बागलुङ : जिल्ला फुटबल संघ बागलुङले जिल्ला लिगको तयारी थालेको छ । कोरोना महामारीका कारण विगत दुई वर्षदेखि सञ्चालन हुन नसकेको फुटबल जिल्ला लिग यस पटक गर्न लागिएको हो ।
जिल्ला फुटबल संघ बागलुङले आफुसंग आबद्ध क्लबहरुलाई जिल्ला लिग खेलाउन लागेको हो । यही फागुन २८ गतेदेखि हुने जिल्ला लिग फुटबल प्रतियोगितामा ८ समुहको सहभागिता रहनेछ । जिल्ला लिग सुरु हुनुपूर्व जिल्ला फुटबल संघ बागलुङले लिग खेल्ने क्लब छनोटका लागि नक आउट खेल खेलाउने भएको छ । आइतबारदेखि नयाँ दर्ता भएका ८ वटा क्लबबीच नक आउट खेल खेलाइने जिल्ला फुटबल संघ बागलुङका महासचिव जय राजभण्डारीले बताए ।
‘हामीसंग अहिले जिल्ला लिग खेल्नका लागि धेरै समुह दर्ता भएका छन्, हाम्रो स्रोत साधनको सीमितताले गर्दा सबैलाई लिगमा समावेश गर्न सकिने अवस्था छैन,’ उनले भने,‘विगतदेखि नै लिग खेल्दै आएका क्लवहरुलाई सिधैं लिगमा सहभागी गराउँदैछौं । नयाँ दर्ता भएका क्लबहरुबीचमा भने सुरुमा नक आउट प्रतियोगिता गराएर क्लब छनोट गर्छौं ।’
नयाँ दर्ता भएका ८ वटा क्लबबीच आइतबारदेखि नक आउट प्रतियोगिता हुने र त्यहाँबाट छानिने तीन समुहले लिगमा भाग लिने उनले बताए । जिल्ला फुटबल संघ बागलुङका अध्यक्ष रामराज गुरुङका अनुसार पहिलो पटक जिल्ला लिग खेल्ने अमर आदर्श क्लब, बलेवा युवा क्लब, वीर गोर्खाली क्लब, गठी युनाइटेड क्लब, रामरेखा फुटबल क्लब, तमान युवा क्लब, तिरुपति बालाजी क्लब र संयुक्त चार क्लबका बीचमा पहिलो चरणमा नक आउट प्रतियोगिता हुनेछ । यी टिमको नक आउट प्रतियोगिताबाट प्रथम, द्वितीय र तृतीय हुने टिम जिल्ला सहभागी हुन पाउनेछन् ।
नक आउटबाट छनोट हुने तीन वटा टिम र रुद्रेपिपल युवा क्लब, बागलुङ कालिका युवा क्लब, पावर फिटनेश क्लब, कालिका भगवती युवा क्लब, चिल्ड्रेन लाइफ स्पोटर््स क्लबलाई दुई समुहमा विभाजन गरेर लिग खेलाइने अध्यक्ष गुरुङले बताए । चार चार वटा टिमको दुई समुह बनाएर खेलाइने लिगमा अंकको आधारमा सबैन्दा भन्दा बढी अंक प्राप्त गर्ने दुई समुहबीच फाईनल खेल हुनेछ । एक खेल बराबार ३ अंक र बराबरीमा खेल सकिए १ अंक प्राप्त गर्नेछन् ।
प्रतियोगिताका विजेताका लागि ५५ हजार र दोस्रो हुनेका लागि ३३ हजार पुरस्कारको व्यवस्था गरिएको जिल्ला फुटबल संघ बागलुङका कोषाध्यक्ष सूर्य लामिछानेले बताए । लिग सञ्चालनका लागि ६ लाख रुपैयाँ बराबरको खर्च अनुमान गरिएको उनले जानकारी दिए । ‘लिग सम्पन्न गर्नका लागि ६ लाख रुपैयाँ खर्च हुने अनुमान गरेका छौं,’लामिछानेले भने,‘केही रकम एन्फाले पठाउँछ । अपुगेको रकम हामीले यही विभिन्न क्षेत्रको सहयोगमा खर्च व्यवस्थापन गर्दैछौं ।’ लिगमा सहभागी हुने टिमले धौलागिरि अञ्चल भित्रका सबै जिल्लाका खेलाडीलाई टिममा समावेश गर्न सक्नेछन् ।
साबिकको धौलागिरि अञ्चल बाहिरका अन्य जिल्लाका खेलाडीको हकमा एउटा समुहले तीन जना मात्रै आवद्ध गर्न पाउनेछन् । लिगमा खेल्ने खेलाडीको ठेगाना स्पष्ट खुल्ने कागजपत्र क्लबले पेश गर्नुपर्नेछ । पर्वत, म्याग्दी र मुस्ताङमा एन्फाको जिल्ला शाखा नभएका कारण यी जिल्लाका खेलाडी समोवश गर्न कुनै पाबन्दी नलगाइएको बताइएको छ ।
बागलुङकै खेलाडी भए पनि एन्फाले खेलाएको ए डिभिजन, बी डिभिजन र सी डिभिजन स्तरको खेल खेलेका कुनै पनि खेलाडीले जिल्ला लिग खेल्न पाउने छैनन् । जिल्ला फुटबल संघले दर्ता शुल्क नलिई खेलमा सहभागी गराउने बताइएको छ । जिल्ला लिग बिजेता टिमले प्रदेश स्तरको लिग खेल खेल्न पाउनेछ । जिल्ला फुटबल लिगले कोरोना महामारीका कारण लामो समय सुस्ताएको खेल क्षेत्रलाई चलायमान गराउने विश्वास गरिएको छ ।
आईतबार तीन खेल सम्पन्न
जिल्ला फुटबल संघ बागलुङको आयोजनामा आईतबारबाट बागलुङमा जिल्ला नकआउट फुटबल प्रतियोगिता सुरु भएको छ । प्रतियोगिताको पहिलो दिन तीन खेल सम्पन्न भएका छन् । प्रतियोगिताको पहिलो दिन गुठी युनाइटेड क्लब, रामरेखा युवा क्लब र बिर गोर्खाली युवा क्लबले जित निकालेका छन् ।
उद्घाटन खेलमा गुठी युनाइटेडले अमर आदर्श बोर्डिङ स्कुललाई ५–१ गोलअन्तरले पराजित गरेको छ । यस्तै दोस्रो खेलमा रामरेखा युवा क्लबले तिरुपति वालाजी क्लबलाई ६–० गोलअन्तरले पराजित गर्यो । आईतबार नै भएको अन्तिम खेलमा बिर गोर्खाली युवा क्लबले तमानखोला युवा क्लबलाई २–० गोलअन्तरले पराजित गर्यो ।
प्रतियोगिता अन्तरगत भोली सोमबार गुठी युनाइटेड युवा क्लब र रामरेखा युवा क्लब तथा बिर गोर्खाली युवा क्लब र बलेवा युवा क्लब विच खेल हुने जिल्ला फुटबल संघ बागलुङका अध्यक्ष रामराज गुरुङले जानकारी दिए । नकआउट प्रतियोगिताको शिर्ष तीनमा रहने तीन टिमले जिल्ला लिगमा स्थान बनाउने छन् । जिल्ला लिगका लागि पहिले लिग खेलिसकेका पुराना ५ टिम सिधै छनोट भएका छन् ।
नकआउट चरणको प्रतियोगिताको उद्घाटन गर्दै जिल्ला खेलकुद विकास समितिका अध्यक्ष कुमार खड्काले आफ्नो कार्यकालमा बाङ्गेचौरलाई रङ्गशालाको रुपमा विकास गर्ने बताए । जिल्ला फुटबल संघ बागलुङका अध्यक्ष रामराज गुरुङको अध्यक्षतामा सम्पन्न भएको उद्घाटन समारोहको स्वागत उपाध्यक्ष रेशम गोतामे र संचालन महासचिव जय राजभण्डारीले गरेको थिए ।