्न छ । त्यहाँको मगरहरुमा पुन, पुर्जा, गर्वुजा लगायत रहेकाछन् । नागी गाउँको प्राकृतिक सौन्दर्य र रहनसहन भेषभूषा आफ्नै मौलिकता झल्काउने खालको रहेको छ । नागी गाउँबाट चारै तिरको रमणीय दृश्य अवलोकन गर्न सकिन्छ । भौगोलिक बनावट अनुसार प्राकृतिक छटाले सिगारिएको छ नागी गाउँ । महाविर पुनले सूचना प्रविधिको विस्तार गरेपछि नागीका मानिसहरुको जीवन स्तरमा परिवर्तन आउन थाल्यो । त्यसैको प्रभावले यस ठाउँका मानिसहरुले आत्मनिर्भर हुनका लागि विभिन्न तालिमहरू लिएर हरेक क्षेत्रमा तत्पर रहि आफ्नो छुट्टै किसिमको पहिचान बनाउन सफल भएका छन् । नागी गाउँमा विभिन्न शिपहरु सिकाई रोजगारका कार्यहरु सञ्चालन गरिएको छ, जस्तै यहाँ गाउँको सामुदायिक वनमा पाइने भरुवाबाट नेपाली कागज निमार्ण स्थानीय, फल पलमबाट जाम उत्पादन, माछा पालन, चौरी पालन विभिन्न किसिमका हाते मेसिनबाट तयार पारिएका झोला टोपी, रुमाल, स्वीटर जस्ता सामानहरु निर्माण गर्ने आलु,भुईस्याउ, नर्सरी उत्पादन, होम–स्टे सञ्चालन गरेर यस गाउँका मानिसहरुले आर्थिक क्षेत्रमा परिवर्तन गर्न सफल भएका छन् । प्राकृतिक सौन्दर्य र सम्भावनाले भरिपूर्ण नागी गाउँ साच्चिकै आर्थिक उन्नति, सामाजिक प्रगति, सांस्कृतिक पहिचान र प्राकृतिक महत्वका लागि आधारशिला बनेको छ ।

    कुनै पनि ठाउँको भाषा, कला, संस्कृति, रीतिरिवाज भनेको त्यस ठाउँको मौलिक पहिचान हो । भौगोलिक विविधता, प्रचुर प्राकृतिक एवं जैविक सम्पदा, सामाजिक, संस्कृतिक विविधता आदि त्यस ठाउँका प्रमुख आकर्षण हुन् । संस्कृति समुदाय वा जातिको पहिचान भएकोले यसलाई उनीहरुले गर्वको रुपमा लिन्छन् । नागी गाउँमा बहुसंख्यक मगर जाति रहेका छन् । उनीहरुमा आफ्नै मातृभाषा भए पनि प्राय जसो नेपाली भाषा नै प्रयोग गर्दछन् । पहिला पुर्खाहरुले मगर भाषा बोले पनि आजभोलि यो भाषा लोप भएकोले आफ्नो मातृ भाषालाई जिवित राख्नका लागि मातृ भाषासँग सम्बन्धित विभिन्न कलासहरु दिने गरेको पाइन्छ । यहाँका मानिसहरुले हिन्दु धर्म मान्ने गरेका छन् तर उनीहरु धर्मप्ति कुनै पनि कुरामा कट्टर देखिदैनन् । रोदीबस्ने, सोरठीनाच, घाटुनाच आदि यहाँका सांस्कृतिक मनोरन्जनका पक्षहरु हुन् । जनैपूर्णिमा, माघेसंक्रान्ति, दसै, तिहार, तीज यहाँका मुख्य चाडपर्वहरु हुन् । चाडपर्वमा चेलीबेटीलाई बोलाएर मिठो खाने, रमाइलो गर्ने, तीजमा व्रत बस्ने, भेटी दिने साथै चाडपर्वहरुमा राँगो, खसी, बोका, कुखुरा काट्ने चलन छ । दसैंमा मान्जयजनको हातबाट टीका लगाउने, आर्शिवाद लिने गर्दछन् भने तिहारमा दिदीबहिनीको हातबाट टीका लगाउने र गक्षअनुसार सगुन दिने गर्दछन् ।

    यस्तै माघेसंक्रान्तिमा खिचडी, तरुल खाने र गाउ‘ँका सबै मानिसहरु एकै ठाउँमा जम्मा भई रमाइलो गर्ने चलन छ । त्यहाँका मानिसहरुले मगर पहिरनमा सजिएर पर्यटक तथा पाहुनाहरुलाई स्वागत गर्दछन् । यस क्षेत्रमा जन्म संस्कार,छैठी, न्वारन , पास्नी (अन्नप्राशन) , ब्रतवन्ध (छेवर), मागी विवाह, प्रेम विवाह, चोरी विवाह ,मृत्यु संस्कार अन्त्यष्टी, क्रिया, बरखी, श्राद्ध आदि प्रचलित छन् । यहॉ अन्य ठाउँको तुलनामा लैंगिक समानता रहेको पाइन्छ । महिलाहरुलाई भेदभावपूर्ण व्यवहार गरिदैन, बरु त्यहाँका महिलाहरु विकासको कार्यमा बढि सक्रिय भएको देखिन्छ । मगर जातिभित्र आपसी मित्रता सहिष्णुता  छ । यहाँका मानिसहरु एक अर्काबीच  मिली सामुहिक कार्य गर्छन् । अन्य जाति वा संस्कृतिसँग द्वन्द्व नहुनाले पनि यो समाज शान्त र रमणीय वा पर्यटकीय स्थलको रुपमा सफल रहन पुगेको पाइन्छ । नागी गाउँलाई चिनाउन वा त्यसको प्रचार प्रसार गर्ने तथा समाजलाई समझदारी तर्फ उन्मुख गराउन त्यस गाउँका सम्पूर्ण मानिसहरुको  समान भूमिका छ र मानिसहरु विकासका लागि सामुहिक कार्य गर्दछन् । यसरी सामुहिक कार्य गरी आर्जन गरेको आम्दानीलाई शिक्षा, स्वास्थ्य, विद्युत आदि आधारभूत तत्वहरुमा खर्च गर्दछन्, अर्कोतर्फ यहाँ विकास भएको वायरलेस नेटवर्किङ परियोजनाले सबै मानिसहरुलाई सहजता ल्याएको छ । संचारको विकासले महिनौ लाग्ने काम पनि छिटो  भन्दा छिटो गर्न सकिने भएको छ ।

    सांस्कृतिक विविधताले धनी नागी गाउँ मन र विचारले पनि त्यतिकै धनी छ । विगतमा पेशा, व्यवसाय शिक्षामा विकर्षणका कारण त्यहाँका मानिसहरु पोखरा, चितवन, काठमाडौ बसाइ सराई गरेको भएपनि वर्तमान अवस्थामा ग्रामीण पर्यटन, विकासका पूर्वाधार आदिका कारणले शिथिलता आएको छ ।यहाँको परम्परागत पेशा कृषि तथा पशुपालन भएपनि त्यहाँका मानिसहरु झोला बुन्ने, जाम बनाउने , वृटिस, भारती सेनामा भर्ती हुने लगायत वैदेशिक रोजगारका लागि यूरोप, अरबका देशहरुमा जाने गर्दछन् । गाउँमा बस्नेहरु समूहमा आलु खेती, पशुपालन, पर्यटन व्यवसाय सम्बन्धी क्रियाकलाप, स्थानीय श्रोत साधनहरुमा आधारित उद्योग व्यवसायमा संलग्न रहेका छन् । नागी राम्चे विभिन्न खेती बालीका लागि पनि प्रख्यात रहेको छ । यहाँ मौसमी, बेमौसमी खेती, फलफुल किवी, सुन्तला, स्याउ, भुई स्याउ, आलु, मकै, कोदो, गहुँ, सिमी, भट्टमास, केराउ, प्याज, काउली, बन्दा , उखु, साग सब्जी आदि उत्पादन हुने गरेका छन् । ती मध्ये आलु उत्पादन यो क्षेत्रमा बढी हुने गरेको छ । यस क्षेत्रका मानिसहरुहरुले परम्परागत पेशाको रुपमा घर निमार्ण सम्बन्धी कला डोको नाम्लो, नाङ्लो, झोला, भाँग्रा, माछा मार्ने कुडेलो आदि पेशा गरी जीवन चलाउने गरेको पाइन्छ ।

    यस क्षेत्रमा गाई, गोरु, भैसी, राँगा, भेडा, कुखुरा, बाख्रा पाल्ने गरेको पाइन्छ । पेशालाई निरन्तरता दिने किसिमले मात्र पशुपालन गरिदै आएपनि बाख्रा पालन, मौरी पालनबाट प्रसस्त आम्दानी गर्न सकिने देखिन्छ । दुग्ध उत्पादनसँगै छुर्पी, चिज, घ्यू, दुध, दहि पनि विक्री गर्ने गरिन्छ । यहाँका मानिसहरुले आरु पखडाबाट जाम, माडा, अचार, सुकुटी पनि बनाउने गरेका छन् । ८७१ हेक्टर जमिन रहेको नागीको वनमा गोव्रेसल्ला, खोटेसल्ला, लोठसल्ला, बैस, खर्सु, दुदेलो, पैयु, पपुलर, कटुस, बाँझो, बाँस, खोले साग, लोप्रे साग, सुगन्धवाल चरचरे, बर्जर दन्त, मोर्चे झार, पखनबेद, भुई काफल, पदमचाल, किवी, अंगुर,रकिटिमुर, भैसेटिमुर, आखेटिमुर, पाङ्ग्रा आदि रुखहरु पाइन्छन् । नागीमा ५ रोपनी जमिनमा नर्सरी सञ्चालन गरिएकोे छ । नाङ्गा डाँडाहरुमा त्यहाँबाट उत्पादन भएका विरुवाहरु लगाएर हराभरा बनाइएकोले वरिपरीको वातावरण पनि स्वस्थकर भएको आभास भैरहेको छ ।  

    नागी गाउँमा प्राकृतिक, भौगोलिक जातीय एवं सास्कृतिक विविधताको संरक्षण, सम्बद्र्धन, स्थानीय श्रोत र साधनको परिचालन, दीगो व्यवस्थापन मार्फत आय आर्जन गर्ने, तिब्र बसाई सराइलाई रोक्ने उद्देश्यले होमस्टे निर्माण गरिएको छ । सुरुका दिनमा त्यस ठाउँमा विभिन्न उद्देश्य लिएर आउने पर्यटकहरुलाई होमस्टे अर्थात आफुले जे खाना खाइन्छ त्यही उपलब्ध गराइन्थ्यो । विस्तारै त्यहाँ आउने पर्यटकहरुको इच्छा र आवश्यकतालाई बुझेर छुट्टै किसिमको सामुदायिक लज  निर्माण गरिएको छ । सामुदायिक लजबाट पर्यटकहरुलाई सेवा दिन थालिएपछि भने होमस्टेबाट कार्य गर्न छाडिएको छ । लज सञ्चालनमा समुदायका सबै मानिसहरुको भूमिका भएतापनि महिलाहरुको प्रमुख भुमिका रहेको छ । लजमा प्रतिदिन विदेशी २४÷२५ जना र नेपाली ६०÷७० पर्यटकको व्यवस्थापन क्षमता छ । यहाँ विभिन्न ठाउँबाट स्थानीय तथा बाह्य पर्यटकहरु आउने भएकोले होमस्टे पनि राम्रो व्यवस्था गरी सञ्चालनमा छ । यहाँ ब्राहिमाई मन्दिर अर्थात तलाउ रहेको हुँदा यहाँ गएर मागेको कुरा पुग्ने विश्बास छ । नागी गाउँका मानिसहरुले पर्यटकहरुलाई अतिथिका रुपमा स्वीकार्ने हुनाले पर्यटकहरु भित्रीने गर्दछन् ।  त्यहाँ आउने पर्यटकको संख्या औसत्तमा प्रतिदिन विदेशी र नेपाली ३/३ जना रहेको छ । सबै भन्दा बढी जर्मनबाट विदेशी पर्यटकहरु र पर्वतबाट नेपाली पर्यटकहरु त्यस ठाउँमा भित्रिने गरेका छन् ।

    त्यस्तै पोखरा काठमाडौ, बागलुङबाट पनि पर्यटकहरु घुमफिर गर्न आउँदछन् । सामुदायिक लज संचालनले गाउँका मानिसहरुलाई रोजगारी सिर्जना र त्यहाँको उत्पादनलाई बजारीकरण, व्यावसायीकरण, आत्मनिर्भरता, भेटघाट तथा सम्पर्क, घनिष्टता, संस्कृतिको संरक्षण र सम्बद्र्धन आदि थुप्रै कार्यहरुमा सहयोग पुगेको छ ।  यस गाँउको भेषभुषामा पुरुषले दौरा, सुरबाल, पाइन्ट सट, कमिज, जुत्ता चप्पल खादी र भाङ्गा्र महिलाले चोला, लुङ्गी, टेकी, जामा, ब्लाउज र सुनको रिङ्ग, तिलहरी, जन्तर, टुकी, सिक्री, चुरा, घडी, औठी आदि लगाउने गरेको पाइन्छ ।  लवाइ÷खुवाइमा  यस गाँउका मानिसहरुको  भात, आटो, ढिडो, रोटी, भुटेको गहुँ, मकै, पिठो खाजाको रुपमा प्रयोग गर्दछन् । विहान चिया , खाना दिउँसो चिया नास्ता र बेलुकी खाना खान्छन् । यहाँ विभिन्न चाडपर्वहरुमा रक्सी, बङगु्र र कुखराको मासु खाने गर्दछन् । सालैजो, सुनिमाया, यानीमाया, झ्याउरे, मारुनी, ठाडो भाका आदि लोक संस्कृतिहरु यस क्षेत्रका मगरहरुको पहिचानसँग जोडिएका संस्कृति हुन् । 

    विश्वमा आधुनिक प्रविधिको विकास गराउनका लागि स्टिभ जब्स, मार्कजुबर्ग बिर्सनै नसकिने इतिहास र बर्तमान हुन््  जसको कारण आज  विश्व  एउटा सानो गाउँ भएको छ । रेडियो, टेलिभिजन, फोन, अनलाईन, सामाजिक सञ्जाल फेसबुक, ट्वीटर, युट्युव इन्टरनेट, मोवाईल फोन अत्याधुनिक सूचना प्रविधिका आधार भईरहेका छन् । यस्तै नाङ्गो (खाली) डाँडा भएको नागी गाउँलाई सक्दो विकास गरी बर्तमान नागी गाउँ गराउन महावीर पुन लागि रहेका छन् र पर्यटनको विकासको लागि पुर्वाधारहरुको क्रमिक रुपमा विस्तार भएको छ । त्यो उजाड डाँडाकाँडा युक्त भुमिलाई नमुना भूमिमा रुपान्तर गराउने प्रतिभाका प्रतिमुर्ति महाविर पुन साँच्चीकै नमुनाको अग्रस्थानमा नाम लेखाउन सफल भए उजाड भुमिलाई नमुना युक्त भुमिमा परिणत गराई त्यो ठाउँको नाम नै “नागी” राखी छाडे । अतः “नागी”बाट विविध प्रकृतिका मौलिक संस्कृतिहरुको प्रचारप्रसार हुन गएको छ र भिन्न प्रकृति बहुसाँस्कृतिक समूह, विविध उत्पादन भएको देश नेपाल हो भनि, विश्व सामु देशको पहिचान दिन यो क्षेत्र सफल भएको छ र्र्। अविस्कार केन्द्र्र  र ‘टी.भी ह्वाईट स्पेस’  निर्माण गरी नागी गाउँलाई ताररहित इन्टरनेटको माध्यमवाट संसारसँग जोडेने अभियानमा महावीर पुनले योगदान गरेका छन् जुन अत्यन्त सह्रानीय छ  ।

    एसियाको नोवेल पुरस्कार मानिने ‘एमुन म्यागासेसे’ , ग्लोवल आइडिया बैङ्कको ‘ओभरअल सोसियल इनोभेसन अवार्ड’ लगायतका अन्तराष्ट्रिय तथा राष्ट्रिय पुरस्कारबाट सम्मानित महावीर पुनले सूचना र प्रविधिको क्षेत्रमा थुप्रै योगदान गरेका  छन् । मानव स्रोत र विज्ञान तथा प्रविधिको राम्रोसँग सदुपयोग गर्न सके मात्र देशको विकास हुन्छ भन्दै उनले ३०÷४० वर्ष भित्रै नेपाललाई विकसित देश बनाउने, देशका प्रत्येक कुनाकाप्चामा इन्टरनेटको सेवा पु¥याउने, नेपालमा पर्यटनको विकास गरी इको टुरिज्म मार्फत देशलाई आर्थिक रुपमा सबल गराउन तत्पर रहेका छन् । पुनले सरकारको सहयोग बिना पनि एक्लो प्रयासबाट गरेको योगदानले आम नागरिक नतमस्तक छन् । क्षमता र प्रतिभा हुँदाहुँदै पनि नेपाल सरकारले  नचिनेर विदेशबाट चिनाईएका पुनसँग अँझै धेरै कामगर्न सक्ने क्षमता र प्रतिभा छ । पुन जस्तै देशका लागि थुप्रै जनशक्ति नेपालमै जन्मिएपनि सरकारले अनुकुल वातावरण मिलाउन नसक्दा थुप्रै दक्ष जनशक्ति र प्रतिभाहरु दैनिक रुपमा विदेश पलायन हुन विवश छन् अतः देशको विकासको गति बिग्रदो अवस्थामा छ । सरकारले साँच्चिकै देशको विकास गर्ने हो भने महावीर पुन र उनी जस्ता त्यागी प्रतिभाशाली व्यक्तिलाई नेपालमै काम गर्ने वातावारण मिलाउनु पर्दछ ।

    पर्यटन विकासमा अगाडि बढेको नागी गाउँले जसरी आज स्थानीय श्रोत र साधनको परिचालनमा आफ्नै मौलिकतालाई झल्काएको छ । स्थानीय जडिबुटीहरुको समुचित प्रयोग गरी औषधीमा आत्मनिर्भर बन्नब, वैदेशीक मुद्रा आर्जन गर्न, युवा सशक्तीकरण, रोजगार सिर्जना, पर्यटकीय विकास, संस्कृतिको प्रचार प्रसार, स्वावलम्बी भएर देशको सेवामा लाग्न सकिने प्रशस्त सम्भावनाहरु नागी गाउँमा रहेका छन् । तर पनि समय अनुसार सम्भावनाका हिसावले यस क्षेत्रको विकास जुन रुपमा हुनुपर्दथ्यो सो अनुसार हुन सकेको छैन । । तसर्थ यसका लागि पुँजी, प्रविधि, जनशक्ति, सम्पर्क, समन्वय, शान्ति सुरक्षा, स्थिरता  सकरात्मक सोच हुनुपर्दछ । नागी गाउँमा कच्ची बाटो भएकाले बढी जोखिम यात्रा गर्नु परेकोले कम मात्रामा पर्यटन भित्रिएका छन् । सडक पीच, मर्मत सम्भार, तातोपानीले सुविधासम्पन्न होमस्टे , उच्च शिक्षाको लागि राम्रो व्यवस्था, विदेश जाने युवाहरुलाई रोक्ने थुपै चुनौतिहरु नागी गाउँमा छन् तर यी चुनौतिहरुको सामना गरेर आफ्ना कला संस्कृति, भाषा, रीतिरिवाज, चालचलनको निरन्तरताबाट नै विकासका कार्य अगाडि बढाउन सकिन्छ । यस्तो सुन्दर वस्ती रहेको गाउँलाई अझ बढी विकसित गराउनका लागि यस क्षेत्रमा स्थानीय स्तरबाट र सरकारी तहबाट सक्रिय रुपमा पहल गर्नुपर्ने देखिन्छ । यदि नेटवर्क मिलाए महावीर पुनको प्रयासलाई निरन्तर अगाडि बढाउन सक्ने हो भने नागी गाउँलाई  देशकै नमूना गाउँ बनाउन थप सहयोग पुग्ने देखिन्छ । 

  • सम्बन्धित विषय:

  • # नागी गाउँ

  • सराेजराज पन्त

    उहाँले बागलुङ पोस्ट डटकमका लागि लेख रचना लेख्नुहुन्छ ।

    सम्बन्धित समाचार