बागलुङ : रामरेखा युवा क्लब र वीर गोर्खाली युवा क्लब जिल्ला लिग फुटबल प्रतियोगिताको लागि छनोट भएका छन् । जिल्ला फुटबल संघ बागलुङले आयोजना गरेको नकआउट चरणको खेलमा सोमबार रामरेखा युवा क्लबले गुठी युनाइटेड क्लबलाई र वीर गोर्खाली युवा क्लबले बलेवा युवा क्लबलाई पराजित गर्दै जिल्ला लिगको लागि छनोट भएका हुन् ।
सोमबार भएको पहिलो खेलमा रामरेखा युवा क्लबले गुठी युनाइटेड क्लबलाई सडन डेथमा पराजित गर्दै जिल्ला लिगको यात्रा तय गरेको हो । निर्धारित समयमा २–२ गोलको बाराबरी भएपछि थपिएको अतिरिक्त समयमा पनि कुनै टिमबाट गोल हुन सकेन । अतिक्ति समयमा समेत बराबरीकै अवस्थामा पुगेपछि खेल पेनाल्टी सुट आउटमा पुगेका थियो । पेनाल्टी सुट आउट पनि बराबरी हुँदा खेल सडनडेथबाट निर्णय लिईएको हो । गुठी युनाइटेडले दुई गोलको अग्रता जोगाउन नसक्दा पराजित हुन पुग्यो ।
गुठी युनाईटेडको लागि खेलको ५ औं मिनेट र १७ औं मिनेटमा मनोज क्षेत्रीले गोल गर्दै २–० को अग्रता दिलाएका थिए ।
रामरेखाका गणेश चोखालले खेलको ३१ औं मिनेटमा गोल गर्दैै पहिलो हाफमा खेललाई २–१ मा झारेका थिए । दोस्रो हाफमा रामरेखाका भिसिन बोहोराले गोल गर्दै खेललाई ट्राइब्रेकमा पुराएका थिए । पेनाल्टी सुटआउटमा रामरेखाका एक खेलाडीले पोष्ट बाहिर प्रहार गर्दा गुठी युनाईटेडको एक प्रहार रामरेखाका गोलकिपरले बचाएका थिए ।
पेनाल्टी सुट आउट ४–४ को बराबरीमा पुगेपछि सडनडेथमा रामरेखाका खेलाडी बललाई जाली चुमाउँदा गुठी युनाईटेडको प्रहार रोकेर रामरेखाका गोल किपरले आफ्नो नायकत्वमा टोलीलाई जिल्ला लिगमा छनोट गराए ।
सोमबार नै भएको भएको दोस्रो खेलमा वीर गोर्खाली युवा क्लबले बलेवा युवा क्लबलाई ३–२ गोलअन्तरले पराजित गर्दै जिल्ला लिगमा छनोट भएको छ । वीर गोर्खालीले खेलको १० औं मिनेटमा कप्तान प्रमल थापाको गोलबाट अग्रता लिए पनि ३६ औं मिनेटमा बुद्ध माझीले आत्मघाति गोल गरेपछि पहिलो हाफमा १–१ को बराबरी खेलेको थियो । बलेवा युवा क्लबका खेलाडी गरेका कडा प्रहार बारमा लागेर फर्केको बल बुद्ध माझीलाई लागेर पोष्टमा पुगेको थियो ।
दोस्रो हाफमा आक्रामक रुपमा खेलेको बलेवाको लागि खेलको ३७ औं मिनेटमा विनेक खत्रीले गोल गर्दै टिमलाई २–१ को अग्रता दिलाएका थिए । बलेवाले खेलको अन्तिम समयमा सम्हालिन नसक्दा १ मिनेटको अन्तरालमा २ गोल खान पुग्यो । खेलको पूरा अवधि विजेताको रुपमा अगाडि बढेको बलेवाले इन्जुरी समयमा दुई गोल खाएको थियो ।
इन्जुरी समयको पनि अन्तिम दुई मिनेट छँदा एक मिनेट भित्रै दुई गोल भएपछि जिल्ला लिगमा छनोट हुन थप मेहनत गर्नुपर्ने भएको हो । बीर गोर्खालीका मनोज लामिछानेले खेलको ७४ औं र शेखर क्षेत्रीले ७५ औं मिनेटमा गोल गर्दै टिमलाई जिल्ला लिगको लागि स्थान पक्का गरे ।
जिल्ला लिगमा भाग लिने एक टिम लागि मंगलबार गुठी युनाईटेड युवा क्लब र बलेवा युवा क्लब बीच खेल हुने जिल्ला फुटबल संघ बागलुङका अध्यक्ष रामराज गुरुङले बताए । लिगमा छनोट हुनको लागि नयाँ ७ टिम बीच नकआउट चरणको खेल जारी छ ।
अध्यक्ष गुरुङले जिल्ला लिगको लागि पहिले लिग खेलेका ५ टिम छनोट भएको र नयाँ ७ टिमबाट ३ टिम छनोट हुने बताए । जिल्ला लिग फुटबल प्रतियोगिता फागुन २८ गतेदेखि हुने संघले जनाएको छ ।