साहित्य

आमा !

आमा !

  • बैशाख १७, २०७९ शनिवार
  • ०६:२४:३९ बजे
  • 10.1K
    SHARES
  • आमा !

    आमा !
    म नजन्मिदै परेड खेलिरहन्थे
    तिम्रो पेटमा लात हानिरहन्थे
    तिमीले खान नपाएर
    दूध नआउँदा 
    मैले भोकको रिसमा 
    तिम्रो बुबु तोकिदिन्थे 
    तिमी ऐया किन भन्थेनौ ?


    तिमी काम गर्दा गर्दा थाकेर
    बासी आँटो खान बस्दा 
    धेरै सताउँथे 
    कराउथे झगडा गरिदिन्थे
    दिशा, पिसाब गरेर
    तिम्रो काख भरीदिन्थे
    तिमी घिन किन मान्थेनौ ?


    म सानो हुँदा सोच्थे
    आमाले किन चप्पल नलाको होला
    आमाको फेर्ने लुगा किन नभाको होला
    मलाई चाउचाउ मन परे जस्तै
    आमालाई बासी आटो मन पर्छ होला 
    र त तेहि खाई रहन्छिन्
    मेरो आमा लोभी छिन्
    तेसैले त फाटेको लुगा लाइरहन्छिन 
    साच्चै आमा
    अभाव बढ्दा पैसा राख्ने थैली रित्तिदा
    म प्रतिको माया किन रित्तिएन ? 


    आमा 
    तिमी आफू जस्तो कहिलै थिएनौ
    घरको काम नसकिँदा 
    सासु कराउथिन 
    निर्णय विपरित गरे
    बाबाले चर्को हप्काउँथे 
    र पनि घर बिग्रीने डरले 
    आफू हुनुको अस्तित्व गुमाई गुमाई 
    तिमी किन चुप रहन्थेउ? 


    केही समय पर्ख है आमा
    तिम्रो मुख हेर्न लाएक भएर
    कुनै दिन सोध्न मन छ 
    तिमीलाई कस्तो लुगा मन पर्छ ?
    कुन ठाउँ घुम्न जाने ?
    कुन कुन खाना खाने ?

     


    लक्ष्मी अर्गेजा मगर

    उहाँले बागलुङ पोस्ट डटकमका लागि साहित्यमा कलम चलाउनुहुन्छ ।

    सम्बन्धित समाचार