समय परिवर्तित छ तर मानिसको मानसिकतामा बसेका बिचार भने त्यति सजिलै परिवर्तन नहुँदा रहेछन् । अहिले सामाजिक सञ्जाल मार्फत मानिसहरुको मनस्थितिका बारेमा आँकलन गर्न सजिलो भएको छ । किन भने आफ्नो व्यक्तिगत समस्या अनि खुसीलाई सामाजिक सञ्जालमा पोस्ट्याउने लहर नै चलेको छ । त्यसै गरि राजनीतिक अवस्थाका बारेमा पनि उत्तिकै चर्चा परिचर्चा भएको पाइन्छ । अब लगत्तै हुन गैरहेको स्थानीय चुनावका लागी पनि मानिसहरु आफ्नो धारणा अनि सपोर्ट पनि सामाजिक सञ्जाल मार्फत प्रस्तुत गरिरहेको पाइन्छ । कुनै कार्य गर्दा अहिलेको अवस्थालाई नै बढी प्राथमिकतामा राखिँदो रहेछ । पहिले के भएको थियोे र हामी यो परिस्थितिमा कसरी आइपुग्य्यौ भन्नेमा खासै विवेकशीलता प्रयोग गरिएको पाइदैन ।
विकासका कार्यक्रमहरु कसरी तय गरियो ती कार्यक्रम हरु कसरी समापन भए अनि हामी ती कार्यक्रमबाट कुन रूपमा लाभान्वित भएका छौं ? त्यस बखतमा कस्ता खालका कमजोरी विभेद भए ? यता तिर कसैले पनि गम्भीरतापूर्वक सोचेको पाइदैन । हाम्रो समाजमा बसी सामाजिक कार्यमा अग्रसर या समाजका टाठाबाठा मानिएका अथवा समाज परिवर्तनको आशा गरिएका व्यक्ति पनि आफैमा खासै जिम्मेवार भएको पाइदैन । हाम्रो देशको अभाव भनेको सबै जात, सबै धर्म अनि सबै पार्टी प्रति आस्था भएका जनतासँग हातेमालो गर्दै अगाडी बढ्न सक्ने नेतृत्वको हो जुन एकदमै कम मात्रामा छन् । स्थानीय चुनाव हुँदै गर्दा हामी अबको हाम्रो अर्को पाँच वर्ष कता तिर धकेल्ने भन्ने कुरा हामीमा नै निर्भर छ । हामीले चुनावमा भोट हाल्दै गर्दा अहिले एकछिनको रमाइलो होइन भोलिको हाम्रो अवस्थाका बारेमा राम्रोसँग विचार गरि सक्षम व्यक्तीलाई अगाडी बढाउन अति आवश्यक छ । हाम्रो राष्ट्र विकासोन्मुख राष्ट्र हो । अहिले विशेष गरि पूर्वाधार विकासमा नै केन्द्रित छ ।
हामी हाम्रो समाजमा कस्ता खालका भौतिक संरचना निर्माण भइरहेका छन् भन्ने तिर पनि खासै चासो देखाउदैनौँ । सरकारी काम त हो जस्तो भए होस भन्ने जस्ता गैर जिम्मेवार अभिव्यक्ति पनि सुन्न पाइन्छ । जुन कि हामी हाम्रै खुट्टा मा बन्चरो हानिरहेका छौ भन्ने पत्तो पनि छैन । कुनै निर्माण कार्य कस्तो भयो भनेर बोल्नुभन्दा पहिले कुन पार्टीका मान्छेले बनाएको भन्ने तिर लाग्दछौ । राम्रो जसले गरे पनि राम्रो, नराम्रो जसले गरे पनि नराम्रो नभई हाम्राले गरे सबै राम्रो अरुले गरे सबै नराम्रो । यस्तो नकारात्मक विचार लिएर बसिरहेका आफ्नो पुर्खादेखि चल्दै आएको पार्टी जस्तै मेरो कांग्रेस, मेरो एमाले, मेरो माओवादी .! यस्ता नकारात्मक प्रवृत्तिले गर्दा असल व्यक्तिहरुले नेतृत्व नपाउने अनि गवार नै भए पनि पार्टीको खोल ओडि जनप्रतिनिधि भएको उदाहरणहरु हाम्रो समाज छरपस्ट छन् । यस्तो समस्या हुँदाहुँदै पनि चुनावका बेला यी सबै कुराहरुलाई ध्यानमा राखिएको छैन ।
भौतिक पूर्वाधार निर्माण गर्दै गर्दा आजको आवश्यकता अथवा आजको बजेटमा मात्रै केन्द्रीत हुने अनि भोलि थप आवश्यकता महशुस त हुन्छ नै त्यसपछि पुनर्निर्माण गर्ने प्रवृत्ति एकदम चुलिँदो छ । यो अवस्था सृजना हुनुमा ज्ञानको कमी भएका जनप्रतिनिधि नै हुन् । सबै काम उनीहरुले भने बमोजिम नै हुनु पर्ने देखिन्छ । पार्टीगत कमजोरी अनि क्रियाकलापका बारेमा सामाजिक संजालतिर समाजका बौद्धिक स्तर माथी भएका अनि सरकारी सेवा नै गरिरहेका व्यक्तीहरुले दिएको प्रतिक्रिया देख्दा घृणा पैदा हुन्छ । मानिसले नजानेर अथवा नबुझेर गल्ती गर्नु त स्वभाविक नै हो तर जानी जानी गल्ती गर्नु मुर्खता अथवा लाचारिपन नै हो । हाम्रो भविष्य कता तिर लैजाने भन्ने हाम्रै हातमा छ । गत चुनावमाभन्दा अब आउने चुनावमा जनप्रतिनिधिका आकांक्षी अवश्य पनि बढी हुन्छन् । त्यस मध्ये केही सक्षम तुलनात्मक रूपमा पक्कै हुन्छन् । यस बारेमा सम्यमित हुन अति जरुरी छ ।
जुन पार्टीको सरकार भए पनि स्थानीय स्तरका विकासको चावी भने भने स्थानीय सरकारको हातमा नै छ । त्यसकारण हाम्रो समाजमा पार्टीको कुरालाई लिएर भैरहेका आपसी मतभेद अनि आन्तरिक द्वन्दलाई छाडी विकासका निम्ति हातेमालो गरि अगाडी बढ्नु अत्यावश्यक छ । हाम्रो समाज हामीले नै परिवर्तन गर्नुपर्छ । कुनै पार्टीले आएर परिवर्तन गरिदिने होइन । त्यसैले सबै जुटै असल जनप्रतिनिधिको छनोट गरौं समाज परिवर्तनको दिशा तर्फ अगाडी बढौँ । कुनै कुनै स्थानीय निकायमा दक्ष जन प्रतिनिधिहरुको अभावले गर्दा राम्रो नराम्रो जस्तो भए पनि भोट दिनु पर्ने अवस्था सृजना हुन सक्छ । त्यसबाट जोगिनका निम्ति समाजमा अन्यत्र गइ पेसा व्यवसाय गरिरहेका समाजका आवश्यकतालाई बुझ्न सक्ने व्यक्तीलाई जनप्रतिनिधि बन्न प्रोत्साहन गर्न जरुरी हुन्छ ।
समाजलाई सहि दिशा तर्फ लान प्रयत्न गरौं । जनप्रतिनिधि असक्षम भएयका स्थानीय तहमा विकास राम्रो नहुने कुरा निश्चित छ र केन्द्र सरकारले बिस्तारै अरु अधिकारहरु पनि स्थानीय सरकारलाई दिने समाचारहरु पढि रहेका छौं । एउटै किसिमको भूगोल भएका स्थानीय तह कुनै नमुना स्थानीय तहका रुपमा पुरस्कृत अनि अर्को स्थानीय तहका जनप्रतिनिधि आफ्नै कार्यकर्ताबाट कुटिएका जस्ता उदाहरण हरु हामी माझ छन् नै । त्यसैले कुन पार्टीभन्दा पनि कुन व्यक्तिले हाम्रो लागि काम गर्दछ र कुन व्यक्तिले समाज परिवर्तनका निम्ति आफू ओझेलमै परेर पनि जनताको हितमा काम गर्ने अठोट राख्दछ । त्यस्ता खालका जनप्रतिनिधिको छनोट गर्नु आजको आवश्यकता हो ।